विदेशमा नेपाली कामदारमा रोग निम्त्याउने मुख्य कारण के, तिनलाई कम गर्न विशेषज्ञले दिएका सुझाव कस्ता

वैदेशिक रोजगारीमा उत्पन्न हुने स्वास्थ्य समस्या
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

दुई वर्षअघिको पुसमा युरोपेली देश रुमेनिआमा जागिर पाएको खबर सुन्दा रौतहटको चन्द्रपुर नगरपालिकाका ३९ वर्षीय बृजकिशोर चौधरी जीवनमै सबैभन्दा धेरै खुसी भएका थिए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिँदै गर्दा भविष्यका लागि अनेकौँ योजना बुनिरहेका थिए। पैसा कमाएपछि केही वर्षभित्रै त्यता जाँदा लागेको छ लाख रुपैयाँ ऋण तिर्ने र आफ्ना छोराछोरीलाई सहरको राम्रो स्कूलमा पठाउने उनको सपना थियो।

"तर त्यहाँ पुगेको छ महिनादेखि नै मलाई अब म र मेरो परिवार ऋणमा डुब्ने भयो जस्तो लाग्न थाल्यो," आफ्नै गाउँमा रहेका उनले शुक्रवार बीबीसीसँग भने। "म बिरामी पर्न थालेँ र अचानक तौल घट्न थाल्यो अनि कम्पनीले अस्पतालमा भर्ना गर्‍यो।"

गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा जागिर पाएका उनले मासिक २,५०० रुमेनिअन लेऊ (करिब ७२ हजार नेपाली रुपैयाँ) तलब पाउँथे। खानाबापत थप ५०० रुमेनिअन लेऊ पनि दिइन्थ्यो।

"तर हरेक हप्ता ड्युटी परिवर्तन हुन्थ्यो। कहिले बिहान, किहले दिउँसो अनि कहिले बेलुका। खाने र सुत्ने टाइम मिल्दै नमिल्ने। खाए पनि नरुच्ने भयो," उनले भने।

पटकपटक अस्पताल जाँदा निको नभएपछि चिकित्सकले उनलाई पेटको थप परीक्षण गर्न सुझाव दिए।

"बाइओप्सी गरेर हेर्दा मेरो आन्द्रामा ट्यूमर भएको देखायो। मलाई ट्यूमर भनेको के हो थाहा थिएन। पछि अझै जचाउँदा क्यान्सरै भन्यो," मलिन स्वरमा टेलिफोनमा उनले भने।

त्यसपछि उनले स्वदेश फर्कने निर्णय गरे। कम्पनीले केही सहयोग गर्छ कि भनेर कुराकानी गरे।

"कम्पनीले एक महिनाको थप तलब र नेपालसम्मको टिकट दिने भयो अनि म नेपाल फर्किएँ," चौधरीले भने।

राम्रो आम्दानी गरेर आफ्नो र परिवारको जीवनस्तर उकास्ने लक्ष्य राखेर रुमेनिआ पुगेका उनी रित्तो हात तर रोगको साथ फर्किएपछि अहिले अवस्था अझ जटिल बनेको छ।

उनको परिवारमा वृद्ध आमाबुबा, श्रीमती र एक छोरी तथा दुई छोरा छन्। कान्छो छोराको जन्मदै मलद्वारमा समस्या भएर उनको पनि शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

"ऋण पनि लगाए, रोग पनि लगाए अब खेतीकिसानी गरेर परिवार त पालिँदै छ, भोलि के हुने हो मलाई थाहा छैन," उनी भन्छन्।

रुमेनिआबाट फर्केपछि उनले नेपालमै शल्यक्रिया गर्न खोजेका थिए तर चिकित्सकले शल्यक्रिया गराउन उपयुक्त नहुने सुझाव दिएपछि नियमित कीमोथेरपी गराइरहेका छन्।

