राजस्थानमा आयोजित धार्मिक कार्यक्रममा पाल भत्किँदा १४ जनाको मृत्यु

तस्बिर स्रोत, AFP
भारतको राजस्थानमा एउटा धार्मिक कार्यक्रमका लागि बनाइएको एउटा विशाल पाल हावाहुरी र ठूलो वर्षाका कारण भत्किएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ।
सो घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
समाचारसंस्था रोएटर्सका अनुसार मृत्यु हुनेमध्ये केही व्यक्तिलाई करेन्ट लागेको थियो भने केहीलाई भत्केको संरचनाले किचेको थियो।
हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार आइतवार सो धार्मिक समारोहमा झन्डै तीन सय मानिस सहभागी भएका थिए।
घटना राजस्थानको बाडमेर जिल्लामा भएको हो।
घाइतेमध्ये केही व्यक्तिको स्थिति गम्भीर रहेको बताइएको छ।

तस्बिर स्रोत, AFP
राज्यका विपद् व्यवस्थापन तथा राहत मन्त्री भँवरलाल मेघवालले पानी परेको प्रतिकूल परिस्थितिमा आयोजकले विद्युत् आपूर्ति बन्द नगरेकोमा आश्चर्य प्रकट गरेका छन्।
घटनाबारे छानबिन सुरु भएको बताइएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनालाई दुर्भाग्यपूर्ण भन्दै शोकमा परेका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।
कसरी भयो घटना?
प्रहरीका अनुसार जसोल गाउँमा आइतवार रामकथा वाचन गर्न ठूलो पाल बनाइएको थियो।
त्यहाँ झन्डै तीन सय मानिस भेला भएका थिए।
दिउँसो हावाहुरी र पानीका कारण पालको एउटा भाग भत्कियो र भक्तजनमा हाहाकार मच्चियो।
केही व्यक्तिलाई पालको संरचनाले किच्यो भने केहीलाई नाङ्गो तारबाट करेन्ट लाग्यो। त्यतिबेला पालभित्र झन्डै सय जना मानिस थिए।
तीमध्ये १४ जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई दुई लाख रुपयाँ दिने घोषणा गरेका छन्।

यो पनि पढ्नुहोस्








