गाजाका केही भागबाट इजरेली सेना फिर्ता भएपछि हजारौँ प्यालेस्टिनीहरू गाजाको उत्तरतिर जाँदै

    • Author, एलिस डेभिस

इजरेल र हमासबीच शुक्रवार बिहान युद्धविराम सम्झौता लागू भएपछि इजरेली सेनाले गाजाका केही भागबाट आंशिक रूपमा आफ्ना सेना फिर्ता गरेको बताएको छ।

इजरेली सेनाले आफूहरू भूभागभित्रै सहमति जनाइएको स्थितिमा फर्किएको जनाएको छ - यद्यपि गाजा स्ट्रीपको अझै पनि आधा भाग ओगटेको छ।

भिडिओ फुटेजमा हजारौँ प्यालेस्टिनीहरू गाजाको उत्तरतिर जाँदै गरेको देखिन्छ जहाँ हालैका महिनाहरूमा इजरेली सेनाले ठूलो बमबारी गर्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविराम र बन्धक फिर्ती सम्झौतालाई इजरेली सरकारले बिहीवार अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो। त्यसपछिका चरणहरूमा अझै वार्ता भइरहेको छ।

सम्झौता अन्तर्गत हमासलाई सोमवार स्थानीय समयअनुसार १२ बजेसम्म सबै इजरेली बन्धकहरूलाई रिहा गर्न समय छ - जसमा २० जना जीवित रहेको विश्वास गरिएको छ र २८ जना बन्धकहरूको अवशेष पनि समावेश छ।

इजरेलले पनि इजरेलको जेलमा आजीवन कारावासको सजाय भोगिरहेका करिब २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्नेछ। इजरेली सेनाको रेडियोले १०० जनालाई वेस्ट ब्याङ्कमा र पाँच जनालाई पूर्वी जेरुसेलममा छोडिने जनाएको छ। अझै धेरै निकाला हुने ठानिएको छ।

गाजाबाट पक्राउ परेका थप १,७०० प्यालेस्टिनीहरूलाई पनि रिहा गर्नुपर्छ।

सम्झौताका सर्तहरू अन्तर्गत गाजाको जनसङ्ख्यालाई अत्यन्त आवश्यक सहायता ल्याउन सहायता लरीहरूलाई पनि गाजा स्ट्रिपमा प्रतिबन्ध नलगाइने गरी अनुमति दिइनुपर्छ। जसमध्ये धेरै दुई वर्षको युद्धको क्रममा बारम्बार विस्थापित भएकाहरू छन्।

शुक्रवारदेखि दैनिक ६०० वटा सहायता सामाग्री बोकेका ट्रकहरू गाजा प्रवेश गर्ने ठानिएको छ। यद्यपि त्यसको विवरण स्पष्ट छैन र युद्धविराम सुरु भएदेखि कुनै थप सहायता सर्वसाधारणसम्म पुगेको छ कि छैन भन्ने अझै पुष्टि भएको छैन।

संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले अगस्टमा पहिलो पटक यस क्षेत्रका केही भागमा भोकमरीको घोषणा गरेका थिए। उनीहरूले पाँच लाखभन्दा बढी मानिसहरूले "विनाशकारी" अवस्थाको सामना गरिरहेका बताएका थिए।

इजरेलले यस क्षेत्रमा भोकमरी रहेको कुरालाई बारम्बार अस्वीकार गर्दै आएको छ।

गाजामा युद्धविरामको निगरानीका लागि मध्यपूर्वमा रहेका २०० अमेरिकी सैनिकलाई युद्धविरामको अनुगमनका लागि इजरेल पठाउने अमेरिकी अधिकारीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार गाजा शहरको उत्तर–पश्चिममा पर्ने बाहिरी इलाकाबाट सैनिकहरू पूर्वतर्फ फर्किएका थिए।

दक्षिणमा केही इजरेली सेना खान युनिस क्षेत्रबाट पनि पछि हटेको बताइएको छ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा विज्ञप्तिमा इजरेली डिफेन्स फोर्सेस (आईडीएफ)ले सेनाले स्थानीय समय १२ बजेदेखि "अद्यावधिक गरिएको तैनाथी लाइनहरूमा आफू परिचालित हुन थालेको" जनाएको छ।