"ऋण तिर्ने भनेर काम गर्न विदेश गएको थिएँ, अहिले कीमो लिन काठमाण्ठू धाइरहेको छु। उल्टै उपचारका लागि ऋण लिनुपरेको छ," चौधरी भन्छन्।

वैदेशिक रोजगार बोर्डबाट उनले सात लाख रुपैयाँ उपचार खर्च पाए पनि त्यो आफ्ना लागि पर्याप्त नभएको उनको भनाइ छ।

'खाना, पानी र निद्रा बिथोलिने अवस्था'

खाडी राष्ट्रहरूमा धेरै विदेशी कामदारहरू दयनीय स्थितिमा बस्ने गरेको अधिकारवादी समूहहरूले बताउँदै आएका छन्

तस्बिर स्रोत, SAM TARLING/CORBIS VIA GETTY IMAGES

तस्बिरको क्याप्शन, खाडी राष्ट्रहरूमा धेरै विदेशी कामदारहरू दयनीय स्थितिमा बस्ने गरेको अधिकारवादी समूहहरूले बताउँदै आएका छन्

रुमेनिआ जानुअघि उनी मलेशियामा चार वर्ष काम गरेर फर्किएका थिए।

त्यहाँ एउटा गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने उनले दिइएको 'टार्गेट'अनुसार उत्पादन गर्नुपर्थ्यो।

"टार्गेट नपुर्‍याई हुँदैनथ्यो अनि ओभरटाइम काम गर्दा पनि टार्गेट पुगेन भने त्यसैमा काटिने भएकाले खाना र पानीको मतलब नगरी खटिएर काम गर्थे," चौधरी भन्छन्।

अस्वस्थ भएपछि अहिले उनलाई मलेशियामा खाना र पानीको समेत वास्ता नगर्दा पो स्वास्थ्य बिग्रिएको हो कि भन्ने लाग्छ। तर त्यसलाई पुष्टि गर्ने आधार उनीसँग छैन।

"रुमेनिआ गएपछि पनि सिफ्ट परिवर्तन भइरहँदा समयमा खान पाइएन। आफैँले पकाएर खान समय हुँदैन थियो, मेसको खानेकुरा खानै नसकिने हुन्थ्यो। त्यहाँ त सिफ्ट धेरै परिवर्तन हुँदा राम्ररी सुत्न पनि पाइएन," चौधरी भन्छन्।

"त्यसले पनि मलाई रोगी बनाएको हो कि जस्तो लाग्छ।"

यद्यपि उनलाई लागेको कडा रोग क्यान्सरको उनले काम गर्ने स्थान र उनको जीवनशैलीसँग सम्बन्ध थियो भन्ने चौधरीको दाबीलाई पुष्टि गर्ने बीबीसीसँग कुनै आधारहरू छैनन्।

'कार्यस्थल उपयुक्त नहुँदा स्वास्थ्य समस्या'

वैदेशिक रोजगार बोर्डको विवरणअनुसार विदेशमा काम गर्न गएर बिरामी तथा अङ्गभङ्ग भएर फर्कनेहरूमध्ये सबैभन्दा धेरै कार्यस्थलमा दुर्घटनामा पर्नेहरू देखिएका छन्
तस्बिरको क्याप्शन, वैदेशिक रोजगार बोर्डको विवरणअनुसार विदेशमा काम गर्न गएर बिरामी तथा अङ्गभङ्ग भएर फर्कनेहरूमध्ये सबैभन्दा धेरै कार्यस्थलमा दुर्घटनामा पर्नेहरू देखिएका छन्

वैदेशिक रोजगारीमा गएका र बिरामी भएर फर्किएका कैयौँ नेपालीका हकमा काम गर्ने वातावरणका कारण उनीहरूलाई विभिन्न रोग लागेको देखिएको भने चिकित्सकहरूले बताउँदै आएका छन्।

कतिपय अध्ययनहरूले पनि त्यसलाई स्वीकार गर्दै आफ्ना प्रतिवेदनहरूमा सुधारका लागि आवश्यक कदम चाल्न विभिन्न सुझावहरू दिएको पाइन्छ।

