तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'हामी काठमाण्डूमा छौं, सु चीलाई सुनाइदिनु'
म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु ची काठमाण्डू उत्रेको खबर बिहीवार दिउसै कपन क्षेत्रमा बसिराखेका थुप्रै रोहिन्ज्या शरणार्थीले थाहा पाइसकेका थिए।
सु ची काठमाण्डु किन आइन् भन्ने ती शरणार्थीलाई थाहा छैन तर उनीहरू भन्दै थिए- कसैले हामी यहाँ बसिरहेका छौं भन्ने खबर उनीसम्म पुर्याइदेओस्।
नेपाल सरकारले भने उनीहरूलाई गैरकानुनी आप्रवासी भन्ने गरेको छ।
जसका कारण काठमाण्डूस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएसचिआर)बाट निकै सीमित सुविधाहरू पाइराखेका छन्।
भारतमा समेत बस्ने वातावरण नबनेपछि पाँच वर्षअघि नेपाल आएकी सेनवारा वेगमका तीन सन्तान काठमाण्डूमै जन्मिए। सासु, श्रीमान र अन्य केही आफन्तहरूसाथ नेपाल छिरेकी उनको परिवारले छाक टार्न अनेकखाले ज्याला मजदूरी गर्ने गरेको छ।
त्यसो गरिरहंदा वेगमलाई आफ्नो देश म्यानमारको झनै बढि यादले सताउँछ। भन्छिन्, "हाम्रो पनि उता घर-जग्गा सबै छ। तर यता सबै मुस्किल छ। सिर्फ यता लडाईं झगडा छैन।"
३ सय ५० भन्दा धेरै रोहिन्ज्याहरू अहिले काठमाडौंको कपन क्षेत्रमा डेरा गरेर बसिराखेका छन्।
डेरा पाउने सास्तीमाझ कतिपय सार्वजनिक स्थानमा टहरा बनाएर बस्नेहरू समेत छन्। अन्य रोहिंज्याहरूझैं शुरुमा बंगलादेश भागेर आएका उनीहरू त्यहाँबाट भारत हुँदै नेपाल छिरेका थिए।
रोहिंज्यालाई घर फर्काइने चर्चा सुनिरहेका उनीहरूले त्यसअघि आफ्नो सुरक्षा सुनिश्चितता र पहिचानको स्पष्टता हुनुपर्ने बताइरहेका छन।
कपन, काठमाण्डूमै बसिराखेकी रसिदा वेगमले त्यसको लागि आफूहरूले आन्दोलन नगर्ने भन्दै नेपाल सरकारलाई नै त्यो कुरा सु चीसँग राखिदिन भनेका छन्। वेगम भन्छिन्, "गुण्डाहरू लगाएर बच्चाहरूको हत्या गरेको हामीले बिर्सेका छैनौं।"
सु ची शुक्रवारदेखि काठमाडौंमा एक गैरसरकारी संस्थाले आयोजना गर्न लागेको एसिया प्यासिफिक समिटको एकजना विशिष्ट पाउनाका रूपमा नेपाल आएकी हुन्।
बिहीवार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटेकी सु चीले प्रधानमन्त्री र राष्ट्रपतिसँग समेत भेट्ने कार्यक्रम छ।