तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोहिन्ज्या: एक लाख शरणार्थीका लागि बनाइएको सहरलाई उनीहरू चाहिँ किन 'जेल' भन्छन्?
- Author, अकबर हुसैन
- Role, बीबीसी बङ्गाली
क्रूरतापूर्ण धरपकडबाट बच्न आफ्नो देश छाडेका हज्जारौँ रोहिन्ज्याहरू फेरि एकपटक खतरामा छन्।
रोहिन्ज्याहरूलाई राखिएको बाङ्ग्लादेशको कक्सेज बजारस्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा हिंसा, लागूपदार्थ सेवन र मानव तस्करी बढ्दो छ।
बाङ्ग्लादेश सरकारले उनीहरूको इच्छाविपरित हज्जारौँ शरणार्थीहरूलाई त्यहाँबाट टाढाको एउटा टापु 'भासन चर' पठाउन सुरु गरेको छ।
विशेष पहुँच पाएपछि बीबीसीले दोधारमा बाँचिरहेका रोहिन्ज्याहरूको उक्त टापुमा भविष्य कस्तो हुनेछ भन्नेबारे अनुसन्धान गरेको छ।
शिविर अनुभव
५५ वर्षीया राशिदा खातुनले आफ्ना सन्तानबारे नसुनेको ६ महिना भइसक्यो।
कोरोनाभाइरस पूर्ण रूपमा फैलनुअघि गत फेब्रुअरीमा उनका छोराछोरी उज्ज्वल भविष्यको खोजीमा एउटा जोखिमपूर्ण यात्रामा निस्किएका थिए।
उनकी १७ वर्षीया छोरी र २२ वर्षीय छोरा अन्य २० र ३० वर्षका रोहिन्ज्यासहित एउटा माछा मार्ने डुङ्गामा मलेसियाका लागि १० दिने यात्रामा निस्किएका थिए।
बाँस र प्लास्टिकबाट बनेको अस्थायी घरमा बसेकी उनी सन् २०१७ मा एउटा सैन्य कारबाहीमा म्यान्मारमा कसरी आफ्नो घर जलाइएको थियो र आफ्नो परिवारले म्यान्मार छाड्यो भन्ने कथा सुनाउँछिन्।
तीन वर्षअघि म्यान्मारमा भएको सैन्य कारबाहीमा रोहिन्ज्या मुस्लिमहरूको पूरै गाउँलाई ध्वस्त पारिएको थियो।
संयुक्त राष्ट्रसंघीय अनुसन्धानकर्ताहरूका अनुसार त्यस क्रममा करिब १० हजार मानिसहरू मारिएका थिए र ७ लाख ३० हजारभन्दा बढी त्यहाँबाट भागेर बाङ्ग्लादेशतर्फ आएका थिए।
संयुक्त राष्ट्रसंघले त्यसलाई 'जातीय नरसंहार' भनेको छ।
आफ्नो देश फर्कन पाउने आशा नदेखेर र हतास एवम् निराश बनेर खातुनका छोराछोरीले शिविर छाडेर मुस्लिमबहुल मलेसियातर्फ जाने निर्णय गरे।
खातुन भन्छिन्, "मलेसियामा रहेका मेरा एकजना नातेदारले गत वर्ष फोन गरेर मलेसियाका पुरुष रोहिन्ज्या महिलासँग बिहे गर्न चाहन्छन् भने। उनले मेरी छोरीको त्यहाँ बिहे हुने र छोराले पनि रोजगारी पाउने बताए।"
डुङ्गामा यात्रा गरेर बाङ्ग्लादेशबाट मलेसिया जानु रोहिन्ज्या युवायुवतीका लागि सामान्य बनेको छ तर यो निकै जोखिमपूर्ण यात्रा हो।
जुन साता खातुनका छोराछोरी माछा मार्ने डुङ्गा चढेर गएका थिए त्यसै साता दर्जनौँ शरणार्थी लिएर जाँदै गरेको एउटा डुङ्गालाई बाङ्ग्लादेशी तटमा जफत गरिएको थियो। उक्त घटनामा १४ जना बालबालिका मारिएका थिए।
दश दिनसम्मा समुद्री यात्रा गरेपछि खातुनका छोराछोरीले मलेसियाली तट देखेका थिए। तर उनीहरूको डुङ्गालाई मलेसियाको जलसेनाले देख्यो र उनीहरूलाई मलेसिया प्रवेश गर्न दिएन।
उनीहरूको सानो डुङ्गा एक महिनासम्म अण्डमान सागरमा घुमिरह्यो।
