लक्ष्मीपूजा र भाइटीका कहिले, विवादको कारण के हो

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

यो वर्ष लक्ष्मीपूजा र दीपावलीसहित तिहारका विभिन्न दिन कहिले पर्छन् भन्ने विषयमा धर्मशास्त्री र ज्योतिषीहरूबीच भिन्नाभिन्नै मत देखिएको छ। भारतमा पनि दीपावलीको विषयमा विवाद छ।

जनमानसमा अन्योल उत्पन्न भएका बेला पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारदेखि छठसम्म सम्बन्धित पर्वका दिन र मुहूर्त सार्वजनिक गर्‍यो। उक्त समिति संस्कृति मन्त्रालयअन्तर्गत पर्छ र चाडपर्वसँग सम्बन्धित विषयमा त्यसलाई आधिकारिक मानिन्छ।

समितिले यसपालि कुकुरतिहार, नरकचतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा बिहीवार एकैदिन पर्ने जनाएको छ। लक्ष्मीपूजा "औँसीका दिनमा नभई चतुर्दशीकै दिनमा परेको" भन्दै कतिपयले त्यसबारे चासो राखेको पाइएको छ।

रातको समयमा टीका लगाउने परम्परा भएका समुदायका लागि उपयुक्त नहुने गरी साँझमै द्वितीया तिथि सकिने दिनमा भाइटीका तोकिएकोमा पनि कतिपयले आश्चर्य व्यक्त गरेका छन्।

समितिका पदाधिकारीहरूले चलनचल्तीको पात्रो, धार्मिक र परम्परागत मान्यता र व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर मुहूर्तहरू सार्वजनिक गरिएको बताएका छन्।

वैदिक पञ्चाङ्ग प्रयोगको अभियान चलाइरहेका र सोही पात्रो प्रयोग गर्दै आएका एक प्राध्यापकले भने "अहिले आमचलनमा रहेका पात्रोहरूमा तिथिको गणना गर्ने प्रणाली"मा सुधार नहुन्जेल यस्ता विवाद आइरहने बताए।

खण्डग्रास सूर्यग्रहण भएको बेला तिहार परेको दुई वर्षअघि पनि यस्तै खालको विवाद आएको थियो र त्यस बेला केही मानिसहरूले समितिले तोकेकोभन्दा एक दिनअगाडि नै भाइटीका मनाएका थिए। यसपालि दशैँमा महाष्टमी र महानवमीबारे विवाद देखिएको थियो।

पहिलेदेखि नै विवाद

नेपालमा सरकारी स्तरबाट पात्रोमा उल्लेख गरिएका तिथिमिति तथा साइतहरूबारे धेरै अघिदेखि विवादहरू हुने गरेको देखिन्छ। पञ्चायतकालमा पनि नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिले तय गरेका र विभिन्न पञ्चाङ्गहरूमा उल्लेख भएका तिथिमितिबारे प्रश्नहरू उठ्ने गरेको पाइन्छ।

इतिहासकार नयराज पन्तले स्थापना गरेको संशोधन मण्डलद्वारा प्रकाशित 'पूर्णिमा' पत्रिकाका केही अङ्कमा उक्त समितिले स्वीकृत गरेका पञ्चाङ्गहरूको संशोधन गर्दै समितिको कामप्रति प्रश्न उठाएको भेटिन्छ।

उदाहरणका लागि, पूर्णिमाको पूर्णाङ्क ३८ मा "नेपाल राजकीय पञ्चाङ्गनिर्णायकसमिति राम्ररी काम गर्दैन" भनेर रामजीप्रसाद तेवारी र देवीप्रसाद भण्डारीले लेखेका छन्। त्यसमा उनीहरूले विसं २०३४ र २०३५ सालका विभिन्न पञ्चाङ्गमा देखिएका त्रुटि औँल्याएका छन्।

विगत केही वर्षहरूमा विशेष गरी दशैँ र तिहारका बेलामा दुई तिथि एकैदिन पर्ने वा एउटै तिथि दुई दिन पर्ने अवस्थाप्रति धेरैले प्रश्न उठाइरहेका छन्।

