दशैँ: कर्णालीमा किन मान्यजनले पनि आफूभन्दा सानाको हातबाट टीका-जमरा लगाउँछन्

    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत, बीबीसी न्यूज नेपाली

दशैँमा मान्यजनको हातबाट टीका-जमरा लगाएर आशीर्वाद लिने चलन देशका अधिकांश ठाउँमा भए पनि कर्णालीका गाउँघरमा भने सानाठूला सबैले एकआपसमा दशैँको टीका लगाउने गर्छन्।

परिवारका प्रत्येक सदस्यले एकअर्कालाई टीका-जमरा लगाएर दशैँ मनाउने चलन वर्षौँ पहिलेदेखि चलिरहेको कर्णालीवासी बताउँछन्।

खासगरी जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेतलगायत जिल्लाका गाउँबस्तीमा दशैँको दोहोरो टीका लगाउने गरिन्छ।

दुःखमा एकसरो र खुशीयालीमा दोहोरो टीका

जाजरकोटका कालीबहादुर ओली दुख:मा (मान्छेको मृत्यु भएर चोखिँदा) एकसरो र खुसियालीमा (चाडपर्व र अरू काममा) दोहोरो टिका लगाउने चलन रहेको बताउँछन्।

"पुर्खाहरूले यस्तै चलन चलाए", ७३ वर्षीय उनी भन्छन्, "मैले पनि वर्षौँदेखि आफूभन्दा उमेर र नाताले साना (छोराबुहारी र नातिनातिना)को हातबाट दशैँमा टीका थाप्दै आएको छु।

छोराबुहारी, छोरी ज्वाइँ, नातिनातिना समेत गरी उनको परिवार ५६ जनाको छ।

दशैँको दिन परिवारका प्रत्येक सदस्यले एकआपसमा दोहोरो टीका-जमरा लगाउँदा ५-६ घण्टा समय लाग्ने गरेको उनले बताए।

सबै एकै ठाउँमा भेला भएर दोहोरो टीका र जमरा लगाउँदा उनको भन्दा ठूलो परिवारमा त झन् दिनभरि नै लाग्ने गर्छ।

बालकदेखि वृद्धसम्मले एक अर्कोलाई ३ देखि ७ पटकसम्म टीका लगाउने चलन कर्णालीका गाउँघरमा छ।

ठाउँअनुसार कतै ३ पटक, कतै ५ पटक र कतैकतै ७ पटकसम्म पनि निधारमा टीका लगाइदिन्छन्। यसरी ६ देखि १४ पटकसम्म दोहोरो टीका लगाइन्छ।

बिग्रिएको सम्बन्ध सुधार गर्ने अवसर

दशैँमा टीका-जमरा लगाएर ठूलोले सानालाई आशीर्वाद दिने र सानाले मान्यजनहरूको दीर्घायुको कामना गर्छन्।

दशैँमा लगाइने दोहोरो टीकालाई धेरैले बिग्रिएको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा पनि लिन्छन्।

परिवारका सदस्यबीच सधैँ एक खालको सम्बन्ध हुँदैन। कहिलेकाहीँ झैझगडाले गर्दा वर्ष दिनसम्म पनि बोली बाराबारको अवस्था सिर्जना हुन्छ।

त्यसैले दोहोरो टीका लगाउँदा परिवारका सदस्यवीचको सम्बन्ध अझ प्रगाढ बन्ने र बिग्रिएको सम्बन्ध पनि सुधार हुने कमला खत्री बताउँछिन्।

"दशैँमा एक आपसमा अनिवार्य रूपमा टीका-जमरा लगाउनै पर्ने भएकोले वर्ष दिनसम्म नबोलेकाहरू दशैँको दिन बोल्छन्, बिग्रिएको सम्बन्ध सुध्रिन्छ," उनी भन्छिन्, "यदि दोहोरो टीका लगाउने चलन हुँदैनथ्यो भने सायद आफन्तबीच वर्षौँसम्म पनि बोलचाल हुँदैनथ्यो होला।"