सरकारले गत भदौमा गठन गरेको विशेषज्ञ चिकित्सकहरू सम्मिलित एउटा कार्यदलले यसै साता बुझाएको प्रतिवेदनमा पनि "व्यवसायजन्य स्वास्थ्य परीक्षण" नहुँदा धेरै नेपाली कामदारको स्वास्थ्य जोखिममा परेको औँल्याइएको छ।

उक्त कार्यदलका संयोजक रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह भन्छन्, "वैदेशिक रोजगारीमा गएका र बिरामी भएर फर्किएकालाई हेर्दा उनीहरूले त्यहाँ (गन्तव्य मुलुकमा) काम गर्ने अवस्थाले स्वास्थ्य समस्या निम्तिएको जस्तो देखिन्छ।"

"हाम्रो सधैँ बसिरहेको वातावरणभन्दा फरक पर्‍यो भने शरीरले गर्ने प्रतिक्रियाहरू फरक हुन्छन्, त्यसलाई सामना गर्ने क्षमता ह्रास हुँदै जान्छ। त्यसले गर्दा वातावरण नमिलेको अवस्थामा स्वास्थ्यमा असर गर्ने अवस्था आउँछ।"

त्यस्तो अवस्था आउँन नदिन सरकारले पनि कूटनीतिक पहल गर्नुपर्ने र कामदारहरू पनि सचेत हुनुपर्ने सुझाव आफूहरूले दिएको उनले बताए।

कस्ता बिरामी कति?

नेपाली कामदारको मानसिक स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्
तस्बिरको क्याप्शन, नेपाली कामदारको मानसिक स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्

वैदेशिक रोजगार बोर्डको विवरण अनुसार विदेशमा काम गर्न गएर बिरामी तथा अङ्गभङ्ग भएर फर्कनेहरूमध्ये सबैभन्दा धेरै कार्यस्थलमा दुर्घटनामा पर्नेहरू देखिएका छन्।

विशेष गरी निर्माण क्षेत्रमा काम गर्नहरू अग्लो निर्माणाधीन भवनबाट खस्ने, निर्माणसम्बन्धी उपकरणहरूले हातगोडा काट्ने वा चेप्ने जस्ता दुर्घटनाबाट धेरै अङ्गभङ्ग हुनेहरू छन्।

त्यस्तै ट्राफिक दुर्घटनामा परेर घाइते हुनेहरू पनि धेरै छन् भने मिर्गौला र मुटुका रोगीहरू पनि उल्लेख्य छन्।

क्यान्सर लागेर स्वदेश फर्किनेको सङ्ख्या पनि निकै भएको बोर्डका अधिकारीहरू बताउँछन्।

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएर बिरामी तथा अङ्गभङ्ग भएका ६५३ जनालाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो।

त्यसमध्ये कार्यस्थलमा दुर्घटनामा परेका ११५, मुटु तथा अन्य रोग लागेका ९१, मिर्गौला रोगी ८९, ट्राफिक दुर्घटना परेका ७६ र क्यान्सर लागेका ७२ जना छन्।

मृतकको सङ्ख्या कति?

मृत्यु भएका व्यक्तिको शव

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गत आर्थिक वर्षमा १,३४६ जना श्रमिकहरूले विदेशमा ज्यान गुमाएपछि उनीहरूको नजिकका हकवालालाई आर्थिक सहायता दिइएको छ

बोर्डका अनुसार गत आर्थिक वर्षमा १,३४६ श्रमिकहरूले विदेशमा ज्यान गुमाएपछि उनीहरूको नजिकका हकवालालाई आर्थिक सहायता दिइएको छ।

त्यसमध्ये 'प्राकृतिक कारण' र 'कारण नखुलेको' जस्ता मृत्युसम्बन्धी प्रतिवेदनहरू पेस भएकाको सङ्ख्या धेरै देखिएको छ।

