बालबालिकालाई मोबाइल र टिभीबाट सुरक्षित राख्ने चुनौती

    • Author, निक ट्रिगल
    • Role, स्वास्थ्य सम्वाददाता

प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले सुझाव दिएका छन्।

नयाँ निर्देशिकाका अनुसार बालबालिकाहरूलाई एक पटकमा दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु उचित छैन।

उनीहरूले प्रविधि कम्पनीहरूलाई बालबालिकालाई सुरक्षित राख्न थप सावधानी अपनाउन पनि भनेका छन्।

ब्रिटेनका स्वास्थ्य मन्त्रीले तस्बिर राख्ने सामाजिक सञ्जाल इन्स्टाग्रामका प्रमुख अधिकारीहरूसँग आत्महत्यासम्बन्धी सामग्रीहरूका बारेमा भेट्ने तयारी भइरहेको समयमा निर्देशिका प्रकाशित भएको हो।

किशोर उमेरकी मोली रसेलको आत्महत्याको एक कारकको रूपमा उनको इन्स्टाग्रामका हानिकारक सामग्रीसम्मको पहुँचलाई मानिएको छ।

उनको बुवाले इन्स्टाग्रामले आफ्नो छोरीलाई मार्न सहयोग गराएको बताएका थिए।

ब्रिटेनको प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक साली डेभिसले उक्त घटनालाई दुखान्त भन्दै केही बालबालिका अनुचित सामग्रीसम्म पुगिरहेको स्पष्ट भएको बताएकी थिइन्।

उनले बालबालिकाहरूलाई सुरक्षित राख्नु सामाजिक सञ्जाल कम्पनीहरूको कर्तव्य भएको भन्दै उनीहरूले उमेर प्रमाणित गरेर मात्रै चलाउन पाउने प्रविधि निर्माण गर्नुपर्ने बताएकी छिन्।

तर उनले मोबाइल र टिभीका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा कस्ता प्रतिकूल असर पर्नेसम्बन्धमा स्पष्ट निचोड नभएको बताएकी छिन्।

उनले डिजिटल प्रविधि सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न सहयोगी हुनसक्ने पनि बताइन्।

निर्देशिकाको सुझाव

बालबालिकालाई सुरक्षित र स्वस्थ राख्न अभिभावकले गर्नसक्ने केही स्पष्ट कदमहरू छन्। ती हुन्:

  • खाना खाने टेबुलमा मोबाइल फोन वर्जित गर्ने - परिवारसँगको कुराकानी बालबालिकाको विकासका लागि महत्त्वपूर्ण हुन्छ।
  • शयनकक्षबाट मोबाइल र टिभी टाढा राख्ने
  • परिवारमा इन्टरनेटका जोखिमहरू र बालबालिकाले समस्या परेमा के गर्ने भनेर छलफल गर्ने
  • सडक काट्दा वा सवारी हाँक्दा मोबाइल फोन प्रयोग नगर्ने
  • दुई घन्टाभन्दा लामो समय मोबाइल वा टिभी लगातार प्रयोग नगर्ने
  • अभिभावकले आफ्नो प्रयोग पनि नियन्त्रण गर्ने - अभिभावकले बालबालिकालाई समय दिनु आवश्यक हुन्छ।

डेभिसले सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्तालाई सकारात्मक सामग्री धेरै देखिने गरि प्रविधि विकास गर्नुपर्ने बताइन्।

"उनीहरुले हाम्रा बालबालिका सुरक्षित राख्नका लागि आफैँ प्रविधि विकास गर्नुपर्छ," उनले भनिन्।

"त्यति गर्नु उनीहरूको कर्तव्य हो र यदि उनीहरूले गरेनन् भने सरकारले कसरी गर्ने भनेर भन्नेछ।"

नियमित प्रयोग र मानसिक स्वास्थ्य

अध्ययनकर्ताहरूले मोबाइल फोनको प्रयोगको मानसिक स्वास्थ्यमा असरका विषयमा भएका अध्ययनहरू अपुग भएको बताएका छन्।

उनीहरूले कही अध्ययनहरूले मोबाइल फोनको प्रयोगले चिन्ता र डिप्रेसनजस्ता नकारात्मक असर पार्ने देखाएपनि यो विषय अझै अनिर्णित नै रहेको बताए।

रोयल कलेज अफ साइकियाट्रिका डा. बेर्नडका डुबिकाले स्वास्थ्य अधिकारीहरूको कदमलाई सही मानिन्।

"हामीसँग मोबाइल प्रयोग र मानसिक स्वास्थ्य समस्याहरूबीच स्पष्ट सम्बन्ध देखिएको छैन तर हाम्रा बालबालिकाले अनलाइनमा हेरिरहेका केही सामग्रीहरू हानिकारक भनेछन्।"