तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पसँगको विवादले इलोन मस्कको व्यवसायमा पर्न सक्छन् यस्ता असर
- Author, लिली जमाली
- Role, उत्तर अमेरिका प्रविधि संवाददाता
इलोन मस्कले हालै आफू राजनीतिबाट अलग हुने घोषणा गरेपछि उनले सञ्चालन गरिरहेका कैयौँ प्रविधि कम्पनीहरूमा उनको संलग्नता बढ्ने अपेक्षा लगानीकर्ताहरूले गरेका थिए।
तर राष्ट्रपति डोनल्ड ट्रम्पसँगको उनको विवाद सतहमा आएसँगै उनीहरू मस्कको प्राथमिकता फेरि पनि ती कम्पनीहरूमा नपर्ने बुझाइमा छन्।
सार्वजनिक चासोबाट अलग भएर टेस्लासहितका उनका उद्यमहरूको भविष्य बनाउनुको साटो मस्क फेरी पनि आफ्ना ग्राहकबाट बहिस्कारको सामना गर्ने अवस्थामा पुगेका छन्।
तर यसपटक चाहिँ ट्रम्पको सरकारबाटै बहिष्कारको खतरा छ।
मस्कले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको आलोचना गरेसँगै टेस्लाको शेअर बिहीवार एकै दिन १४ प्रतिशतले घटेको थियो।
दुई जनाबीचको आक्रोश केही मत्थर भएको सङ्केतपछि शुक्रवार त्यो शेअर केही बढ्यो।
तर यसो भए पनि मस्कले आफ्नो ध्यान फोन बन्द गरेर कम्पनीतर्फ नलगाएसम्म उनको व्यवसाय साधारण अवस्थामा नफर्कने लगानीकर्ता र विश्लेषकहरूको बुझाई छ।
'टेस्ला पछि परिसक्यो'
कतिपयका बुझाइमा मस्कको व्यवसाय अहिले देखिएको भन्दा पनि ठूलो समस्यामा छ।
मस्कले ट्रम्प प्रशासनमा निर्वाह गरेको विवादास्पद भूमिकाले व्यवसायलाई अन्त्यको बाटोमा लगेको उनीहरू बताउँछन्।
अनुभवी प्रविधि पत्रकार कारा स्विशर टेस्लाका हकमा ठिक त्यस्तै भएको बताउँछिन्।
"टेस्ला सकिइसक्यो," उनले बीबीसीसँग भनिन्। "त्यो एउटा भव्य कम्पनी थियो। स्वचालित ट्याक्सीको क्षेत्रमा तिनले प्रतिस्पर्धा गर्न सक्थे तर अहिले धेरै पछि परिसके।"
टेस्लाले लामो समयदेखि गुगलको मातृ कम्पनी अल्फाबेटले चलाएको वाइमोसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ।
वाइमोका चालकरहित ट्याक्सीहरू सान फ्रान्सिस्कोमा केही वर्षदेखि सञ्चालनमा थिए। अहिले ती ट्याक्सीहरू अरू सहरहरूमा पनि विस्तार भइरहेका छन्।
यस महिना मस्कको टेस्लाका पहिलो चरणका स्वचालित ट्याक्सीहरू टेक्ससको अस्टिनमा सुरु गर्ने तयारी छ। मस्कले गत साता टेस्लाका मोडल वाई कारहरु चालकबिनै सञ्चालनको परीक्षण भएरहेको बताएका थिए।
"टेस्लाका भविष्यका ९० प्रतिशत उत्पादनहरू चालकरहित वा रोबोटमा आधारित हुन्छन्," वेडबुस सेक्युरिटिजका विश्लेषक डान इभ्स भन्छन्।
तर मस्कको ध्यान बाँडिएका कारण यो परियोजनाको सफलताको सम्भावना पछि धकेलिएको छ।
