'अद्भुत' टेलिस्कोपका प्रथम तस्बिरहरू जसले घातक क्षुद्रग्रहहरू पत्ता लगाउन सक्छ

 ट्रिफिड र लगून नेबुलाका गुलाफी निलो र सुन्तला रङ्गको ग्यास र धुलोको बादल

तस्बिर स्रोत, NSF-DOE Vera C. Rubin Observatory

तस्बिरको क्याप्शन, भेरा रुबिन टेलिस्कोपले खिचेको ट्रिफिड र लगून नेबुलाको आश्चर्यचकित बनाउने गरी विस्तृत तस्बिर

चिलीमा एक शक्तिशाली नयाँ टेलिस्कोपले खिचेका पहिला तस्बिरहरू जारी गरिएको छ जसले ब्रह्माण्डको गहन र अँध्यारो गहिराइमा चियाउन सक्ने उसको शक्ति उजागर भएको छ।

एउटा तस्बिरमा पृथ्वीदेखि ९,००० प्रकाशवर्ष दूरीमा तारा बन्ने क्षेत्रमा विशाल रङ्गिन ग्यास र धुलोको बादल भुमरी झैँ घुमिरहेको देखिन्छ।

विश्वकै शक्तिशाली डिजिटल क्यामेरा राखिएको द भेरा सी. रुबिन अब्जर्भेटरीले ब्रह्माण्डको हाम्रो बुझाइलाई बदल्न सक्छ।

वैज्ञानिकहरू भन्छन्, यदि हाम्रो सौर्य प्रणालीमा नवौँ ग्रह छ भने यो टेलिस्कोपले उसले काम सुरु गरेको पहिलो वर्षमै त्यो पत्ता लगाइदिन सक्छ।

तीनवटा ठूला भवन एउटा मरुभूमिको पहाडमा अवस्थित छन् र एउटामा गुम्बज आकारको छाना छ। पृष्ठभूमिमा आकाश निलो र सुक्खा देखिन्छ।

तस्बिर स्रोत, RubinObs

तस्बिरको क्याप्शन, चिलीको उच्च पहाडी भेगमा अवस्थित रुबिन अब्जर्भेटरी र रुबिन अक्जिलरी टेलिस्कोप

यसले पृथ्वीबाट नजिक रहेका र पृथ्वीसँग ठोक्किन सक्ने क्षुद्र ग्रहहरू पत्ता लगाउने छ र आकाशगङ्गाको मानचित्र बनाइदिने छ। यसले हाम्रो ब्रह्माण्डको अधिकांश हिस्सा ओगट्ने रहस्यमयी डार्क म्याटर बारेका सवालको जबाफ पनि दिनेछ।

खगोल विज्ञानमा एक पुस्तामा एक पटक आउने क्षणका रूपमा हेरिएको यो घटना आगामी दश वर्षसम्म दक्षिणी रात्रिकालीन आकाशको अवस्थिति खिच्ने कामको सुरुवात पनि हो।

"म व्यक्तिगत रूपमा यस योजनामा काम गरिरहेको २५ वर्ष भयो। दशकौँदेखि हामीले यस्तो काम गर्ने अद्भुत केन्द्र निर्माण गर्न चाहन्थ्यौँ जसले यस्तो सर्भे गर्न सक्थ्यो," स्कटल्यान्डकी खगोलशास्त्री प्रोफेसर क्याथरिन हेमन्सले भनिन्।

यो सर्भेमा यूके एक प्रमुख साझेदार हो। यसको डेटा सेन्टर यूकेमै रहने छ जहाँ टेलिस्कोपले खिचेर पठाएका भ्याएजति आकाशका विस्तृत विवरणको विश्लेषण गरिने छ।

भेरा रुबिनले हाम्रो सौर्य प्रणालीमा रहेका हामीलाई थाहा भएका वस्तुको सङ्ख्या दश गुणा बढाइदिन सक्छ।

भेरा सी रुबिन अब्जर्भेटरीले खिचेको भर्गो क्लस्टरको तस्बिर

तस्बिर स्रोत, NSF-DOE Vera C. Rubin Observatory

तस्बिरको क्याप्शन, ग्यालेक्सीहरूको विशाल समूह जुन आकाशगङ्गाभन्दा १०० अर्ब गुणा ठूलो छ

टेलिस्कोपले खिचेका पहिला तस्बिरहरू जारी हुनु अघि बीबीसी न्यूजले भेरा रुबिन अब्जरभेटरीको भ्रमण गरेको थियो।

चिलीको सेरो पाचोँ नामको एन्डिज पर्वत शृङ्खलामा रहेको अग्लो पहाडमा यो अवस्थित छ जहाँ अरू पनि खगोल अध्ययनका अब्जर्भेटरीहरू छन्।