"साउदर्न कमान्डमा आईडीएफका सेनाहरू यस क्षेत्रमा तैनाथ छन् र तत्काल देखापर्नसक्ने कुनै पनि खतरालाई हटाउन निरन्तर लागिरहने छन्," विज्ञप्तिमा भनिएको छ।

अमेरिकी विशेष दूत स्टिभ विट्कोफले अमेरिकी सेन्ट्रल कमान्डले आईडीएफका सैनिकले "पहिलो चरणको फिर्ती पूरा गरेको" पुष्टि गरेका छन्। "एल्लो लाइन" भनिएको उक्त रेखा गत साता ह्वाइट हाउसले जारी गरेको नक्सामा देखाइएको थियो जहाँ युद्धविराम सम्झौताको यो चरणमा सेना फिर्ता हुनेछ जहाँ सेनाले गाजाको ५३ प्रतिशत नियन्त्रण गर्नेछ।

"बन्धकहरूलाई रिहा गर्न ७२ घण्टाको अवधि सुरु भएको छ," विट्कोफले भने।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले टेलिभिजनमार्फत गरेको सम्बोधनमा सबै बन्धकलाई फिर्ता ल्याउने प्रतिबद्धता पूरा गर्ने बताएका छन्।

उनले इजरेली सेनाले अझै पनि "सबै दिशाबाट हमासलाई घेरिरहेको" बताए। उनले ट्रम्पको योजनाको अर्को चरण भनेको "हमासलाई निःशस्त्र गरिने र गाजालाई असैनिकीकरण गरिने" रहेको बताए। हमासले यो बिन्दुमा निःशस्त्रीकरण गर्ने कुनै बाचा गरेको छैन।

यसअघि शुक्रवार युद्धविराम कहिले कार्यान्वयन भयो भन्ने विषयमा केही अन्योल देखिएको थियो। प्रत्यक्षदर्शीका अनुसार गाजामा शुक्रवार बिहानसम्म हवाई आक्रमण जारी रह्यो।

हमासको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको जनाएको छ।

आईडीएफले "कुनै पनि तत्काल खतरा हटाउन" आफ्नो अद्यावधिक तैनाथी लाइनबाट काम जारी राख्ने जनाएको छ। उसले मानिसहरूलाई अझै पनि इजरेली सैन्य नियन्त्रणमा रहेको क्षेत्रहरूमा प्रवेश नगर्न आग्रह गरेको छ।

आईडीएफ फिर्ता भएको गाजा सिटीका क्षेत्रहरूमा हमासको सुरक्षा बल तैनाथ गरिएको थियो। उनीहरूले नियमित प्रहरी बलको सट्टा हमासको आन्तरिक सुरक्षा एजेन्सीको लोगो भएको टोपी लगाएको तस्बिरमा देखिन्छ।

शुक्रवार हमासले गाजाको कुनै पनि "विदेशी अभिभावकत्व" लाई अस्वीकार गरेको र गाजाको शासन विशुद्ध प्यालेस्टाइनको आन्तरिक मामिला भएको बताएको थियो।

ट्रम्पको २० बुँदे शान्ति योजनाले गाजामा हमासको भविष्यमा कुनै भूमिका नहुने उल्लेख गरेको छ, जुन डोनल्ड ट्रम्पको नेतृत्वमा रहेको र यूकेका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको नेतृत्वमा रहेको "बोर्ड अफ पीस" द्वारा पर्यवेक्षण गरिएको प्यालेस्टिनी टेक्नोक्र्याटहरूको अस्थायी सङ्क्रमणकालीन निकायद्वारा शासित हुनेछ।

स्ट्रिपको शासन अन्ततः प्यालेस्टाइन अथोरिटी(पीए) लाई हस्तान्तरण गरिनेछ।

हमासले गाजाले "पुनर्निर्माण, पुनः प्राप्ति र विकास सहयोगको क्षेत्रमा अरब र अन्तर्राष्ट्रिय सहभागिताबाट" लाभ उठाउने आशा व्यक्त गरेको छ।

