पूर्वी नेपालमा गुन्द्रुक बनाउने यो हो नयाँ तरिका

    • Author, सीता निरौला
    • Role, इलाम

गुन्द्रुकको तरकारी नेपाली भान्सामा चिरपरिचित नै छ। छिटो पाक्ने र धेरैलाई मिठो लाग्ने गुन्द्रुकको माग पछिल्लो समय बढेपछि पूर्वी पहाडमा ठूलो मात्रामा गुन्द्रुक बनाउन थालिएको छ।

गाउँघरमा परम्परागत रूपमा गुन्द्रुक बनाउने गरिएकोमा अहिले नयाँ तरिकाले ठूलो परिमाणमा उत्पादन गरिन्छ।

त्यसको निम्ति प्रविधिको प्रयोगको प्रचलन बढेको छ।

इलाम जिल्लाको रोङ गाउँपालिकाले करिब ६८ लाख रुपैयाँमा गुन्द्रुक प्रशोधन केन्द्र स्थापना गरेको छ।

स्थानीय साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएका किसानहरूले एउटा प्रशोधन केन्द्र स्थापना गरेर आधुनिक तरिकाबाट गुन्द्रुक उत्पादन गरिरहेका छन्।

यसरी उत्पादित गुन्द्रुकलाई बिक्रीका लागि बजार पठाउन थालिएको गुन्द्रुक प्रशोधन उद्योगकी व्यवस्थापक निशा राना मगरले बताइन्।

प्रविधि प्रयोग गरेर कसरी बन्छ गुन्द्रुक?

रोङ गाउँपालिकास्थित गुन्द्रुक प्रशोधन उद्योगकी खाद्य प्राविधिक दीक्षा भट्टराईका अनुसार सागलाई सुरुमा सफा पानीले पखालेर मसिनो पारेर काटिन्छ। त्यसपछि ४-५ घण्टा चिसो हावामा सुकाइन्छ।

सफा गर्दाको सबै पानी चिसो हावामा सुक्छ। त्यसपछि लगाइने तातो हावाले सागको भित्री पानी घटाएर सागलाई ओइलाउन सहयोग गर्छ।

अनि सागको पात र डाँठलाई छुट्टाएर मेसिनमा राखेर थिचिन्छ। त्यसपछि गुन्द्रुक बनाउन सागलाई ड्रममा खाँदेर राखिन्छ।

“ओइलाएको सागलाई ड्रममा राख्दा अमिलो बनाउन गुन्द्रुक थपिन्छ, त्यसलाई कल्चर गर्ने भनिन्छ,” खाद्य प्राविधिक दीक्षा भट्टराईले भनिन्।

परम्परागत रूपमा कसरी हालिन्छ गुन्द्रुक?

कल्चर गर्दा हरेक ड्रममा तह तहमा थोरै थोरै अमिलो गुन्द्रुक राखेर सागलाई खाँद्ने गरिन्छ। त्यसपछि ३० डिग्री तापक्रम भएको वातानुकूलित कोठामा ड्रम राखिन्छ र एक हप्तामा ड्रमबाट गुन्द्रुकलाई बाहिर निकालिन्छ।

त्यसपछि पुनः सुकाउन ड्रायरमा राखेपछि गुन्द्रुक प्याकिङ गर्नको लागि तयार हुन्छ।

परम्परागत रूपमा घरमा गुन्द्रुक हाल्दा तोरी वा रायोको सागलाई पखालेर, घाममा ओइलाएर, हावा नछिर्ने गरी खाँदी खाँदी कुनै माटो वा प्लास्टिकको भाँडामा बन्द गरेर घाम लाग्ने न्यानो ठाउँ वा माटोमुखी केही दिन राखिन्छ।

घाममा सुकाएको लगभग दुई हप्तापछि सागको रङ्ग परिवर्तन भएर पहेँलो हुन्छ र साग गुन्द्रुक बन्छ।

यसरी अमिलो भइसकेको गुन्द्रुकलाई राखिएको भाँडाबाट बाहिर निकालेर पुनः घाममा सुकाइन्छ। जब चिसो गुन्द्रुकको सबै पानी सुकेर झुरुम झुरुम हुन्छ तब गुन्द्रुक पकाएर वा साँधेर खानका लागि तयार हुन्छ।

स्वदेश र विदेशमा नै गुन्द्रुकको माग

गुन्द्रुक प्रशोधन गरिरहेको रोङस्थित देवानछाप साना किसान कृषि सहकारी संस्थाकी व्यवस्थापक निशा राना मगरका अनुसार एक किलोग्राम गुन्द्रुक बनाउन लगभग १६ केजी साग आवश्यक पर्छ।

गुन्द्रुक बनाउँदा लाग्ने सबै रकम कटाएर प्रति किलो १ हजार ५ सय रुपैयाँमा बजारमा पठाउन सकिने उद्योगको आकलन छ।

परीक्षणको रूपमा पहिलो पटक झन्डै ६ सय किलो गुन्द्रुक प्याकिङ गरेको गुन्द्रुक उद्योगले चालु आर्थिक वर्षमा भने ५ हजार किलो सम्म गुन्द्रुक उत्पादन गरेर बजार पठाउने लक्ष्य राखेको छ।

तर गाउँमा उत्पादित रैथाने परिकार बजार पुग्न नपाउँदै यसको माग अत्यधिक आउन थालेकोले बजारको मागलाई धान्न गाह्रो हुने अवस्था देखिएको उद्योगकी व्यवस्थापक मगर बताउँछिन्।

उनका अनुसार गुन्द्रुकको माग नेपालभित्रै धेरै छ।

स्थानीय स्तरका होटेल तथा होमस्टेहरूदेखि लिएर काठमान्डूका ठूलाठूला होटेलहरूबाट पनि ठूलो परिमाणमा गुन्द्रुकको माग आइरहेको छ।

देशबाहिर भने अमेरिकामा गुन्द्रुकको धेरै माग रहेको बताइन्छ। त्यस्तै हङकङ, जापान लगायतका देशबाट पनि गुन्द्रुकको अत्यधिक माग आइरहेको छ।

हट्यो सागको बजार नपाउने किसानको समस्या

गाउँमै गुन्द्रुक बनाउने उद्योग स्थापना हुँदा बारीमा उत्पादन भएको सागले बजार नपाउने समस्याबाट आफूहरू मुक्त भएको रोङका कृषकहरू बताउँछन्।

रोङकी एक कृषक जानुका राईका अनुसार पहिला बजारको समस्या थियो।

किसानहरू साग बिक्री नभएपछि त्यसको खोले पकाएर गाई वस्तु र सुँगुरलाई खुवाउने गर्थे।

तर अहिले बजार नपाइएला र साग खेर जाला भन्ने समस्याबाट मुक्त भएको उनी बताउँछिन्।

गाउँमै साग प्रशोधन गर्ने उद्योग खुलेपछि कृषकहरू पहिला भन्दा धेरै क्षेत्रफलमा साग रोप्ने र सागलाई नै आयआर्जनको मुख्य माध्यम बनाउने योजना अनुसार काममा लागि परेका छन्।

कृषकको जाँगरका कारण पहिला बाँझै रहने र रुखो देखिने जमिनहरूमा समेत अहिले जताततै हरियाली देखिन्छ।

उद्योगले गाउँमा रोजगारीको वातावरण समेत सिर्जना गरेकोले कृषकहरूमा थप उत्साह जागेको छ।

गुन्द्रुक उत्पादनको मुख्य सिजनमा उद्योगमा दैनिक ३० देखि ३५ जना सम्मले रोजगारी पाउने गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।