तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल-वेस्ट इन्डिज क्रिकेट शृङ्खलाको अर्थ यसकारण जितहारमा मात्र सीमित छैन
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
यूएईको शारजहाँमा नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले टेस्ट मान्यताप्राप्त टोली वेस्ट इन्डिजसँग 'यूनिटी कप' को नाममा तीन वटा टी२०आई खेलको शृङ्खला खेलिरहेको छ।
कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपालले खेलिरहेको यो पहिलो शृङ्खला भएकोले नेपाली क्रिकेटका लागि यो ऐतिहासिक प्रतिस्पर्धा त भई नै हाल्यो। त्यसैमा पहिलो र दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराएर नेपाली टोलीले शृङ्खलालाई थप रोमाञ्चक बनाइदिएको छ।
आज मङ्गलवार अन्तिम खेलेपछि प्रतिस्पर्धाको थप नतिजा आउने छ।
यद्यपि यो शृङ्खलाको महत्त्व भने खेलको हार वा जितमा छैन। यसले त नेपाली क्रिकेट विकासको यात्रामा एउटा पाइला अगाडि बढाएको छ।
शारजहाँमा शृङ्खला सुरु हुनुअगाडिको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले भनेका थिए, "यो शृङ्खलामार्फत् हामी विश्व क्रिकेटलाई देखाउन चाहन्छौँ कि नेपाल अब उदाउँदो क्रिकेट राष्ट्र बन्न सक्षम छ।"
जानकारहरूका अनुसार यस शृङ्खलाका मुख्य चार विशेषता यस्ता छन्।
१. खेल्नु नै जित
यदि कीर्तिपुर क्रिकेट रङ्गशालाको निर्माण पूरा भएको भए यो शृङ्खला नेपालमै आयोजना हुने थियो। यद्यपि नेपालले शारजहाँलाई घरेलु मैदान बनाएर यूनिटी कप सञ्चालन गर्न सफल भयो।
वेस्ट इन्डिज नेपालसँग खेल्न तयार हुनु नै नेपाली क्रिकेटका लागि जित भइसकेको थियो। खेलको नतिजासँग यो शृङ्खलाले ठूलो अर्थ राख्दैनथ्यो।
नेपाललाई टेस्ट राष्ट्रसँगको शृङ्खला खेल्ने ढोका खोल्नु थियो। दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजसँग शृङ्खला खेल्नुले अब भोलिका दिनमा नेपाललाई अन्य ठूला राष्ट्र खेल्नका लागि प्रस्ताव गर्न सहज हुने छ।
नेपाल क्रिकेट सङ्घले पनि वेस्ट इन्डिजसँग खेल्न यथेष्ट बजेट खर्च गर्यो। त्यसलाई सचिव खड्काले 'आगामी दिनका लागि लगानी' भने।
२. टेस्ट राष्ट्रतर्फको यात्रा
एउटा असोसिएट राष्ट्रका रूपमा नेपालले सबथोक जस्तो गरिसकेको छ।
नेपालले दुई पटक टी२० विश्वकप खेल्यो। त्यसमा पनि दक्षिण अफ्रिका र बाङ्लादेशजस्तो राष्ट्रसँग उच्च स्तरको प्रदर्शन गर्यो।
सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त (ओडीआई) राष्ट्रको मान्यता पाएपछि त्यसलाई जोगाउँदै आएको छ। छनोट भएर एशिया कप खेलिसकेको छ।
मुख्य कुरा नेपाली खेलाडीहरूको प्रदर्शनले पनि विश्व क्रिकेटलाई प्रभावित पार्न सफल भएको छ।
त्यसमा नेपाली दर्शकको समर्थकको त बेग्लै आकर्षण छ। गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको टी२० विश्वकपमा नेपाली समर्थकहरूको उपस्थिति त प्रतियोगिताकै प्रमुख आकर्षणको विषयमध्येको एक थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाललाई दुई वर्ष 'डिजिटल फ्यान इन्गेज्मेन्ट अफ द यिअर' घोषित गरिसक्यो।
बलियो क्रिकेट पूर्वाधारलगायत व्यवस्थापनका केही विषय मात्र बाँकी छन्। यस्तो बेला नेपाल र वेस्ट इन्डिजबीचको शृङ्खलाले पनि नेपाललाई आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्ने बाटोमा डोहोर्याउन इँटा थपेको ठानिएको छ।
३. विश्वकपअगाडिको हौसला
नेपाली टोली अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानको अल अमेरत क्रिकेट मैदानमा टी२० विश्वकपको एशिया प्यासिफिक छनोट प्रतियोगिता खेल्दै छ।
त्यहाँ नेपाल, ओमान, पपुआ न्यू गिनी, यूएई, जापान, कुवेत, मलेशिया, सामोआ र कतारबीच प्रतिस्पर्धा हुने छ। प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा छनोट हुने छ।
लगातार टी२० विश्वकपमा पुग्ने लक्ष्यमा रहेको नेपालको लागि वेस्ट इन्डिजसँगको शृङ्खला उत्तम अभ्यास प्रतिस्पर्धा हो।
वेस्ट इन्डिजसँगको खेलको नतिजा र उच्च स्तरका खेलाडीहरूबीचको टक्करले ओमानमा नेपाली खेलाडीले बलियो आत्मबल प्राप्त गर्ने निश्चित छ।
जस्तो कि कप्तान रोहित पौडेलले वेस्ट इन्डिजलाई हराउने आत्मविश्वास खेलअगाडि नै देखाएका थिए। पहिलो खेलको नतिजा पनि त्यही नै भयो। टोलीका सम्पूर्ण सदस्यहरूको हौसला अहिले कप्तान रोहितकै जस्तो देखिएको छ।
४. बलियो टीम
पहिलो खेलको प्रदर्शन र खेलाडीको आत्मविश्वासले देखाएको छ कि नेपाली टोली अहिले उच्च लयमा छ।
वेस्ट इन्डिजजस्तो टोलीविरुद्धको प्रदर्शनमा खेलाडीहरूले देखाएको क्षमताले नेपाल अहिले परिपक्व टोली बनिसकेको छ भन्ने सन्देश दिएको छ।
खेलाडीहरूबीचको प्रतिस्पर्धा पनि चुलिएको छ। वैकल्पिक खेलाडीहरूको सूची पनि लामो देखिसकिएको छ।
जस्तो कि पहिलो खेलमा नन्दन यादव घाइते भए, सन्दीप लामिछाने टीममै थिएनन्। तर पनि नेपालको बलिङ धारमा कमी देखिएन। बरु बलिङकै कारण वेस्ट इन्डिजलाई १२९ रनमा रोक्न नेपाल सफल भयो।
अहिले टीममा आदिल आलम फर्किएका छन्। शाहब आलमजस्ता खेलाडीहरू तयार रहेका छन्।
यी सबै कुराले वेस्ट इन्डिजविरुद्धको खेलमा मात्र होइन, त्यो भन्दा महत्त्वपूर्ण एशिया क्षेत्रीय छनोटमा नेपाली टोली छनोट हुने आधार बलियो बनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।