रोहिन्ज्या शरणार्थी शिविर आगलागी: ४५ हजार विस्थापित, सयौँ बेपत्ता

    • Author, स्वामिनाथन नटराजन र खादिजा आरिफ
    • Role, बीबीसी विश्व सेवा

बाङ्लादेशको कोक्स बजारस्थित रोहिन्ज्या शरणार्थी शिविरमा भीषण आगो फैलँदा ४५ हजारभन्दा बढी विस्थापित भएको संयुक्त राष्ट्र सङ्घको शरणार्थी सम्बन्धी निकायले बताइको छ।

उक्त आगलागीमा कम्तीमा १५ जनाले ज्यान गुमाएका छन् भने ४०० जना अझै बेपत्ता छन्।

आगोले हजारौँ अस्थायी छाप्रोहरूलाई लपेटिरहँदा २५ वर्षका शरणार्थी साइफुल अर्कानी घातक धुवाँको मुस्लोभित्र पसेर मानिसहरूको उद्धारमा जुटेका थिए।

"मानिसहरू मेरा आँखै अगाडि खरानी भइरहेका थिए," उनले भने, "धेरै जनाको ज्यान गयो।"

कैयौँ अरू स्वयंसेवक सहित साइफुलले आफ्नो ज्याकेट र ब्ल्याङ्केटको सहायताले आगोले नराम्रोसँग जलेका व्यक्तिहरूलाई मद्दत गरेका थिए।

व्यावसायिक फोटोग्राफर रहेका उनले आफ्नो मोबाइल फोन मात्रै बोकेका थिए। तर त्यो खतरनाक अवस्थामा पनि उनले कैयौँ फोटोहरू खिच्न भ्याए।

"मैले तस्बिर लिन थालेँ तर मैले आफूलाई रुनबाट रोक्न सकिन।"

त्यसमध्ये सबैभन्दा स्तब्ध तुल्याउने फोटो एक जना सानो बालकको थियो। आगोले नराम्रोसँग जलेका ती बालकको पेटमा एउटा सानो खेलौना टाँसिएको थियो

साइफुल ती नवजात शिशुको ज्यान जोगाउन नसकिएको बताउँछन्।

जोगिनै नसकिने आगोको लप्का

झन्डै १० लाख रोहिन्ज्या शरणार्थीको घर रहेको दक्षिण पूर्वी बाङ्लादेशको कोक्स बजारमा ३४ वटा शरणार्थी शिविर छन्।

मुसलमान समुदायको अत्यधिक बाहुल्यता रहेका ती शिविरहरू सन् २०१७ मा क्रूर दमन गरिएपछि म्यानमारबाट भागेर आएका शरणार्थीहरूको घर हो।

तर पहाडी भूगोलमा हजारौँ अस्थायी छाप्राहरू रहेको कुतालापालोङ बालुकाली शिविरमा आगो लागेपछि त्यो द्रुत रूपमा फैलिएको थियो।।

साइफुलले आगो लागेको थाहा पाउँदा स्थानीय समय अनुसार तीन बजेर केही मिनेट गएको थियो। उनकी आमाले दुई किलोमिटर पर घरको मूल द्वारबाट कालो धुवाँको मुस्लो खसिरहेको र पहेँलो ज्वाला दन्किरहेको देखेकी थिइन्।

उनले भने, "उक्त लप्का १०० फिटभन्दा माथिसम्म पुगिरहेको थियो। म तुरुन्तै ट्याक्सी चढेँ र घटनास्थलमा पुगेँ।"

उनी त्यहाँ पुग्दा ठूलो भिड जम्मा भइसकेको थियो। धेरै जना शिविरभित्र आगो कुन दिशातर्फ जान्छ भन्ने व्यग्रतापूर्वक अनुमान गरिरहेका थिए।

उद्धार

"मैले मानिसहरू मेरी आमालाई बचाउ, मेरा दिदी बाहिनीलाई बचाउ भन्दै चिच्याउँदै आफ्नो घरबाट भागिरहेको देखे। अवस्था एकदमै अस्तव्यस्त थियो। कसैलाई पनि के गर्ने थाहा थिएन।"

