उत्तराखण्डको जोशी मठको जमिन किन भासिँदै छ?

- Author, विनीत खरे
- Role, बीबीसी संवाददाता, जोशी मठ, उत्तराखण्ड
बद्रीनाथ, औली भ्याली अफ फ्लावर्स, हेम कुण्डलगायतका ठाउँको भ्रमण गर्न हरेक वर्ष लाखौँ मानिस भारत-चीन सीमा नजिकको नगर जोशी मठ पुग्छन्।
तर केही समययता उत्तराखण्डको जोशी मठका मानिसहरूले आफ्नो घर धसिँदै गएको गुनासो गर्दै आएका छन्। ती घरहरूमा धाँजा फाटेका छन्।
जोशी मठ भारतको सबैभन्दा बढी भूकम्प प्रभावित जोन-५ मा पर्छ।
सन् २०११ को जनगणना अनुसार यहाँ करिब चार हजार घरमा १७ हजार मानिस बस्छन्। तर समयसँगै यो नगरमा मानिसको घनत्व बढ्दै गएको छ।
जोशी मठको बीचबाट अलि पर ढलान गरेका घरले भरिएको सुनील नामको एउटा गाउँ छ।
छतबाट तल ओर्लिएर सुनैना सकलानीले हामीलाई उनको घरका कोठा देखाउन लगिन्।
नीलो रङ्गको कोठाको भित्ता चर्किएको थियो र भुईँमा धाँजा फाटेका थिए।
अवस्था यस्तो थियो कि त्यहाँ उभिनु पनि सायद सुरक्षित थिएन।
कुनै समय सुनैना आफ्ना दिदीबहिनीसँग यही कोठामा बस्ने गर्थिन्।
पहिले यो कोठामा दुई वटा खाट थिए। एक छेउमा मन्दिर थियो। यहीँ उनका किताबहरू थिए। तर अहिले कतै जमिनभित्र भासिने हो कि भन्ने डरले यो कोठा बन्द रहन्छ।
सबै दिदीबहिनीहरू अहिले छेउको अर्को कोठामा सरेका छन्।
उनी भन्छिन्, "गत अक्टोबरको वर्षापछि यहाँ बिस्तारै चिरा पर्न थाल्यो, पहिलो दिन सामान्य लाग्यो तर दोस्रो दिन चिरा झन् बढेको देखेपछि हामी निकै आत्तियौँ। एक महिनामै कोठा बिग्रन थाल्यो।”
छेउमै रहेको काकीको घरको अवस्था पनि फरक छैन। त्यसको भुईँ, पर्खाल, छतमा परेका चिराहरूबाट उनी त्रस्त छिन्।
काका मजदुरको रूपमा काम गर्छन् र उनी २० वर्षभन्दा बढी समयदेखि यही घरमा बस्दै आएका छन्।
सुनैनाकी काकी अञ्जु सकलानी भन्छिन्, "कोठाहरू बस्नका लागि उपयुक्त नै छैनन्। गएर हेर्नुस् न, कस्तो स्थिति छ। कसरी चिरा परिरहेको छ। हामी कसरी यहाँ बसिराखेका छौँ? हामी यता उता कता जाऔँ? मान्छेहरू भन्छन्, यता जाऊ,उता जाऊ,यहाँ बनाऊ, उता बनाऊ,कहाँ बनाऊँ हामीले? बेरोजगार छौँ। हामीलाई पैसा चाहियो। ऋण लिएर त हामीले घर बनाएका थियौँ। अझैँ तिरेका छैनौँ। अनि अर्को घर कहाँबाट बनाउन सक्छौँ र?"
