तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तिहारको बढ्दो झिलिमिलीमा घट्दो बिजुली खपत, मौका छोप्दै 'प्लान्ट बन्द गरेर मर्मतसम्भार'
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल विद्युत् प्राधिकरणले तिहारका बेला विद्युत्को माग साबिकको भन्दा घट्ने जनाएको छ।
त्यसले गर्दा यसपालिको लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा कुनै समस्या नहुने प्राधिकरणका प्रवक्ता राजन ढकालले बीबीसीलाई बताए।
"तिहार सुरु नहुँदा हिजोअस्तिसम्म २,२०० मेगावाट खपत भइरहेको हो," उनले भने, "लक्ष्मीपूजामा १,७०० मेगावाटसम्म 'लोड' आउने र काठ्माण्डूमा ४०० मेगावाटजति खपत हुने प्रक्षेपण गरेका छौँ।"
गतवर्षको लक्ष्मीपूजामा १,६०२ मेगावाट 'पिक लोड' मापन गरिएको थियो।
"केही वर्ष अघिसम्म लक्ष्मीपूजामा 'उच्च लोड' आउने गर्थ्यो तर अहिले त्यस्तो छैन। यसपालि गत भदौमा सर्वाधिक २,५०० मेगावाट विद्युत् खपतको रेकर्ड कायम भयो।"
उच्च गर्मीका कारण एसी, कूलर तथा पङ्खाजस्ता उपकरणहरू धेरै चल्दा भदौमा उच्च खपत भएको अनुमान गरिएको ढकालले बताए।
उनका अनुसार नेपालका विभिन्न जलविद्युत आयोजनाहरूबाट यतिखेर २,८०० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ।
आपूर्ति सहज हुनुका कारण
प्राधिकरणका ढकालका अनुसार चाडबाडका बेला उद्योगधन्धा तथा कलकारखानाहरू बन्द हुने भएकाले पनि आपूर्ति सहज बन्न पुगेको हो। "उद्योगहरू बन्द हुनेबित्तिकै हाम्रो प्रणालीबाट दुई तीन सय मेगावाटको माग घटिहाल्छ।"
तर जानकारहरूका अनुसार उत्पादन बढेकाले वा उद्योगहरू बन्द भएकाले मात्रै विद्युत्को आपूर्ति सहज बनेको भने होइन।
प्राधिकरणको भार प्रेषण केन्द्रको नेतृत्व सम्हालिसकेका शेरसिंह भाट तिहार कुन समयमा पर्छ भन्ने कुराले पनि 'पिक लोड'मा फरक पार्ने बताउँछन्।
"यसपालिको तिहार कात्तिकको प्रारम्भमै पर्यो," उनले भने, "तेस्रो सातातिर परेको भए तराइमा गर्मी नसकिएको तर पहाडमा जाडो सुरु भइसक्ने हुँदा माग बढ्न सक्थ्यो।"
"त्यस्तो स्थितिमा तराइमा 'कूलर' र पङ्खा चलिरहेका हुन्थे भने पहाडमा हिटर र पानी तताउने उपकरणहरू चलाउन थालिएको हुन्थ्यो। त्यस्तो समयमा तिहार परेका खण्डमा माग चुलिएको हुन्थ्यो।"
तथापि केही वर्षयता लक्ष्मीपूजा सर्वाधिक विद्युत् खपत हुने दिन भने नरहेको उनले बताए।
लोडसेडिङ अन्त्य हुनु अघिसम्म प्राधिकरणले सर्वसाधारणलाई तिहारमा झिलिमिली बत्ती नबाल्न आग्रह गर्ने गर्थ्यो।
माग घटेको मौकामा 'मर्मतसम्भार'
प्राधिकरणका ढकालका अनुसार अहिले केही 'प्लान्ट'हरू मर्मतसम्भारका निम्ति बन्द गरिएका छन्।
"त्यसो त धेरै उत्पादन गर्न नसकिने होइन तर लक्ष्मीपूजा दिन खपत हुने प्रक्षेपण गरिएको १,७०० मेगावाट पनि अधिकतमको हो," उनले भने, "त्यसैले माग धेरै नभएका बेला सजिलो हुन्छ भनेर १४४ मेगावाटको कालीगण्डकी तथा कुलेखानी लगायतका केन्द्रहरू अहिले मर्मतसम्भारका निम्ति बन्द गरिएका छन्।"
"हालैको बाढीले इलामका सहित १३० मेगावाटजति विद्युत् उत्पादन गर्दै आएका १५ वटा हाराहारीका आयोजना प्रभावित अवस्थामा छन् तर तिहारमा सहज आपूर्ति गर्न त्यसले केही फरक पार्दैन।"
ढकालका अनुसार नेपालले अहिले १,१०० मेगावाट विद्युत निर्यात गरिरहेको छ।
"त्योमध्ये ४० मेगावाट बाङ्ग्लादेश र बाँकी भारत गइरहेको हो," प्रवक्ता ढकालले भने, "भारतबाट अहिले कत्ति पनि विद्युत आयात गरिरहेका छैनौँ।"
तिहारका बेला आपूर्तिमा कस्ता समस्या
भार प्रेषण केन्द्रका पूर्वप्रमुख भाटका अनुसार विद्युतको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि वितरण प्रणालीमा सानातिना समस्या भने देखा पर्न सक्छन्।
"आपूर्तिको मात्रामा खासै समस्या हुँदैन तर वितरणका निम्ति राखिएका ट्रान्सफर्मरहरूमा अन्य समयका तुलनामा 'लोड' बढ्न सक्छ," उनले भने, "उदाहरणका निम्ति कुनै टोलमा राखिएको ट्रान्सफरमा सामान्य दिनमै ८० प्रतिशत 'लोड' पुगिसकेको छ भने तिहारका बेला सय प्रतिशत नाघ्न सक्छ। यस्तो समस्या हल गर्न प्राधिकरणले नयाँ ट्रान्सफर्मर राख्ने वा त्यसको 'लोड' अर्कोमा सार्ने गर्न सक्छ।"
समयमै सूचना आएमा स्थानीय स्तरमा आउने समस्या चाँडै हल गर्न सकिने प्राधिकरणका प्रवक्ता ढकाल बताउँछन्।
त्यसका निम्ति प्राधिकरणका सातवटै प्रादेशिक केन्द्रका वितरण प्रमुख र देशका नौ वटै 'ग्रिड'का अधिकारीहरूलाई तयारी अवस्थामा राखिएको उनले बताए।
"कर्मचारीहरूलाई छुट्टी दिएका छैनौँ। लक्ष्मीपूजापछि मात्रै मिलाएर निस्किन निर्देशन दिएका छौँ। त्यसकारण उहाँहरू सबैजना 'फील्ड'मै हुनुहुन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।