तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत र पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोलीले एशिया कपअघि पाकिस्तानमा अभ्यास गर्ने
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
दुई सातापछि पाकिस्तान र श्रीलङ्कामा सुरु हुने एशिया कपमा सहभागी छ राष्ट्रमध्ये तीन वटाले आफ्नो टोलीको घोषणा गरिसकेका छन्।
नेपालको समूहमा भारत र पाकिस्तान छन्। नेपालको चासो यी दुई राष्ट्रका खेलाडीहरूप्रति हुने छ।
पाकिस्तानले टोलीको घोषणा गरिसकेको छ। भारतले भने अहिलेसम्म अन्तिम टोली सार्वजनिक गरेको छैन।
फरक समूहमा रहेको बाङ्ग्लादेशले टोलीको नाम प्रकाशित गरे पनि श्रीलङ्का र अफगानिस्तानको टोली घोषणा हुन बाँकी छ। नेपालले गत सोमवार १७ सदस्यीय टोलीको घोषणा गरेको हो।
दुवै विपक्षी राष्ट्रमा चर्चित खेलाडीहरूको बाहुल्य भएकोले उनीहरूको खेल हेर्नुको बेग्लै रोमाञ्च हुने आशा गरिएको छ। नेपालले भारत र पाकिस्तानसँग इतिहासमा पहिलो पटक खेल्न लागेकोले यो प्रतियोगितालाई निकै महत्त्वका साथ हेरिएको छ।
नेपाली टोली आगामी साता पाकिस्तान जाने योजनामा छ।
"नेपाली टोलीले भारत र पाकिस्तानसँग खेल्नुअघि त्यहाँ अभ्यास खेल खेल्ने छ," नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।
त्यसको व्यवस्था पाकिस्तान क्रिकेट बोर्डले मिलाइदिएको हो।
नेपाली टोलीमा को छन्?
सामान्यतः अन्तर्राष्ट्रिय प्रतियोगितामा १५ सदस्यीय टोली हुने भए पनि एशिया कपको लागि १७ सदस्यीय टोलीले खेल्न पाउने व्यवस्था एशियाली क्रिकेट काउन्सिलले गरेको छ।
रोहित पौडेलले नेतृत्व गर्ने टोलीमा तीन नयाँ खेलाडी किशोर महतो, श्याम ढकाल र सन्दीप जोरालाई स्थान दिइएको छ।
देव खनाल भने टोलीमा अटाएका छैनन्।
ज्ञानेन्द्र मल्लले हालै सन्न्यास घोषणा गरिसकेका छन्।
बाँकी पुरानै खेलाडी हुन्।
प्रारम्भिक जोडीमा कुशल भुर्तेल र आशिफ शेख छन्। आशिफ शेखले विकेटकिपिङ पनि गर्ने छन्।
मध्य क्रममा अर्जुन साउद, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख हुने छन्।
अलराउन्डरको रूपमा दीपेन्द्र सिंह ऐरी र गुलशन झा छन्।
बलिङमा सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, प्रतीश जीसी, श्याम ढकाल र किशोर महतो हुने छन्।
भारतीय टोली कस्तो होला?
केही खेलाडीहरूको चोटबारे पछिल्लो अवस्था बुझ्न बाँकी रहेकाले भारतीय टोलीको घोषणा अहिलेसम्म हुन नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतका भूतपूर्व राष्ट्रिय खेलाडी अजित अगरकरको नेतृत्वमा रहेको खेलाडी छनोट समितिले खासगरी केएल राहुल र श्रेयश अय्यर राम्ररी फिट हुने पर्खाइमा रहेको बताइएको छ।
दुई महिनापछि आफ्नै भूमिमा एकदिवसीय विश्वकपको आयोजना गर्न लागेको भारतले एशिया कपलाई त्यसको तयारीको रूपमा हेरेको छ।
यद्यपि भारतीय टोलीमा पर्ने अनुमानित खेलाडीहरूबारे विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन्।
रोहित शर्माको नेतृत्वमा हुने भारतीय टोलीमा शुभमन गिल, इशान किशन, विराट कोहली, श्रेयश अय्यर, केएल राहुल, सन्जू सैमसन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, युजवेन्द्र चहल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद सामी र मोहम्मद सिराज हुने छन्।
यी खेलाडीहरूबाट १७ को नाम अन्तिम छनोट गरिने छ।
नेपालले भारतका चर्चित खेलाडीहरूसँग श्रीलङ्काको केन्डीमा आगामी भदौ १८ गते (सेप्टेम्बर ४) मा खेल्ने तालिका छ।
पाकिस्तानी टोलीमा को छन्?
भारत र पाकिस्तान दुवै टोली एशिया कप जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुन लागेका छन्।
भारत दुई महिनापछि हुने विश्वकपअगाडि एशिया कप जितेर आत्मविश्वास बढाउन चाहन्छ भने पाकिस्तान आफ्नो आयोजनामा हुने प्रतियोगिता गुमाउन चाहँदैन।
फेरि लामो समयपछि यी दुई चिर प्रतिद्वन्द्वी राष्ट्र आमनेसामने हुन लागेकोले उनीहरूको लागि यो खेलको महत्त्व बेग्लै छ।
पाकिस्तानको टोली बाबर आजमको कप्तानीमा आउने छ।
टोलीमा अब्दुल्लाह सफिक, फकर जमान, इमाम उल हक, सलमान अलि अघा, इफ्तिकर अहमद, तैयव ताहिर, मोहम्मद रिजवान, मोहम्मद हरिश, सदाव खान, मोहम्मद नवाज, उसामा मिर, फहिम असरफ, हरिश राउफ, मोहम्मद वसिम जुनियर, नसिम शाह र शाहीन अफ्रिदी छन्।
पाकिस्तानले मुल्तानमा आगामी भदौ १३ गते (अगस्ट ३०) मा नेपालसँग खेलेर प्रतियोगिता थाल्ने छ।
प्रतियोगितामा सहभागी छ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपालको समूह 'ए'मा भारत र पाकिस्तान तथा समूह 'बी' मा श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान छन्।
समूह चरणबाट चार टोली अर्को चरणमा प्रवेश गर्ने छन् र त्यहाँ राउन्ड रोविन लीग खेलेपछिको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।