तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुलपानी क्रिकेट रङ्गशाला बन्न अझै ‘२१ वर्ष लाग्ने’
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
खेलकुद क्षेत्रमा एउटा भनाइ स्थापित जस्तै भइसकेको छ। यदि कुनै निर्माण कार्य ढिलो हुने उदाहरण दिनुपर्यो भने भन्ने गरिन्छ - "कतै मूलपानी क्रिकेट रङ्गशाला निर्माण जस्तै ढिलो हुने त होइन।"
मूलपानीमा भइरहेको पनि त्यस्तै नै छ।
मूलपानी क्रिकेट रङ्गशाला बनाउन भन्दै राष्ट्रिय खेलकुद परिषद्ले त्यहाँको २ सय ९६ रोपनी जग्गा प्राप्त गरेको १८ वर्ष भइसकेको छ।
यस अवधिमा अनेक आरोहअवरोहबीच रङ्गशाला निर्माणको काम चालू छ।
तर जुन ढङ्गले रङ्गशाला निर्माणका लागि बजेट छुट्याइएको छ, त्यो हिसाबमा रङ्गशाला निर्माण पूरा हुन अझै दुई दशक बढी समय लाग्ने राष्ट्रिय खेलकुद परिषद्ले हालै गरेको 'खेलकुद पूर्वाधार नीति सम्मेलन २०७९' प्रतिवेदनले जनाएको छ।
उक्त सम्मेलनमा 'खेलकुद भौतिक पूर्वाधारको अवस्था र आवश्यकता' विषयक प्रतिवेदन प्रस्तुत गर्दै परिषद्का पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख तथा इञ्जिनियर राजु श्रेष्ठले भने, "यही स्थितिमा बजेट आउने हो भने रङ्गशाला निर्माण पूरा हुन अझै २१ वर्ष लाग्नेछ।"
खास योजना
विसं २०६० सालमा एशियाली क्रिकेट परिषद् (एसीसी) को क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालमा बनाउने निर्णय भएपछि सो क्षेत्रको सम्पूर्ण राजनीतिक दल र समाज मिलेर २०६१ सालमा मूलपानीको २ सय ९६ रोपनी जग्गा राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरिएको थियो।
तर ठूलो लागतको उक्त परियोजना काठमाण्डू वा पोखरा कहाँ निर्माण गर्ने भन्ने राजनीतिक खिचातानी लम्बिएपछि सो परियोजना नेपालले गुमाउन पुग्यो।
त्यसपछि सरकार आफैँ सो रङ्गशाला बनाउन अगाडि सरेको हो।
मूलपानीमा दुईवटा खेल मैदान छन्। जसमा माथिल्लो मैदान नेपाल क्रिकेट सङ्घलाई भोगचलन गर्न दिइएको छ।
तल्लो मैदानमा २० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने निर्णय भएको हो।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको उक्त काम २०७६ सालमा पूरा भइसक्नुपर्ने थियो।
तर आएको टुक्राटुक्रा बजेटमा थालिएको आंशिक योजनाका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको देखिन्छ।
अहिलेसम्म प्यारापिटको तीनवटा ब्लक बनाउने काम भएको छ। भीआइपी प्यारापिट, मैदान सम्याउने र पार्किङस्थल निर्माणको काम भइरहेको छ। अर्थात् अझै ७५ प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको बताइन्छ।
गिजोलिएको परियोजना
हुन त मूलपानी रङ्गशाला निर्माण सुरु देखिनै गिजोलिएको परियोजना बन्दै आएको देखिन्छ।
कुनै योजना किन ढिला सुस्ती हुने गर्छ भन्ने सम्पूर्ण आयामहरू मूलपानी रङ्गशाला निर्माणको क्रममा देख्न सकिन्छ।
स्थानीयवासीको राजनीति, सुकुम्बासीले दिने दु:ख, जग्गाको मुआब्जासम्बन्धी समस्या, गुन्डाहरूको धाकधम्की, बालुवा तस्करी, राजनीतिक पार्टीका कार्यकर्ताहरूले गर्ने असहयोग अनि सरकारको नेतृत्व गर्ने अधिकारीहरूले दिने आश्वासनको भुमरीमा रङ्गशाला निर्माणको कामले झन्डैझन्डै एक दशक गति लिन सकेको देखिएन।
त्यसमा ठेकेदारले गर्ने ढिलासुस्ती र सरकारले बजेट विनियोजनमा गर्ने बेवास्ता चाहिँ मुख्य समस्या देखिएको मानिएको छ।
टुक्रे बजेट
सरकारले निर्माणका लागि बजेट छुट्याएको विसं २०६९ सालदेखि हो। त्यसयता पटकपटक गरी हरेक वर्ष थोरै रकम छुट्याँउदै आएको छ।
आर्थिक वर्ष २०६९/७० मा ३० लाख रुपैयाँ छुट्याइएको थियो।
त्यसपछि २०७०/७१ मा ४ करोड, २०७१/७२ मा ५ करोड, २०७२/७३ मा ५ करोड, २०७४/७५ मा २ करोड, २०७५/७६ मा १ करोड रुपैँया बजेट विनियोजन भयो।
ती रकमबाट मूलपानीको माथिल्लो र तल्लो मुख्य रङ्गशालाको कम्पाउन्ड वाल निर्माणदेखि मैदान मर्मतको काम भएको देखिन्छ।
कसरी लाग्नसक्छ २१ वर्ष ?