असाध्यै उचाइमा, असाध्यै सुक्खा र असाध्यै अँध्यारो। यो ताराहरू हेर्न सही स्थान हो।

यो अँध्यारोपन बनाइराख्नु अत्यन्त महत्त्वपूर्ण छ। नत्र प्रकाश प्रदूषणले राति आकाशको दृश्य अपेक्षित स्पष्ट हुन्न। त्यसैले राति त्यहाँ जाँदा घुमाउरो सडक हुँदै असाध्यै होसियारीसाथ बसमा तलमाथि गर्नु पर्छ किनभने फूल बीम हेडलाइट प्रयोग गर्न पाइँदैन।

अब्जरभेटरीको भित्री भाग पनि धेरै फरक छैन।

रातिको समयमा आकाशतर्फ खुल्ने टेलिस्कोप रहेको डोममा अँध्यारो बनिरहोस् भन्ने निश्चित गर्न छुट्टै इन्जिनियरिङ इकाई नै क्रियाशील छ। यसले अनावश्यक एलईडी लाइट र अन्य लाइट पनि बन्द गर्छ ताकि आकाशमा देखिने ताराका प्रकाशलाई कुनै असर नपरोस्।

ताराबाट आउने प्रकाश नै खगोलको दृश्यावलोकनका लागि "यथेष्ट" रहेको कमिशनिङ वैज्ञानिक इलाना उर्बाख भन्छिन्।

अब्जरभेटरीको एउटा ठूलो लक्ष्य चाहिँ ब्रह्माण्डको इतिहास पत्ता लगाउनु हो जसको अर्थ मधुरा तारामण्डल अनि अरबौँ वर्ष अगाडि भएका सुपरनोभा विस्फोटनहरू पनि देख्न सक्नु।

इलाना भन्छिन्, "त्यसैले हामीलाई असाध्यै स्पष्ट देखिने तस्बिर चाहिन्छ।"

अब्जर्भेटरीको हरेक पक्षको डिजाइन असाध्यै ध्यान लगाएर बनाइएको छ।

सेतो क्लीनरुम सुट भनिने लुगा लगाएका एक व्यक्ति टेलिस्कोप नजिकै बसेका छन्

तस्बिर स्रोत, SLAC National Accelerator Laboratory

तस्बिरको क्याप्शन, भेरा रुबिनको क्यामेरा ३२०० मेगापिक्सेलको छ जुन अमेरिकी डीपार्टमेन्ट अफ इनर्जीको एसएलएसी न्याशनल एक्सीलरेटर ल्याबोरेटरीले बनाएको हो

यसले आफ्नो विशेष तीन ऐना जडित डिजाइनबाट लक्ष्य प्राप्त गर्न सक्छ। रातिको आकाशबाट आउने प्रकाश यो टेलिस्कोपभित्र छिर्छ प्रथम ऐनामा (८.४ मिटर ब्यास) ठोकिन्छ, दोस्रो ऐनामा (३.४ मिटर ब्यास) परावर्तन हुन्छ र तेस्रो ऐनामा (४.८ मिटर ब्यास) छिर्छ अनि त्यसपछि मात्र क्यामेरामा प्रवेश गर्छ।

ऐनाहरू पनि असाध्यै सफा अवस्थामा हुनुपर्छ। धुलोको एक कणले पनि तस्बिरको गुणस्तर फरक पार्न सक्छ।

ऐनाको उच्च परावर्तन क्षमता र गतिका कारण टेलिस्कोपले धेरै प्रकाश लिन सक्नु "असाध्यै महत्त्वपूर्ण" रहेको, अब्जर्भेटरीका अप्टिक विज्ञ गीलेम मेगिआस भन्छन् । जसका कारण "धेरै टाढाको वा खगोलशास्त्रीय हिसाबमा धेरै वर्ष पहिलाको तस्बिर पनि आउँछ।"

यो टेलिस्कोपभित्र रहेको क्यामेराले हरेको तेस्रो दिन रातिको आकाश दश वर्षसम्म खिचिरहने छ र यसको लक्ष अन्तरिक्ष र समयको इतिहास बुझ्नु हो ।

आकारमा १.६५ x ३ मिटर रहेको यसको तौल २८०० किलो हुन्छ र यसले विशाल दृश्य क्षेत्र उपलब्ध गराउँछ।

यसले करिब ४० सेकेन्डमा एउटा तस्बिर खिच्नेछ, हरेक रात ८ देखि १२ घण्टासम्म त्यो काम गरिरहने छ।

यसको क्यामेरा ३२०० मेगापिक्सेल्सको छ जुन आइफोन१६ प्रोको क्यामेरा भन्दा ६७ गुणा बढी क्षमताको हो।

मेगिआसले भने, "जब हामीले यहाँ पहिलो तस्बिर पायौँ त्यो असाध्यै विशेष क्षण थियो।"

