कुवेतलाई हराएको खेलमा कुशलले भने - मेरो जीवनको उत्कृष्ट इनिङ

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

कुशल भुर्तेलको सङ्घर्षपूर्ण अर्ध शतक र नेपाली बलरहरूको सोचे अनुरूपको कसिकसाउ बलिङपछि नेपाली टोलीले आइसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा बुधवार राति सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो।

टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। जबाफमा आएको कुवेत १८.१ ओभरमा ८३ रन बनाएर अलआउट हुन पुग्यो।

यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्कापक्की भएको छ।

नेपाली ब्याटरको सङ्घर्ष

कुवेती बलरहरूको सामना गर्न निकै सङ्घर्ष गरेको नेपाली ब्याटिङ एक समय खराब स्थितिमा पुगेको थियो।

'पावर प्ले' को चौथो ओभरमा आएर मात्र नेपाली ब्याटरहरूले पहिलो बाउन्ड्री प्रहार गरेका थिए।

१२ औँ ओभर सम्ममा नेपाल ६३-४ को खराब स्थितिमा पुगेको थियो।

कुवेती बलिङ यति कसिकसाउ थियो कि सातौँ ओभरको खेलपछि नेपाली ब्याटरहरूले १० ओभरसम्म बाउन्ड्री कटाउन सकेका थिएनन्।

तर बलिङ मैत्री पिचमा नेपाली खेलाडीहरूले परिस्थिति अनुसार सुझबुझ प्रदर्शन गरिरहेको देखिन्थ्यो।

ओपनर कुशल भुर्तेल क्रीजमा अन्तिम ओभरसम्म डटिरहेका थिए।

अर्का ओपनर आशिफ शेख (२ रन) र कप्तान रोहित पौडेल (१६ रन) आउट भएपछि कुशलले दीपेन्द्र सिंह ऐरीसँग मिलेर दोस्रो विकेटको लागि गरेको ४१ रनको साझेदारी महत्त्वपूर्ण बन्न पुग्यो।

गुलशनको टर्निङ ओभर

दीपेन्द्र २० रनमा रन आउट भए । कुशल मल्ल (४ रन) र सन्दीप जोरा (५ रन) पनि छिटै आउट हुन पुगे।

खेलको टर्निङ प्वाइन्ट १९ औँ ओभरमा निस्कियो। कुशलले शुरुआती २ बलमा २ चौका हानेर स्ट्राइक परिवर्तन गरे।

त्यसपछि आएका गुलशन झाले ३ बलमा विशाल ३ छक्का प्रहार गर्नु अल अमेरत मैदानमा नेपाली समर्थकका लागि रोमाञ्चक क्षण बन्यो।

उक्त ओभरमा नेपालले २७ रन बटुलेको थियो।

अर्को ओभरमा ठुलो शट हान्ने प्रयासमा गुलशन आउट भए। उनले ६ बल खेलेर २० रन बनाए।

जीवनको उत्कृष्ट इनिङ

कुशल अन्तिम ओभरमा बोल्ड हुन पुगेका थिए। तर त्यतिन्जेल उनले ५६ बलमा ६६ रन बनाइसकेका थिए। जसमा ३ छक्का र २ चौका सामेल थियो।

यो उनको १२ औँ टी २० अर्ध शतक हो।

सोही प्रदर्शनका कारण म्यान अफ द म्याच बनेका उनले खेलपछि भने, " महत्त्वपूर्ण खेलमा राम्रो खेल्न सकेँ। मलाई लाग्छ यो मेरो जीवनको उत्कृष्ट ब्याटिङ मध्येको एक हो।"

उनले खेल पछि भने, "पहिलो हाफमा हामी समस्यामा थियौँ। मलाई लागेको थियो कि हामी १३० रन सम्म पुग्न सक्यौँ भने खेल नियन्त्रणमा राख्न सक्छौँ। तर गुलशनको इनिङले हामीले १४० भन्दा बढी रन जोड्न सक्यौँ।"

नेपाली बलरको बदला

जसरी कुवेती बलरहरूले नेपाली ब्याटरलाई चुनौती दिइरहेका थिए, नेपाली बलरहरूले त्यसको बदला झन् कडा लिएको देखियो।

पहिलो ओभरमा सोमपाल कामीले रविजा सन्दरुवानलाई बोल्ड गरेपछि सुरु भएको विकेट झार्ने क्रमले निरन्तरता पाइरहेको थियो।

कुवेती ब्याटरहरूले कुनै पनि बेला खुलेर खेल्न सकेनन्। न त कुनै खेलाडीले लामो इनिङ खेल्न सके न त कुनै ठुलो साझेदारी नै बन्यो।

नियमितजसो विकेट आइरहेकोले नेपाली खेमा कुनै पनि बेला दबावमा परेको देखिएको थिएन।

स्पिन मैत्री विकेटमा ललित नारायण राजवंशीले मिट भवसारलाई तेस्रो ओभरमा पवेलियनको बाटो देखाए।

४.३ ओभरमा नन्दन यादवले उस्मान घानीलाई पनि खाता खोल्न नदिई बोल्ड गरिदिएपछि पावर प्ले पूर्ण रूपमा नेपाली बलरको नियन्त्रणमा गएको थियो।

१० ओभर भित्रमा कुवेत ५६-४ को स्थितिमा पुगिसकेको थियो।

दीपेन्द्रको रन आउट

कुवेतबाट ओपनर क्लिन्टो एन्टो (२६ रन )ले मात्र नेपाली बलिङको सामना गरिरहेका थिए। तर उनी दीपेन्द्र ऐरीको अपत्यारिलो रन आउटको सिकार हुन पुगे।

९.३ ओभरमा क्लिन्टोले एक रन लिन खोज्दा दीपेन्द्रले आफ्नै बलिङमा घुमेर गरेको प्रहार डाइरेक्ट हिट हुन पुगेका थिए।

क्लिन्टो आफ्नो रन आउटमा विश्वास लागिरहेको थिएन। यता भने दीपेन्द्रले मनाएको 'समर शट जम्प' खुसी भने हेर्न लायकको देखिन्थ्यो।

सातौँ ओभरको दोस्रो बलमा क्लिन्टोले ७ रनमा जीवनदान पाएका थिए। सन्दीप लामिछानेको बलमा नन्दन यादवले लङ अफमा उनको क्याच ड्रप गर्दा त्यो छक्कामा परिणत भएको थियो।

तल्लो क्रमलाई ध्वस्त बनाउने क्रममा टीममा फर्केका सन्दीप लामिछानेले लगातार दुई बलमा विकेट लिएर ह्याट्रिक नजिक पुगेका थिए।

कप्तान रोहितले पनि दुई विकेट लिए।

रोहितको प्रशंसा

जितपछि कप्तान रोहित पौडेलले सबै खेलाडीहरूले आ आफ्नो भूमिका सही तरिकाले निभाएको भन्दै खुशी प्रकट गरे।

खेलपछि उनले भने, " पिच। गाह्रो थियो। हामी १५०/१६० सम्म पुग्ने योजनामा थियौँ। गुलशनको इम्प्याक्ट आज धेरै रह्यो। नभए हामी १२० मा समेटिन सक्थ्यौँ"

नेपालले अब शुक्रवार समूहको अन्तिम खेल जापानसँग खेल्ने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।