बालेनले गणतन्त्र र सङ्घीयता 'स्वीकार' गरेपछि रक्षा बम पनि उनीसँगै

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डू महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले दलीय राजनीतिमा अघि बढ्ने इच्छासहित राजनीतिक छलफल अघि बढाएलगत्तै जेन जी अभियानमा सक्रिय नेत्री रक्षा बमले आफू उनीसँग एउटै दलमा आबद्ध भएर अघि बढ्न सहमत भएको बताएकी छन्।

गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर काठमाण्डू महानगरको नेतृत्व गर्ने चुनिएका बालेन केही दिनयता विभिन्न दलका नेता र जेन जी नवयुवाहरूसँग 'दलीय राजनीति' अघि बढाउने विषयमा छलफल गरिरहेका छन्।

जानकारहरूले त्यस्ता छलफल आगामी निर्वाचनको विषयमा केन्द्रित भएको सङ्केत गरेका छन्। बालेन वा उनका सहयोगीहरूले पछिल्ला राजनीतिक भेटवार्ता र त्यसका निष्कर्षबारे कुनै प्रतिक्रिया दिइसकेका छैनन्।

गत भदौमा भएको आन्दोलनपछि तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि नवयुवाहरूको मागबमोजिम अन्तरिम सरकार गठन भएको थियो। उक्त सरकारले फागुन महिनमा निर्वाचन गर्ने तयारी गरेको छ।

भदौको जेन जी प्रदर्शनका बेलादेखि नै अभियानकर्मीका रूपमा देखा परेकी रक्षा बमले आफूलाई बालेनले 'वैकल्पिक शक्ति' को निर्माणका लागि "विभिन्न पक्ष र जेन जीसँग संवाद गर्ने जिम्मा दिएको" जनाउँदै तिनलाई "एक ठाउँमा ल्याउन" आफूले भूमिका निर्वाह गर्ने बताइन्।

रक्षा बम र बालेनबीच के आधारमा कुरा मिल्यो?

काठमाण्डूका मेयर बालेनले भदौमा भएको जेन जी आन्दोलनप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए।

भदौ २३ गते प्रदर्शनका क्रममा कैयौँ व्यक्तिको मृत्यु भएपछि भोलिपल्ट काठमाण्डू र अरू जिल्लामा आन्दोलन चर्किएको थियो। ठाउँठाउँमा तोडफोड र आगजनी भएपछि ओलीलाई बालुवाटारबाट हेलिकप्टरमा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

आन्दोलन उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको भनिएका बालेनले त्यस बेला नेपाली सेनाका प्रधानसेनापतिसँग वार्ता गर्न र संसद् विघटनको सर्त राख्न युवाहरूलाई सुझाव दिएका थिए।

सामाजिक सञ्जालमा उनले आन्दोलनकारी नवयुवाहरूलाई सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गर्न सुझाव दिएका थिए।

यस्तोमा जेन जी आन्दोलनबाट राजनीतिक परिदृश्यमा आएकी नेत्री रक्षा बम र बालेनबीच मिलेर अघि बढ्ने सहमति भएको हो।

बमले बीबीसीसँग भनिन्, "मैले सुरुमा नै आफ्नो राजनीतिक सिद्धान्त के हो भनेर (उहाँलाई) स्पष्ट पारेको हो। के हो तपाईँको धारणा सङ्घीयताप्रति, राजसंस्थाप्रति, लोकतन्त्रप्रति र यो संविधानप्रति भनेर (सोधेपछि) उहाँले संविधान मान्छु, लोकतन्त्र नै हो र सङ्घीयता चाहिन्छ भन्ने जस्ता कुरा गरेपछि कुरा मिल्यो।"

"गणतन्त्र लोकतन्त्र नै हो भन्नुभयो, संविधान उत्कृष्ट नै छ हाम्रो, यसको कार्यान्वयन गर्ने मान्छेहरूले राम्रोसँग गरेनन् भन्नुभयो। (उहाँले) आफ्नै मुखले बोलेपछि म विश्वस्त भएँ। विश्वास गर्ने आधार त्यो नै हो।"

'राजनीतिक सिद्धान्त' प्रतिको प्रतिबद्धता कायम हुने विश्वास आफूले गरेको भन्दै उनले भनिन्, "सैद्धान्तिक धारातल मिलि पनि सक्यो। अहिलेको अवस्थामा निःस्वार्थ देशसेवा र इमान्दारी टेक्ने साझा धारातल त्यो हो।"

बालेनले रक्षा बमलाई कस्तो भूमिका दिए?