जब सेना आंशिक रूपमा पछि हट्यो हजारौँ प्यालेस्टिनीहरू गाजाको उत्तरमा रहेको तटीय मार्ग हुँदै पैदल यात्रा गरिरहेको भिडिओमा देखिएको थियो।

धेरैले आफ्नो बाँकी सामान ढाडमा बोकेर २० किलोमिटरभन्दा बढी पैदल यात्रा गरिरहेका थिए।

क्षतिग्रस्त साँघुरो सडकमा केहीले प्यालेस्टाइनी झन्डा फहराउँदै विजय चिन्ह देखाएका थिए। तर धेरै कमजोर र कुपोषित पनि देखिन्थे।

"बाटो लामो र कठिन छ, त्यहाँ खाना र पानी छैन," गाजा शहरबाट भागेका एक स्कुल शिक्षक अला सालेहले भने। उनी आफ्नी पत्नी र छ जना बच्चाहरूसँग दक्षिणमा खान युनिसमा गएका थिए।

"मैले मेरो परिवारलाई छोडेँ र उत्तरतिर हिँड्न थालेँ। मेरो वरिपरिका हजारौँले सङ्घर्ष गरिरहेका छन्। एउटा कार भाडामा लिँदा करिब ४,००० शेकेल अर्थात् १,२२७ अमेरिकी डलर खर्च हुन्छ। जुन अधिकांश मानिसहरूले खर्च गर्नसक्ने भन्दा बाहिरको कुरा हो," उनले बीबीसीलाई भने।

उत्तरमा जबालियामा रहेको आफ्नो घर जाँदै गरेका वेइल अल-नज्जरले आफू छोरासँग बाहिर चिसो भुईँमा सुतेको र घर जान कहिले पाइएला भनेर कुरिरहेको बताए।

उनले बीबीसीलाई भने, 'घर भत्किएको भए पनि भग्नावशेष नै किन नहोस्, हामी फर्कन्छौँ, पाल टाँग्छौँ र आफ्ना मानिसहरूकहाँ फर्कनेछौँ।"

सडकमा रहेका धेरैले गाजा सिटी फर्किने उद्देश्य राखेका थिए जुन धेरै जसो भग्नावशेषमा परिणत भएको छ।

इजरेलमा गाजामा बन्धक बनाइएका व्यक्तिहरूका परिवारहरू युद्धविरामको खबरले खुसी भएका छन्।

दुई वर्षअघि ताल हैमीको हत्या र हमासले लगेपछि आफ्नो काकाको शव फिर्ताको लागि सन् २०२३ को अक्टोबर ७ तारिखदेखि अभियान चलाइरहेका उरी गोरेनले युद्धविराम सम्झौताको बारेमा सुनेपछि आफूले "ठूलो राहतको सास फेरेको" बताए।

तर हमासले उनीहरूलाई सबै मृत बन्धकहरूको शवको ठेगाना थाहा नभएको बताएपछि राहत कम भएको छ। "सबै ४८ जना घर नफर्केसम्म यो अन्त्य हुने छैन," उनले जोड दिए।

गाजामा इजरेलको युद्ध सन् २०२३ को अक्टोबर ७ तारिखमा दक्षिणी इजरेलमा हमासको नेतृत्वमा भएको आक्रमणबाट सुरु भएको थियो जसमा लगभग १,२०० मानिसहरू मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता प्यालेस्टिनीको मृत्यु हुनेमा १८ हजारभन्दा बढी बालबालिकासहित ६७ हजारभन्दा बढी प्यालेस्टिनी छन्।

संयुक्त राष्ट्रसङ्घको जाँच आयोग र अग्रणी विज्ञहरूले युद्धको क्रममा इजरेलले गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाएका छन्।

इजरेलले उक्त रिपोर्टलाई 'विकृत र झुटो' भन्दै स्पष्ट रूपमा अस्वीकार गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।