नेपालमा गर्मी कहिलेसम्म बढ्छ, मनसुन कहिले आइपुग्छ

गर्मीमा लस्सीको बिक्री बढेको छ

तस्बिर स्रोत, Getty Images

उखरमाउलो गर्मीका कारण केही दिनयता देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले तराई भूभागमा अझै केही दिन 'लू' अर्थात् तातो हावा चल्न सक्ने भएको सकेसम्म बाहिर ननिस्किन आग्रह गरेको छ।

असह्य गर्मीका कारण तराई भूभागमा शिक्षण संस्थाहरू समेत बन्द गरिएको छ।

विभागका अनुसार बिहीवार नेपालका चार ठाउँमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ।

नवलपरासीको दुम्कौली, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा हालसम्मकै उच्च तापक्रम मापन गरिएको हो।

दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस, धरानमा ३९.३, ओखलढुङ्गामा ३१ र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।

कहिले घट्छ गर्मी?

विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद्‌ इन्दिरा कँडेलका अनुसार अहिलेको गर्मीसँग तीनवटा अवस्था जोडिएको देखिन्छ।

“पहिलो त नेपालको भौगोलिक अवस्थितिका कारण यो समयमा सूर्यको किरण धेरै आउँछ जसका कारण जमिनको सतह धेरै तात्छ र हावालाई पनि तताउँछ,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

“दोस्रो अहिले वर्षा गराउने गतिविधि कम भएको छ जसले गर्दा गर्मी धेरै भइरहेको छ र तेस्रो कारण जलवायु परिवर्तनको असर हो।”

जल तथा मौसम विज्ञान विभागस्थित मौसमविद्‌ रोजन लामिछानेका अनुसार मनसुन सुरु नभएसम्म गर्मी कम हुने सम्भावना देखिएको छैन।

मौसम

तस्बिर स्रोत, Getty Images

“मनसुन सुरु भएपछि बल्ल तापक्रम घट्न थाल्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

तर नेपालमा अझै पाँच/सात दिनसम्म मनसुन सक्रिय नहुने पूर्वानुमान रहेको वरिष्ठ मौसमविद्‌ कँडेलले बताइन्।

“त्यसकारण अहिले भइरहेको गर्मी यथावत्‌ रहन्छ वा अझै बढ्ने हुन्छ,” उनले थपिन्।

मौसमविद्‌हरूका अनुसार 'एल निन्यो' हुने बेला नेपालमा मनसुनमा कम वर्षा हुने गरेको पाइएको छ। त्यो हुँदा पनि गर्मी बढ्छ।

“यो मनसुनमा नेपालमा कम वर्षा हुने आकलन छ। तापक्रम पनि सरदरभन्दा बढी हुने आकलन छ,” मौसमविद्‌ लामिछानेले भने।

मौरम

नेपालमा उच्च तापक्रम कतिसम्म पुगेको छ?

नेपालमा तथ्याङ्क राख्न थालिएयता सबैभन्दा उच्च तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार सन् १९९५ को जुन ५ तारिखमा धनगढीमा ४६.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

सन् १९९५ कै मे ३ मा ४५.२ डिग्री सेल्सियस र जुन १६ मा नेपालगन्ज ४५ डिग्री सेल्सियस मापन भएको विवरण छ।

सन् २०१२ को मे २८ मा दिपालयमा ४५ डिग्री सेल्सियस र सन् २०१२ को जुन १४ तारिखमा

सुर्खेतमा तापक्रम ४२ डिग्री सेल्सियस पुगेको थियो।

मौसम
गर्मीको असर

अन्तर्राष्ट्रिय परिदृश्य के छ?

एल निन्यो भनिने प्राकृतिक मौसमी प्रणाली प्रशान्त महासागरमा सुरु भएको छ जसले तातिरहेको पृथ्वीलाई थप तताउने देखिएको वैज्ञानिकहरूले बताएका छन्।

एल निन्यो सुरु भइसकेको अमेरिकी वैज्ञानिकहरूले पुष्टि गरेका छन् र विज्ञहरूका अनुसार त्यसले सन् २०२४ लाई सबैभन्दा तातो वर्ष बनाउने ठानिएको छ।

एल निन्योले विश्वको मौसमलाई पनि प्रभावित पार्ने अनुमानबीच अस्ट्रेलियामा खडेरी, दक्षिणी अमेरिकामा थप पानी र भारतमा मनसुन कमजोर हुन सक्छ।

एल निन्योका कारण एशियाका कैयौँ भाग धेरै गर्मी र खडेरीको चपेटामा पर्ने ठानिएको छ। मनसुन प्रभावित हुँदा त्यसले नेपालमा पनि असर गर्न सक्छ।

एल निन्यो र ला निन्या भनेको के हो?

ला निन्या

एल निन्यो र ला निन्या भनेका जलवायु प्रणाली एल निन्यो सदर्न असिलेशन (ईएनएसओ) का दुईवटा अवस्था हुन्।

एल निन्यो भनेको एउटा जलवायु प्रणाली हो जुन पूर्वी प्रशान्त महासागरको तापक्रममा निर्भर हुन्छ।

यो अवस्था हुँदा पूर्वी प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढी हुन्छ।

अहिलेसम्म सार्वजनिक भएका अध्ययनहरूबाट नेपालमा अबका केही सातामा सुरु हुने बर्खायाममा एल निन्योको अवस्था विकसित हुने हुँदा तापक्रम सरदरभन्दा बढ्ने पूर्वानुमान गरिएको हो।

ला निन्या

एल निन्यो र ला निन्याले मौसमलाई कसरी असर गर्छ?

सबै एल निन्यो र ला निन्या उस्तै हुँदैनन्। तर वैज्ञानिकहरूका अनुसार त्यसका केही विशिष्ट प्रभावहरू हुन्छन्।

एल निन्योको अवस्थामा विश्वव्यापी तापक्रम झन्डै ०.२ डिग्री सेल्सियसले बढ्छ भने ला निन्याका क्रममा त्यति नै मात्रामा घट्छ।

एल निन्योको अर्थ तातो पानी अझै धेरै फैलिन्छ र सतहनजिक रहन्छ।

यसले वायुमण्डलमा थप तातो पठाउँछ र त्यसले बढी सुक्खा र हावालाई थप तातो बनाउँछ।

एल निन्यो

अहिलेसम्मको विवरणअनुसार सबैभन्दा तातो वर्ष सन् २०१६ थियो। त्यतिबेला एल निन्योको अवस्था थियो।

सन् २०२० देखि २०२२ सम्ममा उत्तरी गोलार्धमा लगातार तीनवटा ला निन्या अवस्था देखिएको थियो।

यसरी लगातार तीन पटक ला निन्याको अवस्था देखिए पनि युरोपेली आयोगको जलवायु परिवर्तन अनुगमन सेवाले सन् २०२२ लाई पाँचौ तातो वर्ष भएको जनाएको छ।

ला निन्याको अवस्थामा एशिया र क्यानडामा ठूलो वर्षा देखिएको थियो।