रोहिन्ज्या शिविरमा भीषण आगलागी, हजारौँ शरणार्थीले गुमाए घर

दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिन्ज्या शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन्।

बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन्।

कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै २,००० वटा टहराहरू जलेर नष्ट भए।

आगो नियन्त्रणमा आएपछि काम लाग्ने सामान खोज्न सयौँ मानिसहरू सोमवार बिहान घटनास्थलमा फर्किएका छन्।

छिमेकी देश म्यान्मारमा हिंसा फैलिएपछि विस्थापित भएका हजारौँ मानिसले बाङ्ग्लादेशमा शरण लिइरहेका छन्।

आइतवारको आगलागीका कारण झन्डै १२,००० शरणार्थीहरूले फेरि घर गुमाएका छन्।

कसरी लाग्यो आगलागी?

आगलागीको कारण थाहा हुन सकेको छैन। तर उक्त घटनामा कोही पनि हताहत भने भएनन्।

कसैले जानीजानी लागो लगाएको हो कि भनेर प्रहरीले छानबिन गरिरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

एक अधिकारीका अनुसार स्थानीय समयानुसार आइतवार दिउँसो २ः४५ बजे सुरु भएको आगोले केही बेरमै बाँस र तिरपाल भएको शिविरलाई ध्वस्त बनायो। खाना पकाउने ग्यासका कारण आगो चाँडै फैलिएको बताइएको छ।

"झन्डै २,००० वटा टहराहरू जले अनि जबरजस्ती विस्थापित भएका १२,००० जनाजति म्यान्मारी नागरिकहरू आश्रयविहीन बन्न पुगे," बाङ्ग्लादेशको शरणार्थी मामिला हेर्ने एक अधिकारी मिजानुर रहमानले समाचारसंस्था एएफपीलाई बताए।

कस्तो क्षति पुग्यो?

आगलागी तीन घण्टाभित्र नियन्त्रणमा लिइएको भए पनि कम्तीमा पनि ३५ वटा मस्जिद र २१ वटा प्रशिक्षण केन्द्रहरूमा क्षति पुगेको जानकारी रहमानले दिए।

घटनास्थलमा भएको विध्वंस देखिने तस्बिरहरू सार्वजनिक हुन थालेका छन्।

आगोले जलेका टहरामा धातुका निदाल र जस्तापाता मात्र बाँकी देखिन्छन् भने मानिसहरू त्यहाँ केही काम लाग्ने वस्तु भेटिन्छ कि भनेर खोज्न गएका छन्।

आईएफआरसीका हृषीकेश हरिचन्दनले शरणार्थी शिविरमा "ठूलो क्षति" पुगेको बीबीसीलाई बताए।

उनका अनुसार आगलागीका कारण पानी वितरण र परीक्षण गर्ने साधनहरू पनि प्रभावित भएका छन्।

"मेरो टहरो जल्यो। [मेरो पसल] पनि जल्यो," ३० वर्षीय ममुन जोहरले एएफपीलाई बताए।

"आगोले मेरो सबै थोक ध्वस्त पार्‍यो, सबै थोक" उनले भने।

शरणार्थी शिविरमा किन बारम्बार आगलागी हुन्छ?

आगलागी भएपछि ११ नम्बरको शिविरबाट धुवाँको कालो मुस्लो उडेको थियो।

कक्स बजार क्षेत्रमा धेरै शिविरहरू छन्। तिनमा १० लाखभन्दा बढी शरणार्थीहरू बसोबास गर्दै आएका छन्।

ती शिविरको स्थिति दयनीय छ र त्यहाँ शरणार्थीको ठूलो चाप छ। त्यसैले शिविरहरूमा आगलागी हुने ठूलो जोखिम पनि रहन्छ।

सन् २०२१ को आरम्भदेखि २०२२ को अन्त्यसम्म रोहिन्ज्या शरणार्थी शिविरहरूमा आगलागीका २२२ वटा घटना भएको विवरण गत महिना बाङ्ग्लादेश सरकारद्वारा प्रकाशित एउटा प्रतिवेदनमा उल्लिखित छ।

तीमध्ये ६० वटा आगजनीका घटना थिए।

शरणार्थी बस्तीमा मार्च २०२१ मा भएको भीषण आगलागीमा १५ जनाको मृत्यु भएको थियो भने ५०,००० जना विस्थापित भएका थिए।

कसरी सुरु भयो शरणार्थी समस्या?

कक्स बजारस्थित शिविरलाई विश्वकै ठूलो शरणार्थी शिविर मानिन्छ।

म्यान्मारमा सेनाले रोहिन्ज्या समुदायमाथि दमन थालेपछि भागेर बाङ्ग्लादेश आएका मानिसहरूले त्यहाँ आश्रय लिइरहेका छन्।

बौद्धबहुल म्यान्मारमा बस्ने रोहिन्ज्याहरू मुसलमान हुन्। म्यान्मारमा उनीहरूविरुद्ध लामो समयदेखि अत्याचार हुँदै आइरहेको छ।

एउटा रोहिन्ज्या विद्रोही समूहले प्रहरी चौकीहरूमा आक्रमण गरेपछि सेनाले कारबाही थाल्दा सन् २०१७ को अगस्ट महिनामाबाट रोहिन्ज्या समुदायका मानिसहरू ठूलो सङ्ख्यामा भागेर बाङ्ग्लादेशतिर जान थालेका हुन्।