गाजामा ६०-दिने युद्धविराम गर्न इजरेल सहमत भएको ट्रम्पको दाबी

तस्बिर स्रोत, Reuters
- Author, जेम्स च्याटर
- Role, बीबीसी न्यूज
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन्: गाजामा ६०-दिने युद्धविराम गर्न 'आवश्यक शर्तहरू'बारे इजरेलले सहमति जनाएको छ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उक्त प्रस्तावित सहमतिका समयमा 'युद्ध समाप्त गर्न हामी सबै पक्षसँग काम गर्ने छौँ' भनेर लेखेका छन्।
तर उनले ती शर्तहरू के के छन् भनेर खुलाएका छैनन्।
हमासलाई चेतावनी
"शान्ति कायम गर्न कठिन काम गरिरहेका कतारी तथा इजिप्सियनहरूले अन्तिम प्रस्ताव दिने छन्। मेरो आशा छ…हमासले यो सहमति स्वीकार्ने छ किनभने अवस्था सुध्रनेवाला छैन – झन् खराब हुने छ।"
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा हमला गरेर १२ सय मानिसको ज्यान लिएपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको हो।
उक्त कारबाहीमा हालसम्म गाजामा ५६,६४७ जनाको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तर हमासले युद्धविरामका शर्तहरू स्वीकार्ला भनेर अहिले नै प्रस्ट भइसकेको छैन।
आगामी साता इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग भेट हुनु अगाडि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उक्त भेटघाटमा आफू 'दह्रो' रूपमा प्रस्तुत हुने ट्रम्पले बताएका छन्।
मङ्गलवार बोल्दै ट्रम्पले नेतान्याहु गाजामा युद्ध रोक्न चाहन्छन् भन्ने आफूलाई लागेको बताए।
"उनी चाहन्छन्। म भन्न सक्छु उनी चाहन्छन्। मलाई लाग्छ अर्को साता हामी एक सम्झौतामा पुग्न सक्छौँ," उनले भने।
गत साता बीबीसीसँग बोल्दै एकजना वरिष्ठ हमास अधिकारीले नयाँ युद्धविराम तथा बन्धक रिहाइको सहमतिका निम्ति मध्यस्थकर्ताहरूले प्रयासहरू तेज पारेको तर इजरेलसँगको कुराकानी अड्किरहेको बताएका थिए।
वर्तमान अवस्था
इजरेलले हमासको पूर्ण विघटन नभएसम्म सङ्घर्ष अन्त्य नहुने भन्दै आएको छ। हमासले चाहिँ स्थायी युद्धविराम र गाजाबाट इजरेलको पूर्ण फिर्तीको माग गरिरहेको छ।
करिब ५० इजरेली बन्धक गाजामा रहेको र तीमध्ये कम्तीमा २० जना जिउँदो रहेको ठानिएको छ।
थप सैन्य कारबाही अगाडि उत्तरी गाजाबाट मानिसहरूलाई अन्यत्र जान इजरेलले आदेश दिएलगत्तै ट्रम्पका पछिल्ला टिप्पणी आएका हुन्।

तस्बिर स्रोत, Reuters
सोमवार गाजाको समुद्री तटमा रहेको एक क्याफेमा भएको इजरेली हवाई हमलाका कारण कम्तीमा २० जना प्यालेस्टीनी मारिएको प्रत्यक्षदर्शी तथा स्वास्थ्य उद्धारकर्मीहरूले बताएका छन्।
अमेरिका तथा इजरेलद्वारा समर्थन प्राप्त गाजा ह्युमनिटेरिअन फाउन्डेशन (जीएचएफ)ले सञ्चालन गरेका सहयोग वितरण केन्द्रहरूमा जाने क्रममा गैरसैनिकहरू मारिएका तथा घाइते भएका विवरणहरूको आफूले परीक्षण गरिरहेको इजरेली सेनाले बताएको छ।
विश्वका १७० भन्दा धेरै परोपकारी संस्थाहरूले उक्त विवादित समूह जीएचएफ बन्द गर्न आह्वान गरेका छन्। अक्सफाम तथा सेभ द चिल्ड्रेनजस्ता संस्थाहरूले सहयोग लिन पुगेका प्यालेस्टीनीहरूमाथि इजरेली फौजले 'नियमित' रूपमा गोली हानिरहेको बताएका छन्।
इजरेलले ती आरोप अस्वीकार गर्दै सहयोग वितरणमा हमासको हस्तक्षेप रोक्न उक्त समूह आवश्यक भएको बताएको छ।
मार्चमा इजरेलले ताजा हमला गरेपछि ज्यानुअरी १९ मा भएको युद्धविराम सहमति भङ्ग भएको थियो।
त्यतिखेर युद्धविरामको तीन चरण हुने बताइएको थियो तर पहिलो चरणबाट सो सहमति अघि बढ्न सकेन।
दोस्रो चरणमा स्थायी युद्धविराम गरिने, बाँकी जीवित बन्धकहरूलाई इजरेलमा बन्दी बनाइएका प्यालेस्टीनीहरूसँग साटासाट गर्ने अनि गाजाबाट इजरेली फौजको पूर्ण फिर्ती हुने उल्लेख थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








