तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रहरीद्वारा रामबहादुर बमजन पक्राउ, उनीविरुद्ध लागेका आरोप के छन्
'लिटल बुद्ध' भनेर पनि चिनिएका रामबहादुर बमजनलाई काठमाण्डूबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मङ्गलवार पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।
यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयता खोजी गरिँदै आएको थियो।
सीआईबीका प्रवक्ता नवराज अधिकारीले बीबीसीसँग भने: "आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप छन्। धेरै ठाउँबाट जाहेरी परेकाले प्रहरीले आज त्यसलाई एकीकृत पार्ने काम गरिरहेको छ।"
"जाहेरी विवरण जुटाउने काम भइरहेको छ। जहाँ जहाँबाट जाहेरी परेको छ त्यहीँबाट कानुनी प्रक्रिया बमोजिम मुद्दा चल्नेछ," प्रवक्ता अधिकारीले भने।
पक्राउ र उनीमाथि लागेका अभियोगसम्बन्धी विस्तृत विवरण बुधवार सार्वजनिक गर्ने सीआईबीको तयारी छ।
घटनाक्रम
मध्य तराईको बाराको एउटा एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए।
सोह्र वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। त्यसयताका वर्षमा उनी विभिन्न विवादमा जोडिन थाले।
पाँच वर्षअघि नै सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका 'अनुयायीहरू' त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका मुद्दामा प्रहरीले छानबिन थालेको थियो।
त्योसँगै सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रम सिलबन्दी गरेर अनुसन्धान थालिएको थियो।
२०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन भएका वाइबाका परिवारका तर्फबाट किटानी जाहेरी परेपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान सुरु गरेको थियो।
तर सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजतलास तीव्र पारिएको थियो।
बारा, सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनका आश्रम थिए।
को हुन् बमजन
बमजनआबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो।
उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो।
उनका आमाबुवाका नौ सन्तान छन्। उनी साहिँला छोरा हुन्।
उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।
"उनी गर्भमा हुँदा उनकी आमालाई माछामासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घरबाहिर जाने गर्थे," वेबसाइटमा उल्लेख गरिएको छ।
सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन छ महिनासम्म पानी पनि नपिएर ध्यानमा लीन भएको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने दाबी गरेका थिए।
उक्त विवरणका अनुसार गौतम बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी भएकाले स्थानीयवासीहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।
उनलाई खासगरी केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले 'लिटल बुद्ध' को उपनाम पनि दिएका थिए।
तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिरह्यो।
सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएको बताइन्छ।
तपस्यामा रुचि र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थानआसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गर्न थाल्यो।
अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।
नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनी यति चर्चित भए कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।
देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिक रूपमा बढाउँदै लगे।
त्यसै कारण उनले "भित्रभित्रै असीमित शक्ति" आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणमा उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।