इजरेली बन्धकसँग प्यालेस्टिनी कैदीबन्दी साटफेर, गाजामा अब के हुन्छ

    • Author, टम बेनट
    • Role, जेरुसलेम

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले गाजामा रहेका सबै जीवित बन्धकहरू हस्तान्तरण गरेको र त्यसको साटो प्यालेस्टिनी कैदीबन्दीहरूलाई छोडिएको इजरेली सेनाले जनाएको छ।

उक्त योजना स्वीकार गर्दै इजरेल र हमासले शुक्रवार मध्याह्नदेखि गाजामा सङ्घर्षविराम गरेका थिए। त्यससँगै गाजा स्ट्रिप जाने सहायता सामग्रीको आपूर्ति यो सप्ताहान्तदेखि बढेको छ।

पहिलो चरण सम्पन्न भएपछि अरू चरणको विषयमा छलफल हुने ठानिएको छ।

बन्धक र कैदीबन्दी साटफेर भएपछि गाजा र इजरेल दुवैतरि अहिले उत्सव मनाइएको छ। पारिवारिक पुनर्मिलन भएपछि सम्बन्धित व्यक्तिहरू निकै भावुक र खुसी देखिएका छन्।

दुई पक्षबीच सहमति गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सोमवार इजरेल ओर्लिए। त्यसपछि उनी गाजा शान्ति योजनाका अरू चरणबारे मध्यपूर्वका नेताहरूसँग छलफल गर्न इजिप्ट गए।

त्यहाँ आयोजित शिखर सम्मेलनमा इजिप्ट, कतार, टर्की र अमेरिकाले गाजा सङ्घर्षविराम सहमतिको सुनिश्चितकर्ताका रूपमा एउटा घोषणापत्रमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिको उद्देश्य गाजा युद्ध अन्त्य गराउनु हो।

मुक्त भएका बन्धकहरू को हुन्

सङ्घर्षविरामका बेला हमासले दुई वर्षदेखि आफ्नो नियन्त्रणमा राखेका केही विदेशीसहित सबै ४८ बन्धक मुक्त गर्नुपर्ने सहमति भएको थियो। तीमध्ये केवल २० जना जीवित भएको पुष्टि भएको छ। उनीहरू सबैलाई हमासले सोमवार मुक्त गरिसकेको छ।

दुई वर्षअघि ७ अक्टोबर २०२३ मा हमासले इजरेलमा आक्रमण गर्दा कैयौँ विदेशी नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो। तीमध्ये १० जना नेपाली पनि थिए। सोही दिन लडाकुहरूले २५० जनालाई बन्धक बनाएर गाजातिर लगे। तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि थिए।

उक्त घटनाको जबाफ दिन इजरेलले गाजामा सैन्य कारबाही थाल्यो। दुई वर्षको अवधिमा गाजामा ६७,००० जनाभन्दा बढीको मृत्यु भएको गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमवार मुक्त भएका सबै जीवित बन्धक इजरेली हुन्। उनीहरूलाई गाजाका दुई भिन्नाभिन्नै ठाउँबाट अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीलाई हस्तान्तरण गरिएको थियो। उनीहरू इजरेल फर्किसकेका छन्।

सहमतिअनुसार मृत्यु भइसकेका बाँकी बन्धकको अवशेष पनि सोमवार अपराह्णसम्म बुझाइसक्नुपर्ने थियो। तर दुवै पक्षले हमास र अन्य प्यालेस्टिनी लडाकु समूहका लागि त्यो समयसीमाभित्र मृतकका अवशेष भएको ठाउँ पत्ता लगाउन कठिन हुन सक्ने कुरा स्वीकार गरेको छ।

हमासले सोमवार चार जनाको अवशेष भएको शवपेटिका हस्तान्तरण गरेको छ। त्यसअघि हमासले विपिन जोशीसहित चार जनाको शव बुझाउने जनाएको थियो।

शव फिर्ता नभएका मृतकका अवशेष खोज्न एउटा अन्तर्राष्ट्रिय कार्यदल बनाइने एक इजरेली अधिकारीले बताएका छन्।

इजरेलले छोडेका प्यालेस्टिनीहरू को हुन्

बन्धकहरूको मुक्तिका लागि आजीवन कारावासको सजाय पाएका २५० प्यालेस्टिनी कैदी र गाजाबाट हिरासतमा लिइएका १५ नाबालिगसहित १,७१८ जनालाई छोड्न सहमति भएको थियो।

मुक्त हुन लागेका प्यालेस्टिनीहरूको नामसहितको सूची हमासले सोमवार बिहान अद्यावधिक गरेको थियो।

उक्त सूचीमा मार्वन बर्गूटी र अहमद सादतजस्ता व्यक्तिको नाम छैन। इजरेलमा घातक आक्रमण गरेको अभियोगमा उनीहरूले जन्मकैद पाएका छन्।

इजरेली सञ्चारमाध्यममा गत साता प्रकाशित विवरणअनुसार २५० कैदीमध्ये झन्डै १०० जनालाई वेस्ट ब्याङ्क, १५ जनालाई ईस्ट जेरुसलेम र १३५ जनालाई गाजा स्ट्रिप वा अन्यत्र मुक्त गरिने उल्लेख थियो।

इजरेलको कारागार विभागले १,९६८ प्यालेस्टिनीलाई छोडिएको जानकारी सोमवार अपराह्ण दिएको छ।