बोर्डको विवरण अनुसार हृदयाघातका कारण गत आर्थिक वर्षमा १०९ जनाको ज्यान गएको छ।

त्यस्तै मुटसम्बन्धी अन्य रोगका कारण ८०, क्यान्सका कारण ३७, कार्यस्थलमा दुर्घटनाका कारण ४७, मिर्गौला रोगका कारण छ र कोभिडका कारण चार जनाको ज्यान गएको छ भने सात जनाको हत्या भएको छ।

विदेशमा काम गर्ने नेपालीले आत्महत्या गर्ने क्रम पनि बढेको देखिएको छ। गत आर्थिक वर्षमा १३७ जना नेपालीले आत्महत्या गरेका छन्।

त्यस्तै रोग नखुलाइएका ९३ जनाको मृत्यु भएको पनि बोर्डले जनाएको छ।

मृत्युसम्बन्धी प्रमाणपत्रमा प्राकृतिक कारण भनिएका २०४, कारण नखुलेको भनिएका १३७, अनुसन्धान भइरहेको भनिएका ५७, अन्य रोग तथा कारण भनिएका २४३ जनाले वैदेशिक रोजगारीको क्रममा विदेशमै ज्यान गुमाएको विवरण बोर्डसँग छ।

त्यस्तै गत वर्ष ट्राफिक दुर्घटनामा परेर १२३ जना नेपाली श्रमिकको निधन भएको छ।

मिर्गौलसम्बन्धी समस्या कस्तो छ?

 नेपाली श्रमिकको कार्यस्थल र उनीहरूको जीवनशैलीका कारण मिर्गौलासम्बन्धी समस्या देखिएको चिकित्सकहरू बताउँछन्

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, नेपाली श्रमिकको कार्यस्थल र उनीहरूको जीवनशैलीका कारण मिर्गौलासम्बन्धी समस्या देखिएको चिकित्सकहरू बताउँछन्

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा उक्त कार्यदलका एक विशेषज्ञ सदस्य डा. पुकारचन्द्र श्रेष्ठका अनुसार वैदेशिक रोजगारी रहेका बेला वा स्वदेश फर्केपछि मिर्गौलासम्बन्धी समस्या हुनेको सङ्ख्या निकै देखिएको छ।

उनले उक्त केन्द्रकै उदाहरण दिँदै भने, "हामीले देशभरि हुनेमध्ये करिब ७० प्रतिशत प्रत्यारोपण गर्छौँ। हालसम्म साढे १३ सय मिर्गौला प्रत्यारोपण गरिसकेका छौँ।"

"मिर्गौला प्रत्यारोपण गरिएका वा नियमित डाइलसिस गर्नुपर्नेमध्ये एकतिहाइ विदेशबाट फर्किएका श्रमिकहरू रहेका छन्।"

उनी नेपाली श्रमिकको कार्यस्थल र उनीहरूको जीवनशैलीका कारण मिर्गौलासम्बन्धी समस्या देखिएको बताउँछन्।

"हामीले सोधखोज गर्दा के पायौँ भने अधिकांश बिरामी भएकाहरूले गर्मीमा काम गर्ने गरेका रहेछन्। त्यसमध्ये पनि १५ प्रतिशतले त चरम गर्मीमा काम गर्छन्," उनले भने।

"विशेष गरी सुरक्षागार्डहरूले लगातार १२ घण्टा काम गर्ने र नियमित पानी नपिउने अनि पिसाब पनि रोक्ने गर्दा मिर्गौलाको समस्या देखापरेको रहेछ।"

त्यस्तै दिउँसो चरम गर्मीमा काम गर्नेहरूमध्ये अधिकांश राति चाहिँ एसीको चिसोमा सुत्ने कारणले गर्दा पनि शरीरमा पानीको समस्या हुने गरेको पाइएको उनी बताउँछन्।

कार्यदलले के सुझाव दियो?

