तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विदेशस्थित हमास नेताहरूमाथि थप आक्रमण गर्ने नेतन्याहूको सङ्केत: 'जहाँ भए पनि उन्मुक्ति हुँदैन'
- Author, टम बेनेट
- Role, बीबीसी न्यूज, जेरुसलेम
गत साता कतारमा भएको इजरेली हमलापछि हमास नेताहरूमाथि थप आक्रमण गर्ने सम्भावनालाई इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अस्वीकार गरेका छैनन्। नेतन्याहूले उनीहरू "जहाँ भए पनि" उन्मुक्ति नपाउने बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओसँग जेरुसलेममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतन्याहूले हरेक देशसँग "आफ्नो सीमाभन्दा बाहिर गएर पनि आफ्नो रक्षा गर्ने" अधिकार रहने बताए।
अमेरिकाको एक निकट साझेदार देश कतारमा रहेका हमास नेताहरूलाई लक्षित गर्ने इजरेलको निर्णयप्रति अन्तर्राष्ट्रिय आक्रोश एवं राष्ट्रपति डोनल्ड ट्रम्पबाट समेत आलोचना निम्त्यायो।
हमासले उक्त हमलामा छ जना मारिए तापनि उसका नेताहरू बच्न सफल भएको जनाएको छ।
ह्वाइटहाउसका अनुसार ट्रम्पले कतारलाई "उनीहरूको भूमिमा फेरि यस्तो घटना नहुने" भनेर आश्वस्त पारेको केही दिनमै नेतन्याहूको उक्त टिप्पणी आएको हो।
कतारमा गरिएको हमलामा के अमेरिका संलग्न थियो?
उक्त हमलामा अमेरिकाको कुनै संलग्नता रहे नरहेको बारेमा सोधिँदा नेतान्याहूले पत्रकारहरूलाई भने: "हामीले यो आफ्नै बलमा गर्यौँ। कुरा सकियो।"
बीबीसीले कतारमा भएको सो हमलाले उक्त क्षेत्रमा अमेरिकी सम्बन्धलाई क्षति पुर्याएको छ कि छैन भन्ने प्रश्न सोध्दा रुबिओले वाशिङ्टनले "खाडी सहयोगीहरूसँग बलियो सम्बन्ध" कायम राखेको जबाफ दिए।
स्पष्ट तनावबीच समेत रुबिओ र नेतन्याहू दुवैले व्यापक रूपमा आफूहरूको एकताबद्ध मोर्चा प्रस्तुत गरे। रुबिओले दुई देशको प्राविधिक र सांस्कृतिक सम्बन्धको प्रशंसा गरे भने नेतन्याहूले इजरेलसँग "योभन्दा राम्रो सहयोगी नभएको" बताए।
कतारको समर्थनमा अरब नेताहरूले शिखर सम्मेलन भइरहँदा उनीहरूको भेट भएको हो। जहाँ कतारी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई "दोहोरो मापदण्ड" लागु गर्ने काम बन्द गर्न र इजरेललाई दण्डित गर्न आह्वान गरे।
इजरेलले फेरि हमला नगर्ने कुनै सुनिश्चितता भए नभएको बारेमा पछि सोधिएको प्रश्नमा ट्रम्पले दुई पटक नेतन्याहूले "कतारमा प्रहार नगर्ने" उनले बताए।
दोहाको भूमिका
कतारमा एक मुख्य अमेरिकी हवाई अड्डा छ र उसले गाजामा युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा मध्यस्थकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
दोहाले हमास र इजरेलबीचको अप्रत्यक्ष वार्ताको मध्यस्थकर्ताको रूपमा काम गर्दै आएको छ। उसले सन् २०१२ देखि हमासको राजनीतिक ब्यूरोलाई आश्रय दिँदै आएको छ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार रुबिओ इजरेलपछि कतार पुग्दैछन्।
आइतबार नेतान्याहूले पत्रकारहरूलाई अमेरिका-इजरेल सम्बन्ध "वेस्टर्न वालहरूजत्तिकै टिकाउ" रहेको बताएका छन्। रुबिओसहित उनले जेरुसलेमको 'ओल्ड सीटी'स्थित उक्त पवित्र स्थलको छोटो भ्रमण गरेका थिए।
उक्त भ्रमणका क्रममा उनीहरूसँगै इजरेलका लागि अमेरिकी राजदूत माइक हुकाबी समेत थिए। त्यहाँ रुबिओले एउटा नोट लेखेर त्यहाँको भित्तामा राखे। त्यो आगन्तुकहरूले गर्ने परम्परागत अनुष्ठान थियो।
जहाँ उनीहरूले कतारमा इजरेलले गरेको हमलासम्बन्धी पत्रकारहरूको प्रश्नहरूलाई बेवास्ता गरे।
नेतन्याहू र रुबिओले गाजा सीटी कब्जा गर्ने इजरेली सैन्य योजनाहरू र कब्जा गरिएको वेस्ट ब्याङ्कमा इजरेलका बस्तीहरूको निरन्तर विस्तारबारेमा समेत छलफल गरेको ठानिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।