नेतन्याहूलाई वेस्ट ब्याङ्क गाभ्न 'अनुमति नदिने' ट्रम्पको भनाइ

    • Author, हेलेन सुलिभान
    • Role, बीबीसी न्यूज

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेन्जमिन नेतन्याहूलाई इजरेलको अधिनमा रहेको वेस्ट ब्याङ्कलाई गाभ्न अनुमति नदिने बताएका छन्।

इजरेली प्रधानमन्त्री नेतन्याहूले शुक्रवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुपूर्व ओभल अफिसमा संवाददाताहरूसँग ट्रम्पले भने: "म इजरेललाई वेस्ट ब्याङ्क गाभ्न दिने छैन... त्यस्तो हुँदै छैन।"

सोमवार नेतन्याहूलाई भेट्दै गरेका ट्रम्पले गाजा सम्झौता "निकै निकट" पुगिसकेको पनि बताए। पश्चिमा देशहरूले स्वतन्त्र प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने लहर चलाएसँगै इजरेलले युद्ध अन्त्य गर्न विश्वव्यापी दबावको सामना गरिरहेको छ। त्यसलाई रोक्नअति दक्षिणपन्थी इजरेलीहरूले वेस्ट ब्याङ्कको विलयलाई एउटा सम्भावित उपायका रूपमा हेर्छन्।

नेतन्याहूको गठबन्धन सरकारका अति राष्ट्रवादीहरूले इजरेलले प्यालेस्टिनी क्षेत्रको हिस्सा वेस्ट ब्याङ्कलाई सोझै विलय गराइनुपर्ने बारम्बार भन्दै आएका छन्।

यूके र जर्मनीले इजरेललाई त्यसो नगर्न चेतावनी दिइएको बताएका छन्। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सोमबार त्यसो गरिनु "नैतिक, कानुनी र राजनीतिक हिसाबले असहनीय हुने" बताएका थिए।

बिहीवार ओभल अफिसमा संवाददाताहरूसँग ट्रम्पले नेतन्याहूका साथै मध्यपूर्वका अन्य नेताहरूसँग आफूले कुरा गरेको बताए।

"हामी गाजाबारे एउटा सम्झौताको निकै नजिक पुग्दैछौँ र सायद शान्तिका बारे पनि," ट्रम्पले भने।

बिहीवार राष्ट्रसङ्घको महासभालाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै प्यालेस्टिनी निकायका प्रमुख महमुद अब्बासले फ्रान्सले इजरेल र प्यालेस्टाइनका निम्ति सोमवार घोषणा गरेको शान्ति योजना कार्यान्वयन गर्न विश्वका नेताहरूसँग सहकार्य गर्न तयार रहेको बताए।

अमेरिकाले अवरोध गरेपछि ८९ वर्षीय अब्बास न्यूयोर्क जानबाट रोकिएका थिए।

उनले प्यालेस्टाइनलाई मान्यता दिएकोमा क्यानडा, अस्ट्रेलिया, यूके, पोर्चुगल, फ्रान्स, बेल्जियम, लग्जम्बर्ग, माल्टा, मोनाको, सन मरिनो, एन्डोरा र डेनमार्कलाई धन्यवाद दिए।

अमेरिकाले प्यालेस्टाइनलाई मान्यता दिने कार्यको विरोध गरिरहेको छ। त्यस्तो कदम हमासका निम्ति पुरस्कारजस्तो हुने उसको भनाइ छ।

"शासनमा हमासको कुनै भूमिका हुने छैन," आफ्नो भाषणमा अब्बासले भने।

बुधवार बिहान इजरेलले अधिनस्थ वेस्ट ब्याङ्क र छिमेकमा रहेको जोर्डनलाई जोड्ने एकमात्र नाका बन्द गरिदिएको छ। उक्त कदमबाट बीस लाखभन्दा धेरै प्यालेस्टिनीहरूको बाहिरी विश्वसँगको पहुँच विच्छेद भएको छ।

इजरेली गोलाबारीमा गाजामा बुधवार महिला र केटाकेटीसमेत गरेर ८० प्यालेस्टिनीको ज्यान गएको र धेरैजसो गाजा सिटीमा मारिएका स्थानीय अस्पतालहरूले जनाएका छन्।

सन् २०२३ को सेप्टेम्बर ७ मा हमासको नेतृत्वमा दक्षिणी इजरेलमा भएको हमलाको जवाफमा इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो। हमासको हमलामा झन्डै बाह्र सय जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।

इजरेलले कारबाही थालेयता गाजामा कम्तीमा ६५ हजार ४१९ जना मारिएका र त्यसमा १८ हजारभन्दा धेरै बालबालिका रहेका हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।