गाजामा दुई वर्षपछि पुन: सुनिन थाल्यो केटाकेटीको लेखापढीको गुञ्जन

- Author, शाईमा खलिल
- Role, बीबीसी न्यूज, जेरुसलेम
गाजा सिटीमा फेरि एकपटक बालबालिकाहरू पढ्दै गरेको आवाज गुञ्जिन थालेको छ।
यतिबेला कक्षाकोठाको रूपमा प्रयोग भइरहेका पालहरू हल्लाखल्लायुक्त र अलिकति अव्यवस्थित तर जीवन्त छन्।
केही शिक्षकहरू अङ्ग्रेजी अक्षरले भरिएका बोर्डहरूतर्फ इङ्गित गर्छन् भने अन्यले विद्यार्थीलाई अगाडि आएर आधारभूत अरबी शब्द लेख्न भन्छन्।
यो कत्ति पनि सामान्य विद्यालयको दिन जस्तो छैन तर अक्टोबरमा इजरेल-हमासबीच भएको सङ्घर्षविरामपछिको एउटा सुरुवात भने हो।
दुई वर्षको युद्धपछि पहिलेको लुल्वा अब्देल वहाब अल-कातामी विद्यालयको भग्नावशेष वरिपरि कक्षाहरूमा मधुर गुञ्जन र सहपाठीबीचका कुराकानीका गुनगुनाहट सुनिन थालेको छ। यो ठाउँ गाजा सिटीको दक्षिण-पश्चिमी तेल अल-हवाको छिमेकमा स्थित छ।
ज्यानुअरी २०२४ मा यो विद्यालय निशानामा परेको थियो र त्यसपछि केही महिनासम्म यसको मैदान विस्थापित परिवारहरूको आश्रयस्थलको रूपमा प्रयोग भएको थियो। आज सामान्य रूपमै भए पनि यो फेरि लेखापढीको स्थान बनेको छ।
सिधा पङ्क्तिमा हिँड्दै र आफ्ना ससाना हात एकअर्काको काँधमा राखेर विद्यार्थीहरू मुस्कुराउँदै कामचलाउ कक्षाकोठामा प्रवेश गर्छन्।
धेरैका निम्ति यो युद्ध सुरु भएयता पहिलो पटक नियमित जीवन र पढाइतर्फ फर्किँदै गरेको क्षण हो।
युनिसेफका अनुसार गाजाका ९७ प्रतिशतभन्दा बढी विद्यालयहरू युद्धका क्रममा क्षतिग्रस्त वा नष्ट भएका थिए। आईडीएफले हमासले विद्यालयलगायतका सार्वजनिक पूर्वाधारको प्रयोग सैन्य कार्यका लागि गर्ने बारम्बार दाबी गरे पनि कमै मात्र त्यसको ठोस प्रमाण दिएको छ।
यस क्षेत्रका ६,५८,००० विद्यालय पढ्ने उमेरका बालबालिकामध्ये अधिकांशले करिब दुई वर्षसम्म औपचारिक शिक्षा पाएनन्। उक्त समयमा भोक, विस्थापन हुनु पर्ने अवस्था र मृत्युले उनीहरूको जीवनलाई कसरी डोर्याउन सक्छ भन्नेबारे तिनले प्रत्यक्ष अनुभव गरेका छन्। तर यतिबेला यहाँ एउटा अनौठो कुरा देखिँदै छ, उनीहरूले आफ्नो गुमेको बाल्यकालको झलक पाउन थालेका छन्।

