दक्षिणी प्रशान्त क्षेत्रको फिजीका नेपालीको दशैँ

तस्बिर स्रोत, Sailesh Pal
- Author, दीपक भट्टराई
- Role, सुभा, फिजी
यस वर्षको दशैँ मान्न फिजीमा बस्ने नेपाली मूलकाहरूले अक्टोबर ५ लाई तोकेका छन्।
तलको 'फेसबुक पोस्ट' फिजियन नेपाली सलेश पलले 'शेअर' गरेका हुन्।
"दशैँ त अक्टोबर २ मा हो। तपाईँहरूले किन ५ अक्टोबरमा मनाउन लाग्नुभयो," भनेर नेपाली सङ्घका सञ्जयकुमार घर्तीलाई सोध्दा उनले भने, "यहाँ २ अक्टोबरमा बिदा छैन। ज-जसले दशैँ मनाउन जानेका छन्, ज-जसले सक्छन्, तिनीहरूले २ अक्टोबरमा आफ्नै घरमा मनाउँछन्। नेपाली मूलकाहरू बिदाको दिन पारेर भेला भएर ५ अक्टोबरमा दशैँ मनाउने हो।"
फिजीमा कति नेपाली मूलकाहरू छन् भन्ने आधिकारिक तथ्याङ्क छैन।
तर नाडीको एक माध्यमिक विद्यालयका प्रधानाध्यापक हितेन कुमारका अनुसार सन् २०१८ को जनसङ्ख्यालाई आधार मान्दा नेपाली मूलका फिजीवासी करिब १० हजार थिए। फिजीको जनसङ्ख्या ९ लाख पचास हजारको हाराहारीमा छ।
"अहिले हामी नेपाली मूलकाको सङ्ख्या फिजीमा घटिरहेको छ" हितेनले थपे, "हाम्रो बिहाबारी नै यहाँ भारतीय मूलका फिजियन र यहीँका स्थानीय एटोके जातिसँग हुन्छ, हाम्रो समाज मिश्रित भयो। शुद्ध नेपाली मूलका मात्र पाउनै मुस्किल छ। फेरि धेरै जना नेपाली मूलकाहरू बसाइँ सरेर अस्ट्रेलिया, क्यानडा, अमेरिका गए।"

तस्बिर स्रोत, Sailesh Pal collection
नेपालमा जस्तै गरी घटस्थापनामा जमरा राख्ने, सप्तमीमा फूलपाती भित्र्याउने, अष्टमीमा बली दिने, दशमीमा टिका जमरा थाप्ने गरी फिजीमा दशैँ मनाउनेहरू औँलामा गन्न पुग्ने परिवार पनि बाँकी छैन।
"दशैँमा जमरा राख्नुपर्छ भनेर त हजुरबाहरूले पनि सिकाएनन्। यहाँ अहिलेका धेरैलाई चामल मुछेर रातो टिका लगाउन पर्छ भन्ने पनि थाहा छैन," फिजी नेपाली सङ्घका घर्तीले भने, "दशैँ टिकाको दिन नै बोका, भेडा, कुखुरा काटिन्छ। अक्षताको प्रयोग नगरी धेरै जसो रातो पहेँलो रङका टिका लगाइन्छ। फूल कानमा सिउरिन्छ। छिमेकी आफन्तसँग खानपिन र रमाइलो गरिन्छ। इन्टरनेटको पहुँचसँगै नेपाली गीत बजाएर नाचिन्छ।"
दशैँ भन्नासाथ धेरै नेपाली मूलकाले सेलरोटी सम्झिए। "दशैँ तिहारमा सेलरोटी बनाएर खाने हो नि," सलेशले थपे, "हाम्रा काकाले दशैँका दिन खुकुरीलाई पनि टिका लगाइदिनुहुन्छ। खुब रमाइलो लाग्छ।"
फिजीमा नेपाली भाषी