कतिपयले पञ्चाङ्गमा सुधार गर्नुपर्ने भन्दै अभियान पनि चलाइरहेका छन्। यद्यपि हालकै अवस्था कायम राख्ने र पञ्चाङ्ग सुधार गर्नुपर्छ भन्नेहरूबीच मत मिल्न सकेको छैन र परिस्थिति "यथास्थिति"मै रहेको देखिन्छ।

तिहारका दिन र मुहूर्त

पञ्चाङ्ग निर्णाय समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको तिहार तथा छठ पर्वका मुहूर्तहरू निम्नानुसार छन् -

  • कार्तिक १४ गते बुधवार - कागतिहार, यम दीपदान, धन्वन्तरि जयन्ती
  • कार्तिक १५ गते बिहीवार - कुकुरतिहार, नरकचर्तुदशी, दीपमालिका, लक्ष्मीपूजा
  • कार्तिक १६ गते शुक्रवार - औँसी
  • कार्तिक १७ गते शनिवार - गाईगोरुपूजा, गोवर्धनपूजा, बलिपूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ
  • कार्तिक १८ गते आइतवार - यमद्वितीया, भाइटीका, किजापूजा, (भाइटीकाको शुभसाइत बिहान ११:३७ बजे पश्चिम मोहडा)
  • कार्तिक २२ गते बिहीवार - छठ

किन कुकुरतिहारकै दिन लक्ष्मीपूजा

लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीका दिन गर्ने चलन छ। तर यसपालि कुकुरतिहारका रूपमा मनाइने चतुर्दशीकै दिन लक्ष्मीपूजा पनि तोकिएको छ।

त्यसको कारणबारे बीबीसीको प्रश्नमा समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले कुकुरतिहारकै दिन बेलुका औँसी पर्ने तर भोलिपल्ट बेलुकासम्म औँसी नभएकाले रातमा गरिने लक्ष्मीपूजाका लागि अघिल्लै दिन उपयुक्त रहेको बताए। उनका अनुसार तिथिगणना गर्दा धार्मिक मान्यताका आधारमा शास्त्रसम्मत निर्णय गरिएको हो।

हाल चल्तीका पञ्चाङ्गअनुसार यसपालि बिहीवार चतुर्दशीका दिन दिउँसो ३:१४ सम्म मात्र चतुर्दशी तिथि पर्छ भने त्यसपछि औँसी सुरु हुन्छ। त्यस दिन सूर्यास्त अपराह्ण साँझ ५:१५ मा हुन्छ। भोलिपल्ट शुक्रवार साँझ ५:१५ सम्ममा औँसी तिथि छ भने त्यसदिन सूर्यास्त ५:१८ मा मात्र हुन्छ।

दुई दिन औँसी पर्दा यसपालिको जस्तो दोस्रो दिनको औँसीलाई ज्योतिषीय भाषामा 'प्रदोष व्यापिनी अमावस्या' भनिन्छ। यही अवस्थाका कारण लक्ष्मीपूजा कहिले गर्ने भन्ने विषयमा ज्योतिषी र धर्मशास्त्रीहरू विभाजित छन्।

समितिले भने लक्ष्मीपूजा राति गर्नुपर्ने भएकाले भोलिपल्ट औँसी भए त्यसले रातलाई नछुने भएकाले त्यो दिन लक्ष्मीपूजा गर्न उपयुक्त नहुने बताएको छ। भारतस्थित ज्योतिपीठका शङ्कराचार्य जगद्गुरु अविमुक्तेश्वरले पनि लक्ष्मीपूजा र दीपावली बिहीवार गर्नुपर्ने तर्क गरेका छन्। यद्यपि कैयौँ भारतीय ज्योतिषी र धर्मशास्त्रीहरूले शुक्रवार मनाउनुपर्ने पक्षमा देखिएका छन्।

कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरिको उत्पत्ति भएको दिन मानिए पनि जयन्तीहरू "उप्रान्त" अवस्थामा मनाइने भएकाले बुधवार चतुर्दशीकै दिन धन्वन्तरि जयन्ती तोकिएको समितिका श्रीकृष्ण अधिकारीले बताए।

पूर्णिमामा चन्द्रमा भरिएको र पूरा उज्यालो हुन्छ भने औँसीमा पूरै अँँध्यारो हुन्छ।

चन्द्रमाका विभिन्न कलाका आधारमा पूर्णिमा र औँसीसहित १६ तिथिको गणना गर्ने चन्द्रमानमा आधारित पद्धति धार्मिक र सांस्कृतिक व्यवहारमा धेरै प्रयोग भएको देखिन्छ।

