बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीले निम्त्याएको झरी अझै केही दिन रहने

वर्षा

तस्बिर स्रोत, EPA/Narendra Shrestha

तस्बिरको क्याप्शन, सामान्यतया नेपालमा मनसुनको याम जुन महिनाको १३ देखि अक्टोबर २ तारिखसम्म रहने गर्छ

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीले लगभग देशैभरि पानी परिरहेको मौसमविद्हरूले बताएका छन्।

मङ्गलबार बिहानैदेखि खासगरी दाङ र चितवन आसपासका क्षेत्रमा भारी वर्षा भएको थियो।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अनि कर्णाली, सुदूर पश्चिम तथा मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिएका छन्।

मनसुनको मौसम भएकाले बदली र वर्षाको क्रम यथावत् चलिरहने मौसमविद्हरूले बताएका छन्।

रेडलाइन
रेडलाइन

कहिलेसम्म झरी जारी रहला?

बाढी पुर्वानुमान महाशाखाले मङ्गलबार बिहान जारी गरेको बुलेटिनमा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दियालगायत काठमाण्डू उपत्यकामा पनि स-साना नदीहरूमा बहाव बढ्न सक्ने तथा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख छ।

तिनाउ नदीको जलसतह खतराको तह आसपास रहेकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन उसले सचेत गराएको छ।

बुधवार र बिहीवार सम्मको मौसम पूर्वानुमान अनुसार देशैभरि सामान्य बदली रहने तथा कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षा समेत हुने जनाइएको छ।

तिनाउ नदी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अविरल वर्षाले लुम्बिनी प्रदेशस्थित तिनाउ नदीमा जल सतह खतराको तह आसपास पुगेको छ

४२ दिनमा ५६५ मिलि पानी!

नेपालमा जुन १३ बाट सुरु भएर ११२ दिनसम्म रहने मनसुन यसपालि एक दिन ढिलो गरी प्रवेश गरेको थियो।

अहिले करिब ४२ दिन बित्दा लगभग ३८ प्रतिशत पानी परिसकेको बताइएको छ।

“मनसुनमा नेपालमा कूल औसत १४७२ मिलिलिटर पानी पर्ने ठानिन्छ। सोमबार सम्मको आँकडा हेर्दा ३८.४ प्रतिशत वा ५६५ मिलिलिटर पानी परिसकेको छ,” मौसमविद् गोविन्द झाले भने।

वर्षभरिको कूल पानी पर्ने परिमाण हेर्ने हो भने चाहिँ कूल औसत १८३२ मिलिलिटर रहने गरेको पाइन्छ जसमध्ये यसपालि ४३ प्रतिशत वा ७८७ मिलिलिटर पानी परिसकेको उनले बताए।

औसतभन्दा १० प्रतिशत तलमाथि भएसम्म स्वाभाविक मनसुन मान्ने गरिन्छ।

“जुलाई महिना सबभन्दा धेरै पानी पर्ने महिना पनि हो। अगस्टदेखि खासगरी बेलाबेला मनसुन ब्रेक वा पानी केही दिन नपर्ने पनि हुने गर्छ।”

तराईका केही स्थानमा कम वर्षा

यसपालिको मनसुनमा अहिलेसम्म हेर्दा कतिपय ठाउँमा भारी वर्षा भइरहेको भए तापनि विशेषगरी मधेश प्रदेशका कतिपय ठाउँमा भने पर्याप्त पानी परेको छैन।

“मनसुन पनि अलि खण्डित खालको देखिएको छ। तराईका कैयन् भूभागमा कम परेको छ। सप्तरी, सिराहासम्म अलि परेको छ भने पश्चिममा पनि लुम्बिनीमा अब पर्न थालेको छ। बीचका भूभागमा अलि कम परेको छ,” झाले भने।

“तर अब मनसुनको न्यून चापीय रेखा माथि सर्ने सम्भावना छ र त्यसो हुँदा ती क्षेत्रमा आउने दिनमा मनसुनी वर्षा सक्रिय हुन सक्छ।”

सुर्खेत

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बाढि पहिरोले कैयन् ठाउँका सडक पटकपटक अवरुद्ध भएका छन्

क्षति विवरण

यो वर्ष वैशाख १ गतेदेखि सोमवार (साउन ८ गते) सम्मको आँकडा हेर्दा विभिन्न विपद्का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ११६ पुगेको छ।

राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार तीमध्ये पहिरोका कारण २४, हिम पहिरोका कारण १२, चट्याङका कारण २९, भारी वर्षाका कारण १, र बाढीका कारण १० जनाको ज्यान गएको छ।

विपद्का घटनाहरूमा परी २५ जना बेपत्ता भएको अनि ४३९ जना घाइते भएको उसको विवरणले देखाउँछ।

घर, सडक, पुलजस्ता संरचनाहरू भत्कँदा आर्थिक क्षति ८४ करोडभन्दा धेरैको भइसकेको उल्लेख छ।

सडकहरूको हकमा मुख्य गरी चार सडकमा धेरै क्षति पुगेको सडक विभागले बताएको छ।

“मेची राजमार्ग, सङ्खुवासभास्थित कोशी राजमार्गको खण्ड, मध्य पहाडी राजमार्गका खण्ड अनि नारायणगढ-मुग्लिन सडकमा धेरै क्षति पुगेको थियो,” विभागका निर्देशक एवं प्रवक्ता रामहरि पोखरेलले बताए।

सोमवार राति देखिको वर्षाले नारायणगढ-मुग्लिन सडक केही बेर अवरुद्ध भएर पछि सञ्चालनमा आएको उनले जानकारी दिए।

तीबाहेक निजी क्षेत्रका खास गरी जलविद्युत आयोजनाहरूमा बाढी पहिरोले पुर्‍याएको क्षति अझ धेरै देखिन्छ।

“पूर्वमा आएका बाढी पहिरोले ३० वटा आयोजनाहरूमा क्षति पुगेको छ। त्यसको आर्थिक हिसाब गर्दा ८ अर्ब रुपैयाँभन्दा धेरैको छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ इप्पानका अध्यक्ष गणेश कार्कीले बताएका छन्।