नेपालमा पाँच वर्षमा भित्रियो सवा दुई अर्बको तास, कस्तो छ जुवा नियन्त्रणको प्रयास

तिहार सुरु भएसँगै जुवा तास खेल्नेहरूलाई गिरफ्तार गर्ने क्रमलाई प्रहरीले तीब्रता दिइरहँदा सरकारी आँकडाले नेपालमा अर्बौँ रुपियाँ बराबरका तास विदेशबाट भित्रने गरेको देखाउँछ।

नेपालमा पछिल्लो पाँच वर्षमा २ अर्ब २३ करोड रुपियाँ भन्दा बढीको तास आयात भएको भन्सार विभागको वार्षिक प्रतिवेदनहरूमा जनाइएको छ।

त्यस अवधिमा तास आयातबाट नेपालले सवा एक अर्ब भन्दा बढी राजश्व उठाएको थियो।

विशेष गरी दशैँ तिहार जस्ता ठूला चाडपर्वका अघि नेपालमा विदेशबाट भित्रिने तासको परिमाण बढ्ने गरेको तथ्याङ्कले देखाउँछ।

यो वर्ष कति तास नेपाल भित्रियो?

यो आर्थिक वर्षमा असोज महिनासम्मको आँकडा हेर्दा झन्डै ४० लाख गड्डी तास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।

त्यसबाट ६ करोड ९५ लाख रुपियाँ राजश्व सङ्कलन भएको विभागले बेवसाइटमा राखेको विवरणमा जनाइएको छ। त्यसको मूल्य भने ११ करोड ७७ लाख रुपियाँ रहेको जनाइएको छ।

विगतका वर्षहरू जस्तै यसपटक सबैभन्दा धेरै परिमाणमा तास चीनबाट नेपाल भित्रिएको छ। त्यसबाहेक भारत, अमेरिका र संयुक्त अधिराज्यबाट पनि नेपालमा तासहरू भित्रने गरेको देखिन्छ।

भन्सार विभागका अनुसार खेल्ने तास भारत र सार्क मुलुकबाट भित्र्याउँदा जम्मा ३३.३१ प्रतिशत कर लिने गरिएको छ। चीनको तिब्बत र अन्य मुलुकबाट तास ल्याउँदा ६१.५९ प्रतिशत कर लाग्ने भन्सार विभागले जनाएको छ।

अघिल्लो आर्थिक वर्षसम्मका पाँच वर्षमा नेपालमा १० करोड ४० लाख गड्डी तास भित्रिएको थियो। त्यसमध्ये सबैभन्दा धेरै चीनबाट ९ करोड ८१ लाख गड्डी भन्दा धेरै तास भित्रिएको थियो। झन्डै २ अर्ब १२ करोड बराबरको तास नेपालमा आउँदा करिब १ करोड २० लाख ३३ हजार रुपियाँ भन्दा बढी राजश्व उठेको थियो।

चीनपछि नेपालमा सर्वाधिक परिमाणमा तास आपूर्ति गर्ने मुलुक भारत हो। त्यहाँबाट पाँच वर्षमा ५० लाख भन्दा बढी गड्डी तास नेपाल भित्रिँदा सो तासको मूल्य ७ करोड १० लाख परेको र त्यसबाट ३ करोड २४ लाख रुपियाँ जति राजश्व उठेको भनिएको छ।

यो अवधिमा संयुक्त राज्य अमेरिकाबाट झन्डै अढाई करोडको तास भित्रिएको देखिन्छ। संयुक्त अधिराज्यका साथै जापान र इजरेलसहितका एक दर्जनभन्दा बढी अन्य मुलुकबाट पनि तास नेपालमा आइरहेको देखिन्छ।

प्रहरी के भन्छ?

जुवा तास खेल्नेहरू विरुद्ध मुख्य रूपमा चाडपर्वको समयमा प्रहरीले अभियान नै चलाउने गरेको देखिन्छ।

तर ठूलो परिमाणमा नेपालमा तास भित्रिने गरेको प्रसङ्गबारे अधिकारीहरूले खासै टिप्पणी गरेको पाइँदैन।

बीबीसीसँग कुरा गर्दै नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भने, “पैसा जित्ने हार्ने हिसाबले खेलाउने कुरा कानुनले वर्जित गर्ने हो। तर जित्ने हार्ने उद्देश्य थिएन बसिबियाँलोको लागि वा पैसाको कारोबार नगर्ने गरी खेल्न सकिन्छ। तासको पत्ती घरमा राखेकै आधारमा कारबाही हुने होइन कि जीत हारको विषय बनाउने, पैसा मास्ने मार्ने कुरालाई समाजमा विकृति नफैलियोस् भनेर नियन्त्रण गरिएको हो।”

यसपालि पनि प्रहरीले चाडपर्व सुरु भए लगत्तै राजधानी काठमाण्डूसहित देशका विभिन्न ठाउँबाट जुवा तास खेलिरहेको अवस्थामा मानिसहरूलाई पक्राउ गरेको अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीको वेबसाइटमा राखिएका विवरणहरू अनुसार कार्तिक महिना सुरु भएयतामात्रै तास जुवा खेलिरहेको अवस्थामा झन्डै ३६० जना मानिसहरू देशका विभिन्न ठाउँबाट पक्राउ परेका छन्।

नेपाल प्रहरीका प्रवक्ता कार्कीले भने, “नेपाली कानुनले जुवा तास खेल्ने र खेलाउने दुवै कुरा अपराध मान्छ। तिहारमा जुवा तास खेल्ने हाम्रो सांस्कृतिक विषय पनि होइन। तिहारमा यस्ता घटनाहरू बढी हुने गर्छन्। हामीले कानुन बमोजिमको आफ्नो काम गरेका हौँ।”

जुवातास खेल्ने र खेलाउनेलाई कस्तो सजाय हुनसक्छ

मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा कसैले जुवा खेल्न र खेलाउन नहुने व्यवस्था गरिएको छ।

उक्त कानुन अनुसार जुवा खेल्ने र खेलाउनेलाई पहिलो पटकको कसुरमा ३ महिनासम्मको कैद र ३० हजार रुपियाँको जरिवाना हुनसक्छ।

तर दोस्रो पटकदेखी जुवा खेल्ने र खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँ सम्मको सजाय र त्यसपछिको घटनामा पटकै पिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना गर्नसकिने व्यवस्था छ।

कानुनमा जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुने व्यवस्था छ। तर जुवा खेलेको घर, कोठा वा ठाउँ भने जफत गर्न नपाइने मुलुकी अपराध संहितामा जनाइएको छ।

मनोरञ्जनका लागि नेपाल सरकारको स्वीकृति लिएर कुनै समारोह, पर्व, मेला वा प्रदर्शनीमा आयोजना गरिएको खेललाई जुवा नमानिने व्यवस्था पनि कानुनले गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।