'करोडपति' बिरामीका समस्याबारे सुनेपछि यी थेरपिस्टले खुसीबारे जे सिके

    • Author, पाउलो अदमो इदोइता
    • Role, बीबीसी न्यूज ब्रजिल, लन्डन

करोडपति बिरामीहरूको उपचारमा विशेषज्ञता हासिल गरेपछि अमेरिकी साइकोथेरपिस्ट क्ले ककरेल धनी बन्ने प्रयास आफूले त्यागेको बताउँछन्।

"मैले चिट्ठा खेल्न छोडिसकेँ। धेरै [सम्पत्ति] हुनुका खतराबारे मैले महसुस गरेँ।"

अमेरिकाको न्यूयोर्कमा थेरपी क्लिनिक सञ्चालन गर्दै आएका ककरेल उनले भन्ने गरेका "धेरै हुनुको विषाक्त असर" सँग जुझ्न आफ्ना सेवाग्राहीहरूलाई सघाउन प्रयास गर्छन्।

"त्यो एउटा गतिशील सङ्ख्या हो, 'जब मसँग एक करोड डलर हुन्छ तब म सुरक्षित हुन्छु।' अनि जब तपाईँसँग एक करोड डलर हुन्छ, तब तपाईँलाई लाग्छ तपाईँसँग पाँच करोड डलर पो हुनुपर्छ। मुख्य कुरा के हो भने ब्याङ्कको खाताबाट खुसी आउँदैन। त्यो त आउँदैन," बीबीसी न्यूज ब्रजिलसँगको अन्तर्वार्तामा कलरेलले भने।

त्यही भएर थेरपीको एउटा पक्ष भनेको बिरामीहरूलाई सम्पत्ति आर्जन गर्नुभन्दा उनीहरूको उद्देश्य पहिचान गर्न सघाउनु हो।

"यदि खुसी सङ्ख्यामा हुँदैन भने त्यो कहाँ हुन्छ? त्यहीँबाट हामी प्रयोग थाल्छौँ। के खुसी परोपकारमा हुन्छ? के सम्बन्धमा हुन्छ? के नयाँ शिराबाट थालिने नयाँ कुरामा हुन्छ? महत्त्वाकाङ्क्षा अद्‌भुत हुन्छ। तर तपाईँका महत्त्वाकाङ्क्षा किन छन् भन्ने कुराको जाँच र स्पष्टता हुनुपर्छ…।"

सम्पत्तिसँगै आउने समस्याहरू

ककरेलले संयोगवश धनी मानिसहरूको उपचारमा विशेषज्ञता हासिल गर्न पुगे। एक धनी बिरामीलाई परम्परगत परामर्श दिनुको सट्टा पार्कमा हिँडडुल गर्दै कुरा सुनाउने उनको तरिका मन परेपछि ती व्यक्तिले आफ्ना नजिकका मानिसहरूलाई ककरेलकहाँ जान सुझाव दिएका थिए।

यी थेरपिस्ट सम्पत्तिसँग आउने समस्याहरू देखेर आश्चर्यमा परेको बताउँछन्। कतिपय त्यस्ता समस्याहरूलाई "प्रथम विश्वका समस्याहरू" भनेर खारेज गरिन्छ।

"धेरै मानिसलाई जस्तै मलाई पनि लाग्थ्यो कि पैसाले समस्याहरूको समाधान गर्छ। त्यसले गर्न त गर्छ, तर सबै समस्याको समाधान गर्दैन। मेरा सेवाग्राहीहरूका अनुसार तिनका पहिलाका थेरपिस्टहरूले समस्याबारे सुनेर भन्थे, 'कर्मचारीहरूसँग कस्तो व्यवहार गर्ने अथवा डुङ्गा कता पार्क गर्ने वा आफ्ना बच्चाका विरासतसम्बन्धी मुद्दासँग कसरी जुझिरहेको छु भन्ने कुरा चाहिँ समस्या बन्नु हुँदैन।' तर बिरामीहरू जहाँ हुन्छन्, त्यहीँ भेट्नुहोस् र उनीहरूका समस्या जायज हुन्छन् भनेर मलाई प्रशिक्षित गरिएको छ," उनले भने।

"उनीहरूका समस्या मेराजस्ता नहुन सक्छन्, तर अहिले मैले बुझिसकेँ कि पैसाले मानिसहरूको जीवनलाई जटिल बनाउँछ।"

यो कुरा विश्व जनसङ्ख्याको एउटा सानो हिस्साको अनुभव भएकोमा ककरेल जोड दिन्छन्।

धेरै मानिसका लागि पैसाको अभावसँग जोडिएका समस्या चाहिँ जटिलताका कारण हुन्।

उदाहरणका लागि ब्रिटिश साइकोथेरपी असोसिएशनको एउटा सर्वेक्षणले देशका लगभग सबै (९४ प्रतिशत) थेरपिस्टहरूले आफ्ना सेवाग्राहीहरूको मानसिक स्वास्थ्य बिग्रिनुका कारण आर्थिक चिन्ता र जीवनयापनका बढ्दो खर्च भएको पाएका देखाएको थियो।

