विपिन जोशीको शव ‍ल्याउने प्रक्रिया 'सुरु', नेपालले 'सत्यतथ्य पत्ता लगाउन पहल' गर्ने

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

इजरेलमा नेपाली विद्यार्थी विपिन जोशीको शवको जाँच र त्यसबाट निकालिएको नमुनाबाट डीएनए परीक्षण गरिएको काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले बीबीसीलाई बताएको छ।

साथै तेल अभिभस्थित नेपाली राजदूतावासमार्फत् इजरेली अधिकारीहरूको समन्वयमा जोशीको शवलाई नेपाल ल्याउने प्रक्रिया पनि सुरु भइसकेको उसले बताएको छ।

मङ्गलवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले जोशीको मृत्युबारे "सत्यतथ्य पत्ता लगाउन" आफूले प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

हमासले जोशीसहित चार जनाको अवशेष सोमवार इजरेली पक्षलाई हस्तान्तरण गरेको थियो। इजरेली सेनाले हमासले फिर्ता पठाएका शवमध्ये विपिन जोशीको पनि भएको पुष्टि गरेको छ।

आईडीएफले गाजा युद्धको प्रारम्भिक महिनातिरै "नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामै हत्या भएको हुन सक्ने" जनाएको छ।

आईडीएफका अनुसार राष्ट्रिय विधिविज्ञान केन्द्रले जोशीको मृत्युको परिस्थितिसम्बन्धी परीक्षण सम्पन्न गरेपछि उनको विषयमा अन्तिम निष्कर्ष निकालिने छ।

शव कहिले आउला

अधिकारीहरूका अनुसार यसअघि पनि इजरेली सरकारले नै हमास समूहको आक्रमणमा मारिएका नेपाली विद्यार्थीहरूका शव नेपाल पठाइदिएको थियो। "अहिलेसम्म त्यही छ। १० जनाको हकमा पहिला पनि त्यसै भएको हो," परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने।

तेल अभिभस्थित नेपाली दूतावासका अधिकारीहरूले पनि इजरेल सरकारले नै शव पठाइदिने विश्वास व्यक्त गरेका छन्। "आवश्यक प्रक्रिया पूरा भएपछि इजरेल सरकारले नै शव नेपाल पठाइदिने छ," एक अधिकारीले भने।

इजरेलमा आवश्यक प्रक्रिया पूरा हुनासाथ सकेसम्म छिटो शव पठाउनका लागि इजरेली अधिकारीहरूसँग समन्वय गर्न तेल अभिभस्थित राजदूतलाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले बताए।

हाल अमेरिकामा रहेका जोशीकी आमा पद्मा र बहिनी पुष्पा नेपाल आइपुगेकै दिन इजरेलले शव पठाउने बुझिएको छ। "उहाँहरू पर्सि [बिहीवार] नेपाल आइपुग्नुहुन्छ र सोही दिन इजरेलले शव पठाउन सक्छ," ती अधिकारीले बीबीसीसँग भने।

किशोर जोशीले पनि पद्मा र पुष्पा बिहीवार नेपाल फर्किन लागेको पुष्टि गरे। "काकी र बहिनी अमेरिकाबाट पर्सि नेपाल आइपुग्नुहुन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

नेपालले 'सत्यतथ्य पत्ता लगाउन पहल' गर्ने

यसैबीच इजरेली विदेश मन्त्रालयका महानिर्देशक एडन बार तालले जोशीको शव नेपाल पठाउन आवश्यक सबै व्यवस्था इजरेली सरकारले मिलाउने बताएको परराष्ट्र मन्त्रालयले बताएको छ।

परराष्ट्रसचिव अमृतबहादुर राईसँग मङ्गलवार टेलिफोन संवादका क्रममा इजरेली अधिकारीले त्यस्तो प्रतिबद्धता जनाएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

"विपिन जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल जारी राखिने व्यहोरा अनुरोध छ।"

राष्ट्रपति रामचन्द्र पौडेलले जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्। "हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि अथक प्रयास गरेको तर अकस्मात् जोशीको निधनको खबरले स्तब्ध भएको छु," परिवारप्रति श्रद्धाञ्जली दिँदै पौडेलले भनेका छन्।

'डीएनए नमुना पहिल्यै लगिएको थियो'

