पृथ्वीमा ठोकिन सक्ने ठानिएका यी चार क्षुद्रग्रह जसमाथि वैज्ञानिकहरू निगरानी गर्दै छन्

तस्बिर स्रोत, SPL
- Author, यमिसी अडेगोके
- Role, बीबीसी विश्व सेवा
तपाईँले 'एस्टेरोइड' अर्थात् क्षुद्रग्रहबारे कुनै 'साइन्स फिक्सन' चलचित्र हेर्दा वा कुनै त्यस्तो खगोलीय पिण्ड पृथ्वीमा बज्रने खतराबारे समाचार आएपछि मात्र सोच्नु हुन्छ होला। तर विश्वभरि नै धेरै संस्थाहरू र 'अब्जर्भेटरी'हरूले क्षुद्रग्रहरूलाई निरन्तर निगरानी गरिरहेका हुन्छन् र त्यसका धेरै कारणहरू छन्।
क्षुद्रग्रहरू हाम्रो सौर्यमण्डल बन्दै गर्दा झन्डै ४.६ अर्ब वर्षअघि अन्तरिक्षणमा छुटेका चट्टानी वस्तुहरू हुन्। हालसम्म थाहा भएअनुसार १० लाखभन्दा बढी क्षुद्रग्रहरू छन् र तीमध्ये अधिकांश क्षुद्रग्रह मुख्य 'एस्टेरोइड बेल्ट' भनेर चिनिने मङ्गल र बृहस्पति ग्रहको बीचबाट सूर्यलाई परिक्रमा गर्ने स्थानमा छन्।
ओपन यूनिभर्सिटी यूकेको प्लानेटरी एन्ड स्पेस साइन्सेज्की प्रोफेसर एमेरिटा मोनिका ग्रेडीका अनुसार त्यस्ता क्षुद्रग्रहमध्ये केही पृथ्वीको नजिक आउँछन् र तिनले जीवनको उत्पत्तिलाई अध्ययन गर्न सहयोग पुर्याउँछन्।
उनी भन्छिन्, "यीमध्ये केहीमा व्यापक मात्रामा अर्गानिक कम्पाउन्ड वा रसायनका यौगिक हुन्छन् र ती जीवन निर्माणको वास्तविक स्रोत हुन सक्छन्।"
"पृथ्वीमा यस्तै क्षुद्रग्रहबाट आएका तत्त्वहरूका कारण यहाँ जीवन सम्भव भएको र त्यो लगातार चलिरहेको हो भन्ने एउटा अवधारणा पनि छ।"
अधिकांश क्षुद्रग्रहरू खासै कुनै पनि प्रकारको हानि नगरी र खासै धेरैले भेउ पनि नपाउने गरी पार हुन्छन्। तर कतिपय क्षुद्रग्रह यस्ता पनि हुन्छन् तिनलाई निगरानी गर्नुपर्ने हुन्छ।
यूकेको यूनिभर्सिटी अफ एडिन्बराको स्कूल अफ फिजिक्स एन्ड एस्ट्रोनमीका अनुसन्धानकर्ता अगाट रोजेक भन्छन्, "पृथ्वीको नजिक आउने वस्तुहरूबारे व्यापक चासो हुन्छ। तिनीहरूको कक्षको प्रभावलाई अस्वीकार गर्न अनि कहिलेकाहीँ प्रभावहरूको आकलन गर्न ती वस्तुहरूलाई पर्याप्त मात्रामा नचिन्दासम्म नजिकबाट निगरानी गरिन्छ। पृथ्वीबाट धेरै पर हामी अझ असामान्य संरचनायुक्त वस्तुहरू खोज्ने गर्छौँ।"

तस्बिर स्रोत, NASA/Ben Smegelsky
आकारका हिसाबले ठूलो आकारका क्षुद्रग्रहरू खासै हानि गर्ने खालका हुँदैनन्।
रोजेक भन्छन्, "हामीलाई तिनीहरू कहाँ छन् र कहाँ जाँदैछन् भन्ने थाहा छ। हामीलाई तिनको गतिलाई नियन्त्रण गर्ने तरिकाबारे पनि धेरै जानकारी छ अनि तिनीहरूलाई राम्रोसँग बुझ्नका लागि असामान्य घटनाहरूको हामी अध्ययन गर्छौँ।"
"साना र पत्ता नलागेका घटनाहरू भने उनीहरूको कक्षको गतिविधिबारे थाहा नभएसम्म चिन्ताको विषय बन्ने सम्भावना बढी हुन्छ।"
यहाँ हामीले हाल निगरानीमा राखिएका तीन र नासाले विशेष मिशन पठाएर अनुसन्धान गरिरहेको अर्को एक गरी चार क्षुद्रग्रहरूबारे चर्चा गरेका छौँ।
१. एपोफिस

