सुरक्षण मुद्रण केन्द्रले अब छाप्ने सवारी लाइसन्स कस्तो हुन्छ

तस्बिर स्रोत, Getty Images
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
छापिन बाँकी २५ लाखजति सवारीचालक अनुमतिपत्रमध्ये आधाजसो छ महिनाभित्रै नेपाल सरकारको स्वामित्वमा रहेको सुरक्षण मुद्रण केन्द्रले छाप्ने तर तिनमा पहिलेको जस्तो 'चिप' नहुने अधिकारीहरूले बताएका छन्।
गत भदौ महिनामा भएको जेन जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा आगजनी भएको थियो। आगजनीका कारण विभागको सम्पूर्ण भौतिक प्रणाली जलेर नष्ट भएपछि सुरक्षण मुद्रण केन्द्रसँग नयाँ समझदारी गरी लाइसन्स छाप्न लागिएको विभागका निर्देशक नरहरि तिवारीले बीबीसीलाई बताए।
उक्त केन्द्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत पर्छ। "अहिले हामीसँग मशीन पनि छैन, अरू केही पनि छैन। दिइरहेको सेवा बन्द भएको परिस्थिति छ। त्यसै पनि कानुनी रूपबाटै अन्य निकायले छाप्दा समेत अनुमति लिएर मात्र छाप्न पाउने कानुनी व्यवस्था हो," उनले भने।
सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ अन्तर्गत सङ्घ तथा प्रदेश सरकारले जारी गर्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी, ब्याङ्क नोट, नागरिकता, अन्त:शुल्क स्टिकरजस्ता छवटा विशेष अधिकारप्राप्त दस्तावेज र अन्य सामग्री सुरक्षण मुद्रण केन्द्रले मात्र छाप्ने गरिको छ।
त्यसबाहेक अन्य तीनवटा- हुलाक टिकट, लालपुर्जा र भिसाको स्टिकर मुद्रण गर्ने उक्त केन्द्रको अख्तियारी मा पर्छ।
केन्द्रका कार्यकारी निर्देशकले विभागसँगको समझदारीमा छापिने लाइसन्स सुरक्षाका विभिन्न छवटा तह रहने 'क्यूआर कोडयुक्त' हुने बीबीसीलाई बताए।
"त्यो अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्ड पालना हुने गरी स्मार्ट नै हुने छ। पहिलेको भन्दा फरक प्रविधि भए पनि त्यो अझ परिष्कृत सुरक्षासहितको हुने छ," कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भने।
नयाँ कार्ड कस्तो हुन्छ, चिप भएको लाइसन्स के हुन्छ
विभागले गत बुधवार केन्द्रसँग छ महिनाभित्र १२ लाखको सङ्ख्यामा नयाँ प्रकारको 'स्मार्ट कार्ड' छापेर दिने सहमति गरेको हो।
"त्यो चिपजडित होइन। तर हामीले चिप र क्यूआर दुवै भएका कार्डहरू प्रयोगमा ल्याउँछौँ। सोहीअनुसार नियमावली संशोधन भइसकेको अवस्था छ," यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारी भन्छन्।
"अहिले तत्काल चिपयुक्त कार्ड दिन सक्ने अवस्था नभएको मात्र हो। नत्र हामीसँग अहिले पनि प्रिन्ट हुन बाँकी रहेका छ लाखवटा चिपयुक्त कार्डहरू छन्।"