विशेषज्ञहरूका अनुसार जीवनयापन गर्ने प्रयासमा मानिसहरूले बोझले निर्णय गर्दा त्यसले सङ्ज्ञानात्मक क्षमतालाई प्रभावित पार्छ।

धनीका मुख्य समस्याहरू

अति धनाढ्यहरूको विषयमा पुनः चर्चा गर्दै ककरेलले बताएअनुसार उनले हेर्ने धेरै बिरामीहरू दुःखी पाइने गरेका छन् किनकि स्वभावतः उनका नमुनाहरू पूर्वाग्रही हुन्छन् : "खुसी भएका बेला मानिसहरू साइकोथेरपिस्ट खोजी गर्दैनन्।"

तर उनी भन्छन्, "म जो मानिसहरूलाई हेर्छु, जसको जीवनमा पैसाले जटिलता थपिदिएको हुन्छ र केही नकारात्मकता ल्याइदिएको हुन्छ, (…) जसमा सहानुभूति अनि उही तहको सफलता हासिल नगरेकाहरूप्रति बुझाइको अभाव हुन्छ।"

त्यसै गरी उनका अनुसार अतिधनाढ्यहरूको पारिवारिक सम्बन्धमा कठिनाइ उत्पन्न हुने, उनीहरू वास्तविक संसारदेखि टाढिने र आफूनिकटका मानिसहरूप्रति निकै अविश्वास हुने गर्छ।

"धेरै धनाढ्यहरू आफूलाई बुझ्ने मानिससँग मात्रै संवाद गर्न चाहन्छन्। यो एकदमै साझा प्रवृत्ति हो। अनि के हुन्छ भने उनीहरू एकदमै एक्लिन्छन् र नयाँ मानिसलाई अनादर गर्ने हुन्छन्," ककरेल भन्छन्।

"डर के हो भने 'के तपाईँ मेरो जीवनमा यस कारण आइरहनुभएको छ कि म तपाईँका लागि केही गर्न सक्छु? मेरो प्रसिद्धि अथवा सम्पत्तिका कारण?' सायद 'प्यारानोइआ' कडा शब्द हुन सक्ला, तर उनीहरूमा व्यापक सन्देह हुन्छ जुन कुराले नयाँ सम्बन्ध बन्नबाट रोक्छ।"

नयाँ पुस्तामाथि दबाव

अनि सम्पन्न परिवारमा बाल्यकाल र युवावस्था बिताउन पनि चुनौतीपूर्ण हुन्छ।

"आमाबुवाहरू प्रायः आफ्ना बच्चाहरूलाई आफूले झेलेका कठिनाइहरूबाट जोगाउन र उनीहरूलाई सहज जीवन दिन चाहन्छन्। त्यो सामान्य कुरा हो। तर तपाईँले के बुझ्नुपर्छ भने कठिनाइहरूलाई जितेरै तपाईँ त्यो बन्नुहुन्छ, जे तपाईँ हुनुहुन्छ," ककरेल भन्छन्।

"साथै जब तपाईँ आफ्ना सन्तानहरूलाई निजी विमान, गज्जबका रेस्टुराँ र छुट्टी बिताउन अद्‌भुत ठाउँहरूसँग परिचित गराउनु हुन्छ, तब २१ वर्षका पुग्दा उनीहरूले सबै कुरा देखेको र त्यसका लागि प्रयास गरिसकेको महसुस गर्छन् अनि उनीहरूले दिक्क मान्छन्। त्यसपछि उनीहरू आफ्ना सीमाहरूलाई नाघ्न सुरु गर्छन्, चाहे त्यो लागुऔषध प्रयोग गरेर होओस् अथवा अरू जोखिमपूर्ण व्यवहारबाट। केही नयाँ गरिरहेको अनुभूत गर्न उनीहरूले त्यसो गर्न थाल्छन्।"

ककरेलका अनुसार खास गरी उस्तै पेसा अपनाउने अतिधनाढ्यका बच्चाहरूमाथि "आफ्ना आमाबुवाले भन्दा राम्रो गर्नुपर्ने चर्को दबाव हुन्छ।"

त्यो दबाव आफ्नै बाटोमा लाग्न, आफ्नो चाहनालाई पछ्याउन, गल्ती गर्न तथा असफल हुने अधिकार राख्ने विचारभन्दा विपरीत हुन्छ। अर्कोतर्फ कतिपय मानिसले महत्त्वाकाङ्क्षाको अभाव झेल्छन्।