जेन जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फाल्गुन २१ गतेका लागि तय गरेको चुनावलाई लिएर मूलधारका कतिपय दलका नेताहरूले संशय व्यक्त गरिरहँदा 'वैकल्पिक राजनीतिक शक्ति' निर्माण गर्ने प्रयास भन्दै छलफलहरू भइरहेका छन्।

जेन जी नेत्री बम आफूहरू चुनावमा केन्द्रित भइसकेको र सकेसम्म धेरै पक्षलाई समेट्न खोजिरहेको बताउँछिन्।

बिहीवार ललितपुरस्थित आफ्ना निकट सहयोगीको निवासबाट राजनीतिक भेटवार्ता गरेका बालेनले विभिन्न पक्षलाई एक ठाउँमा ल्याउन रक्षा बमलाई जिम्मेवारी दिएको विवरण सार्वजनिक भएको थियो।

उक्त प्रस्ताव आफूले स्वीकार गरेको भन्दै बमले भनिन्, "यसमा मैले सीधा जबाफ हुन्छ भनेँ। अब हाम्रा लागि अरू विकल्पहरू छैनन्। यो नै अहिलेको लागि सबैभन्दा उत्तम विकल्प भएकाले हामी पनि त्यहाँ उभिएका छौँ। रह्यो संवादको कुरा, कोको इच्छुक छन् कुरा गर्नूस् भन्नुभएको हो, त्यही हामी पनि गर्दै छौँ। काम कुरा अघि बढेको छ। जिम्मेवारी पाएपछि निर्वाह गर्नुपर्‍यो भन्ने सोच मेरो छ।"

बम भदौको आन्दोलनपछि गठित जेन जी फ्रन्टकी संयोजक पनि हुन्। उनले आफ्ना कतिपय साथीहरू पनि बालेनको दलमा आबद्ध हुन सक्ने बताइन्।

उनले भनिन्, "राजनीतिमा इच्छुक साथीहरू आउनुहुन्छ। इच्छुक नभएको साथीहरू फ्रन्टमा बसेर त्यसलाई चलाउनुहुन्छ। पछिका दिनमा फ्रन्टले नागरिक समाजको काम गर्ने छ। भोलिका दिनमा हामी कुनै नेतृत्वदायी भूमिकामा रह्यौँ भने फ्रन्ट लगायत अन्य साथीहरूले झकझक्याउनुहुन्छ भन्ने आशा छ।"

बालेनको दल र चुनाव चिह्न के हुन सक्छ?

स्थानीय तहको निर्वाचनमा 'लौरो' चुनाव चिह्न लिएर चुनावमा होमिएका बालेनले औपचारिक रूपमा आफू कुनै दलमा आबद्धता भएको सङ्केत अहिलेसम्म दिएका छैनन्।

यद्यपि स्थानीय तहको चुनावी परिणामपछि निर्वाचन आयोगमा 'लौरो' चुनाव चिह्नसहित दर्ता भएको 'देश विकास पार्टी'मार्फत् उनी मूलधारको राजनीतिमा आउन सक्ने चर्चा हुँदै आएको छ।

हाल पुनर्गठनको प्रक्रियामा रहेको उक्त दल सन्ध्या खनालको अध्यक्षतामा छ।

देश विकास पार्टीका भूतपूर्व केन्द्रीय सदस्य तथा वाग्मती संयोजक विनोद चापागाईँले "बालेनलाई लिएर अघि बढ्ने" भन्ने विषयमा छलफल चलिरहेको बताए।

उनले भने, "अहिलेसम्म ठ्याक्कै जोडिइसक्नुभएको छैन। तर उहाँलाई जोडेर लिएर जाने भन्ने हाम्रो लक्ष्य हो। सबै हिसाबले दलको अध्यक्ष र नेता स्वीकार गरेर हामी जान सक्छौँ।"

