टर्की निर्वाचन: इस्तानबुलमा राष्ट्रपति एर्दोआनको पार्टी फेरि पराजित

टर्की

तस्बिर स्रोत, EPA

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ।

मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन्।

उनले यसअघि नै मार्च महिनामा भएको निर्वाचनमा आश्चर्यजनक जित हासिल गरे तापनि सत्तारूढ एके पार्टीले अनियमितताको आरोप लगाएपछि पुन: मतदान भएको थियो।

यो परिणामले राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको दलले राजधानीमा आफ्नो नियन्त्रण गुमाएको देखाएको छ।

हार स्वीकार

एक्रिम एमामोलुका प्रतिद्वन्द्वी रहेका देशका पूर्वप्रधानमन्त्री बिनाली यिल्दिरिमले हार स्वीकारेका छन्। राष्ट्रपति एर्दोआनले विजेतालाई बधाई दिएका छन्।

यो परिणामलाई एर्दोआनका लागि ठूलो राजनीतिक धक्काका रूपमा अर्थ्याइएको छ। कुनैबेला एर्दोआनले भन्नेगर्थे- "जसले इस्तानबुलमा जित्छ, उसले टर्कीमा जित्छ।"

राष्ट्रपति रेजेप तय्यीप एर्दोआन

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, राष्ट्रपति रेजेप तय्यीप एर्दोआन

निर्वाचित हुने निश्चित भएपछि आफ्नो भाषणमा एमामोलुले यो परिणाम सहर र देश दुवैका लागि नयाँ सुरुवात भएको बताएका छन्।

उनले भनेका छन्, "हामी इस्तानबुलका लागि नयाँ अध्याय सुरु गर्दैछौँ। जसमा न्याय, समानता र प्रेम हुनेछ।"

अग्रता

अहिले इमामोग्लु र उनका प्रतिद्वन्द्वीबीच सात लाख ७५ हजारभन्दा बढीको मतान्तर छ। मार्च महिनामा उनले केवल १३ हजार मत बढी ल्याएका थिए।

बीबीसी संवाददाता मार्क लोवेन भन्छन्, "विपक्षीले इस्तानबुलमा नियन्त्रण जमाउन २५ वर्ष कुर्नुपर्‍यो। अहिले उनीहरूले त्यही उत्सव मनाइरहेका छन्। यो उनीहरूका लागि कोसेढुङ्गा बन्न सक्छ।"

एक्रिम एमामोलु

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एक्रिम एमामोलु

त्यसरी उत्सव मनाउने धेरैजसो युवाले आफ्नो जीवनकालमा एर्दोआनको एके पार्टीले मात्र शासन गरेको देखेका थिए।

उनीहरूका लागि यो देशभरि परिवर्तनका लागि दबाव दिने अवसर बनेको छ।

धक्का

यो निर्वाचनलाई एर्दोआनको जनमतसङ्ग्रहका रूपमा समेत हेरिएको थियो।

इस्तानबुल राष्ट्रपति एर्दोआनको गृहनगर पनि हो। उनी सन् १९९४ मा इस्तानबुलको मेयर भएका थिए।

उनले सन् २००१ मा एके पार्टी स्थापना गरे र राष्ट्रपति हुनुअघि सन् २००३ देखि सन् २०१४ सम्म देशको प्रधानमन्त्री थिए।

एक्रिम एमामोलुले आफू राष्ट्रपति एर्दोआनसँग समन्वय गरेर काम गर्न तयार भएको बताएका छन्।

पत्रकार एवं विश्लेषक मुरत यत्किन भन्छन्, "यथार्थमा एर्दोआन अझै राष्ट्रपति रहनेछन्। उनको गठबन्धनको अझै संसद्‌मा नियन्त्रण हुनेछ। तर धेरैलाई लाग्नेछ इस्तानबुलको यो पराजय उनको हारको सुरुवात हो।"