चौध वर्षका नईम अल-अस्मार विद्यालय ध्वस्त हुनुअघि यहीँ पढ्थे। उनले युद्धको क्रममा भएको इजरेली हवाई हमलामा आमा गुमाए।
"यो मेरो जीवनकै सबैभन्दा कठिन अनुभव थियो," उनी शान्त स्वरमा भन्छन्।
केही महिनासम्म विस्थापित हुनु परे पनि गाजा सिटीमा रहेको उनको घर भने बचेको थियो।
युद्धविरामपछि उनी परिवारसहित घर फर्किए।
"म विद्यालय छँदाको क्षण सम्झन्थेँ," अहिलेको अवस्था पूर्णतः भिन्न रहेको बताउँदै नईम भन्छन्, "युद्धअघि साँच्चिकैका कक्षाकोठामा पढाइ हुन्थ्यो।"
"अब त पालहरू छन्। हामी केवल चार विषय मात्र पढ्छौँ। पर्याप्त ठाउँ पनि छैन। पढाइ पनि उस्तै छैन तर यहाँ हुनु महत्त्वपूर्ण छ। म यहाँ सबै समय बिताउँछु र मेरा निम्ति वास्तवमै यसको खाँचो थियो।"
पहिले यहाँको विद्यार्थी रहिसकेकी रितल अला हर्ब नौ कक्षामा पढ्छिन्। उनी दन्तचिकित्सक बन्न चाहन्छिन्। "विस्थापित हुँदा मेरो पढाइ पूर्ण रूपमा प्रभावित भयो," उनी भन्छिन्, "पढ्ने समय थिएन। विद्यालय थिएन। मैले मेरा साथीहरूलाई धेरै सम्झेँ र मेरो पुरानो विद्यालय पनि सम्झिरहन्छु।"
यो अस्थायी विद्यालय युनिसेफले सञ्चालन गर्छ र पहिले लुल्वा विद्यालय छँदाका विद्यार्थी र युद्धले विस्थापित भएका अन्य बालबालिकालाई उसले एकसाथ जुटाउँछ। यो विद्यालयले पूरै प्यालेस्टिनी पाठ्यक्रम पढाउँदैन। यहाँ अरबी, अङ्ग्रेजी, गणित र विज्ञान गरी केवल आधारभूत विषयहरू मात्र पढाइन्छ।
प्रधानाध्यापक डा मोहम्मद सईद सेइबर २४ वर्षदेखि शिक्षाको क्षेत्रमा कार्यरत छन्। उनले मध्य नोभेम्बरमा यस विद्यालयको व्यवस्थापन सम्हाले। "हामीले दृढ सङ्कल्पका साथ सुरु गर्यौँ," उनले भने, "विद्यार्थीहरूले जे गुमाएका थिए, त्यसको पूर्ति गर्न।"

विद्यालयले हाल १,१०० बालबालिकालाई सेवा दिइरहेको छ। यो दैनिक तीन सत्रमा सञ्चालन हुन्छ। छात्र र छात्राहरू दिन बिराएर पालैपालो विद्यालय आउँछन्। यहाँ जम्मा २४ जना शिक्षक छन्।
"युद्धअघि," डा सइद भन्छन्, "हाम्रा विद्यार्थी विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, इन्टरनेट पहुँच र शैक्षिक स्रोतहरूले भरिपूर्ण विद्यालयहरूमा पढ्ने गर्थे। ती सबै (सुविधा) गए।"
यहाँ बिजुली र इन्टरनेट छैन। साथै धेरै बालबालिका मानसिक आघातसँग सङ्घर्ष गरिरहेका छन्।
विद्यालयका सयभन्दा बढी विद्यार्थीहरू त्यस्ता छन् जसले युद्धका क्रममा आफ्ना एक वा दुवै अभिभावक गुमाएका छन्, घर नष्ट भएका वा मृत्युका घटनालाई प्रत्यक्ष देखेका छन्। डा सईदका अनुसार हरेक विद्यार्थी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
अहिले एक जना परामर्शदाताले मनोवैज्ञानिक सहायता सत्र सञ्चालन गरेर उनीहरूलाई आफ्नो अनुभवलाई बुझ्न र सम्हालिन मद्दत गर्ने कोसिस गरिरहेका छन्।
भलै त्यसको खाँचो क्षमताभन्दा धेरै छ।
"यहाँ पहिल्यै हजारभन्दा बढी विद्यार्थी छन्," डा सईद भन्छन्, "तर एउटा सत्रमा छ वटामात्र कक्षा छन्। विद्यालयको छेवैमा उत्तर र पूर्वी गाजाबाट आएका विस्थापित परिवारहरूको ठूलो शिविर छ। धेरै बालबालिकाहरू भर्ना हुन चाहन्छन् तर हामी उनीहरूलाई लिन सक्दैनौँ।"