अञ्जु सकलानीका अनुसार त्यहाँका परिवारले प्रशासनसँग सहयोग मागे र पत्रकारलाई आफ्नो पीडा सुनाए तर सुनुवाइ भएन।

चिसो बढ्दै गएको छ र यी चर्किएका पर्खाल वा छानाले हिउँको बोझ कति र कति धान्न सक्छन्, कसैलाई थाहा छैन।
अञ्जु सकलानी भन्छिन्, "धेरै पानी पर्दा हामी बच्चाहरूलाई लिएर बाहिर उभिन्छौँ। पर्खाल भत्किएला वा छत खस्ला कि भनेर डराउँछौँ।"
जोशी मठमा धेरैले हामीलाई आफ्नो घरको अवस्था देखाउन एकपछि अर्को गर्दै लगे।
कतै हामीले उनीहरूको आवाज माथि पुर्याइदिन्छौँ कि भन्ने उनीहरूको आशा थियो। आफ्नो आवाज कसैले नसुनिरहेको उनीहरूको गुनासो छ।
"होइन, त्यस्तो होइन। हामी सबै सुनिरहेका छौँ, सरकारले सुनिरहेको छ। मुख्यमन्त्री यसमा गम्भीर हुनुहुन्छ," उत्तराखण्डको विपद् व्यवस्थापन सचिव डा. रञ्जितकुमार सिन्हा भन्छन्।
पीडित परिवारका लागि वैकल्पिक व्यवस्थाको आश्वासन दिँदै सिन्हाले भने, "त्यसका लागि जग्गा पहिचान गर्न हामीले जिल्ला अधिकारीलाई नजिकै कतै उपयुक्त ठाउँ छ कि भनेर हेर्न भनेका छौँ। अनि अर्को कुरा त्यहाँ थप क्षति नहोस् भनेर हामी काम गर्नेछौँ।"
"राज्यको विपद् व्यवस्थापन कोषमा करिब १८०० करोड रुपैयाँ छ र डिसेम्बरमा करिब ४०० करोड थप आउने छ। त्यसैले पैसाको अभाव छैन। हामीले के गर्ने भन्ने निर्णय गरिसकेपछि हामी सम्पूर्ण शक्ति लगाएर काम गर्नेछौँ।"
डा. सिन्हाले छिटो काम गर्ने कुरा गर्छन् तर जोशी मठका बासिन्दाको निम्ति प्रत्येक दिन कष्टकर बन्दै छ।
किन भासिँदै छ जमिन?
नजिकैको गाउँ रवि ग्रामकी सुमेधा भट्ट १० वर्षअघि यहाँ घर बनाएर सरेकी हुन्।
उनले घरमा २० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेकी छन्। चिरा परेका भित्ताबाट सर्प र बिच्छी घरभित्र पस्ने डरले उनले घर मर्मत गरिन् तर कुनै फाइदा भएन।

उनको घरको भान्सा र कोठाका भित्ता र भुईँमा चिरा परेका थिए। एउटा चिराबाट सर्पको बच्चा घस्रिरहेको देखेपछि उनले त्यसलाई भगाउन फिनाइल लिएर आइन्।
उनी भन्छिन्, "जमिन भासिँदै जाँदा ढोका पनि लच्किन्छ। त्यसैले ढोका बन्द हुँदैनन्। चुकुल लाग्दैन। पानी परिरहेकाले झन् बढी डर लागेको छ। साना केटाकेटी छन्, रातमा कहाँ जाऊँ?"
