तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हामी आफू शिशु भएको बेला किन सम्झिन सक्दैनौँ
- Author, मरिआ जकारो
- Role, बीबीसी विश्व सेवा
हामी जन्मिएको दिन, हाम्रो पहिलो पाइला, सुरुवाती शब्दहरू सबै हाम्रो जीवनका महत्त्वपूर्ण क्षणहरू हुन्। तर ती कुनै पनि क्षण हामी सम्झिन सक्दैनौँ। किन?
स्नायुवैज्ञानिकहरू र मनोवैज्ञानिकहरू यो प्रश्नसँग दशकौँदेखि जुझिरहेका छन्।
हामीले जीवनका सुरुवाती केही वर्षहरूको विशेष घटनाहरू सम्झन नसक्नुलाई 'शैशवकालीन स्मृतिभ्रंश' (इन्फन्टाइल एम्नीजिआ) भनिन्छ र यसलाई व्याख्या गर्ने प्रयासमा वर्षौँदेखि धेरै सिद्धान्तहरू विकास गरिएका छन्।
मुख्य प्रश्नहरू
अमेरिकास्थित येल विश्वविद्यालयका मनोविज्ञान र स्नायुरोग विभागका प्राध्यापक निक टर्क–ब्राउन यो बहसमा अन्ततः दुई मुख्य प्रश्नहरू रहने बताउँछन्।
एउटा, के हामी जीवनका प्रारम्भिक वर्षहरूमा स्मृति बनाउँछौँ तर पछि ती सम्झन सक्दैनौँ? अर्को, अथवा के हामी निश्चित उमेरको नहुन्जेल स्मृति नै बनाउँदैनौ?"
प्राध्यापक टर्क–ब्राउनका अनुसार पछिल्लो दशकसम्म अनुसन्धानकर्ताहरू मुख्यतः शिशुहरूले स्मृति बनाउँदैनन् भन्ने मान्थे। केहीले यसको कारण शिशुहरूसँग पूर्ण रूपमा विकसित हुनुको भावना नहुनु वा उनीहरू बोल्न नसक्ने अवस्थालाई मानेका थिए।
उनका अनुसार अर्को एउटा अनुमान यस्तो छ कि हामी लगभग चार वर्षको उमेरसम्म स्मृति बनाउन सक्दैनौँ किनभने नयाँ स्मृति निर्माण गर्ने मस्तिष्कको भाग 'हिपोक्याम्पस' त्यो उमेरसम्म पूर्ण रूपमा विकास भएकै हुँदैन।
"यसको आकार शिशु अवस्थामा दुई गुणाभन्दा बढी बढ्छ," प्राध्यापक टर्क–ब्राउन भन्छन्। "त्यसैले हुन सक्छ कि यसमा प्रारम्भिक अनुभवहरू भण्डारण गर्न सकिँदैन किनभने त्यस्तो गर्न आवश्यक 'न्यूरल सर्किट' हामीसँग त्यो बेला हुँदैन।"
शिशु मस्तिष्क नियाल्दा
तर प्राध्यापक टर्क–ब्राउन आफैँले यो वर्षको सुरुमा प्रकाशित गरेको एउटा अध्ययनको निष्कर्ष भने उक्त विचारसँग नमिल्दो देखिन्छ।
उनको टोलीले चार महिनादेखि दुई वर्षसम्म उमेर भएका २६ शिशुहरूलाई तस्बिरहरूको एउटा शृङ्खला देखायो र सोही बेला शिशुहरूको मस्तिष्क नियालेर उनीहरूको हिपोक्याम्पसको गतिविधि मापन गर्यो।
त्यसपछि ती शिशुहरूलाई पहिल्यै देखाइएका तस्बिरहरूमध्ये एउटा पुरानो र एउटा नयाँ तस्बिर एकसाथ देखाइयो अनि शिशुहरूले कुन तस्बिरलाई बढी हेरिरहेका छन् भनेर उनीहरू आँखाको चालमार्फत् विश्लेषण गरियो।
यदि शिशुले पुरानो तस्बिरलाई बढी हेरे भने अनुसन्धानकर्ताहरूले यसलाई शिशुहरूले त्यो तस्बिर सम्झन र चिन्न सक्ने सङ्केतका रूपमा लिए। अघिल्ला अध्ययनहरूले पनि यस्तै देखाएका थिए।
शिशुको हिपोक्याम्पसले कुनै तस्बिर पहिलो पटक देख्दा बढी सक्रियता देखाएका अवस्थामा ती शिशुहरूले त्यो तस्बिरलाई पछि सम्झने सम्भावना बढी हुने अनुसन्धानकर्ताहरूले पत्ता लगाए। उनीहरूले खास गरी १२ महिनाभन्दा बढी उमेरका शिशुहरूमा यो पाएका थिए।
यसले करिब एक वर्षको उमेरमा हिपोक्याम्पसले कुनै न कुनै प्रकारको स्मृति राख्न सक्ने क्षमता देखाउँछ।
स्मृति कहाँ गयो?
