टर्की निर्वाचन: नयाँ राष्ट्रपतीय युग

टर्की

तस्बिर स्रोत, Getty Images

टर्कीका राष्ट्रपति रेजेप ताय्यीप एर्दोआनले आइतवारको निर्वाचनमा विजयी भएपछि व्यापक स्वरूपका नयाँ कार्यकारी अधिकारहरू प्राप्त गर्दैछन्।

गत वर्ष भएको विवादास्पद जनमत संग्रहले अनुमोदन गरेका प्रावधानहरूले मूर्त रूप लिँदै गर्दा संसद्लाई कमजोर बनाइएको छ र प्रधामन्त्रीको पद खारेज गरिएको छ।

पराजित विपक्षी उम्मेद्वार मुहर्रेम इन्जले टर्की अब आगामी दिनमा एक व्यक्तिको शासनको खतरापूर्ण अवस्थामा प्रवेश गरेको बताएका छन्।

एर्दोआनले वर्षौँयताको सबैभन्दा चर्को प्रतिस्पर्धापूर्ण निर्वाचनमा करिब ५३ प्रतिशत मत ल्याएका छन्।

निर्वाचन प्रचारप्रसारका क्रममा ठूलो भिडलाई आकर्षण गरे पनि विपक्षी नेता इन्जले मात्र ३१ प्रतिशत मत प्राप्त गरे।

६४ वर्षीय एर्दोआनको राष्ट्रपतित्वमा अर्थतन्त्र बलियो रहेको थियो भने उनले दह्रिलो समर्थनको आधार पनि निर्माण गरेका थिए।

तर उनले विपक्षीहरूविरुद्ध अभियान नै संचालन गरेका थिए अनि डेढ लाख मानिसलाई जेल हालेका थिए र समाजलाई ध्रुविकृत पनि गरेका थिए।

प्रतिक्रिया

एर्दोआन

तस्बिर स्रोत, AFP

उनलाई विश्वभरबाट शुभकामना आएका छन् तर केही पश्चिमा नेताहरूले छिटो प्रतिक्रिया जनाएका छैनन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले, एर्दोआनको "ठूलो राजनीतिक प्रभाव र जनसमर्थन"को चर्चा गरेका छन्।

सोमवार विहानको विजयी भाषणमा एर्दोआनले नयाँ राष्ट्रपतिय प्रणाली छिटो अंगिकार गरिने बताएका छन्।

टर्कीमा गत वर्ष ५१ प्रतिशतको झिनो बहुमतसहित भएको जनमतसंग्रहमार्फत संवैधानिक परिवर्तनहरू अनुमोदन गरिएको थियो।

त्यसले राष्ट्रपतिलाई सोझै मन्त्री र उपराष्ट्रपति जस्ता वरिष्ठ अधिकारी नियुक्त गर्ने, देशको कानूनी प्रणालीमा हस्तक्षेप गर्ने, देशमा संकटकाल घोषणा गर्न पाउने जस्ता नयाँ शक्ति प्रदान गरेको छ।

अभाव

केही आलोचकहरूले टर्कीको नयाँ प्रणालीमा नियन्त्रण र सन्तुलनको अभाव रहेको भनेका छन्।

एर्दोआनले उनलाई थप गरिएका अधिकारहरूले टर्कीको अर्थ व्यवस्था सुधार्न अनि देशको दक्षिणपूर्वमा रहेका कुर्द लडाकुहरूलाई परास्त गर्न सघाउ पुग्ने बताएका छन्।

एर्दोआन सन् २०१४मा राष्ट्रपति हुनुअघि ११ वर्षसम्म प्रधानमन्त्री रहेका थिए।

नयाँ संविधान अन्तर्गत उनले सन् २०२३मा दोस्रो कार्यकाल सकिएपछि पनि तेस्रो कार्यकालका निम्ति चुनाव लड्न सक्छन्।

अर्थात सन् २०२८ सम्म उनी शक्तिमा रहिरहन सक्ने सम्भावन रहन्छ।