आपत्कालीन सेवा अझै नआइपुगेकाले केही स्थानीय बासिन्दाहरूसँग मिलेर साइफुल खतरनाक धुवाँभित्र अघि बढे र जीवितै रहेका व्यक्ति खोज्न थाले।

"मैले म जस्तै मानिसहरू खरानीमा परिणत भइरहेको देखेँ। म मद्दत गर्न चाहन्थेँ। आफ्नो ज्यान गएपनि म उनीहरूलाई बचाउन चाहन्थेँ।"

आफूले देखेको कुराबाट कहिल्यै छुटकारा पाउन नसक्ने उनी बताउँछन्।

"मैले बच्चा, बुढी आमा र पुरुषहरू मेरो पाखुरा र काँधमा बोकेँ। उनीहरूमध्ये धेरैलाई गम्भीर चोट लागेको थियो"

त्यस्तो अस्तव्यस्तताका माझ साइफुलले एक जना व्यक्तिले मद्दत माग्दै कराइरहेको सुनेका थिए।

"उनको नाम सलिम थियो। उनी लगभग ४० वर्षका थिए होलान्। उनी रोइरहेका थिए। 'मेरी छोरी र मेरी श्रीमतीलाई कृपया बचाइदिनुस् भनिरहेका थिए। म जीवितै छु तर कृपया मेरी छोरीलाई बचाइदिनुहोस् भनिरहेका थिए।"

भग्नावशेषका बीचबाट अघि बढेर स्वयंसेवकहरूले ती व्यक्तिको परिवारलाई जोगाउन सफलता पाए।

शिविरमा चार वर्ष बसेर आफूलाई अलपत्र छाडिएपछि कस्तो अनुभव हुन्छ भन्ने थाहा भएको उनले बताए। त्यही भएर आफ्नो समुदायको बढीभन्दा बढीलाई जोगाउने प्रयास गरेको उनले बताए।

प्रत्येक वर्ग किलोमिटरमा झन्डै ६० हजार जनाको बसोबास रहेको उक्त भिडभाडपूर्ण क्षेत्रमा पुग्न उद्धारकर्मीलाई पनि कठिन भएको थियो।

त्यसमाथि पाइपबाट पानी आउने प्रणाली नहुँदा साइफुलले एक घण्टाभन्दा बढी समयसम्म शरणार्थीको सानो समूहले बाल्टिनमा पानी ओसार्नुपरेको जनाए। लगभग ४ बजेर ४० मिनेट जाँदा त्यहाँ दमकल पुगेको थियो।

कैयौँ एम्बुलेन्सहरू पनि आउन थालेपछि साइफुलले आफूले उद्धार गरेका व्यक्तिहरूलाई थप मद्दत गर्न थाले। आफूले उद्धार गरेका एक जना व्यक्तिले पछि अस्पतालमा ज्यान गुमाएको उनले उल्लेख गरे। "दश जना व्यक्तिले मेरो आँखै अगाडि ज्यान गुमाए जसमा चार एकदेखि छ वर्ष बिचका बच्चाहरू थिए।"

आगलागीपछिको अवस्था

सूर्यास्त हुने बेलासम्म आगलागी लगभग नियन्त्रणमा आएको थियो र सहायता निकायहरूले आगलागीपछि आफ्नो सर्वस्व गुमाएका व्यक्तिहरूमा आफूलाई केन्द्रित गर्न थालेका थिए।

उक्त आगलागीबाट झन्डै १० हजार छाप्राहरू ध्वस्त भएको छ। एक्सन एड बाङ्ग्लादेशकी निर्देशक फराह कबीरले बीबीसीसँग कुरा गर्दै छानो गुमाएका व्यक्तिका लागि अस्थायी आवास निर्माण थालेको बताइन्।

साइफुलले आफ्नो समुदायले व्योहोरेको नोक्सानीले पीडा दिएको बताए। सयौँ मानिसहरूलाई सुरक्षित रहन मद्दत गर्न पाएकोमा उनलाई केही सन्तोष लागेको छ।

"मलाई शङ्कै छ म आज राति सुत्न सक्छु। नाबालिग र असहाय महिलाहरूको चित्कार अझै मेरो मस्तिष्कमा गुन्जिरहेको छ। मैले अझ धेरै जीवन बचाउन पाएको भए हुन्थ्यो जस्तो मलाई लाग्छ।"