प्राध्यापक टर्क–ब्राउन शिशुहरूले साँच्चै हिपोक्याम्पसमा स्मृति निर्माण गरिरहेका छन् वा छैनन् भन्ने स्थापित गर्न आफ्नो टोलीको अध्ययन "एक प्रारम्भिक कदम" भएको बताउँछन्। यो विषयमा अझै धेरै अनुसन्धान आवश्यक रहेको उनी बताउँछन्।
"यदि हामीले त्यस्तो स्मृति सङ्ग्रह गरिरहेका छौँ भने ती क्षणको स्मृति कहाँ छ भन्ने निकै रोचक प्रश्नहरू उठ्छन्। के ती अझै त्यहीँ छन्? के ती स्मृतिमा हाम्रो पहुँच हुन सक्छ?" उनी सोध्छन्।
सन् २०२३ मा प्रकाशित एक अध्ययनमा मुसाहरूले शिशु अवस्थामै सिकेको निस्कने उपाय वयस्क हुँदासम्म बिर्सिएका पाइएको थियो। तर सुरुमा सिकाइमा संलग्न हिपोक्याम्पसका भागहरू कृत्रिम रूपमा सक्रिय गराउँदा त्यो स्मृति पुनः ब्युँतियो।
मानव शिशुहरूले पनि यस्तो स्मृति निर्माण गर्छन् र पछि जीवनमा ती निष्क्रिय बन्छन् कि भन्ने कुरा भने अझै तय भएको छैन।
यूकेको वेस्टमिन्स्टर विश्वविद्यालयकी स्नायुमनोविज्ञानकी प्राध्यापक क्याथरीन लभडे पनि शिशुहरू कम्तीमा बोल्न सक्ने उमेरसम्म आइपुग्दा उनीहरूमा स्मृति निर्माण गर्न सक्ने क्षमता हुने विश्वास गर्छिन्।
"हामीलाई साना बालबालिकाहरू नर्सरीबाट फर्किएर के भएको थियो भनेर भन्न सक्ने र केही वर्षपछि त्यही कुरा भन्न नसक्ने गरेको थाहा छ। त्यसैले स्मृति त छ तर रहिरहन सकेको छैन," उनी तर्क गर्छिन्।
"मलाई लाग्छ मुख्य प्रश्न यो हो कि त्यस्तो स्मृति समयसँगै कति गहिरो हुन्छन्? के ती छिट्टै मेटिन्छन्? र कति हदसम्म ती चेतन मनका सम्झना हुन् जसलाई हामी साँच्चै सम्झेर मनन गर्न सक्छौँ?"
के यो कृत्रिम स्मृति हुन सक्छ?
प्राध्यापक क्याथरीन लभडेका अनुसार 'शैशवकालीन स्मृतिभ्रंश'लाई बुझ्न अझ जटिल बनाउने कुरा के हो भने मानिसहरूले जुन कुरा आफ्नो "पहिलो स्मृति" भन्छन्, त्यो साँच्चै पहिलो स्मृति हो कि होइन भन्ने प्रमाणित गर्नु "लगभग असम्भव" हुन्छ।
उदाहरणका लागि हामीमध्ये केहीलाई शिशु हुँदा वा कोक्रोमा भएको कुनै विशेष घटनाको सम्झना हुन सक्छ।
तर प्राध्यापक लभडे यस्तो स्मृति साँचो अनुभवको वास्तविक सम्झना हुने सम्भावना निकै न्यून हुने बताउँछिन्।
"स्मृतिको कुरा के हो भने त्यो सधैँ पुनः निर्माणको क्रममा हुन्छ। यदि कसैले तपाईँलाई कुनै कुरा बताउँछ र तपाईँलाई त्यसबारे पर्याप्त जानकारी छ भने तपाईँको मस्तिष्कले यस्तो स्मृति निर्माण गर्न सक्छ, जुन पूर्ण रूपमा वास्तविक महसुस हुन्छ," उनले स्पष्ट पारिन्।
"हामी वास्तवमा यहाँ चेतनाको कुरा गरिरहेका छौँ, र चेतनालाई परिभाषित गर्न कठिन हुन्छ," उनी थप्छिन्।
प्राध्यापक टर्क–ब्राउनको विचारमा शैशवकालीन स्मृतिभ्रंशको रहस्यले हाम्रो अस्तित्वकै केन्द्रबिन्दुलाई छुन्छ।
"यो हाम्रो पहिचानको कुरा हो," उनले भने।
"र, हाम्रो जीवनका प्रारम्भिक केही वर्षहरूमा यस्ता 'ब्लाइन्ड स्पट' (अदृश्य ठाउँ) हुन्, जसबारे हामी केही पनि सम्झँदैनौँ - यो सोचले वास्तवमै मानिसहरूलाई आफूबारेको धारणामाथि प्रश्न उठाउन बाध्य पार्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।