"म किन कलेज जानुपर्छ अथवा व्यापार सुरु गर्नुपर्छ? धेरै सम्पत्तिले निराशा निम्त्याउन सक्छ वा तपाईँ उद्देश्यविहीन हुन सक्नुहुन्छ। त्यो किन भन्दा तपाईँ सधैँ आफ्ना बमाबुवाभन्दा अगाडि बढ्नुपर्ने दबावमा बस्नुहुन्छ।"

समाजको दृष्टिकोण

खासमा ककरेलले पछिल्ला वर्षहरूमा आफ्ना काम र 'सक्सेशन' (२०१८-२०२३) नामक टेलिभिजन शृङ्खलाबीच समानताबारे लेखेर बढी प्रसिद्धि कमाएका छन्। यो शृङ्खलामा बाबुबाजेले बनाएको विशाल सञ्चार कम्पनीमाथि नियन्त्रण गर्न एउटा अर्बपति परिवारले गरेको सङ्घर्षको चित्रण गरिएको छ।

अर्बपतिहरूमाथि "धेरै हुनुको विषाक्त असर"बारे चित्रण गर्ने सन्दर्भमा उक्त शृङ्खला "एकदमै सटीक" रहेको ककरेल बताउँछन्।

'सक्सेशन'को सफलताको कारण के पनि हो भने अति धनाढ्यहरूले कि आकर्षण निम्त्याउँछन् कि त तिरस्कार।

अर्बपतिहरू धेरैका लागि आदर्श बनेका छन्, उनीहरू व्यापक राजनीतिक प्रभाव पार्न सक्ने भएका छन् र कतिपयका लागि उनीहरू दूरद्रष्टा अनि नवीन सोचधारी भएका छन्।

तर अर्को थरीका लागि उनीहरू धेरैले अनुचित ठान्ने विश्व कर प्रणालीका प्रतीक बनेका छन्। आलोचकहरूका अनुसार उनीहरू अति विपन्नहरूको खर्चमा सम्पत्ति थुपार्ने कार्यलाई बढावा दिँदै छन्।

उदाहरणका लागि केही महिनाअघि अर्बपति जेफ बेजोसले इटलीको भेनिसमा भव्य विवाह समारोहको आयोजना गर्दा प्रदर्शनकारीहरूले "यदि तपाईँ भेनिसलाई भाडामा लिन सक्नुहुन्छ भने थप कर पनि तिर्न सक्नुहुन्छ" भन्ने नाराअङ्कित प्लेकार्डहरू देखाए।

अन्ततः वैवाहिक समारोहलाई सहरको केन्द्रबाट अन्यत्र सार्नुपर्‍यो।

ब्रिटेनको अक्स्फाम संस्थाका अनुसार विश्वका पाँच अति धनाढ्यहरूको सम्पत्ति सन् २०२० यता दोबरले बढेको अनुमान छ, "जबकि पाँच अर्ब मानिसहरूको घटेको छ।" त्यसलाई उक्त गैरसरकारी संस्थाले "असमानताको सङ्कट" भन्ने गरेको छ।

क्ले ककरेलका अनुसार उनका अति धनाढ्य सेवाग्राहीहरू उनीहरूका सम्बन्धमा रहेका मानिसहरूका फरकफरक धारणाबारे परिचित छन्।

यसको एउटा चक्र हुन्छ - "एउटा समयमा समाजले धनाढ्यहरूको कडा मेहनतको प्रशंसा गर्छ भने अर्को समयमा त्यो परिवर्तन हुन्छ र नकारात्मक भावनामा परिणत हुन्छ। ती धनाढ्यहरूले गलत तरिकाले सम्पत्ति आर्जन गरेका हुन्‌ भनी समाजले सोच्छ। तीमध्ये धेरै मानिसहरू अविश्वनीय रूपमा बुद्धिमान्, मेहेनती हुन्छन् र जीवनमा प्रशंसनीय कुराहरू हासिल गरेका हुन्छन्। कुनै बेला उनीहरूले प्रशंसा पाउँछन् भने कुनै बेला आलोचना। अनि त्यसबारे उनीहरू दोधारमा पर्छन्।"

आफ्ना बिरामीहरूबाट सिकेको सबैभन्दा ठूलो पाठ भनेको करोडपति बन्नु खुसी हुनुको राज होइन भन्ने रहेको ककरेल बताउँछन्।

हामीमध्ये जसलाई लाग्छ कि 'यति मात्र तलब बढ्दा वा यदि मैले अझै मेहनत गर्दा म खुसी हुने छु', हामीले ती मानिसहरूलाई हेर्नुपर्छ जोसँग सबै थोक भएर पनि खुसी हुँदैन। यो कुराले हामीलाई सोच्न चुनौती दिन्छ : के कुराले खुसी र उमङ्ग दिन्छ? र मलाई लाग्छ त्यहीँ जीवनको मूल्य हुन्छ। त्यो सम्बन्ध र परिवारमा अनि मेरो समुदायलाई गर्ने योगदानमा हुन्छ। खुसी त्यहीँबाट प्राप्त हुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।