अधिकारीहरूका अनुसार विपिन जोशी हमास समूहको अपहरणमा परेपछि त्यति बेला नै नेपालमा भएका उनका परिवारजनमबाट डीएनएको नमुना सङ्कलन गरिएको थियो।

"विपिन अपहरणमा परेपछि र १० जना नेपाली विद्यार्थी मारिएपछि इजरेली अधिकारीहरूले नेपालबाट डीएनए नमुना लगेका थिए," घटनाबारे जानकार अर्का अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।

परिवारका सदस्यसँग डीएनए नमुना मेल खाएपछि सम्बन्धित परिवारलाई शव बुझाउने गरिएको छ।

इजरेली सेनाले विपिन जोशीको मृत्युबारे उनकी बहिनी पुष्पा र ठूलोबुवाका छोरा किशोर जोशीसँगै नेपाली राजदूत धनप्रसाद पण्डितलाई सामूहिक कलमार्फत् सोमवार बिहान जानकारी गराएको थियो।

यद्यपि विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नपरेकाले उनको अवस्थाबारे अन्योल उत्पन्न भएको थियो। जीवित रहे वा नरहेको अन्योलबीच सोमवार राति हमास समूहले विपिन जोशीसहित चार जनाका शव इजरेली पक्षलाई फिर्ता गर्न लागेको बतायो।

इजरेली सेनाले मङ्गलवार फिर्ता गरिएका शवमध्ये एउटा जोशीको भएको पुष्टि गरेको छ।

पहिला के भएको थियो

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीसहित १,२०० जनाको ज्यान गएको थियो।

सबै नेपाली विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।

अधिकारीहरूका अनुसार त्यति बेला इजरेल सरकारले सबै शव नेपाल पठाइदिएको थियो।

शवहरू बुझ्न मृतकका परिवारका सदस्यहरूसँगै तात्कालिक परराष्ट्रमन्त्री एनपी साउदका साथै नेपालका लागि इजरेलका तात्कालिक राजदूत हनान गोदर काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

त्यहाँबाट शवहरू विभिन्न जिल्ला लगेर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको थियो।

पूर्वराजदूतको सम्झनामा विपिन जोशी

नेपालका लागि इजरेली पूर्वराजदूत गोदरले विपिन जोशी नेपालबाट इजरेल जान लाग्दा बिदाइ गरेको क्षणको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

विपिन जोशीको मृत्यु भएको पुष्टि भएपश्चात् सोमवार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै गोदरले जोशी हामीमाझ नरहेको र आशाको दुई वर्ष अब समाप्त भएको उल्लेख गरेका छन्।

"विपिन नेपालबाट इजरेल उड्नुअघि उनलाई भेट्ने अवसर पाएको थिएँ। एक युवा, ऊर्जावान् र क्षमतावान् विद्यार्थीले आफ्नो परिवार, समुदाय र देशका लागि केही राम्रो गर्न चाहेका थिए," उनले लेखेका छन्।

विपिन जोशी कसरी पुगेका थिए

नेपाली विद्यार्थीहरू 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल जाने गरेका छन्।

कञ्चनपुरका विपिन जोशी पनि त्यसै कार्यक्रम अन्तर्गत गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।

अक्टोबर २०२३ को घटनामा अरू नेपाली घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। उनी हमासको अपहरणमा परेको ठानिएको थियो। अन्य दुई जना भने सकुशल थिए।

विपिन जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

केही साताअघि हमासले तस्बिरसहित सार्वजनिक गरेको एउटा सूचीमा उक्त लडाकु समूहले जोशीको नाम पहिलो पटक समाविष्ट गरेको थियो। तर उनको अवस्था खुलाइएको थिएन।

गत वर्ष इजरेली सेनाले फेला पारेको एउटा भिडिओमा जोशीलाई गाजास्थित एउटा अस्पतालभित्र लग्दै गरिएको देखिएको थियो। उक्त भिडिओ नोभेम्बर २०२३ को थियो।

हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको अर्को भिडिओमा जोशीले आफ्नो परिचय दिएका छन्।

हमास र इजरेलले सङ्घर्षविराम गर्ने तयारी गरेपछि जोशी परिवारले उनी "जीवित रहेको" प्रमाण भन्दै उक्त भिडिओ सार्वजनिक गरेको थियो।

हमास के हो

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।