तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
धनी भारतीय: धनाढ्य भारतीयहरू दानदातव्यमा किन पछाडि छन्
- Author, अपर्णा अलुरी
- Role, बीबीसी हिन्दी
भारतीय अर्बपति अजीम प्रेमजीले गरेको ठूलो दानले उनलाई भारतको सबैभन्दा धेरै दान गर्ने परोपकारी बनाइदिएको छ। तर धनसँग दानको मेल नखाने देशमा उनको उदारताले परोपकारलाई चर्चामा ल्याइदिएको छ।
प्रेमजीले हालै साढे सात अर्ब अमेरिकी डलर दान गर्ने प्रतिबद्धता गरेका छन्। हालसम्म उनले गरेको कुल परोपकारी दान करिब २१ अर्ब डलर पुगेको छ।
यो उदारताले उनलाई बिल र मेलिन्डा गेट्स् एवम् वारेन बफेटजस्ता नाम चलेका दानीहरूकै कोटीमा पुर्याएको छ।
उनलाई अरूभन्दा भिन्न भने उनको धनले बनाउँछ, उनी विश्वका पाँच धनीमध्ये पर्दैनन्। अर्बपतिहरूको सूचीमा उनी ५१ औँ नम्बरमा छन्।
तर परोपकार क्षेत्र उनले पाएको प्रतिष्ठाबाट चकित भने छैन। "यो उनका लागि अस्वभाविक होइन। उनी भारत र यो महादेशमै केही समयदेखि नै परोपकार क्षेत्रको ठूलो योगदानकर्ता रहँदै आएका छन्," रणनीतिक परोपकारी संस्था दस्राका सह-सञ्चालक देवल संघवी भन्छन्।
दस्राले भारतका ठूला दाताहरूले दान गरेको पैसा गैरनाफामूलक क्षेत्रसम्म पुर्याउने काम गर्छ।
उनीहरूका लागि ७३ वर्षीय प्रेमजी एकजना उदार दाता हुन्। सफ्टवेयर बादशाहका रूपमा चिनिने प्रेमजीले लामो समयदेखि सम्पत्ति दान गरिरहेका छन्।
सन् २०१३ मा गेट्स् र बफेटसँगै आफ्नो आधा सम्पत्ति परोपकारमा खर्चने एउटा पहलमा प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर गर्ने उनी पहिलो भारतीय थिए।
उनका पिताले सन् १९४५ मा शुरु गरेको विप्रो नामक कम्पनीमा सामेल हुनका लागि प्रेमजीले २१ वर्षको उमेरमा स्ट्यानफोर्ड विश्वविद्यालयको पढाइ छाडेका थिए। जुन पढाइ उनले सन् २००० मा पूरा गरे।
उनको मातहतमा रहेको वनस्पति तेललाई शुद्ध गर्ने कारखाना विप्रोलाई उनले भारतको एउटा ठूलो र अत्याधिक सफल सूचना प्रविधि कम्पनीका रूपमा रूपान्तरण गरे।
कठोर व्यक्तिगत स्वभावका प्रेमजी सार्वजनिक रूपमा वा सञ्चारमाध्यममा एकदमै कम मात्र बोल्छन्। तर पछिल्ला वर्षहरूमा उनको औसत खालको जीवनशैली र उदारताले कैयौँ प्रशंसकहरू बटुलेको छ।
उनी अझै कसरी इकोनोमी क्लासमा हावाई यात्रा गर्छन् वा कसरी रिक्सा चढ्छन् र उनी कस्ता छन् जस्ता मितव्ययितालाई महत्त्व दिने कथाहरूले धेरैलाई प्रभावित पारेको छ।
उनले साढे सात करोड डलर दान गर्न गरेका प्रतिबद्धताको जानकारी अजीम प्रेमजी फाउन्डेसनको एउटा प्रेस विज्ञप्तिमार्फत् आयो र त्यसमा उनको कुनै व्यक्तिगत भनाइ समावेश थिएन।
एउटा अखबारका अनुसार सामाजिक सञ्जालहरूमा उनको प्रतिबद्धताका शीर्षकहरू छाउन थालेपछि उनले भनेका थिए: "यो कस्तो उपद्रो हो?"