तस्बिर स्रोत, Sailesh Pal collection
"हामीले दशैँलाई एउटा चाड मात्र भन्दा पनि नेपाली दिनका रूपमा मनाउँछौँ," फिजी नेपाली सङ्घका अध्यक्ष प्रवीण देव घर्तीले भने, "जति सकिन्छ धेरै नेपाली मूलकाहरू भेला भएर हाम्रा पुर्खा कसरी फिजी आइपुगे, तिनीहरूले के कसरी जीवन चलाए, अब हामीले कसरी नेपाली संस्कृतिलाई जगेर्ना गर्ने भन्ने विषयमा कुराकानी गर्छौँ, चर्चा हुन्छ र भाषण हुन्छन्।"
फिजीमा नेपाली मूलकाहरू भए पनि नेपाली भाषी भने भेट्न मुस्किल छ।
८० वर्ष पार गरेका बूढाबूढीहरूले मात्र थोरै नेपाली बोल्छन्।
नेपाली वा गोर्खाली गाउँ भनेर चिनिएको सिंगाटोका कावानागासाउका चौथो, पाँचौँ पुस्ताले हिन्दी भाषालाई नै बोलीचालीको भाषा बनाएको छ।
"अहिले थोरै कम भए पनि दुई दशक अघिसम्म फिजीमा चार लाख, करिब आधा जनसङ्ख्या नै हिन्दी बोल्ने थिए। हामी केही हजारमा भएका नेपाली मूलकाको बिहाबारी पनि भारतीय मूलकासँग अनि सम्पर्क भाषा पनि हिन्दी भयो, त्यसैले नेपाल छाडेर आएका चौथो र त्यसपछिका पुस्ताकालाई नेपाली आउँदैन" सञ्जय घर्तीले भने।
आफूलाई नेपाली भाषाको धेरै माया रहेको सञ्जय बताउँछन्। "म त यो तिहार अगाडि छोरालाई नेपाल पठाउँदै छु, उसले नेपाली केटी बिहे गरेर ल्याओस् भन्ने कामना छ," सञ्जयले भने "बुहारीले फिजीमा नेपाली भाषा केटाकेटीलाई सिकाएको हेर्ने धोको छ।"
करिब एक सय ४० वर्ष अघि भारतको कलकत्ता बन्दरगाहबाट भारतीयसँगै केही नेपालीलाई बेलायतीहरूले कामका लागि फिजी ल्याएको ऐतिहासिक सन्दर्भ छ।
जानकारहरूका अनुसार त्यो बेला कामका लागि नेपालीलाई फिजी ल्याउन नेपाल सरकारको अनुमति थिएन। भारतबाट आउँदा सबैलाई भारतीय भनेर ल्याइएपछि एक शताब्दीसम्म फिजीमा नेपाली मूलकाहरू छन् भन्ने न नेपाल सरकार न भारत न फिजीलाई नै थाहा भयो।
समुद्री टापुको देश फिजी आउनासाथ नेपालीहरूले नवुआ वरिपरिका उखुबारीमा काम गरे पनि बिस्तारै नेपालको जस्तै पहाडी भूभाग र मौसम खोज्दै कावानागासाउमा पुगेका इतिहासकार कविता महाराजले बताइन्।

तस्बिर स्रोत, Screenshot from Sailesh Pal
"त्यहाँ उनीहरूले रैथाने जातिबाट जमिन भाडामा लिएर उखु, तरकारी खेती र पशुपालन गरेर बसेको पाइन्छ," महाराजले भनिन् "त्यहाँ पशुपतिनाथको मन्दिर बनाएका छन्। जसले नेपाली मूलकाहरूलाई जोडिरहन्छ।"
फिजीमा आएका नेपालीमा मगर, क्षेत्री, नेवार, बाहुन, राई सहितकाको मिश्रण देखिन्छ। प्रधानाध्यापक हितेनका अनुसार आजभन्दा ६० वर्ष अघि गोकुलप्रसाद राई, हरिप्रसाद कोइराला, विष्णुप्रसाद सुब्बाहरूले नेपाली मूलकाहरूलाई सङ्गठित गरेर आफ्ना संस्कृति जोगाउने काम गरे जुन अहिले पनि चुनौतीपूर्ण नै छ।
बेलायती गोरखा फौज जङ्गल तालिमका लागि बेलायतबाट फिजी आइरहन्छन्। करिब तीस वर्ष पहिले त्यसैगरी फिजी आइपुगेका बेलायती गोरखा सैनिकहरूले नेपाली मूलकाहरूलाई भेटेको नेपाली मूलका फिजियन बताउँछन्।
"त्यसपछि हामीले मादल, टोपी र खुकुरी उपहार पाउन थाल्यौँ। नेपाली गीत गाउन सिकियो, "सङ्घका अध्यक्ष घर्तीले भने, "अब नेपाली सङ्ग्रहालय बनाउने हो। हाम्रा सन्ततिलाई नेपाली भाषा सिकाउने मन छ। नेपाली वा नेपाली मुलकाहरू फिजी आउँदा बस्ने खाने घर बनाउने योजना छ। यस पटकको दशैँ कार्यक्रममा सबैलाई जानकारी गराएर नेपाली संस्कृति जगेर्ना गर्ने योजनामा लाग्ने हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