पहिलो तिथि प्रतिपदादेखि पूर्णिमासम्म चन्द्रमाको कला र उज्यालो बढ्दो क्रममा हुन्छन्। ती १५ दिनको अवधिलाई शुक्लपक्ष भनिन्छ। पूर्णिमाको भोलिपल्टदेखि चन्द्रमाको कला र उज्यालो घट्दो क्रममा हुन्छन्। प्रतिपदादेखि औँसीसम्मका दिनलाई कृष्णपक्ष भनिन्छ।

औँसी कृष्णपक्षको अन्तिम तिथि हो। ज्योतिषशास्त्रले चन्द्रकलाका आधारमा तिथिको समयावधि (घडी र पलामा) गणना गरेको हुन्छ। त्यस्तो गणनामा अक्षयतृतीयाबाहेक अरू तिथि घटबढ हुने गरेको देखिन्छ।

भाइटीकाको साइत

समितिले तोकेको भाइटीकाको शुभसाइतबारे पनि प्रश्न उठेको छ। त्यसको कारण पनि औँसी र लक्ष्मीपूजाको जस्तै रहेको देखिन्छ।

आगामी शनिवार द्वितीया तिथि सुरु हुने भए पनि दिनको समयमा भोलिपल्ट मात्र उक्त तिथि लामो समय रहने अवस्था रहेको अधिकारी बताउँछन्।

"टीका लगाउने काम मध्याह्नकालव्यापी हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ। भाइटीका भनेको मनुष्यको पूजा भएकाले मध्याह्नकालमा गर्नुपर्ने हुँदा हामीले त्यसैअनुसार साइत निकालेका छौँ।"

"कसैको परम्पराअनुसार साँझमा र रातमा लगाउनुपर्ने हुन सक्छ। त्यस्तो अवस्थामा उहाँहरूले आफ्नो परम्पराअनुसार लगाउनुहुन्छ।"

यद्यपि आइतवार बेलुका ८ः३० बजेआसपास नै द्वितीया तिथि सकिने भएकाले रातको समयमा टीका लगाउनेहरूलाई समस्या हुने कतिपयको धारणा छ।

'राजतन्त्रकालीन अवशेष'

कुनै पनि पर्वविशेषमा त्यसको साइत निकाल्ने वा जारी गर्ने चलन उपयुक्त नभएको कतिपयको भनाइ छ।त्यसले सांस्कृतिक रूपमा चल्दै आएका कतिपय चलनबारे मानिसहरूलाई अन्योलमा पारेको उनीहरूको तर्क छ।

त्यस्तैमध्येका एक नेपाल ज्योतिष परिषद्‌का पूर्वअध्यक्ष माधवराज पाण्डे कुनै पनि पर्वमा शुभसाइत सार्वजनिक गर्नु नपर्ने धारणा राख्छन्। "सांस्कृतिक रूपमा हामीले दशैँमा दशमीका दिनदेखि पूर्णिमाका दिनसम्म टीका लगाउने हो र त्यसको कुनै शुभसाइत भन्नुपर्ने अवस्था छैन। यो नित्यकर्म गरेर भ्याएको बेलामा लगाउँदा पनि हुने हो," उनले भने।

"तिहारका हकमा पनि भाइटीकाका दिन जुनसुकै बेला टीका लगाउन कुनै छेकबार छैन। तर राजतन्त्रकालमा केही दरबार निकटस्थ पण्डितहरूले यो शुभसाइत भनेर चलाउनुभयो। त्यसको अवशेष अहिलेसम्म रहेको हो।"

उनी समितिले पञ्चाङ्गहरू प्रकाशनपूर्व नै त्यसमा तिथिमिति ठिकसँग राखेको हेरेर पात्रोमै "यो मितिमा यो तिथि पर्छ" भन्ने स्पष्ट गर्ने खालको थिति बसाल्नुपर्ने बताउँछन्।

"अहिले यो मुहूर्त र शुभसाइत जारी गर्ने चलन अनि त्यसलाई अल्पज्ञानीहरूले जे मन लाग्यो त्यो गरेर सामाजिक सञ्जालमा भाइरल बनाउने प्रवृत्तिले समस्या निम्तिएको हो," उनले भने।