केटाकेटीको विद्यालय फिर्तीले अभिभावकलाई राहतसँगै तनाव पनि थपेको छ।
दक्षिणी रिमलबाट विस्थापित भएकी पाँच सन्तानकी आमा हुदा बस्सम अल-दासौकी पढाइ निकै चुनौतीपूर्ण बनेको बताउँछिन्।
"पढाइ छैन भन्न खोजेकी होइन," उनी भन्छिन्, "तर यो अत्यन्त कठिन भएको छ।"
उनका अनुसार युद्धअघि पनि विद्यालयहरूले संसाधनहरूको अभावको सामना गरिरहेका थिए। अहिले ती आधारभूत सामग्रीहरू न सस्ता छन् न त सजिलै उपलब्ध छन्।
"युद्धअघि एउटा नोटबुकको एक शेकेल (०.३१ डलर) पर्थ्यो, अहिले पाँच शेकेल पर्छ," उनी भन्छिन्, मेरा पाँच छोराछोरी छन्।"
उनका अनुसार तीमध्ये कोही चार वर्षसम्म पछाडि परेका छन् जसमा कोविड महामारीका कारण गुमेको समय पनि समावेश छ। "मेरो छोरो पढ्न सक्दैन। लेख्न सक्दैन। बोर्डबाट सार्न पनि जान्दैन," उनी भन्छिन्।

युनिसेफका अनुसार गाजा प्रवेश गर्ने सहायता सामग्रीमाथिको रोकावटले परिस्थितिलाई अझै गम्भीर बनाएको छ।
एउटा विद्यालयको पालबाहिर उभिँदै युनिसेफका प्रवक्तामध्येका एक जोनाथन क्रिक्स अनुपलब्ध सामग्रीहरूतर्फ औँल्याउँछन्। "कागज, नोटबुक, कलम, इरेजर, रुलर… हामी लामो समयदेखि यी सामग्रीले गाजा स्ट्रिपमा प्रवेश पाऊन् भनेर अनुरोध गरिरहेका छौँ तर अनुमति दिइएको छैन। मानसिक स्वास्थ्य र मनोरञ्जनात्मक गतिविधिका सामग्रीको स्थिति पनि उस्तै छ," उनी भन्छन्।
एक इजरेली सुरक्षा अधिकारीले हामीलाई यसबारे प्रधानमन्त्रीको कार्यालयसँग सोध्न भने, जसद्वारा बीबीसीको प्रश्नका जवाफ दिइएन।
इजरेल हमाससँगको युद्धविराम सम्झौताअनुसार आफ्नो दायित्व पूरा गरिरहेको र सहायता वितरण बढाउन सहजीकरण गरिरहेको बताउँछ। तर त्यसमा विमति जनाउँदै संयुक्त राष्ट्रसङ्घ र धेरै सहायता संस्थाहरू इजरेलले अझै पनि आवश्यक सामग्रीको पहुँचमाथि रोक लगाइरहेको बताउँछन्।
युद्धविरामका बावजुद गाजामा इजरेली बमबारी जारी छ। लगभग दैनिक रूपमा त्यसो हुँदै आएको छ र इजरेलका अनुसार हमासद्वारा गरिएका सम्झौता उल्लङ्घनको प्रतिक्रियास्वरूप त्यसो गरिएको हो। यस्तो स्थितिमा पनि बालबालिकाहरू विद्यालय आउँदै छन्।
विद्यालयकी शिक्षिका खलूद हबीब उक्त दृढताले केही भनिरहेको बताउँछिन्।
"शिक्षा हाम्रो जग हो," उनी भन्छिन्, "हामी प्यालेस्टिनीहरूका निम्ति यो पूँजी हो।"
"हामीले घर गुमाऔँला, रुपैयाँपैसा गुमाऔँला, सबैथोक गुमाऔँला," उनी थप्छिन्, "तर ज्ञान एउटा त्यस्तो लगानी हो जुन अझै हामी हाम्रो बालबालिकालाई दिन सक्छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