निर्माण क्षेत्रका मजदुर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

कैयौँ नेपालीले काम गर्ने स्थानमा आवश्यक परेको बेला उचित स्वास्थ्य सेवा नपाएको औँल्याउँदै उक्त कार्यदलले द्विपक्षीय श्रम सम्झौतामै त्यसलाई सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ।

यसै साता श्रममन्त्री शरत्‌सिंह भण्डारीलाई उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा नेपाली कामदारहरूले गन्तव्य मुलुकमा सामना गरिरहेका विभिन्न स्वास्थ्य समस्याबारे पनि उल्लेख गरिएको छ।

त्यस्ता स्वास्थ्य समस्याहरूलाई अन्त्य गर्नेगरी योजनाहरू बनाउन तथा नीति तथा नियम परिमार्जन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको उक्त कार्यदलकी सदस्यसचिवसमेत रहेकी श्रम मन्त्रालयकी उपसचिव शारदा राउतले बताइन्।

अधिकारीहरूका अनुसार उक्त कार्यदलको मुख्य जिम्मेवारी भने नेपालमा श्रमिकको स्वास्थ्यपरीक्षण सुधारका लागि सुझाव दिने थियो। तर कार्यदलले विदेशमा उत्पन्न हुने स्वास्थ समस्याबारे पनि अध्ययन र छलफल गरेर सुधारका लागि सुझावहरू दिएको छ।

"कस्ता प्रकृतिका स्वास्थ्य समस्या र जटिलता आएका छन् भन्ने नजिकबाट हेरेर यो प्रतिवेदन तयार पारिएको छ," राउतले भनिन्। "कार्यदलले दुईपक्षीय सम्झौता हुँदा नै श्रमिकहरू लैजाने देशले त्यहाँ गएर काम गर्ने र करार अवधि रहुन्जेल उसको स्वास्थ्यको जिम्मा लिनुपर्छ भन्ने सुनिश्चित गर्न सुझाव दिएको छ"

नेपालमा हाल वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २१५ वटा संस्था सूचीकृत भएका छन्।

वैदेशिक रोजगार विभागमा सेवाग्राहीहरू
तस्बिरको क्याप्शन, वैदेशिक रोजगार विभागमा सेवाग्राहीहरू

त्यस्ता संस्थामध्ये कतिपयले गुणस्तरीय परीक्षण सेवा नदिएको, नक्कली स्वास्थ्यपरीक्षण प्रतिवेदन तयार पारेको र अत्यधिक शुल्क लिएको गुनासो आएपछि सरकारले उक्त कार्यदल बनाएको थियो।

कार्यदलले एकैखाले मापदण्डको परीक्षणमा संस्थाहरूले फरकफरक शुल्क लिएको पाएकाले त्यसलाई एकरूप गर्नुपर्ने सुझाव दिएको पनि उनले बताइन्।

त्यस्तै अहिले 'म्यानुअल' रूपमा परीक्षण प्रतिवेदन तयार पार्ने गरिएकाले त्यसलाई विद्युतीय बनाउनुपर्ने सुझाव कार्यदलको छ।

विज्ञहरूले नेपालबाट स्वास्थ्य परीक्षण सुरु भएदेखि वैदेशिक रोजगारीमा रहँदा अनि स्वदेश फर्कँदासम्मको श्रमिकको अवस्थालाई 'ट्र्याक' गर्ने प्रणाली हुनुपर्ने सुझाव दिएका छन्।

कतिपय अहिलेका परीक्षण विधिहरू प्रभावकारी नभएकाले तिनलाई संशोधन गर्नुपर्ने, मानसिक स्वास्थ्यको पनि जाँच हुनुपर्ने, विदेशस्थित नेपाली नियोगहरूले श्रमिक लक्षित स्वास्थ्य शिविरहरू चलाउनुपर्ने, गर्भवती भएको वा नभएकोबाहेक पनि महिलासँग सम्बन्धित विशेष परीक्षणहरू गरेर मात्र पठाउनु पर्नेलगायतका सुझाव पनि उक्त कार्यदलले दिएको राउतले जानकारी दिइन्।