"मैले जब यो आयोजनामा काम गर्न थालेँ, त्यहाँ सन् १९९६ देखि काम गर्न थालेका व्यक्तिलाई भेटेँ। म त १९९७ मा जन्मेको हुँ। यसबाट तपाईँले महसुस गर्न सक्नुहुन्छ कि यो खगोलविद्हरूको एक पुस्ताको प्रयास हो।"

प्रति रात करिब १ करोड डेटा आउँछ जसलाई विश्वभरका सयौँ वैज्ञानिकले विश्लेषण गर्ने छन्।

सर्वेक्षणले चार क्षेत्रमा काम गर्ने छ; आकाशमा हुने परिवर्तन, आकाशगङ्गाको निर्माण, सौर्यमण्डलको मानचित्र, कसरी ब्रह्माण्ड बन्यो भन्ने कुरा वा डार्क म्याटरबारेको हाम्रो बुझाइ।

यसको सबभन्दा ठूलो शक्ति यसको स्थिरतामा छ। यसले एउटै क्षेत्रलाई बारम्बार सर्भे गरिरहने छ र हरेक समय जब यसले परिवर्तन देख्छ तब वैज्ञानिकहरूलाई सचेत गर्ने छ।

 अब्जर्भेटरीभित्रको दृश्य

तस्बिर स्रोत, RubinObs

तस्बिरको क्याप्शन, क्यामेरा र ठूला ऐना

प्रोफेसर हेमन्स भन्छिन्, "यो क्षणिक पक्ष वास्तवमा एउटा नयाँ र अनौठो चिज हो जुन पहिले कहिल्यै गरिएको थिएन। यसले हामीलाई यस्तो चिज देखाउन सक्छ जुन हामीले यस अघि कहिल्यै सोचेकै थिएनौँ"

र, यसले अचानक पृथ्वीको निकट आउने खतराजन्य वस्तुहरू पत्ता लगाएर हामीलाई जोगाउन पनि सक्छ जस्तो कि एस्टोरोएड YR4 जसको बारेमा वैज्ञानिकहरू यो वर्षको सुरुतिर केही समयका लागि चिन्तित भएका थिए।

क्यामेराका ठूल्ठूला ऐनाले वैज्ञानिकहरूलाई प्रकाशको सानोभन्दा सानो किरण पत्ता लगाउन सहयोग गर्छन्। अनि अन्तरिक्षमा तिनको गति र दिशा ट्र्याक गर्न सहयोग गर्छन्।

डरहम विश्वविद्यालयकी प्रोफेसर एलिस डेसन भन्छिन्, "यो परिवर्तनकारी छ। हाम्रो आकाशगङ्गाबारे थाहा पाउनका लागि अहिलेसम्मकै सबभन्दा ठूलो डेटासेट हो। यसले आगामी कैयौँ वर्षसम्म हामीले जे गर्छौँ त्यसलाई सहयोग पुर्‍याउने छ।"

उनले प्राप्त तस्बिरका आधारमा आकाशगङ्गामा ताराहरू कति टाढासम्म फैलिएका छन् भन्ने विश्लेषण गर्ने काम गर्ने छिन्।

अहिलेसम्म ताराबाट प्राप्त तथ्याङ्कबाट १६३ हजार प्रकाशवर्ष पछाडिसम्मका देखिएको छ तर भेरा रुबिनले १२ लाख प्रकाश वर्ष टाढासम्मको कुरा हेर्न सकिन्छ।

प्रोफेसर डेसनले आकाशगङ्गाको प्रभामण्डल वा समय सँगै नष्ट भएका ताराहरूको झलक र साना साना तारामण्डल पनि हेर्न सकिने अपेक्षा गरेका छन्। साथै अहिलेसम्म सक्रिय तर निकै मधुरो भइसकेका र पत्ता लगाउन कठिन ससाना तारामण्डल पनि हेर्न सकिने उनी ठान्छन्।

आश्चर्यको कुरा के छ भने भेरा रुबिन यति शक्तिशाली छ कि यसले अन्तत: हाम्रो सौर्य मण्डलमा नवौँ ग्रह छ कि छैन भन्ने रहस्य चाहिँ अवश्य सुल्झाउने छ भन्ने विश्वास राखिएको छ।

त्यो वस्तु पृथ्वी र सूर्यको बीचको दूरीभन्दा ७०० गुणा टाढा पनि हुन सक्छ जुन अन्यत्र राखिएका टेलिस्कोपको पहुँचभन्दा टाढा हो।

प्रोफेसर हेमन्स भन्छिन्, "यो नयाँ र सुन्दर अब्जर्भेटरीले कसरी काम गर्छ भन्ने बुझ्न हामीलाई लामो समय लाग्छ सक्छ तर म त्यसका लागि तयार छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।