घर भत्किने डरले मानिसहरूले टेको लगाएका छन्। स्थानीयवासीले भने, ‘केही दुर्घटना होला भन्ने डरले मानिसहरू घर छोडिरहेका छन्।’
गत असोज महिनामा परेको अविरल वर्षाका कारण घरमा चिरा देखिन थालेको सकलानी परिवारले बताए।
अक्टोबर १७–१९ को बाढीले उत्तराखण्डमा ठूलो क्षति पुर्याएको थियो।
एक रिपोर्टका अनुसार गत अक्टोबर १८ गते बिहान साढे आठ बजेदेखि २४ घण्टासम्म जोशी मठमा १९० मिलिमिटर वर्षा भएको थियो।
सुमेधा भट्टका अनुसार गत गत फेब्रुअरी महिनामा हिमनदी फुटेपछि मार्च महिनादेखि चिरा देखिए र त्यसपछि धाजाहरू बढ्न थालेका हुन्।
उत्तराखण्डमा हिमनदी फुट्दा दुई सयभन्दा बढीको मृत्यु भएको थियो।
जोशी मठ भासिनु कुनै नौलो कुरा होइन। सन् १९७६ मा मिश्रा समितिको प्रतिवेदनले नगर भासिएको उल्लेख छ।
स्थानीय अभियानकर्मी अतुल सतीले विगतका दशकहरूमा जोशी मठ भासिने क्रम रोकियो पनि र गत वर्षको फेब्रुअरी र अक्टोबरको प्राकृतिक विपत्तिले जोशी मठमा भासिने क्रमलाई तीव्र बनाइ दियो। तर ती दाबीहरूको वैज्ञानिक रूपमा पुष्टि हुन बाँकी छ।
बढ्दो व्यवसायीकरण
जनसङ्ख्या वृद्धि र भवन निर्माण बढ्ने क्रममा ७० को दशकमा पनि जनताले पहिरो लगायतका गुनासो गरेपछि मिश्रा समिति गठन भएको थियो।
समितिको प्रतिवेदनअनुसार जोशी मठ पुरानो पहिरो क्षेत्रमा अवस्थित छ र पहाडबाट झरेका ठूल्ठूला टुक्रा र माटोको अस्थिर थुप्रोमा यो नगर छ।
गत वर्ष फेब्रुअरीमा, यो नगर रहेको थुप्रोसँग हिमनदी फुटेपछिको भग्नावशेष ठोक्किएको थियो, जसका कारण भूसतह झनै अस्थिर बनेको पनि ठानिन्छ। यद्यपि यो दाबी पनि वैज्ञानिक रूपमा पुष्टि हुन बाँकी छ।

जानकारहरूका अनुसार निर्माण कार्य र जनसङ्ख्याको बढ्दो बोझ, वर्षा, हिमनदी वा ढलको पानी जमिनमा माटो बगाउनाले चट्टान हल्लिनु, ढल निकासको व्यवस्था नहुनु लगायतका कारण जोशी मठ भासिनेक्रम बढेको हो।
सन् १९७६ को प्रतिवेदनमा भनिएको छ, "कतिपय निकायले जोशी मठ क्षेत्रको प्राकृतिक वन निर्ममतापूर्वक नष्ट गरेका छन्। चट्टानी क्षेत्रहरू खाली र रूखविहीन छन्। जोशी मठ करिब छ हजार मिटरको उचाइमा छ तर रुखहरू आठ हजार फिटको उचाइ क्षेत्रमा धकेलिएका छन् र रुखहरू नभएकाले कटान हुनुका साथै पहिरो गएको छ। नाङ्गा चुचुराहरू मौसमको आक्रमणको लागि खुला छन्। ठूला ढुङ्गाहरू रोक्ने केही छैन।"
प्रतिवेदनमा ठूला निर्माण कार्यमा प्रतिबन्ध लगाउन, सडक मर्मत तथा अन्य निर्माणका लागि उत्खनन वा विस्फोट गरेर ठूला ढुङ्गा नहटाउन, रुख र घाँस रोप्ने बृहत् अभियान थाल्नुपर्ने र पक्की नाली बनाउन सुझाइएको छ।
उत्तराखण्डका प्रकोप व्यवस्थापन सचिव डा रञ्जितकुमार सिन्हाका अनुसार जमिन भासिने समस्या उत्तराखण्ड र हिमालयसँग जोडिएका सबै राज्यको हो।
उनी भन्छन्, "म भर्खरै सिक्किमबाट आएँ, सबै हिमाली राज्यहरूको सम्मेलन थियो। पुरै गान्तोकमा पहिरो र भासिने गम्भीर समस्या छ। पुरै सहर भासिँदै गएको छ।"
त्यसो भए १९७६ को प्रतिवेदनका सिफारिसहरूको के भयो?
