किशोर र युवा उमेरका पुरुषमा मानसिक स्वास्थ्य समस्या 'व्यापक', मद्दत माग्न हिचकिचाहटले सङ्कट झन् गहिरिँदो

    • Author, सेलिन गिरिट
    • Role, बीबीसी विश्व सेवा

पछिल्ला वर्षहरूमा युवाहरूमाझ बढ्दो मानसिक स्वास्थ्य समस्याप्रति विश्वको ध्यान जागेको छ। किशोर अनि भर्खरका युवा पुरुषहरू यो समस्याको सबैभन्दा जोखिममा देखिएका छन्।

दशकौँदेखि गरिएका अनुसन्धानहरूले के निचोड निकालेका छन् भने महिलाभन्दा पुरुषहरू मानसिक स्वास्थ्यको उपचारका लागि अघि मद्दत लिन हच्कन्छन्। सन् २०२३ मा गरिएको एक अमेरिकी अनुसन्धानअनुसार यो ४० प्रतिशत कम छ।

हामी अझै कसरी – र कहिले – किशोर तथा भर्खरका युवा पुरुषहरूले सहयोग माग्छन् भन्ने बारे थोरै मात्र जान्दछौँ।

"यो चिन्ताजनक छ," सन् २०२४ मा युरोपिअन चाइल्ड एन्ड अडलेसन्ट साइकायट्री जर्नलमा लेखिएको छ , "किनभने किशोर तथा भर्खरका युवा पुरुषहरूमाझ आत्महत्याको दर धेरै छ तर सेवा लिने इच्छा कम छ।"

यसको कारण के हो – अनि यसमा विद्यालय, अभिभावक तथा नीतिनिर्माताहरूले कसरी सहयोग गर्न सक्लान्?

चुपचाप पीडा सहँदै

गत वर्ष विश्व स्वास्थ्य सङ्गठनले गरेको अध्ययनमा विश्वभरि १० देखि १९ वर्ष उमेरका प्रत्येक सात किशोरमध्ये एक जनाले मानसिक स्वास्थ्यमा गडबडी बेहोर्ने गरेको पाइयो।

डिप्रेशन, एङ्ग्जाइटी तथा व्यवहारसँग सम्बन्धित समस्याहरू सबैभन्दा धेरै पाइने मानसिक स्वास्थ्य गडबडी हुन् भने १५-२९ वर्ष उमेरका मानिसमा आत्महत्या नै तेस्रो ठूलो मृत्युको कारण रहेको छ।

ल्यान्सेट साइकायट्री कमिशनका अनुसार सबै किसिमका मानसिक स्वास्थ्य अवस्था २५ वर्षको उमेरभन्दा पहिले नै सुरु हुन्छ्न, धेरै त १५ वर्षको उमेरमै भइसक्छन्। युवाहरू शारीरिक रूपमा निकै स्वस्थ्य हुने भए पनि मानसिक रूपमा चाहिँ सङ्घर्षरत हुन्छन् - यसको सङ्ख्या बढ्दै छ र युवा मानसिक स्वास्थ्य 'गम्भीर चरण'मा पुगेको छ।

यद्यपि आवश्यकता हुँदाहुँदै धेरै केटा र युवाले उपलब्ध मानसिक सेवा लिँदैनन्।

"विगत १५-२० वर्षदेखि केटा र केटी दुवैमा मानसिक स्वास्थ्य समस्या बढ्दो रूपमा देखिएको छ, तर सहायता लिने प्रवृत्ति युवाहरूमा कम देखिन्छ," अस्ट्रेलियाको न्याश्नल सेन्टर अफ एक्सलन्स फर यूथ मेन्टल हेल्थका कार्यकारी निर्देशक तथा मनोचिकित्सक प्राध्यापक प्याट्रिक म्याकगोरी भन्छन्।

यो अनिच्छाको अर्थ युवाहरू सङ्कटमा पर्दा मात्र परामर्शका निम्ति पुग्ने गर्छन्।

क्यानडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयस्थित मनोचिकित्साका प्राध्यापक जन अग्रड्निजकका अनुसार धेरै केटाहरू अहिले पनि सहायता माग्नुलाई विफलतासरह ठान्ने गर्छन्।