बालेन र उनको सचिवालयसँग सम्पर्कमा रहेको भन्दै उनले थपे, "पहिला पनि हामीले सङ्गठन विस्तारको खासै काम गरेका थिएनौँ। हामीले दल दर्ता गराउँदा लौरो चिह्न उहाँको नै 'ब्रान्ड' थियो। उहाँको मेयरको कार्यकाल सकिएपछि उहाँको 'ब्रान्ड' उहाँलाई नै जिम्मा लगाउनुपर्छ भन्ने हाम्रो त्यतिबेलादेखिकै लक्ष्य थियो। अब उहाँको कार्यकाल पनि सकिन लाग्यो, चुनाव पनि चाँडै हुन लाग्यो, उहाँकै साथमा अघि बढ्नुपर्छ भन्ने हाम्रो सोचाइ हो।"

उनले पार्टी पुनर्गठनको क्रममा नयाँ र वैकल्पिक शक्तिहरूलाई समेट्ने प्रयास भइरहेको जनाए।

संवाद कोकोसँग?

ऊर्जामन्त्री कुलमान घिसिङले मध्यमङ्सिरतिर बालेनसँग खिचिएको एउटा तस्बिर अर्थपूर्ण शैलीमा सार्वजनिक गरेका थिए। तर त्यसलगत्तै पिताको देहान्त भएकाले बालेन पारिवारिक जिम्मेवारीमा व्यस्त भए।

त्यसपछि मङ्सिर अन्तिममा काठमाण्डू महानगरपालिकाको स्थापना दिवसमा सार्वजनिक मञ्चमा उनी देखा परे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जमानतमा रिहा भएपछि गत सोमवार बालेन र लामिछानेबीच भएको छलफल अझै पनि चर्चाको केन्द्रमा छ।

रास्वपा नेता असिम शाहको घरमा 'अन्तरङ्ग' कुराकानी भएको र दुवै वैकल्पिक राजनीतिको गाडीमा सवार हुन सहमत भएको रास्वपाका नेताहरूले बताएका थिए।

नेता शाहले बीबीसीसँग कुरा गर्दै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार स्वीकार गर्न सक्ने सम्भावना समेत रहेको उल्लेख गरेका थिए।

"कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ हुने, त्यो नभए स्वाभाविक रूपमा पात्रको कुरा आउँदा बालेन नै हो। आजको दिनमा त्यसमा कुनै दुईमत नै छैन," शाहले भनेका थिए।

बिहीवार ऊर्जामन्त्री घिसिङले एउटा सार्वजनिक कार्यक्रममा देश परिवर्तनको 'महाभियानमा रहेको' भन्दै "ब्यालटबाट देशको नेतृत्व परिवर्तन गर्न" वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताएका थिए।

जेन जी नेत्री रक्षा बमका अनुसार बालेनले थालेका भेटवार्ताहरूमा विभिन्न पक्ष "मिलेर अघि बढ्ने" भन्नेबारे छलफल भएको तर टुङ्गो लागिसकेको छैन।

उनले भनिन्, "हामीलाई लाग्ने भनेको देशमा भएका सबै वैकल्पिक शक्तिहरू एक होऊन् भन्ने नै हो। राजनीतिक सिद्धान्त मिल्ने एक ठाउँमा उभिनुभयो भने हामी सबै जेन जीहरूलाई पनि त्यो ठाउँमा उभिन सजिलो हुने थियो।"

उनले लामिछानेको रास्वपा, घिसिङको उज्यालो नेपाल पार्टी र बालेन सबै एकैठाउँ हुनेमा आफू आशावादी रहेको बताइन्।

घिसिङसँग सकारात्मक कुराकानी भएको आफूहरूले पनि सुनेको जानकारी दिँदै उनले भनिन्, "कुलमानजी लगभग तयार हुनुहुन्छ भनेर हामी पनि सुन्छौँ तर ठ्याक्कै उहाँकै मुखबाट चाहिँ हामीले सुन्न पाएका छैनौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।