जेन जी आन्दोलनका बेला क्षतिग्रस्त प्रिन्टिङ मशीन बन्यो भने त्यसलाई त्यसलाई पनि प्रयोगमा ल्याइने यातायात अधिकारीहरू बताउँछन्। "उक्त मशीन नबन्दासम्मको अवस्थाका लागि हामी क्यूआरयुक्त कार्डहरू नै लाइसन्सका रूपमा चलाउँछौँ," निर्देशक तिवारीले भने।
अधिकारीहरूका अनुसार आगामी साताभित्रै विभागले आफूसँग भएका विवरण उपलब्ध गराउने छ र त्यसलगत्तै छपाइको काम सुरु हुने छ।
केन्द्रले विभागबाट 'इन्क्रिप्टिड' अर्थात् गोप्य रूपमा सङ्केतका रूपमा पुग्ने गरी डेटा पाउने बताइएको छ। त्यसको तीन दिनभित्रमा छपाइ सुरु भइहाल्ने केन्द्रको भनाइ छ।
"कानुनी आधार समेत सुरक्षण मुद्रण केन्द्रले छाप्ने भन्ने गरी बनेकाले अब अवस्था सामान्य हुँदा पनि केन्द्रबाटै लाइसन्स छपाइलाई निरन्तरता दिनुपर्छ भन्ने मनस्थितिमा हामी छौँ," तिवारीले भने।
मुद्रण केन्द्रका प्रमुख ढुङ्गानाका अनुसार केन्द्रले छाप्ने कार्डमा 'इन्टेलिजन्ट क्यूआर' हुने र त्यसको पहुँच पाँच तहमा विभिन्न निकायलाई आवश्यकतानुसार दिइने छ।
"सर्वसाधारण, ट्राफिक र यातायात कार्यालयले उनीहरूलाई आवश्यक पर्ने गरी मात्र त्यसका डेटामा पहुँच पाउने छन्।"
सबै काम कहिले सकिएला

ऐनमा सुरक्षित मुद्रण सामग्री जारी गर्ने सरकारी निकायले छ महिनाअघि आफूलाई आवश्यक पर्ने सामग्रीको माग गरेर पठाउनुपर्ने र त्यसको छपाइको तयारी व्यवस्था छ।
"विभागसँग हाम्रो समन्वय गत चैतदेखि नै भइराखेको थियो। [जेठमा] समझदारी पत्रमा हस्ताक्षर गरिसकेका थियौँ। जसलाई कार्यान्वयनमा लैजान बुधवार सम्झौता गरेका हौँ," मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले भने।
गत वर्ष २०८१ असारमा ऐन लागु भएदेखि नै त्यसको कार्यान्वयन यसै गरी गर्ने तयारी भइराखेको अधिकारीहरूको भनाइ छ।
"नौवटै सामग्री जारी गर्ने निकायहरूसँग समन्वय भइराखेकै थियो। तर सवारीचालक लाइसन्सका हकमा छाप्न बाँकी पुराना धेरै भएको अवस्थामा अहिले प्राथमिकतामा परेको हो," देवराज ढुङ्गानाले भने।
उनका अनुसार क्यूआर कोडयुक्त भए पनि त्यसमा देखिने र नदेखिने सुरक्षाका विभिन्न ३४ वटा फीचर छन्। "ट्राफिक प्रहरीले अफ-लाइन नै जाँच्न मिल्ने छ। पहिलेको भन्दा फरक छ तर यो सुरक्षाका हिसाबले थप परिष्कृत प्रविधि हो"
प्राथमिकता के हो
तीन वर्षदेखि छापिएर वितरण हुन नसकेका सवारीचालक अनुमतिपत्रहरू सोही अनुसार क्रमबद्ध रूपमा छापिने र विदेश जानेहरूलाई प्राथमिकता दिइने सरकारी योजना छ।
त्यसपछि प्रदेशबाट आउने माग जारी हुँदै जाने नयाँ लाइसन्सहरू छपाइ हुन थाल्ने छ।
छ महिनापछि अर्को चरणमा छपाइको गति बढ्ने मुद्रण केन्द्रका प्रमुख ढुङ्गानाको विश्वास छ।
"सुरु गरेपछि त्यसपछि खासै समय लाग्दैन। अर्को तीन महिनामा छाप्न बाँकी पूरै सकिन्छ," उनी भन्छन्।
"अब ऐनको व्यवस्थानुसार तोकिएका सामग्रीहरू केन्द्रले मागअनुसारको छपाइ गर्न नसक्ने ठानेमा उसले आफ्नो बोर्ड बैठकमार्फत् निर्णय गरेर पठाउनुपर्छ। अन्यथा सुरक्षण मुद्रण केन्द्रले नै गर्नुपर्छ भन्ने व्यवस्था छ।"
केन्द्रको कारखाना बनेपामा छ। त्यहाँ कच्चा पदार्थ र आधारभूत सामग्री ल्याएर कार्ड तयार पारिने अधिकारीहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