"यदि हामीले पुरुषवादी सामाजिकीकरणबारे कुरा गर्ने हो भने पुरुषले गर्न हुने र नहुने विषयमा धेरै कुरा सुझाइएको हुन्छन् : दृढ रहनुपर्छ, सशक्त हुनुपर्छ, नियन्त्रणमा रहनुपर्छ, कुनै कमजोरी देखाउनुहुँदैन अथवा कमजोर देखिनुहुँदैन, चाहिने कुरा आफैँले खोज्नुपर्छ," उनी भन्छन्।

"तपाईँ हेर्न सक्नुहुन्छ यी कुराहरूले तपाईँको आफ्नै भावनात्मक जीवनसँग जोड्नमा र आवश्यक परेका बेला सहायता माग्ने कुरामा अवरोध सिर्जना गर्छन्।"

अनौपचारिक विधि

मानसिक स्वास्थ्यसम्बन्धी सहायतालाई केटाहरूले कसरी हेर्छन् भन्ने कुरा सामाजिक मान्यता र कमजोरी देखाउनुलाई कलङ्कको रूपमा लिने प्रवृत्तिले निर्धारण गर्ने पछिल्लो अध्ययनले देखाएको छ।

धेरै केटाहरू मानसिक स्वास्थ्य समस्या पहिचान गर्न सक्दैनन् अथवा सहायता कसरी माग्ने भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन र उनीहरू औपचारिक क्लिनिकहरूमा प्रायशः सहज महसुस गर्दैनन्।

किशोर र युवा पुरुषहरूले अनौपचारिक सहायतालाई प्राथमिकता दिन्छन्। उदाहरणका लागि साथीहरू अथवा नचिनेकाहरूसँग कुरा गर्न चाहन्छन्, अनलाइन सहायता लिन चाहन्छन्।

यसले केही युवा सेवाहरूलाई परम्परागत क्लिनिकल विधि छोड्न लगाएको छ। उदाहरणका लागि अस्ट्रेलियामा युवा मानसिक स्वास्थ्य संस्था ओरिजेनले युवाहरूसँग मिलेर डिजाइन गरेको 'स्पेस'ले "सफ्ट एन्ट्री" दिने गर्छ- जहाँ अनौपचारिक वातावरणमा कुराकानी हुन सक्छ।

"पहिलो भेटमै युवाहरू परामर्श कक्षमा बस्नका लागि सहज नहुन सक्छन्। उनीहरू बस्न र कुराकानी गर्न नचाहन सक्छन्,"ओरिजेनका कार्यकारी निर्देशक प्याट्रिक म्याकगोरी भन्छन्।

"सायद उनीहरूले अरू केही गर्दै धेरै कुराकानी गर्न मन पराउन सक्छन्- जस्तो कि हिँड्दै, पूल अथवा टेबलटेनिस खेल्दै।"

सामाजिक सञ्जाल : शत्रु वा मित्र?

सामाजिक सञ्जाल दुईधारे तरबार हो : "त्यसले एक्लिएका किशोरकिशोरीलाई जोड्न सक्छ र महत्त्वपूर्ण जानकारी उपलब्ध गराउन सक्छ, तर हानिकारक र विषाक्त पुरुषवादी सामग्री पनि पुर्‍याउन सक्छ।"

"अधिकांश युवा पुरुषहरू अहिले पुरुष तथा पुरुषत्वसम्बन्धी इन्फ्लुअन्सरका सामग्रीसँग जोडिने गरेका छन्," क्लिनिकल मनोचिकित्सक तथा मोभेम्बर इन्स्टिच्यूट अफ मेन्स हेल्थका अन्तर्राष्ट्रिय निर्देशक डाक्टर सिमन राइस भन्छन्।

"मानोस्फेअर" सामग्रीसँग जोडिएका युवा पुरुषहरूले आफ्ना साथीहरूको तुलनामा आफूमा खराब मानसिक स्वास्थ्य अवस्था भएको जानकारी दिएको मोभेम्बरको अनुसन्धानले देखाएको छ।

तर राइसका अनुसार सबै सामग्री नकारात्मक हुँदैनन् र मानसिक स्वास्थ्यका निम्ति सामाजिक सञ्जाल उपयोगी माध्यम हुन सक्छन्।

"हामी यो कुरा सुनिश्चित गर्न चाहन्छौँ कि हामी समुदायलाई एकसाथ ल्याउन, राम्रो स्वास्थ्य र मानसिक स्वास्थ्यबारे जानकारी उपलब्ध गराउन र हानिको सम्भावना कम गर्नमा सामाजिक सञ्जालका सकारात्मक पक्षको सदुपयोग गर्न सकौँ," उनी भन्छन्।

