तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्प राष्ट्रपति बनेपछि इलोन मस्कलाई कस्तो फाइदा
- Author, लिली जमाली
- Role, सान फ्रान्सिस्को संवाददाता
डोनल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमन उनका एक प्रखर समर्थक इलोन मस्कका लागि पनि जित प्रमाणित बन्न सक्छ। उनी विश्वका सर्वाधिक धनी व्यक्ति हुन्।
मतदान सम्पन्न भएको रात उनी ट्रम्पसँगै फ्लोरिडाको मार-अ-लागो रिसोर्टमा थिए।
“अमेरिकाका जनताहरूले @realDonaldTrump लाई सुस्पष्ट जनादेश दिएका छन्,” आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल 'एक्स'मा ट्रम्पको जित सुनिश्चित देखिएपछि उनले लेखे।
पाम बीच कन्भेन्शन सेन्टरबाट आफू विजयी भएको घोषणा गर्ने क्रममा ट्रम्पले केही बेर मस्कको प्रशंसा गरे। ट्रम्पले मस्कको कम्पनी 'स्पेसएक्स'ले बनाएको रकेटको सफल अवतरणको प्रसङ्ग पनि कोट्याए।
जुलाई महिनामा पेन्सिल्भेनिआको बट्लरमा पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास भएपछि मस्क तत्काल उनको पक्षमा आफू उभिए।
ट्रम्पले मस्कलाई कस्तो जिम्मेवारी दिन सक्छन्
मस्क राष्ट्रपति पदमा निर्वाचित भएका ट्रम्पका सर्वाधिक महत्त्वपूर्ण समर्थक हुन्।
प्रविधिजगत्का यी अर्बपतिले ट्रम्पलाई पुन: निर्वाचित गराउने उद्देश्यसहित ११ करोड ९० लाख डलरभन्दा बढी चन्दा दिएर 'सुपर पीएसी' गठन गरेका थिए।
निर्वाचनअघिका अन्तिम केही साता उनले कडा प्रतिस्पर्धा हुने ठानिएका ‘ब्याटलग्राउन्ड स्टेट’हरूमा बिताए। ती राज्यमा उनले प्रत्येक दिन एक मतदातालाई १० लाख डलर पुरस्कार पनि दिए। त्यसविरुद्ध मुद्दा परेको थियो। तर एक न्यायाधीशले त्यसरी पुरस्कार वितरण गर्न पाइने आदेश दिए।
चुनावको क्रममा नाम, पैसा र आफ्नो मञ्च ट्रम्पको पक्षमा उभ्याएका मस्कले यो मतपरिणामबाट धेरै कुरा पाउन सक्छन्।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आफ्नो प्रशासनमा "सरकारको फोहोर" हटाउन मस्कलाई निम्त्याउने घोषणा गरिसकेका छन्।
मस्कले उक्त सम्भावित प्रयासलाई ‘डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सी’ (डीओजीई) अर्थात् सरकारको प्रभावकारिता मन्त्रालय नामकरण गरेका छन्। डीओजीई उनले चर्चित बनाएको मीम र क्रिप्टोकरेन्सीको पनि नाम हो।
मस्कले ट्रम्पको राष्ट्रपतीय कार्यकालमा स्पेसएक्समा रहेको आफ्नो स्वामित्वका कारण पनि लाभ पाउन सक्छन्। उक्त कम्पनीले सरकारी भूउपग्रहहरूलाई अन्तरिक्षमा पठाउने व्यवसायमा आफ्नो प्रभुत्व जमाइसकेको छ।
सरकारसँगको निकट सम्बन्धबाट मस्कलाई कस्तो लाभ पुग्न सक्छ
आफ्ना निकट साझेदार ह्वाइट हाउसमा हुँदा मस्कले आफ्नो निजी सम्बन्ध र सम्पर्क प्रयोग गरी सरकारबाट थप लाभ लिने प्रयास गर्न सक्छन्।
मस्कले बोइङजस्ता आफ्ना प्रतिस्पर्धी कम्पनीहरूसँग सरकारले गरेका करारहरूको संरचनाको आलोचना गर्दै आएका छन्। उनका अनुसार त्यस्तो संरचनाले निर्धारित बजेट र समयमा परियोजना सम्पन्न गर्न प्रोत्साहित गर्दैन।
स्पेसएक्स कम्पनी जासुसी भूउपग्रहहरूको निर्माणमा पनि अघि बढेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र अमेरिकी गुप्तचर निकायहरू त्यसका लागि अर्बौँ डलर लगानी गर्न तयार भए जस्तो देखिन्छ।
मस्कको विद्युतीय कार निर्माण कम्पनी टेस्लाले ट्रम्पले भन्ने गरेको ‘नियमनको न्यूनतम दायित्व’बाट फाइदा लिन सक्ने देखिन्छ।
गत महिना मात्रै सडक सुरक्षाको क्षेत्रमा कार्यरत अमेरिकी नियमनकारी निकायले टेस्लामा प्रयुक्त स्वचालित गुड्ने सफ्टवेअर प्रणालीबारे जाँच भइरहेको बताएको थियो।
मस्कमाथि टेस्लाका कर्मचारीहरूलाई यूनियन बनाउन रोकेको आरोप लागेको छ। एक्समा ट्रम्पसँग भएको एउटा संवाका क्रममा मस्कले हडताल गर्ने कर्मचारीहरूलाई कामबाट हटाउने बताएपछि 'यूनाइटेड अटो वर्कर्स'ले श्रमसम्बन्धी अनुचित व्यवहार गरेको आरोप लगाउँदै दुवै जनाविरुद्ध उजुरी दर्ता गराएको छ।
ट्रम्पले कर्पोरेशन र धनीहरूप्रति लक्षित कर घटाउने वाचा गरेका छन्। मस्कले त्यो वचन ट्रम्पले सम्भवत: पूरा गर्ने अपेक्षा राखेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।