तस्बिर स्रोत, NASA
इजिप्टमा प्रचलित संस्कृतिअन्तर्गतका एक देवताको नाममा नाम राखिएको एपोफिस सन् २००४ मा पत्ता लागेको थियो।
सुरुमा त्यसलाई नासाले पृथ्वीका लागि खतरनाक र पृथ्वीमा ठोकिने थौरै सम्भावना भएको क्षुद्रग्रह भएको बताएको थियो।
तर पछि नासाले "कम्तीमा आगामी १०० वर्षसम्म एपोफिस पृथ्वीमा ठोकिने खतरा नभएको" घोषणा गर्यो।
"अहिले हामीलाई के थाहा छ भने यो सन् २०२९ को एप्रिल १३ मा पृथ्वीलाई सुरक्षित रूपमा नाघेर जाने छ," रोजेकले भने।
"उक्त क्षुद्रग्रह पत्ता लागेपछि त्यो व्यापक रूपमा भूमिमा आधारित अवलोकन अभियानको विषय बनेको थियो र यो निकै नजिकबाट जान्छ भन्ने पाइएको थियो। त्यो नजिक भनेको जिओस्टेशनरी स्याटलाइट भएको क्षेत्रजस्तै हो। पृथ्वीको यति नजिक आउँदा यसमा त्यसमा गुरुत्वको असर पर्न सक्छ र आकार बदलिन सक्छ भन्ने हामीलाई लाग्छ।"
नासाका अनुसार पृथ्वीको गुरुत्वाकर्षणले पनि तरङ्ग उत्पन्न गर्नेछ र त्यसले सूर्य वरिपरि एपोफिसको कक्षलाई परिवर्तन गर्नेछ अनि त्यसमा केही साना पहिराहरू पनि निम्त्याउन सक्छ।
अव्यवस्था र अन्धकारका प्रतीक मानिने देवताको नाम दिइएको एपोफिस करिब ३४० मिटर व्यासको अर्थात् यूकेको तीनवटा फुटबल पिचजत्रो रहेको छ अनि यो पृथ्वीको सतहबाट ३२ हजार किलोमिटर नजिकै आएर जाने छ। यसलाई त्यस बेला नाङ्गो आँखाले देख्न सकिने छ।
२. २०२४ वाईआर४ (2024 YR4)

तस्बिर स्रोत, ATLAS
नासाको अनुमानमा ४०-९० मिटर चौडा अर्थात् झन्डै १५ तले भवनजत्रो ठानिएको '२०२४ वाईआर४' (2024 YR4) नामकरण गरिएको क्षुद्रग्रह सन् २०२४ मा पत्ता लागेको थियो।
हालै सन् २०३२ मा उक्त खगोलपिण्ड पृथ्वीमा बज्रन सक्ने अलिकति सम्भावना रहेको कुरा प्रकाशमा आएपछि त्यसले विश्वभरि चर्चा बटुलेको थियो।
अनुसन्धानकर्ताहरूले उक्त क्षुद्रग्रह पृथ्वीमा ठोकिने खतरा ३२ मा एक रहेको पनि बताएका थिए तर पछि त्यसलाई नासाले खण्डन गरिदियो।
ग्रेडी भन्छिन्, "पृथ्वीसँग ठोक्किने क्षुद्रग्रह अवलोकन गर्दा आउने एउटा चुनौती भनेको यसको सम्भावना कति छ भनेर निर्णय गर्नु हो। हामीले त्यो कक्षको प्रक्षेपणलाई यकिन गर्न अवलोकन गरिरहनुपर्छ।"
अझै पनि उक्त क्षुद्रग्रह चन्द्रमामा ठोकिने सम्भावना ३.८ प्रतिशत रहेको छ तर नासाले यदि त्यस्तो भएमा पनि हाम्रो प्राकृतिक उपग्रह अर्थात् चन्द्रमाको कक्षमा खासै फरक नपर्ने बताएको छ।
३. डिडिमस र डाइमोर्फस