सिलिकन भ्यालीमा भइरहेका पछिल्ला छलफलहरू मस्कले आफ्नो अनुकूलतामा व्यवसाय ल्याउन सक्छन् कि सक्दैनन् भन्दा पनि उनको ध्यान त्यसमा छ कि छैन भन्नेमा केन्द्रित देखिन्छन्।
"उनी यदि केही कुरामा ध्यान दिएर लागे भने साँच्चिकै शक्तिशाली व्यक्ति छन्," कावासाकी वेल्थ एन्ड इन्भेस्टमेन्ट म्यानेजमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोस गर्बर भन्छन्।
"यसअघि उनले विद्युतीय सवारी बनाउन सक्छन् भनेर विश्वसामु प्रमाणित गर्नुपर्ने अवस्था थियो। त्यसपछि उनले रकेट बनाउँछन् भन्ने कुरा। उनले कैयौँ कुरा प्रमाणित गर्नु थियो," उनी भन्छन्।
लामो समयदेखि टेस्लाका लगानीकर्ता गर्बरको पुँजी टेस्लाको शेअर मूल्यसँगै घट्दो छ। मस्क राजनीतिमा लागेपछि उनले आफ्नो लगानी अझै बढाएका थिए। बिहीवारलाई उनले निकै पीडादायी दिन भने।
"अमेरिकाका राष्ट्रपति भन्दा आफूसँग बढी शक्ति छ भनेर सोच्नु सबैभन्दा मूर्ख काम हो," ट्रम्पसँग मस्कको सामाजिक सञ्जाल टिप्पणीबारे गर्बर भन्छन्।
बीबीसीले मस्कको प्रतिक्रियाका लागि एक्स, टेस्ला र स्पेस एक्ससँग सम्पर्क गरे तापनि कुनै जबाफ प्राप्त भएन।
टेस्लाको सङ्कट
मस्कका लागि एउटा प्रमुख समस्या चाहिँ के छ भने ट्रम्पसँग उनको देखिनेगरी शत्रुता बढ्नु अगाडी नै आम मानिसहरूमा उनको कार कम्पनी बहिस्कारको अभियान सामाजिक सञ्जालमा सुरु भयो।
ट्रम्पको पद बहालीसँगै सामाजिक सञ्जालमा 'टेस्ला टेकडाउन' अभियान कैयौँ सहरहरूमा देखिए।
एप्रिलको विवरण अनुसार यस वर्षका पहिलो तीन महिनामा टेस्लाका कारहरूको बिक्री २० प्रतिशतले घटेको छ। त्यसैगरी टेस्लाको नाफा ७० प्रतिशतले घट्दा शेअर मूल्यमा पनि ठूलो गिरावट देखियो।
"उनले सरकारी निकायलाई टुक्र्याएर हाम्रो प्रजातन्त्रको भविष्यबारे निर्णय लिनु हुँदैन थियो। त्यो सही थिएन," फेब्रुअरीमा क्यालिफोर्निया स्थित टेस्लाको बिक्री कक्षबाहिर प्रदर्शनमा आएकी लिन्डा कोइस्टिनेनले बीबीसीसँग भनिन्।
सामाजिक सञ्जालमा टेस्ला बहिस्कारको अभियान चलाएका जोन डोनोभान आफूहरूको विरोध टेस्लाका विरुद्ध नभएको बताउँछन्।
"विरोध यसको स्टक कसरी मानिसहरूविरूद्ध हतियारको रूपमा प्रयोग गरियो र यसले मस्कलाई यो हदसम्मको पारदर्शितारहित शक्ति दियो भन्ने हो," उनी थप्छन्।
मानिसहरूमा मस्कप्रति आक्रोशको अर्को कारण ट्विटर भनेर चिनिने सामाजिक सञ्जालमा उनले बढाएको आफ्नो साम्राज्य हो।
"उनले एकै पटक करोडौँ मानिसहरूसम्म पुग्नका लागि ट्विटर किने," डोनोभान भन्छन्।
निजी ब्रान्डको सम्भावना
यति हुँदा हुँदै पनि अर्को सम्भावना जीवितै छ। मस्को ट्रम्पसँगको कटुताले यसअघि ट्रम्पसँगको निकटताका कारण चिढिएका मानिसहरूमाझ उनी फेरी जम्न सक्लान्?