मुक्त भएका प्यालेस्टिनीहरूको गाजामा चिकित्सकीय उपचार र परीक्षण थालिएको हमासले जनाएको छ।

अब के हुन्छ

इजरेली बन्धकहरू मुक्त हुनुअघि ट्रम्पको योजनाअनुसार इजरेली सैनिकहरू गाजामा आफ्नो नियन्त्रण ५३ प्रतिशत मात्रै कायम हुने गरी केही पछि हटे।

विभिन्न देशका झन्डै २०० सैनिक भएको र अमेरिकी सेनाको सुपरिवेक्षणमा हुने एउटा टोलीले गाजाको सङ्घर्षविरामको निगरानी गर्ने एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन्। उक्त टोलीमा इजिप्ट, कतार, टर्की र यूएईका सैनिकहरू हुने ठानिएको छ।

अमेरिकी अधिकारीहरूले अमेरिकी सैनिकहरू गाजाको भूमिमा नजाने बताएका छन्।

ट्रम्पको बीसबुँदे योजनामा उक्त प्रस्तावमा दुवै पक्ष सहमत भएमा युद्ध "तत्काल अन्त्य हुने छ" लेखिएको छ।

त्यसमा गाजालाई सैन्यमुक्त क्षेत्र बनाइने र सबै "सैन्य, आतङ्क र आक्रमणका लागि प्रयोग गरिने संरचनाहरू" नष्ट पारिने उल्लेख छ।

उक्त योजनानुसार गाजामा प्यालेस्टिनी प्राविधिक विज्ञहरूको नेतृत्वमा गठित एउटा अस्थायी सङ्क्रमणकालीन समितिले शासन गर्ने अनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अध्यक्षता र ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेअर पनि संलग्न हुने "बोर्ड अफ पीस"ले उक्त समितिको निगरानी गर्ने छ।

प्यालेस्टिनी प्राधिकरणमा सुधार गर्दै गाजा स्ट्रिपको अन्ततः उसलाई हस्तान्तरण गरिने छ।

उक्त योजनानुसार गाजाको प्रशासनमा हमासले कुनै खालको भूमिका पाउने छैन।

शान्तिपूर्ण सह-अस्तित्वप्रति वचनबद्धता व्यक्त गरे हमासका सदस्यहरूलाई आममाफी वा अन्य देशमा सुरक्षित रूपमा जाने अवसर दिइने छ।

कुनै प्यालेस्टिनीलाई गाजा छोड्न बाध्य पारिने छैन भने बाहिर जान चाहने व्यक्तिहरूलाई फर्किन रोकतोक हुने छैन।

विज्ञहरूको एउटा समितिले "गाजा पुनः निर्माण गर्न ट्रम्प आर्थिक विकास योजना" तयार पार्ने छन्।

गाजा स्ट्रिप के हो

विवाद निम्त्याउन सक्ने विषय के हुन्

सहमतिका अन्य चरणहरूमा हुने वार्ताका क्रममा केही विषयमा विवाद हुने सम्भावना छ।

हमासले हतियार बिसाउन अस्वीकार गर्दै आएको छ। प्यालेस्टिनी राज्य स्थापित भएपछि मात्र आफूले अस्त्रशस्त्र त्याग्ने हमासको पुरानो अडान छ। ट्रम्पले अघि सारेको योजनाबारे गत साता प्रतिक्रिया व्यक्त गर्दा हमासले निरस्त्रीकरणबारे कुनै टिप्पणी गरेन। त्यसबाट उसको धारणामा कुनै परिवर्तन नआएको ठानिन्छ।

इजरेल यो योजनामा पूर्णतः सहमत भए पनि युद्ध टुङ्गिएपछि गाजामा प्यालेस्टिनी प्राधिकरण संलग्न हुने विषयमा नेतन्याहूले विमति प्रकट गरेका छन्। गत साता डोनल्ड ट्रम्पलाई भेट्दा उनले प्यालेस्टिनी क्षेत्रको शासनव्यवस्थामा प्यालेस्टिनी प्राधिकरण सहभागी हुन नपाउनेमा जोड दिए।

हमासले "एकीकृत प्यालेस्टिनी आन्दोलन"को अङ्गका रूपमा भविष्यमा आफूले गाजामा केही भूमिका पाउने आशा राखेको छ।

विवाद उत्पन्न हुन सक्ने अर्को विषय चाहिँ इजरेली सेनाको फिर्ती हो। इजरेलले गाजाको ५३ प्रतिशत भूभाग नियन्त्रणमा हुँदा सैनिकहरूलाई प्रथम चरणमा फिर्ता गर्ने जनाएको थियो। ह्वाइट हाउसको योजनामा थप सैनिकहरू क्रमशः ४० प्रतिशत अनि १५ प्रतिशतको अवस्थामा फिर्ता हुने उल्लेख छ।

अन्तिम चरणको फिर्ती चाहिँ "गाजालाई विद्रोही आतङ्कको जोखिमबाट पूर्णतः मुक्त गरेपछि" मात्र हुने छ।

तर यसमा निकै जटिल शब्दावली प्रयोग गरिएको छ र सबै सैनिकहरू फिर्ता गर्नका लागि स्पष्ट समयसीमा तोकिएको छैन। त्यसबारे हमासले स्पष्टता खोज्न सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।