अभियानकर्मी अतुल सति भन्छन्, "(प्रतिवेदनका) सुझाव र चेतावनीलाई कसैले पालना गरेनन्। बरु उल्टो भयो। प्रतिवेदनले चट्टान छेड्न नहुने सुझाव दिएको थियो तर यहाँ विस्फोटबाट कैयौँ चट्टानहरू तोडियो।"
उनले भने, “जोशी मठ निरन्तर विस्तार हुँदै गएको छ, मानिसहरू आउने क्रम बढेको छ तर त्यसअनुसार सहरी सुविधा छैन, पानीको निकासको व्यवस्था छैन, ढलको व्यवस्था छैन, यी कारणले भासिने क्रम तीव्र भएको छ।"
भू-वैज्ञानिक र जानकारहरूको सेप्टेम्बर २०२२ को एउटा रिपोर्टमा पनि ‘नियन्त्रित विकास’ को कुरा गरिएको छ।
सतिका भनाइमा जोशी मठको अवस्था मात्र त्यस्तो होइन। गोपेश्वर उत्तर काशी, अल्मोड़ा, बागेश्वरको अवस्था पनि फरक छैन। उनले भने, “उत्तराखण्डको पहाडी क्षेत्रको भौगोलिक क्षेत्र यस्तै छ। निकै संवेदनशील छ।"

उनका अनुसार जोशी मठमा एक सयभन्दा धेरै होटल, रिसोर्ट र होम-स्टे छन्।
उनी भन्छन्, "पछिल्लो ३१ डिसेम्बरमा औली नगरपछि जोशी मठ मानिसहरूले भरिएको थियो। जोशी मठमा मानिसहरू गाडी भित्रै सुते। राती ११-१२ बजे ओछ्यान लिन मानिसहरू हामी कहाँ आए। एउटी केटी पर्यटक मेरी छोरीसँग सुतिन्।"
कति भासिँदै छ जोशी मठ?

मिश्रा आयोगको प्रतिवेदन अनुसार जोशी मठमा सन् १९६२ देखि ठूला भवन बन्न थालेका हुन्।
अतुल सतीले सन् १९६२ मा चीनसँगको युद्धपछि सडकको विकास तीव्र गतिमा भएको उल्लेख गर्दै भने, “त्यस क्षेत्रमा सेना बस्न थाल्यो, हेलिप्याड बन्यो। उनीहरूका लागि भवन, ब्यारेक बन्न थाले।”
तर आज कति भासिने गरेको छ?
आर्काइभ स्याटेलाइट तस्बिरहरूको सहयोगमा, देहरादुनको वाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीकी भू वैज्ञानिक डा स्पन्मिता वैदिस्वरनले यही प्रश्नको जबाफ खोज्ने प्रयास गरिरहेकी छन्।
उनले जोशी मठको भिरालो जमिनमा हजारौँ बिन्दुहरू चयन गरिन्। स्याटेलाइट तस्बिरहरूको मद्दतले, उनले ती बिन्दुहरू सुरुदेखि अन्त्यसम्म कति तलसम्म भासिए भन्ने जान्न दुई वर्ष भन्दा बढी समयसम्म ट्र्याक गरिन्।
उनी भन्छिन्, "कुल विस्थापनको अर्थ पहिलो दिनदेखि अन्तिमसम्म हो। र, वर्षभरिको निम्ति गतिको मापन मिलिमिटरमा गरिन्छ। हामीले रवि ग्राम प्रत्येक वर्ष ८५ एमएमको गतिमा भासिइरहेको देखिरहेका छौँ। यसको मतलब यो पहिरोको प्रभाव होइन बरु यो हरेक वर्ष ८५ एमएमको गतिमा डुबिरहेको छ, जुन निकै उच्च छ।"
जोशी मठको नक्सामा केही स्थिर बिन्दुहरू पनि छन्।