अन्तत: स्थानीय सञ्चारमाध्यम र मानवअधिकारवादी समूहहरूको दबाबमा बाङ्ग्लादेशको तट रक्षक दलले हस्तक्षेप गर्यो।
मलेसियामा प्रवेश गर्न नपाएका अन्य सयौँ शरणार्थीसँगै खातुनका छोराछोरीलाई पनि कक्सेज बजारस्थित शिविरमा आउन दिइएन। त्यसको साटो उनीहरूलाई बङ्गालको खाडीमा रहेको 'भासन चर' टापु लगियो।
त्यसैबेला एउटा नचिनिएको नम्बरबाट आएको फोनमा खातुनले आफ्नी छोरीसँग कुराकानी गरेकी थिइन्। त्यो नै उनको छोरीसँग भएको अन्तिम कुराकानी थियो।
'भासन चर' टापु
बाङ्ग्लादेशको तटबाट करिब ६० किलोमिटर पर भासन चर टापु रहेको छ।
यो टापुको अस्तित्वबारे पत्ता लागेको २० वर्ष पनि भएको छैन।
यो समुद्र सतहबाट दुई मिटरभन्दा पनि कम उचाइमा रहेको छ। यो टापु पूर्ण रूपमा हिमालय क्षेत्रबाट नदीले बगाउँदै ल्याउने माटो र बालुवाबाट बनेको छ।
पछिल्ला तीन वर्षदेखि यहाँ ३५० मिलियन डलरको लागतमा बाङ्ग्लादेशले नयाँ सहर बनाइरहेको छ। उसको उद्देश्य कम्तीमा एक लाख शरणार्थीहरूलाई यो टापुमा सार्नु रहेको छ।
"बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले पटकपटक यो योजनाको बचाउ गर्दै आएकी छन्।
उनले कक्सेज बजारको शिविर असुरक्षित बन्दै गएको बताउने गरेकी छन्।
गत वर्ष संयुक्त राष्ट्रसंघको महासभामा पनि उनले रोहिन्ज्या समस्या क्षेत्रीय खतरा बनेको बताएकी थिइन्।
तर कैयौँ रोहिन्ज्याका लागि भासन चर शिविरभन्दा पनि जेलजस्तो भएको छ।
यहाँ सबैलाई उनीहरूको इच्छा विपरित ल्याइएको छ र उनीहरूलाई यहाँबाट बाहिर जान अनुमति दिइएको छैन।
त्यहाँ हाल खातुनका छोराछोरीसहित ३०६ शरणार्थी छन्।
त्यस मध्ये अधिकांश महिला र बालबालिका रहेको संयुक्त राष्ट्रसंघको भनाइ छ।
सञ्चारकर्मीको भ्रमण
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले इच्छाविपरित शरणार्थीहरूलाई भासन चर लान बन्द गर्न दबाब दिएपछि अब बाङ्ग्लादेशी सरकार उक्त स्थानको प्रचार गरेर रोहिन्ज्याहरूलाई लोभ्याउन थालेको छ।
उसले उक्त टापुलाई फराकिलो र अहिलेको शिविरको तुलनामा आधुनिक सुविधायुक्त रहेको बताउन थालेको छ।
सोही कोसिसअनुरुप केही पत्रकारहरूलाई उक्त टापुमा लगिएको थियो। त्यसमा बीबीसीको समूह पनि सामेल थियो।
तीन घण्टे यात्रापछि पत्रकारको टोली उक्त टापुमा पुगेपछि कोमोडोर अब्दुल्लाह अल मामुम चौधरीले नवनिर्मित स्थलमा पत्रकारलाई लिएर गए।
त्यहाँ सयौँ रातो छाना भएका घर बनेका थिए।
ती सबै अहिले हज्जारौँ शरणार्थीको पर्खाइमा खाली रहेका थिए। सबै घरको माथिपट्टि र कुनामा निगरानीका लागि सुरक्षा क्यामेरा जोडिएका थिए।
जलसेनाका अधिकारीहरू हामीलाई दुईवटा विद्यालय, एक मस्जिद र दुईवटा चालिस शय्याका अस्पताल एवम् निर्माणाधीन दुई सामुदायिक क्लिनिक देखाउन उत्सुक थिए।
अब्दुल्लाह अल मामुम चौधरीले भने, "यहाँको आधारभूत संरचना वातावरणमैत्री छ। धेरै खुला ठाउँ छ। कक्सेज बजारमा नभएको बिजुलीको सुविधा यहाँ हुनेछ। रोहिन्ज्या बालबालिकाले यहाँ उत्कृष्ट शिक्षा पाउनेछन्।"
आलोचना