दोहोरो टीका-जमरा लगाउँदा मान्छेभित्रको कुण्ठा, रिस राग र नकारात्मक व्यवहार हटाएर शान्ति र मेलमिलापको वातावरण सिर्जना गर्न सघाउँछ।

राम्रा कामहरूको थालनी

वर्षौँ पहिलेदेखि चल्दै आएको दोहोरो टीकाको चलन अझै कायम रहे पनि पछिल्लो समयमा कतिपयले मान्यजनको हातबाट मात्रै टिका थाप्न थालेका छन्।

सहर, बजारतिर दशैँको दिन टीकाको साइतलाई बढी महत्त्व दिए पनि कर्णालीका गाउँघरमा भने दशैँको पूरै दिनलाई शुभ मान्ने भएकोले साइतलाई खासै महत्त्व दिएको पाइँदैन।

त्यसैले दशैँको दिन बिहानैदेखि टीका-जमरा लगाउन सुरु भएर राति अबेरसम्म चलिरहन्छ।

शुभ साइत नै नहेराएर दशैँको दिनमा राम्रा कामहरूको थालनी गर्ने चलन पनि कर्णालीका गाउँघरमा रहेको छ।

खासगरी दशैँका दिन बच्चालाई बोक्ने (पिठ्युँ लगाउने), अन्न प्राशन गर्ने (अनाज चखाउने), बच्चाको कपाल काटिदिने, नयाँ घरको जग बसाल्नेजस्ता कामहरू गर्ने गरिएको कालिकोटका चित्र सिंहले बताए।

"दशैँको दिन आफैमा शुभ दिन भएकोले साइतै हेर्नु पर्दैन," उनले भने, "दशैँका दिन नयाँ र राम्रा कामहरूको सुरु गर्ने चलन कर्णालीमा छ।"

जेठाजु, बुहारीले एकआपसमा टीका लगाउँदैनन्

कर्णालीका गाउँघरमा जेठाजु, बुहारीले भने एक आपसमा टीका लगाउँदैनन्।

उनीहरू बीचको टीका जमरा परिवारका अरू सदस्यहरूले लगाइदिने चलन छ।

एक जनाले बुहारीको तर्फबाट जेठाजुलाई र अर्को जनाले जेठाजुको तर्फबाट बुहारीलाई दशैँको टीका लगाएर जमरा दिने गरिन्छ।

टीका लगाएर सकिएपछि भने बुहारीले जेठाजुलाई टाढैबाट ढोग्ने र आशीर्वाद लिने गर्छन्।

शास्त्रको हैन हाम्रो समाजको चलन

विशेषगरी कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशमा पनि दशैँमा दोहोरो टीका लगाउने चलन रहेको छ।

शास्त्रीय रूपमा टीकालाई देवीको प्रसादको मानेर मान्यजनको हातबाट ग्रहण गर्ने गरिन्छ।

ज्योतिषशास्त्रका जानकार धनऋषि उपाध्याय दशैँमा दोहोरो टीका-जमरा लगाउने चलन शास्त्रको नभई हाम्रो समाजको चलनभित्रको कुरा भएको बताउँछन्।

"अरूलाई टीका-जमरा लगाइदिनेले आफैँले आफैलाई टीका लगाउनु पनि भएन", उनी भन्छन्, "त्यसैले वर्ष दिनमा एक पटक आउने दशैँमा कसैको पनि निधार खाली नहोस् भनेर सानाको हातबाट पनि टीका जमरा लगाउने गरिएको हुन सक्छ।"

"सानाको हातबाट टीका-जमरा ग्रहण गर्दैमा केही बिग्रिँदैन। बरु यसले साना ठूलावीचमा अझ बढी माया, प्रेम र सद्भाव कायम गर्नुको साथै समान हक र व्यवहार पनि झल्काउन सहयोग गर्छ"।