तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मोबाइलमा 'मीम' हेर्दै समय बितेको पत्तो पाउनुहुन्न? यस्तो अवस्था जनाउने नयाँ शब्द छ
- Author, यास्मिन रुफो
- Role, बीबीसी न्यूज
इन्स्टाग्राम रील्स र टिकटक हेरेर घण्टौँ बिताउने गर्नुभएको छ? कतै तपाईँ पनि 'ब्रेन रट' भनिने अवस्थाबाट ग्रसित त हुनुहुन्न? 'ब्रेन रट' लाई अङ्ग्रेजी भाषाको एउटा मानक शब्दकोश प्रकाशक अक्सफर्ड यूनिभर्सिटी प्रेसले 'वर्षशब्द' भनेको छ।
उक्त शब्दले विशेष गरी सामाजिक सञ्जालमा निम्नगुणस्तरी सामग्री अत्यधिक हेर्दा त्यसले पार्ने असरबारेको चिन्तालाई जनाउँछ। सन् २०२३ बाट सन् २०२४ मा त्यस्तो प्रवृत्ति २३० प्रतिशतले बढेको पाइएको छ।
अक्सफर्ड यूनिभर्सिटीका प्राध्यापक तथा मनोविज्ञ एन्ड्रू शबिल्स्कीले यो शब्दको लोकप्रियता "हामी बाँचिरहेको समयको लक्षण भएको" बताए।
'ब्रेन रट' शब्दले यो वर्ष प्रकाशकले तय गरेको सूचीमा रहेका अन्य शब्दहरू जस्तै 'डेम्योर', 'रोमान्ट्यासी' र 'डाइनामिक प्राइसिङ'लाई उछिनेको हो।
'ब्रेन रट' के हो
'ब्रेन रट' लाई व्यक्तिको मानसिक वा बौद्धिक अवस्थामा ह्रास आउने अवस्थाका रूपमा व्याख्या गरिएको छ, खासगरी हल्काफुल्का सामाग्रीको अत्यधिक खपत गरिएका कारण त्यस्तो स्थिति देखा पर्ने विश्वास गरिन्छ।
सरल बुझाइमा अङ्ग्रेजी भाषामा 'ब्रेन' अर्थात् मस्तिष्क 'रट अर्थात् सड्नु भन्ने हुन्छ। 'ब्रेन रट' शब्द को पहिलो प्रयोग इन्टरनेट आउनुभन्दा धेरै नै अघि भएको हो। हेनरी डेभिड थोरोले सन् १८५४ मा आफ्नो पुस्तक वाल्डेनमा यो शब्द लेखेका थिए।
उनले प्रश्न गरेका छन्: "इङ्गल्यान्डले आलु कुहिँदा त्यसको समाधान खोज्ने प्रयास गरिरहँदा, मस्तिष्कमा हुने (त्यसै गरी विचार कुहिने जस्तो प्रवृति) ह्रासलाई निको पार्ने प्रयास गर्नुपर्दैन?"
यो शब्दको प्रयोग सुरुमा हालको नयाँ पुस्ता जनाउने 'जेन जी' र 'जेन अल्फा'(सन् २०१० देखि २०२०) उमेरका मानिसहरूमाझ भयो। तर अहिले भने सामाजिक सञ्जालका कम-गुणस्तरका सामग्री जनाउने रूपमा प्रयोग भइरहेको छ।
प्राध्यापक शबिल्स्की भन्छन्, "ब्रेन रट भएको खास कुनै प्रमाण छैन।"
"बरु यसले अनलाइन दुनियाँसँगको हाम्रो असन्तुष्टिलाई वर्णन गर्छ र यो शब्द हामीले सामाजिक सञ्जाल वरपर रहेका हाम्रा चिन्ताहरूलाई समेट्न प्रयोग गर्न सक्छौं।"
अक्सफर्ड ल्याङ्ग्वेजेजका अध्यक्ष क्यास्पर ग्रथवोलले विगत दुई दशकमा अक्सफर्ड वर्ड अफ द एयरलाई फर्केर हेर्दा "हाम्रो भर्चूअल जीवन कसरी विकास भइरहेको छ, इन्टरनेट संस्कृतिले हामी को हौँ भन्ने कुरामा समाजको बढ्दो व्यस्तता देख्न सकिने र हामी के कुरा गर्छौँ" भन्ने हेर्न सकिने बताए।
"गत वर्षको वर्ष शब्द, 'रिज,' थियो जुन नयाँ शब्द कसरी बन्छन्, कसरी तिनलाई आकार दिइन्छ, र अनलाइन समुदायहरूमा शेअर गरिन्छ भन्ने एउटा रोचक उदाहरण थियो।
"ब्रेन रटले भर्चूअल जीवनको कथित खतराहरू मध्ये एक र हामी कसरी हाम्रो खाली समय बिताइरहेका छौँ भन्ने कुरा दर्शाउँछ।"
अन्य शब्दकोशले छानेका शब्दहरू कस्ता छन्
अक्सफर्ड अङ्ग्रेजी शब्दकोशको प्रकाशक अक्सफर्ड यूनिभर्सिटी प्रेसले मात्रै वर्ष शब्द घोषणा गर्ने होइन।
गत महिना केम्ब्रिज शब्दकोशले 'मेनिफेस्ट 'लाई वर्ष शब्द विजेता भएको घोषणा गर्यो।
मेनिफेस्टको परम्परागत परिभाषामा विशेषण "सजिलै देखिने वा स्पष्ट" र नाम "चिन्ह वा गतिविधिमार्फत् स्पष्ट रूपमा देखाउने" जनाउँछ।
यसमा अब "टु मेनिफेस्ट" को अर्थ "आफूले चाहेको कुरा प्राप्त गर्न त्यो भएको कल्पना गर्ने र त्यसो गर्दा यो हुने सम्भावना बढी हुन्छ" भन्ने विश्वास गर्नुलाई मेनिफेस्ट गर्नु भनिन्छ।
यो शब्दको व्यापक प्रयोग दुआ लिपालगायतका सेलिब्रिटीहरूले अनुमोदन गरेपछि विश्वव्यापी रूपमा यो शब्दको प्रयोग गर्ने प्रवृत्ति बढेको हो।
कोलिन्स इङ्ग्लिस डिक्शनरीले 'ब्र्याट' शब्दलाई वर्ष शब्दको रूपमा नोभेम्बरमा घोषणा गरेको थियो।
चार्ली एक्ससीएक्सको एल्बम भाइरल भएपछि विगत केही महिनायता यो शब्द व्यापक रूपमा प्रयोग भएको छ।
यो उनको पहिलो एल्बमको नाम हो। तर केहीका लागि एक सांस्कृतिक आन्दोलनका रूपमा देखा परेको छ। मानिसहरूले 'ब्र्याट शैली'को जीवन अपनाउन थालेका छन्।
इन्टरनेटमा धेरै प्रयोग भएको शब्द 'डेम्योर' हो।
कन्टेन्ट क्रिएटर जुल्स लेब्रोँले अगस्टमा यो शब्द प्रयोग गरेर टिकटक भिडिओ बनाएकी थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।