मूर इनसाइट्स एन्ड स्ट्राटेजीका प्रमुख विश्लेषक प्पाट्रिक मूरहेड यस्तो सम्भावना रहेको बताउँछन्।
"हामी सहजै माफी दिन सक्ने देश हौँ," मूरहेड भन्छन्। "तर यस्तो हुनका लागि समय चाहिँ लाग्छ।"
स्विशर दुई दशकअघि माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको व्यक्तिगत ब्रान्डसँग मस्कको तुलना गर्छिन्।
कुनै समय सिलिकन भ्यालीमा अशिष्ट व्यवहार गर्ने व्यक्तिको छवि बनाएका गेट्सले बिस्तारै आफ्नो छविमा सुधार गरेको उनी सुनाउँछिन्।
"उनले सिके। मानिस परिवर्तन हुनसक्छ," स्विशर भन्छिन्।
ट्रम्पको निर्णयमा मस्कको भविष्य
मस्क र उनका कम्पनीको भविष्य उनले कति ध्यान दिन्छन् भन्नेमा मात्रै सीमित छैन। त्यो कुरा ट्रम्पको निर्णयमा पनि भर पर्छ।
ट्रम्पको चुनावी अभियानको खर्च र प्रचार प्रसार दुवैमा सघाएका मस्कलाई अब ट्रम्पले कस्तो व्यवहार गर्छन् भन्ने प्रस्ट छैन।
ट्रम्पले मस्कसँग सम्बन्धित कम्पनीका सरकारी सम्झौताहरू कटौती गर्ने सङ्केत गरिसकेका छन्। अहिले मस्कका कम्पनीहरूले सरकारसँग मिलेर ३८ अर्ब अमेरिकी डलर बराबरका परियोजनाहरू सञ्चालन गरिरहेका ठानिएको छ।
त्यसको सबैभन्दा ठूलो हिस्सा मस्कको रकेट कम्पनीलाई जान्छ। त्यसको अर्थ ट्रम्पसँगको मनमुटावले स्पेस एक्सको भविष्यमा पनि असर पर्न सक्छ।
यद्यपि ट्रम्पको चेतावनी देखावटी मात्रै हुनसक्ने अनुमान पनि गरिएका छन्।
स्पेस एक्सको ड्रागन अन्तरिक्षयानले अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म मानिस र सामान ओसार्दै आएको छ। अहिले नासाका तीन जना अन्तरिक्षयात्रीहरू यहाँ पुगेका छन्।
अमेरिकी अन्तरिक्ष र राष्ट्रिय सुरक्षाका क्षेत्रमा स्पेस एक्सले लिएको स्थान अब ट्रम्पको धम्कीकै कारण हटाउन कठिन छ। त्यस्तै अवस्था मस्कको स्याटलाइटमा आधारित इन्टरनेट कम्पनी स्टारलिङ्कको पनि छ। यसको विकल्प भनेजस्तो सजिलो छैन।
त्यसकारण ट्रम्प र मस्क दुवैले एक अर्काविरुद्ध चाल्नसक्ने कदमका सीमितता छन्।
ट्रम्पसँगको विवादपछि मस्कले ड्रागन अन्तरिक्षयान फिर्ता बोलाउने धम्की दिएका छन्। तर उनी यो विचारबाट पछाडि फर्किइसकेका छन्। उनले सामाजिक सञ्जालमा उक्त यान फिर्ता नबोलाउने बताएका छन्।
एउटा कुरा चाहिँ प्रस्ट छ। मस्क र ट्रम्पको मित्रता टुटेको छ। तर उनीहरूको एक अर्कामाथिको परनिर्भरता टुङ्गिएको छ भन्न सकिने अवस्था छैन।
अब मस्कका व्यवसायको भविष्य के हुन्छ भन्ने चाहिँ ट्रम्प र उनको प्रशासनले लिने आगामी कदमहरूमा धेरै कुरा भर पर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।