यद्यपि भाइरल हुने सामग्रीहरू वितरण गर्ने हिसाबले डिजाइन गरिएकाले सामाजिक सञ्जाल एल्गोरिदमको काम चुनौतीपूर्ण रहेको उनी बताउँछन्।

उनका अनुसार सकारात्मक र स्वास्थ्यकेन्द्रित सामग्रीले एल्गोरिदमलाई जित्न गाह्रो छ।

सोशल मिडिआ एल्गोरिदमले कसरी काम गर्छ भन्नेबारे आमाबुवाले छोराछोरीलाई बुझाउन आवश्यक रहेको अक्स्फर्ड विश्वविद्यालयमा किशोरावस्थाको मनोचिकित्सासम्बन्धी प्रमुख मिना फाजेलको तर्क छ।

गत महिना एकतिहाइ युवाहरूले आत्मक्षति पुर्‍याउने सामग्रीहरू सामाजिक सञ्जालमा हेरेका पाइएको एउटा अनुसन्धानको नतिजाबारे सङ्केत गर्दै उनले त्यस्तो भनेकी हुन्।

सामाजिक सञ्जाललाई मात्र दोष दिन नहुने भन्दै उनी समाजमा भएको बृहत्‌ परिवर्तनलाई पनि हेर्नुपर्ने बताउँछिन्।

"परिवार र समुदायका संरचनाहरू नाटकीय रूपमा परिवर्तन भइरहेका छन् र सञ्चारमाध्यमले थुप्रै युवाका निम्ति सहायता भूमिका निर्वाह गर्न सक्छन्," उनी भन्छिन्।

एक्लोपनको समस्या

किशोर तथा युवा पुरुषहरूले एकदम धेरै सामना गर्ने तर बेवास्ता गरिएको एउटा समस्या एक्लोपन हो।

गत मेमा प्रकाशित ग्यालप सर्वेक्षणका अनुसार १५ देखि ३४ वर्षका २५ प्रतिशत अमेरिकी पुरुषहरूले अघिल्लो दिनको तुलनामा ठूलो मात्रामा तनाव झेलेको बताएका थिए। यो समस्या राष्ट्रिय रूपमा औसत १८ प्रतिशत हो भने युवा महिलाहरूमा पनि १८ प्रतिशत नै हो।

डा जन अग्रड्निजकका अनुसार 'हेड्सअपगाइज'को डेटाले एक्लोपन र उद्देश्यको अभाव युवा पुरुषहरूमा तनाव निम्त्याउने साझा विषय हुन्।

विज्ञहरू पुरुष युवाहरूले थेरपीका लागि हुने भेटघाटमा मात्र नभई दैनिक अन्तरक्रियामै मित्रताको सम्बन्ध विकास गरी खुलस्त कुराकानी गर्न सक्ने सुरक्षित स्थलको आवश्यकतामा जोड दिन्छन्।

विद्यालयको भूमिका

"युवा पुरुषहरूले सहायता माग्दा उनीहरूले त्यसलाई आफ्ना निम्ति उपयोगी नै पाउने एक सकारात्मक प्रवृत्ति रहेको छ," प्राध्यापक मिना फाजेल भन्छिन्।

"त्यो सहयोग कहाँबाट प्राप्त हुन्छ भन्ने कुराले अर्थ राख्दैन : विद्यालयबाट पनि हुन सक्छ, सामाजिक सेवाबाट पनि हुन सक्छ, समुदायबाट पनि हुन सक्छ।"

केटाहरूको स्वास्थ्यमा विद्यालयको संस्कृतिको भूमिका रहने कुराको प्रमाण बढ्दो छ।

प्राध्यापक फाजेलको विचारमा केटाहरूलाई अझ राम्रो हुने गरी विद्यालयहरूलाई पुनः डिजाइन गर्न आवश्यक छ।

"संसारका अधिकांश बालबालिकाको विद्यालयसम्म पहुँच छ। त्यसैले त्यहाँ हामीले बच्चाहरूको शैक्षिक विकासबारे मात्र नसोची किशोरका रूपमा विकसित हुनुको अर्थ के हो - खास गरी केटाहरूका लागि- त्यसबारे पनि हामीले सोच्नुपर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।