यसमा सुधारका लागि सबैभन्दा पहिले समिति नै सुध्रनुपर्ने उनको भनाइ छ।

"अहिले मानिसहरूले कुनै साइत नहेरी जुनसुकै महिनामा र सोह्रश्राद्धमा पनि विवाह गर्न थाले," उनले भने, "त्यो कुनैपनि शास्त्रीय हिसाबले ठिक होइन। तर तिनै मान्छे दशैँको वा तिहारको शुभसाइत खोजिरहेका हुन्छन्।"

विवादको कारण र विकल्प

संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापक एवम् पूर्वमीमांसा तन्त्र विभागका प्रमुख प्रमोदवर्धन कौण्डिन्न्यायन अहिले चल्तीमा रहेको पात्रोमा "तिथि तय गर्ने प्रक्रिया नमिलेका कारण" यस्ता विवाद आउने गरेको बताउँछन्। उनी वैदिक पञ्चाङ्ग प्रयोगको अभियान चलाइरहेका र सोही पात्रो प्रयोग गर्दै आएका व्यक्ति हुन्।

कौण्डिन्न्यायनले भने, "तिथि कहिले लामो र कहिले छोटो प्राकृतिक अवस्थाका कारण हुन्छ। जुन बेलामा तिथि टुक्रिन्छ त्यस बेला यस्तो विवाद आउँछ।" चन्द्रमानका आधारमा तिथि गणना गर्न तिथि घटबढ हुन्छ।

"यसपालि पनि बिहीवार सुरु भएर शुक्रवार साँझतिर औँसी सकिन्छ। त्यस दिन रातिसम्म औँसी नपुग्ने भएको भनेर चतुर्दशीकै दिन लक्ष्मीपूजा राखिएको हुँदा विवाद देखिएको हो।"

यद्यपि वैदिक पञ्चाङ्गमा त्यस्तो नहुने भएकाले यस्ता विवाद नआउने उनको भनाइ छ।

"वैदिक पञ्चाङ्गमा कुनै पनि एउटा दिनलाई एउटा तिथि मानेर निर्क्योल गरिने भएकाले त्यसमा यस्तो समस्या आउँदैन," उनले भने।

आफूहरूले वैदिक पात्रो अनुसरण गर्ने भएकाले ‍औँसी शुक्रवार पर्ने र लक्ष्मीपूजा पनि शुक्रवार नै गर्ने उनले जानकारी दिए।

"वेदाङ्ग ज्योतिषअनुसार कुनै दिनलाई एउटा तिथि मानेर निर्क्योल गरियो भने त्यो २४ घण्टा नै त्यो तिथि मानिन्छ। त्यसैले बीचमा तिथि सकिए केही फरक पर्दैन।"

उनका अनुसार सनातन हिन्दू परम्परामा प्राय: सबै पञ्चाङ्ग वा पात्रोहरू सूर्यमान र चन्द्रमानको मिश्रणबाट बन्ने गरेका छन्। त्यस्ता पात्रोहरूमा वर्ष र अयन (दिन बढ्ने र घट्ने अवस्था) को गणना सौर्यमानका आधारमा हुन्छ। त्यस्तै पक्ष र तिथिको गणना चन्द्रमानअनुसार हुने गर्छ।

उनका अनुसार वैदिक पात्रोमा भने तिथि र पक्षलाई पनि सौर्यमान र चन्द्रमान दुवै हेरेर संयुक्त रूपमा गणना गरिने भएकाले तिथिहरूमा देखिएको समस्या उत्पन्न हुँदैन।

तर चल्तीका पात्रोहरूमा तिथिलाई "चन्द्रमानमा आधारमा मात्र तय गर्दा" अहिलेको समस्या उत्पन्न भएको उनी बताउँछन्।

उनी अनुष्ठानविधिको सिद्धान्तअनुसार पनि तिथिहरूलाई खाली राख्न वा दुइटालाई गाभ्न नमिल्नेमा जोड दिन्छन्।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारी पनि गणनाका विषयमा केही वर्षदेखि प्रश्नहरू उठिरहेको स्वीकार्छन्। उनले गणना सुधारका लागि काम भइरहेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।