तस्बिर स्रोत, NASA/Johns Hopkins APL/Steve Gribben
डिडिमसको अर्थ ग्रीक भाषामा जुम्ल्याहा भन्ने हुन्छ। त्यसैका नाममा नामकरण गरिएको क्षुद्रग्रह डिडिमस हो र त्यसलाई परिक्रममा गर्ने डाइमोर्फस त्यसको एउटा सानो चन्द्रमा हो।
दुवैलाई पृथ्वीका निम्ति खतरा मानिएको छैन तर पनि ती दुवै पृथ्वीनजिकै आएर पार हुने बताइएको छ।
यिनीहरू सन् २०२२ मा नासाको डबल एस्टेरोइड रिडाइरेक्शन टेस्ट (डीएआरटी) को निसानामा थिए।
नासाले डाइमोर्फसलाई प्रहार गर्नका लागि एउटा 'प्रोब' पठायो र उक्त प्रक्रियाका क्रममा त्यो आफैँ त्यही नष्ट भयो।
उक्त कार्यको लक्ष्य भनेको पृथ्वीमा ठोकिन सक्ने अन्तरिक्ष चट्टानहरूलाई सुरक्षित रूपमा अर्को बाटोमा मोड्न सकिन्छ कि सकिँदैन भनेर परीक्षण गर्नु थियो।
त्यस बेला डाइमोर्फस र डिडिमसलाई सावधानीपूर्वक छनोट गरिएको थियो।
उक्त परीक्षण गर्नुअघि पनि दुवै पृथ्वीसँग जुध्ने बाटोमा थिएनन् र र उनीहरुको कक्षमा गरिएको सानो परिवर्तनले जोखिम बढाएको थिएन।
"उक्त मिशनले डाइमोर्फसलाई असर गर्यो र यस्ता क्षुद्रग्रहबाट हुन सक्ने खतरालाई रोक्ने पहिलो व्यावहारिक परीक्षणमा डिडिमस वरिपरि यसको कक्षमा परिवर्तन भयो," रोजेक भन्छन्।
"त्यो परिवर्तन मुख्य रूपमा पृथ्वीमा आधारित अवलोकन प्रयोग गरेर मापन गरिएको थियो। हामी उक्त ठक्करपछिको अनुसन्धान गर्न अर्को वर्ष हेरा मिशन सुरु हुनुअघि यो निगरानीलाई जारी राख्छौँ।"
४. साइकी

तस्बिर स्रोत, NASA
नासाका अनुसार साइकी नामक क्षुद्रग्रहलाई मुख्य एस्टेरोइड बेल्टको सबैभन्दा रोचक वस्तुमध्ये एक मानिन्छ।
यो सन् १८५२ मा पत्ता लागेको थियो। यसको नाम ग्रीक संस्कृतिकी आत्माकी देवीको नाममा राखिएको हो।
साइकी पृथ्वीभन्दा धेरै नै टाढा छ र यसले मङ्गल र बृहस्पतिको बीचबाट सूर्यको परिक्रमा गर्छ। यो धातु र चट्टानहरूले बनेको ठानिएको छ।
उक्त क्षुद्रग्रहमा भएका धातुहरू 'प्लानेटेसिमल' अर्थात् ग्रहहरू बन्ने क्रममा सुरुको अवस्थाको गर्भबाट आएको भन्ने वैज्ञानिकहरू सोच्छन्।
उनीहरू त्यसको अनुसन्धानले पृथ्वीको गर्भमा के छ र अन्य ग्रहहरू कसरी बने बन्ने रहस्य खोल्ने ठान्छन्।
नासाले सन् २०२३ मा यसको अध्ययनका लागि एउटा विशेष मिशन सुरु गरेको थियो।
नयाँ पत्ता लागेका कुरा

तस्बिर स्रोत, NSF-DOE Vera C. Rubin Observatory
भेरा रुबिन अब्जर्भेटरीले उसको नयाँ टेलिस्कोपले जम्मा १० घण्टामा पृथ्वीनजिकै २,००० वटा नयाँ क्षुद्रग्रह र सात वटा अन्तरिक्षमा पाइने वस्तुहरू फेला पारेको थियो।
अन्य अब्जर्भेटरीले वार्षिक रूपमा अन्तरीक्ष र जमिनमा गरी झन्डै २०,००० क्षुद्रग्रहहरू पत्ता लगाउने गरेका छन्।
"यदि तपाईँ रातको समयमा पूरा आकाशको चित्र हेर्न चाहनुहुन्छ भने तपाईँले अति नै व्यापक दृष्टिबाट हेर्नुपर्छ। भेरा रुबिन टेलिस्कोपले पनि त्यही गर्छ," प्राध्यापक ग्रेडी भन्छिन्।
अब्जर्भेटरीले उक्त परियोजनाका पहिला केही वर्षमा लाखौँ नयाँ क्षुद्रग्रहहरू पत्ता लगाउने अपेक्षा गरेको जनाएको छ।
त्यसले वैज्ञानिकहरूलाई अवलोकन गर्न थप धेरै क्षुद्रग्रहहरू उपलब्ध गराउने छ र हाम्रो सौर्यमण्डलबारे थप रहस्यहरू खोल्न मद्दत गर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








