यमनका हूथी विद्रोहीविरुद्ध अमेरिकाको थप आक्रमण, गाजाको पछिल्लो अवस्था के छ?

अमेरिकी आक्रमणपछि यमनको राजधानीमा प्रदर्शन गर्दै हूथी समर्थकहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकी आक्रमणपछि यमनको राजधानीमा प्रदर्शन गर्दै हूथी समर्थकहरू

यूके र अमेरिकाले व्यापक हवाई आक्रमण गरेको भोलिपल्ट अमेरिकाले पुन: यमनमा हूथी विद्रोहीलक्षित हमला गरेको छ। त्यसलाई अमेरिकाले “थप आक्रमण” भनेको छ।

हूथीहरूले उक्त आक्रमणका कारण कोही पनि घाइते नभएको बताएका छन् तर त्यसको "कडा जवाफ दिने" चेतावनी दिएका छन्।

अमेरिकाले इरान-समर्थित भनिने हूथीहरूले प्रयोग गरिरहेको रडार क्षेत्रलाई लक्षित गरेको जनाएको छ।

हूथीहरूले यमनको अधिकांश भागलाई नियन्त्रण गर्छन् र उनीहरूले अहिले रेड सीमा अन्तर्राष्ट्रिय कार्गो पानीजहाजहरूमा आक्रमण गरिरहेका छन्।

हूथीहरूले गाजामा हमासविरुद्ध इजरेलले गरेको आक्रमणको बदला लिन इजरेलतर्फ गइरहेका वा इजरेलसँग कुनै न कुनै रूपमा जोडिएका पानीजहाजहरूमा मात्र आक्रमण गरेको बताउँदै आएका छन्।

यूएस सेन्ट्रल कमान्डले पहिले ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा पछिल्लो आक्रमणमा नौसेनाको युद्धपोतबाट टोमहक ल्यान्ड अट्याक मिसाइल प्रयोग गरिएको लेखेको छ।

उसले रेड सीमा आवतजावत गर्ने मालवाहक पानीजहाजहरूको सुरक्षाका लागि हूथीलाई कमजोर पार्न आक्रमण गरेको दाबी गरेको छ।

राष्ट्रसङ्घको आग्रह

हूथी विद्रोहीहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, हूथी विद्रोहीहरू

हूथी नियन्त्रित टेलिभिजनले यमनको राजधानीमा धेरै आक्रमणहरू भएको बताएको छ।

हूथी नेताहरूले अमेरिका र ब्रिटेनसँग उक्त आक्रमणको बदला दिने चेतावनी दिएका थिए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले क्षेत्रीय शान्ति र स्थायित्वका लागि सबै पक्षलाई ‘थप अघि नबढ्न’ आह्वान गरेका छन्।

यसैबीच संयुक्त राष्ट्रसङ्घका सहायतासम्बन्धी प्रमुख मार्टिन ग्रिफिथ्सले इजरेली मन्त्रीहरूले हालै दिएका अभिव्यक्तिहरूले गाजाबाट प्यालेस्टाइनी नागरिकहरूलाई सामूहिक रूपमा स्थानान्तरण गर्ने योजना रहेको देखिएको बताएका छन्।

उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्समक्ष त्यो अति चिन्ताजनक विषय भएको र त्यसलाई अस्वीकार गरिनुपर्ने बताए।

इजरेलले गाजाबाट मानिसहरूलाई जबरजस्ती गलहत्त्याउने योजना बनाएको अस्वीकार गरेको छ।

गाजाको पछिल्लो अवस्था

गाजाको अवस्था

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेली हमलामा मारिएको छोरीको शव बोकेकी प्यालेस्टिनी महिला

ग्रिफिथ्सले उत्तरी गाजामा डरलाग्दा दृश्यहरू देखिएको र स्पष्ट रूपमा भोकाएका मानिसहरूले बाँच्नका लागि खानेकुरा खोज्ने क्रममा ट्रकहरू रोकिरहेकाका दृश्य देखिएको बताए।

त्यस्तै एक संयुक्त राष्ट्रसङ्घका अर्का एक सहायतासम्बन्धी अधिकारीले गाजाको अवस्था जो सुकैका लागि “सबैभन्दा खराब दुःस्वप्न भन्दा पनि बढी भएको” बताए।

संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका डोमिनिक एलेनले गाजाको पछिल्लो अवस्थाबारे त्यस्तो बताएका हुन्।

उनले केहीअघि मात्र गाजा क्षेत्रको यात्रा गरेर फर्केका थिए हुन्। उनले गाजाको अवस्था आफूले पहिले देखेको कुनै पनि कुराभन्दा दर्दनाक भएको बताए।

उनका अनुसार गाजा स्ट्रीपमा यो महिना मात्र साढे पाँच हजार महिलाले बच्चा जन्माउने योजनामा रहेको बताए र प्रसूति वार्डहरू खाली नभएको बताए।

उनले बच्चा जन्माएको केही घण्टामै आमालाई अस्पतालबाट डिस्चार्ज गर्ने गरिएको बताएका छन्।

त्यहाँ नवजात शिशुहरूमा उच्च कुपोषण दर र जन्मँदा पनि औसत तौल कम देखिएको जानकारी दिएका छन्।

थाइ प्रदर्शनकारी

तस्बिर स्रोत, EPA

गाजामा इजरेली बमबारी अहिले पनि जारी रहेको छ। त्यो विशेषगरी अहिले दक्षिणी सहर खान युनिस र रफाह क्षेत्रमा केन्द्रित रहेको विवरणहरू आएका छन्।

गाजामा अहिले पनि दूरसञ्चार सेवामा अवरोध भइरहेको छ। अधिनस्थ वेस्ट ब्याङ्कमा इजरेली सुरक्षा फौजले कम्तीमा दुई जना प्यालेस्टिनीहरूको गोली हानी हत्या गरेका छन्।

गत अक्टोबर ७ मा हमासले इजरेलमाथि हमला गरेपछि उसले गाजामा लगातार हमला गरिरहेको छ।

त्यसक्रममा हालसम्म २३ हजार ३५० जनाभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

अक्टोबर ७ को हमलामा इजरेलमा एक हजार दुई सय जनाभन्दा बढी मारिएका थिए भने २४० जना जतिलाई हमासले बन्धक बनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।