तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ज्ञानेन्द्र मल्लद्वारा राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अहिले राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले राष्ट्रिय तहका सबै खेलबाट सन्न्यास लिने घोषणा गरेका छन्।
औपचारिक रूपमा त्यस्तो घोषणा गर्ने क्रममा उनले भने: ''यो मेरो लागि उपयुक्त समय भएकाले सन्न्यास लिएको हुँ।''
सन् २००५ यू-१५ टोलीबाट राष्ट्रिय युवा टोलीमा 'डेब्यू' गरेका ज्ञानेन्द्रले सोही वर्ष यू-१७ र यू-१९ प्रतियोगिता खेलेका थिए।
सन् २००६ मा इन्टरकन्टिनेन्टल कपबाट सिनियर राष्ट्रिय टोलीमा 'डेब्यू' गरेका मल्लले १८ वर्षसम्म नियमित राष्ट्रिय टोलीका प्रमुख पात्रको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
नेपाली राष्ट्रिय टोलीले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानको सामना गर्ने तयारी गरिरहेको बेला ज्ञानेन्द्र मल्लले खेलाडीका रूपमा अब कहिल्यै मैदानमा नदेखिने घोषणा गरेका हुन्।
नेपाली क्रिकेट टोलीले आईसीसीको प्रतियोगिता डिभिजन-५ बाट खेल्दा उनले सन् २०१४ को विश्वकपमा खेले। उनी सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई) प्राप्त गर्ने टोलीको सदस्य थिए।
त्यसैगरी यसै वर्ष नेपालले ओडीआई मान्यता जोगाउने यात्राका क्रममा खेलिएको विश्वकप लीग-२ मा पनि उनको महत्त्वपूर्ण भूमिका थियो।
सोही प्रतियोगिताको क्रममा ज्ञानेन्द्रले नामिबियाविरुद्धको खेलमा दोस्रो विकेटका लागि आसिफ शेखसँग मिलेर १३९ रनको साझेदारी गरेका थिए।
ज्ञानेन्द्र मल्लका कीर्तिमान
आफ्नो खेलजीवनमा ज्ञानेन्द्र मल्लले ३७ वटा एकदिवसीय खेल खेलेर ८७६ रन बनाएका छन्। सो क्रममा उनले सातवटा अर्धशतक प्रहार गरेका छन्। त्यस्तै उनले ४५ वटा टी२० खेल्दै ८८३ रन जोडेका छन्।
सन् २०१४ को विश्वकपमा नेपालले पहिलो टी२० खेल्दाका ज्ञानेन्द्र मल्ल पनि राष्ट्रिय टोलीमा थिए। नेपालले सन् २०१८ मा पहिलो एकदिवसीय खेल्दामा पनि उनी प्रमुख खेलाडी थिए।
उनले सन् २०१९ मा भएको १३औँ दक्षिण एशियाली खेलकुदमा भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए।
एकदिवसीयमा उनको अन्तिम खेल गत महिना भएको विश्वकप ग्लोबल छनोटमा आयरल्यान्डविरुद्ध रह्यो।
पारस खड्का सन् २००९ मा कप्तान हुँदा ज्ञानेन्द्र उपकप्तान चुनिएका थिए।
संयोग के भने पारस खड्काले सन्न्यास घोषणा गरेको दुई वर्षपछि मल्लाले पनि उनको पदचाप पछ्याए।