राष्ट्रिय खेलकुद परिषद्ले २०७६/७७ मा मूलपानी रङ्गशाला निर्माण सम्पन्न गर्न १ अर्ब ४१ करोड ५२ लाख ६४ हजार रुपैयाँको लागत लाग्ने रिपोर्ट सरकारसमक्ष पेस गरेको थियो।
सो अनुरूप खेलकुद परिषद्ले बजेट माग गर्यो। तर मागेजस्तो बजेट पाउन सकेन। प्राप्त बजेटका आधारमा प्रतिवेदनले निष्कर्ष निकालेको हो।
वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले १२ करोड २० लाख माग गरेको थियो। त्यसमा सरकारले १० करोड रुपैयाँ छुट्यायो।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर काम अगाडि बढ्न नसकेपछि पूरै रकम फ्रिज हुन पुग्यो।
अर्को वर्ष २०७७/७८ मा सरकारसँग ३५ करोड २४ लाख रुपैयाँ माग भयो। तर बजेट आयो मात्र १ करोड।
शाखा प्रमुख श्रेष्ठ भन्छन्," त्यति रकमले ठेकेदारलाई ‘मोबिलाइजेसन’ रकमसमेत दिन गाह्रो भो।"
त्यसैगरी २०७८/७९ को लागि पनि ३२ करोड रुपैयाँ बजेट मागियो। तर ४ करोड २० लाख रुपैयाँ मात्र प्राप्त भयो।
अहिले चालू वर्ष २०७९/८० को लागि २५ करोड ४३ लाख रुपैयाँ माग गरिएकोमा ७ करोड रुपैयाँ मात्र छुट्याइएको छ।
यसरी हिसाब गर्दा सरकारबाट मूलपानी क्रिकेट रङ्गशाला निर्माणकालागि वार्षिक औसत ५ करोड ५५ लाख रुपैयाँ मात्र छुट्याउने गरिएको छ।
शाखा प्रमुख श्रेष्ठको निष्कर्ष छ, "यही अनुपातमा बजेट विनियोजन भइरहने हो भने रङ्गशाला निर्माण विसं २१०१ मा मात्र सम्पन्न हुनेछ। अर्थात् अझै २१ वर्ष समय लाग्नेछ।"
राष्ट्रिय गौरवको परियोजना
राष्ट्रिय खेलकुद परिषद्ले मूलपानी रङ्गशालालाई समयमा नै सम्पन्न गर्न विशेष योजना बनाएको जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बीबीसीसँग भने, "मूलपानी रङ्गशाला र गौतम बुद्ध रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत समावेश गर्न हामीले सरकारसमक्ष प्रस्ताव पेस गरेका छौँ। विश्वास छ, सो प्रस्ताव पारित भए जनताको आवाजको सम्बोधन हुनेछ भने सरकारको दायित्व पनि पूरा हुनेछ। "
उनका अनुसार गत भदौ महिनामा नै मूलपानी रङ्गशालाको निर्माण पूर्ण रूपले गर्नेगरी एकमुष्ट टेन्डर निकाल्ने प्रस्ताव युवा तथा खेलकुद मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा पेस गरिसकिएको हो।
तर अर्थबाट सहमति प्राप्त भएको छैन।
विगतमा आंशिक रूपले काम थालिएकाले पनि निर्माण कार्य ढिला हुन गएको बुझाइ सदस्यसचिव घिसिङको छ।
उनी भन्छन्," अब हामी आंशिक टेन्डर खोल्दैनौँ। बहुवर्षीय स्रोत सुनिश्चित गरेर एकमुस्ट काम थाल्छौँ। त्यसो गरे दुई वर्षमा निर्माण सम्पन्न गर्न सकिन्छ।"
तर हरेक वर्ष टुक्राटुक्रा बजेट छुट्याउने, त्यसलाई सम्पन्न गर्न ठेक्का लगाउने, ठेकेदारहरूले विभिन्न नियममा टेकेर म्याद थप गरिरहने हो भने प्रतिवेदनले औँल्याएजस्तै मूलपानी रङ्गशाला सम्पन्न भएको हेर्न क्रिकेटप्रेमीहरूले अझै दुई दशक कुर्नुको विकल्प रहने नदेखिने जानकारहरूको भनाइ छ।