प्रेमजी आफ्नो उदारताका लागि एक्लो भने छैनन्।
सूचनाप्रविधि क्षेत्रका अर्बपतिहरू नन्दन र रोहिणी निलेकानीले आफ्नो सम्पत्तिको ५० प्रतिशत परोपकारमा लगाउने प्रतिबद्धता जनाएका छन्।
बायोकोनकी किरण मजुमदार शाले आफ्नो ७५ प्रतिशत सम्पत्ति परोपकारमा लगाउने वाचा गरेकी छन्।
र, अन्य धेरै परिवारले पनि अस्पतालहरू, विद्यालयहरू, सामुदायिक भान्साहरू र मानविकी तथा वैज्ञानिक अनुसन्धानका लागि लगानी गरिरहेका छन्।
सबैजसो उनीहरूले प्रेमजीले जस्तै आफ्नै जीवनकालमा आफैले कमाएको सम्पत्तिको ठूलो हिस्सा दान गर्ने प्रतिबद्धता जनाइरहेका छन्।
व्यक्तिगत सम्पत्ति र नाफाको दृष्टिले पनि सम्पन्न टाटा ट्रस्ट दशकौँदेखि भारतको ठूलो परोपकारी संगठन रहेको छ। शिक्षा, स्वास्थ्य र स्वतन्त्र मिडियालगायत क्षेत्रमा लगानी गरिरहेको प्रेमजी फाउन्डेसन हाल आएर मात्र उक्त संगठनको प्रतिष्पर्धी देखिएको हो।
"राज्यका लागि प्रेमजीको दान पनि उस्तै हो जसरी ऐतिहासिक परिप्रेक्षमा जमशेदजी टाटा र दोराबजी टाटाले गरेका थिए," द इकोनोमिक टाइम्स पत्रिकासँग बैन क्यापिटलका प्रबन्ध निर्देशक अमित चन्द्राले भनेका छन्।
उनले थपे: "पछिल्लो दशकमा प्रेमजीले योगदान गरेका छन्। सन् १८९२ मा स्थापना भएको टाटा ट्रस्टले गरेको एक शताब्दीभन्दा लामो समयदेखि भारतमा परोपकार कार्य गरिरहेको छ।"
हालसालैको परोपकार सम्बन्धी प्रतिवेदनमा सन् २०१८ मा १४ लाख डलरभन्दा बढी रकम दान दिने दाताहरूको सूचीमा प्रेमजीको योगदान ८० प्रतिशत देखिन्छ।
परोपकार बढिरहेको तर तीव्र रूपमा वृद्धि नभएको यसका लेखकहरू बताउँछन्। सन् २०१४ देखि २०१८ सम्म भारतमा व्यक्तिगत परोपकारी कार्य १५ प्रतिशत प्रति वर्षका दरले बढिरहेको छ।
उच्चवर्गीय धनी घरपरिवारको सङ्ख्या गएको पाँच वर्षमा १२ प्रतिशतका दरले बढिरहेको र सन् २०२२ सम्ममा दोब्बर हुने देखिएका बेला परोपकार वृद्धिको दरलाई भने दस्राको प्रतिवेदनले "विशेष रूपमा समस्याग्रस्त" भनेको छ।
अमेरिकामा हरेक वर्ष दिइने यस्तो सहायतासँग तुलना गर्दा भारतका धनीहरूले हरेक वर्ष पाँच देखि आठ अर्ब डलर दान दिन सक्छन्।
उनीहरूलाई के ले रोकिरहेको छ?
"कर तिर्नेहरूका लागि ठूलो डर छ," अशोका विश्वविद्यालय दिल्लीको सामाजिक प्रभाव तथा परोपकार केन्द्रका निर्देशक इन्ग्रिड श्रीनाथ भन्छिन्, "उनीहरू (धनी) कसैको आँखामा पर्न चाहँदैनन् जसले गर्दा आफूहरूलाई थप रकमका लागि आग्रह गरियोस्।"
भारतको धन भनेको अहिले पनि पहिलो पुस्तामा नै रहेको र त्यसलाई दान गर्नका लागि उनीहरूले अझै सुरक्षाको अनुभूति नगरेको हुनसक्ने उनी विश्वास गर्छिन्।
तर उनी परोपकार सम्बन्धी तथ्याङ्कमा पूर्ण विश्वस्त हुन सक्दिनन्। किनकि यी तथ्याङ्कहरू अपुरो छन्। जसले गर्दा भारतको परोपकार क्षेत्रबारे यकिन गर्न गाह्रो छ।
भारतमा परोपकारबारे जानकारी राख्ने कुनै पनि केन्द्रीय निकाय छैन। कर कानुनहरू जटिल छन् र दान दिनेका लागि सहुलियत छैन। त्यसैले सरकार, तेस्रो पक्ष र व्यक्तिगत घोषणाजस्ता विभिन्न स्रोतहरूबाट लिइएका विवरणका आधारमा केही प्रतिवेदनहरू तयार पारिन्छन्।
कतिपयले भने परिचय नखुलाई पनि दान दिने गर्छन्। त्यसले परोपकारबारे आकलन गर्न थप जटिल हुन जान्छ।