जेम्स वेब: अन्तरिक्ष टेलिस्कोपले खिचेको बृहस्पतिको अभूतपूर्व दृश्य

तस्बिर स्रोत, NASA/ESA/CSA/Jupiter ERS Team/Judy Schmidt
विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अन्तरिक्ष टेलिस्कोपले बृहस्पति ग्रहको अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ।
जेम्स वेब टेलिस्कोप (जेडब्ल्यूएसटी)ले जुलाई महिनामा हाम्रो सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिरहरू खिचेको हो।
ती तस्बिरहरूमा ग्रहको दुवै ध्रुवका उच्च भागमाथिका आकाशमा सूर्यका कारण देखिने रङ्गिन प्रकाश अर्थात् अरोराहरू, विशाल आँधीहरू, चन्द्रमाहरू र बृहस्पति वरपरको घेरो विस्तृत रूपमा देखिन्छ।
जसलाई खगोल शास्त्रीहरूले "अद्भुत" बताएका छन्।
रङ्गिन
ती इन्फ्रारेड तस्बिरहरूमा ग्रहका विशेषता झल्काउने गरी कृत्रिम ढङ्गले रङ्ग भरिएको हो।
मानव आँखाले इन्फ्रारेड प्रकाश नदेख्ने भएकाले त्यसो गरिएको हो।
"बृहस्पतिलाई हामीले यस्तो कहिल्यै देखेका थिएनौँ। यो सबै निकै अद्भुत छ," ग्रहहरूका विशेषताबारे अध्ययन गर्ने खगोलशास्त्री इम्के डे पाटेरले भनिन्।
युनिभर्सिटी अफ क्यालिफोर्नियाकी यी वैज्ञानिकले यस कामका लागि मुख्य भूमिका निर्वाह गरेकी थिइन्।
उनले थपिन्, "साँच्चिकै भन्नुपर्दा यो त्यति गज्जब होला भन्ने हामीले ठानेका थिएनौँ।"
जेडब्ल्यूएसटी १० अर्ब अमेरिकी डलर खर्चेर अमेरिकी अन्तरिक्ष संस्था नासाको नेतृत्वमा विकास गरिएको अन्तर्राष्ट्रिय सहकार्यको काम हो।
जसमा युरोपेली अन्तरिक्ष निकाय र क्यानेडेली अन्तरिक्ष निकाय समेत साझेदारका रूपमा छन्।
जेम्स वेबको कमाल
नासाका अनुसार सहजै हेर्न सकिने बृहस्पतिको यो सिङ्गो दृश्यलाई उक्त टेलिस्कोपबाट खिचिएका कैयौँ तस्बिरहरू जोडेर तयार पारिएको हो।
यसैबीच पृथ्वीलाई समेत निल्न सक्ने विशाल आकार भएको 'द ग्रेट रेड स्पट' भनिने बृहस्पतिको प्रख्यात आँधी सेतो रङ्गमा देखिएको छ।
निकै धेरै सूर्यको प्रकाश प्रतिबिम्बित भएकाले यो सेतो रङ्गमा देखिएको हो।
जेडब्ल्यूएसटी सन् २०२१ को डिसेम्बरमा प्रक्षेपण गरिएको हो।
यो अहिले पृथ्वीबाट १६ लाख किलोमिटर पर रहेको छ।
यसले 'बिग ब्याङ' भनिने ब्रम्हाण्डको महाविस्फोट भएको केही क्षणपछि - १३ अर्ब वर्षअघि - पृथ्वीतर्फ यात्रा गर्न थालेको प्रकाशलाई पहिचान गर्न सक्छ।
चर्चित हबल टेलिस्कोपको उत्तराधिकारीको रूपमा हेरिएको जेडब्ल्यूएसटी कम्तीमा आउँदो २० वर्षको अन्वेषणका लागि अहम् हुने ठानिएको छ।