सरकार र कामदारले गर्नुपर्ने काम

वैदेशिक रोजगारीमा जाने नेपाली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, काम गर्ने स्थानमा गएपछि पनि त्यहाँ कस्तो जीवनशैली अपनाउनुपर्छ र आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्नुपर्छ भन्नेबारे नेपालमै हुँदा जानकारी दिनुपर्ने र श्रमिकहरू पनि सचेत हुनुपर्ने विज्ञहरू बताउँछन्

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठ कतिपय अवस्थामा श्रमिकहरूले रोजगारी पाइदैँन भनेर नेपालमा नै स्वास्थ्य परीक्षणको 'नक्काली रिपोर्ट' बनाउने क्रममा भूमिका खेलेको देखिन्छ।

त्यसले विदेशमा पुगिसकेपछि केही समयमै रोगले सताएर नेपाल फर्किएका कामदारहरू पनि भेटिन्छन्।

उक्त कार्यदलकी सदस्यसचिव राउत पनि त्यस्तो भेटिएकाले सुधारका लागि पहल गर्ने सुझाव कार्यदलले दिएको बताउँछिन्।

उनले भनिन्, "हुम्ला, जुम्ला वा ताप्लेजुङमा भएको मान्छेको उसको अनुपस्थितिमा नै स्वास्थ्यपरीक्षण प्रतिवेदन तयार पारिने अनि त्यो व्यक्ति भिसा लिएर सीधै एअरपोर्ट आएर विदेश उड्ने पनि देखिएको छ। त्यसलाई नियन्त्रण गर्नका लागि नै एकीकृत र प्रतिवेदन संशोधन पनि गर्न नमिल्नेगरी डिजिटल प्रविधि अपनाउनुपर्छ भन्ने सुझाव दिइएको हो।"

उनका भनाइमा विदेशमा पुगेर 'मेडिकल फेल' भएको भनेर फर्कनेमध्ये अधिकांशले आफ्नो स्वास्थ्यपरीक्षण प्रतिवेदन आफ्नो अनुपस्थितिमै बनेको बताउने गरेका छन्। कार्यदलले यस्ता गतिविधि रोक्न विशेष कदमहरू चाल्नुपर्ने औँल्याएको छ।

कार्यकारी निर्देशक श्रेष्ठ श्रमिकहरूलाई नेपालबाट जानुअघि नै स्वास्थ्य परीक्षण सही गर्नुपर्छ भन्ने बुझाउनुपर्ने आवश्यकता देख्छन्।

काम गर्ने स्थानमा गएपछि पनि त्यहाँ कस्तो जीवनशैली अपनाउनुपर्छ र आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने भन्नेबारे नेपालमै हुँदा जानकारी दिनुपर्ने र श्रमिकहरू पनि सचेत हुनुपर्नेमा उनी जोड दिन्छन्।

वैदेशिक रोजगारीबाट कमाइ गरेर परिवारको जीवनस्तर उकास्ने सपना देखेर बिदेसिएका र अहिले रित्तो हात फर्किएर क्यान्सरसँग जुधिरहेका चौधरी चाहिँ सरकारले विदेशिने नेपाली श्रमिकलाई "वास्तै नगरेको" गुनासो गर्छन्।

उनी भन्छन्, "सरकारले देशमा रोजगारी दिन त सकेन तर विदेशमा पनि कमसेकम हामीजस्तो बिरामी पर्दा काम गरेको कम्पनी र त्यहाँको सरकारबाट केही भए पनि राहत दिलाउने खालको व्यवस्था त हुनुपर्ने हो।"

"त्यस्तो भएको भए म बिरामी भएर फर्किँदा उपचारकै लागि भए पनि केही त पैसा पाउथेँ होला। अहिले त उपचार गर्न ऋणमाथि ऋण गर्नुपरेको छ। "

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।