यही वर्षको सुरुवातमा एमनेस्टी इन्टरन्याशनलले उक्त टापुमा रहेका ३०६ रोहिन्ज्याहरूको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको थियो।
त्यसमा उनीहरू अस्वस्थकर वातावरणमा रहेको, पर्याप्त खाना र स्वास्थ्य सुविधा नभएको, परिवारका सदस्यसँग कुराकानी गर्न नदिइएको र स्थानीय मजदुरहरू र जलसेनाद्वारा अवैध असुली एवम् यौन उत्पीडन गरिएको पनि उल्लेख थियो।
यद्यपि चौधरी यी आरोपलाई अस्वीकार गर्छन्।
उनले रोहिन्ज्याहरूलाई आफूहरूले अतिथि जसरी राखेको दाबी गरे तर त्यहाँ रहेका ३०६ शरणार्थीबारे सोध्दा उनीहरूलाई पत्रकारसँग भेट गराउन नसकिने बताए।
बाङ्ग्लादेश सरकारले लामो समयदेखि उक्त टापुमा संयुक्त राष्ट्रसंघलाई आधिकारिक रूपमा यात्रा गराउने र त्यहाँका सुविधाहरूबारे मूल्याङ्कन गर्न दिने प्रतिबद्धता जनाउँदै आएको छ।
तर हालसम्म उसले संयुक्त राष्ट्रसंघलाई उक्त टापुमा पहुँच दिएको छैन।
शरणार्थी मामिलाका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले ३०६ शरणार्थी त्यहाँ पुगेकाले अब त्यहाँ जानु राष्ट्रसंघका लागि अझ महत्त्वपूर्ण भएको बताए।
उनले सरकारसँग त्यसका लागि अनुमति मागिएको तर हालसम्म जवाफ नआएको जानकारी दिए।
खतरा
समुद्री सतहबाट दुई मिटर मात्र माथि रहेकाले यहाँ चक्रवात, समुद्री छाल र उच्च वर्षाको खतरा रहेको रोहिन्ज्याहरूको भनाइ छ।
पत्रकारलाई पावरप्वाइन्ट प्रेजेन्टेसन दिँदै कोमोडोर चौधरीले यो टापुको वरिपरि १४ किलोमिटर लामो समुद्री पर्खाल बनाउन लागिएको बताए।
उनका अनुसार विज्ञहरूले त्यसले चक्रवातको खतरालाई निकै कम गर्ने बताएका छन्।
उनले विगत १७२ वर्षयता यो क्षेत्र चक्रवातको केन्द्र नभएको भन्दै चक्रवातबाट बच्न १२० वटा सेल्टर बनाइएको र त्यसले २६० किलोमिटर गतिको हावालाई पनि छेक्नसक्ने बताए।
तर उनको दाबी विपरित के प्रमाणहरू छन् भने सन् १९९१ र १९९७ मा चक्रवात भासन चरबाटै गएका थिए।
त्यस्तै चक्रवातबाट केन्द्र मात्र नभइ त्यसबाट टाढा पनि क्षति हुन्छ भन्ने प्रमाणहरू रहेका छन्।
बाङ्ग्लादेशमा हरेक वर्ष औसतमा एउटा चक्रवात आउँछ र बीबीसीका मौसम विज्ञहरूको भनाइ के छ भने भविष्यमा भासन चरमा चक्रवातको सम्भावना प्रबल छ।
डर
रोहिन्ज्यालाई उक्त टापु निकै टाढा भएकाले पनि डर लागेको छ। उक्त क्षेत्रमा पुग्न बाङ्ग्लादेशको मुख्यभूमिबाट जहाजमा तीन घण्टा लाग्छ।
रोहिन्ज्या शिविरमा बस्ने नुर हुसैन भन्छन्, "भासन चरमा घर त धेरै राम्रा छन् तर ती कुनै जेल जस्ता छन्। कक्सेज बजारमा हामी समुदाय जसरी बसेका छौँ। तर यहाँ हामीले नौसेनाको निगरानीमा बस्नुपर्छ। हाम्रो स्वतन्त्रता सीमित हुन्छ।"
शिविरमा यस्ता मानिसहरू पनि छन्, जसलाई बाङ्ग्लादेश र म्यान्मारको सीमा नजिकै रहँदा शान्ति महसूस हुन्छ।
उक्त टापुमा गएपछि म्यान्मार फर्कने सपना सधैँका लागि सकिने हो कि भन्ने चिन्ता उनीहरूमा छ।
तस्बिरहरूः सलमान सईद र अकबर होसेन। प्रोड्युशरः क्लेएर प्रेस