साउदी कम्पनी टाट पल्टिएपछि नौ महिनादेखि 'अलपत्र' ४६९ नेपालीको अझै हुन सकेन उद्धार

तस्बिर स्रोत, Sendan
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
साउदी अरबमा आफू काम गरिरहेको कम्पनी बन्द भएका कारण कैयौँ महिनादेखि या त स्वदेश फर्कन या त अन्य कम्पनीमा सर्न आतुर नेपाली कामदारहरूले अहिले रियादस्थित नेपाली दूतावाससँग सहयोग खोजिरहेका छन्।
दूतावासले यसबारे साउदी सरकारको श्रमसम्बन्धी निकायसँग कुराकानी चलाइरहेको र चाँडै नै उनीहरूलाई उपयुक्त किसिमबाट स्वदेश फिर्ता गराउने आशा बढेको बताएको छ।
ती कामदार साउदी अरबको जुबेल सहरस्थित सेन्दान इन्टर्न्याश्नल कम्पनीसँग आबद्ध थिए।
पहल कहाँ पुगेको छ?
नेपाली दूतावासका श्रम काउन्सलर कविराज उप्रेतीका अनुसार ती नेपाली कामदारहरूको कम्पनी समस्या पर्न थालेको झन्डै नौ महिना भइसके पनि उनीहरूले दूतावासमा लिखित उजुरी दिएको एक-डेढ महिनाजति मात्र भएको छ।
उनका अनुसार हालसम्म २४३ जनाले स्वदेश फर्कन र २२६ जना चाहिँ स्थानीय स्तरमै अर्को कम्पनीमा काम गर्न इच्छुक देखिएका छन्।
उनीहरूको फिर्तीका लागि मुख्य जटिलता साउदी सरकारको 'एग्जिट भिसा' जारी गर्ने अनलाइन प्रणालीमा देखा परेको समस्याका कारण पैदा भएको उनको भनाइ छ।
"साउदी सरकारको कानुनअनुसार श्रम भिसामा यहाँ आएका जोसुकैलाई फर्कनका लागि 'एग्जिट भिसा' आवश्यक पर्छ। कामदार आफैँले त्यस्तो भिसा प्राप्त गर्न सक्ने गरी अनलाइन प्रणाली विकसित गर्ने क्रममा प्राविधिक समस्या आइपरेकाले उक्त प्रक्रिया अहिले अवरुद्ध रहेको भन्ने जानकारी हामीलाई दिइएको छ," उप्रेतीले भने।
एकातिर उक्त प्राविधिक जटिलता आइपरेको छ भने अर्कोतिर कामदारहरूलाई बाँकीबक्यौता दिलाएर कम्पनीकै पैसामा फर्काउने कोसिस गरिएको पनि उनले बताए।
"हाम्रो प्राथमिकता चाहिँ सम्भव भएसम्म उक्त कम्पनीको पैसा साउदी सरकारको माध्यमबाट नै कामदार फिर्तीका लागि प्रयोग हुनुपर्छ भन्ने हो। किनभने कामदारहरूले यत्रो समयदेखि काम गरेका छन् अनि त्यो कम्पनी साउदी सरकारमै दर्ता भएको हुन्छ।"
साउदी सरकारले नेपाली दूतावासका अधिकारीहरूसँग कुरा गर्दा कानुनी प्रक्रिया अवलम्बन गरेर बीमाको सहयोगले समाधान गर्न सुझाव दिएको उप्रेतीले बताए।
"उनीहरूले कामदारहरूको विस्तृत विवरण बनाएर श्रम मुद्दा गर्ने अनि त्यसमा भएको फैसलाबमोजिम यदि बीमाले हुने रहेछ भने दाबी गरेर फर्कने पैसाका साथै बाँकी बक्यौता तलबसुविधा लिन सकिने सुझाव दिएका छन्।"
कहिलेसम्म होला समाधान?

तस्बिर स्रोत, Reuters
साउदी सरकारको श्रमसम्बन्धी अधिकारीहरूसँग दुई दिनअघि भएको कुराकानीमा उनीहरूले दिएको सुझावबमोजिम दूतावासले पीडित कामदारहरूसँग भर्चूअल कुराकानी पनि गरेको बताइएको छ।
पीडित कामदारहरूलाई सबै प्रक्रिया बताइएको र उनीहरूको विस्तृत विवरण मगाइएको उनले बताए।
हाल उनीहरूलाई कम्पनीले नै खानेबस्ने व्यवस्था गरिरहेको उनले बताए। एक जना बिरामी रहेको जानकारी पनि प्राप्त भएको उनले बताए।
"यकिन कहिलेसम्म समाधान भइसक्छ भनेर भन्न त सकिन्न तर अहिलेसम्मको परिस्थिति हेर्दा एक महिनाजतिमा समस्या समाधान भइसक्ने आशा हामीले राखेका छौँ," उप्रेतीले भने।
कामदारको उद्धार गर्न किन 'प्रोटोकल' आवश्यक?
श्रम मामिलाका जानकार डा गणेश गुरुङ कामदारहरूलाई उद्धार गर्ने परिस्थिति बेलाबेला उत्पन्न भइरहने हुनाले त्यसको स्थायी समाधानका लागि सरकारले 'स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकल' बनाउनुपर्ने आवश्यकता औँल्याउँछन्।
"यस्ता अप्ठेरा परेको बेला सम्बन्धित कम्पनीहरूसँग कुरा गर्नुभन्दा सम्बन्धित सरकारसँग नै कुरा गर्नु उपयुक्त हुन्छ। त्यो काम हाम्रा दूतावासले गर्नुपर्छ," गुरुङले भने। "अहिलेसम्म त्यस्ता काम अलि तदर्थ शैलीले मात्र हुने गरेका छन्।"
कामदारलाई उद्धार गर्नु पर्ने अवस्था विगतमा मलेसिया, साउदी अरेबिया, बाहरेनदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा पनि देखा परेको उनले बताए।
त्यस्तो उद्धारको बाध्यात्मक अवस्थामा स्रोत जुटाउनका लागि वैदेशिक रोजगार बोर्डमा रहेको कोषको उपयोग गर्न सकिने उनले औँल्याए।
हाल उक्त बोर्डको कोषमा ७ अर्ब ६१ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा देखिन्छ। उक्त कोषबाट कामदारहरूका निम्ति कल्याणकारी कार्यहरू गर्नुपर्छ जसमा उद्धार पनि पर्छ।
श्रम स्वीकृति लिने बेलामा नै प्रत्येक श्रमिकले दिएको १,५०० रुपैयाँ यस खातामा जम्मा हुने गर्छ जसमा सरकारले पनि अनुदान थपिदिने गर्छ।
बोर्डले दिएको तथ्याङ्कअनुसार २०८१ सालमा उसले १५७ जनालाई उद्धार गरेको थियो भने २०८० सालमा १८३ जना, २०७९ सालमा १६७ जना, २०७८ सालमा ८८० जना र २०७७ सालमा ४१३ जनाको उद्धार गरिएको थियो।
साउदी अरब नेपाली कामदारहरूका लागि एउटा प्रमुख श्रमगन्तव्य देश रहँदै आएको छ।
यो आर्थिक वर्षको नौ महिनामा यूएईमा सर्वाधिक १ लाख ४१,००० नेपाली कामदार गएको र त्यसपछि साउदी अरबमा झन्डै ५८,००० जना गएको नेपाल राष्ट्रब्याङ्कको तथ्याङ्क र अन्य विवरणमा देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








