रामबहादुर बमजन 'लिटल बुद्ध'का पाँच भक्तहरू वर्षौँदेखि बेपत्ता तर प्रहरीको अनुसन्धान अगाडि किन बढेन

'लिटल बुद्ध'को अनुयायी बनेर गएकाहरू त्यसपछि फर्केर नआएको भनेर विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको एक हप्ता भन्दा बढी भइसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भनेर आलोचना भइरहेको छ।

बीबीसी नेपाली सेवासँग कुरा गरेको प्रहरी अधिकारीहरूका अनुसार उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको बताएका छन्।

तर विभिन्न किसिमका संगीन आरोप लागेका भनिएका बमजन माथि भने हाल सम्म प्रहरीले कुनै पनि किसिमको कारबाही अगाडि नबढाएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

बमजन विरुद्ध समाचार सार्वजनिक भएपछि बमजन आबद्ध संस्था बोधी श्रवण धर्म संघले एक विज्ञप्ति निकालेर सञ्चारमाध्यममा उनीबारे आएका समाचार अस्विकार गरेको छ।

चार उजुरी

विज्ञप्तिमा ती समाचार "आधारहीन र सडेगलेका" भएको र तीनलाई संस्थाले "खारेज" गरिदिएको बताइएको छ।

हालसम्म नुवाकोट, मकवानपुर र बारा जिल्ला प्रहरी कार्यालयमा छुट्टाछुट्टै चार उजुरी परेको विवरणहरू सार्वजनिक भएका छन्।

''बमजनमाथि कारबाही अघि नबढाए पनि उनलाई नजिकबाट निहालिरहेका छौ,'' जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवले भने।

हालका दिनमा बमजन सिन्धुलीको स्थित आश्रममा बस्ने गरेको उनले पुष्टि गरे।

यादवका अनुसार बमजन विरुद्ध स्पष्ट रूपमा उजुरी नपरेको र माथिल्ला निकायबाट समेत कारबाहीका लागि निर्देशन नआएकाले हालसम्म कुनै पनि प्रक्रिया अधि नबढाइएको हो। ''हामी कहाँ हराएका भनिएकाहरूको खोजी गर्ने परिपत्र प्राप्त भएको छ र त्यसै आधारमा खोजिएको क्रमलाई तीव्र बनाएका छौँ,'' यादवले भने।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक एसपी मुकुन्द मरासिनीले पनि यादवकै जस्तो उत्तर दिए।

आलोचना

एकातर्फ प्रहरी प्रशासनको बमजन माथि अनुसन्धान गर्न अनिच्छा र अर्को तर्फ गृहमन्त्री रामबहादुर थापासँग बमजनको बोधी श्रवण धर्म संघका पदाधिकारीले गरेको भेटका कारण चौतर्फीरूपमा सरकारको आलोचना भएको छ।

गृहमन्त्री थापा मात्र नभएर उक्त संस्थाका पदाधिकारीहरूले नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाललाई समेत भेटेर ज्ञापनपत्र बुझाएका खबर प्रकाशित भएका थिए।

आफ्ना पिता सञ्चलाल वाइबा हराएको भनेर जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका महेन्द्र वाइबाका अनुसार प्रहरी प्रशासनले हालसम्म उनलाई कुनै पनि किसिमको जानकारी दिएको छैन। ''दुई–तिन दिनमा जानकारी दिन्छौँ भन्ने आश्वासन पाएका छौँ,'' उनले बीबीसीलाई भने।

हेटौडा प्रहरी कार्यालयका डिएसपी यज्ञप्रसाद भट्टराईले पनि अनुसन्धान जारी रहेकाले धेरै कुरा बताउन नसकिने जानकारी दिए।

गृह प्रशासनले भने आफूहरू घटनाबारे जानकार रहेको र आवश्यक प्रक्रिया अघि बढाएको दाबी गरे।

''प्रहरी अनुसन्धान चलिरहेको छ। हराएका भनिएकाहरू मात्र नभएर प्रहरी प्रशासनले बमजन को क्रियाकलाप माथि पनि निगरानी बढाएको जानकारी प्रहरीका महानिरीक्षकले मलाई जानकारी दिएका छन्। बाँकी विवरण भने आउन बाँकी छ,'' गृह सचिव प्रेम कुमार राईले बीबीसीसँग भने।

उनले दोषी ठहर भए जो सुकै भए पनि कारबाही प्रक्रिया अधि बढाइने जानकारी दिए। छिमेकी राष्ट्र भारतमा पनि यस्ता किसिमका घटनाहरू भएको र त्यस्ता घटनामा दोषी ठहर भएकाहरू माथि कारबाही भएको दृष्टान्त सुनाउँदै अपराधी जो कोहि रहे पनि छुट नपाउने जिकिर गरे।

बमजनबारे विवरणहरू सार्वजनिक भए लगत्तै बोधी श्रवण धर्म संघले एक विज्ञप्ति जारी गर्दै हाल भइरहेका गतिविधि योजनाबद्ध ढङ्गले धार्मिक सहिष्णुतालाई खलल गराउने कुत्सित मनसाय राखी देश र जनतालाई नै बर्बादीको दिशातर्फ घचेट्ने धृष्टता रहेको भन्दै खण्डन गरेको थियो।