तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इलोन मस्कका बुवा एरोलको नजरमा छोरा मस्क
- Author, मारिया जेफ्ताजजेवा
- Role, बीबीसी रुसी सेवा
इलोन मस्क संसारका सबैभन्दा धनी व्यक्ति हुन् र उनी उच्च राजनीतिक शक्ति भएका अधिकारीहरूसँग राम्रो पहुँच भएका प्रविधि उद्यमीका रूपमा चिनिन्छन्। बीबीसीले मस्कका बुबा एरोलसँग कुरा गरेर इलोनको बाल्यकाल र कतिपयले "अनौपचारिक अमेरिकी राष्ट्रपति" भनिएका व्यक्ति बन्न उनको बाल्यकालको भूमिका कस्तो रह्यो भन्नेबारे बुझ्ने प्रयास गरेको छ।
"उसले मलाई मैले किन्न चाहेको दुईवटा इन्जिन भएको विमानका लागि केहि रकम पठायो," एरोलले आफ्ना प्रभावशाली छोरासँग गरेको पछिल्लो कुराकानीबारे व्याख्या गर्दै भने, "मलाई अलिकति पैसाको कमी थियो र उसैले केही पैसा पठायो र मैले किन्न सकेँ, त्यसैले मैले 'धन्यवाद' भनेँ।"
उनका अनुसार अन्तर्वार्ताको अघिल्लो दिनमात्रै उनलाई इलोनले पैसा पठाएका थिए।
एरोलले केप टाउन नजिकैको तटमा रहेको आफ्नो आवासबाट जुममा मसँग बोल्दा उनी आत्मविश्वासी देखिन्थे।
इलोनको बाल्यकालबारे अन्तर्वार्ता गर्न मैले केही साता अगाडि उनलाई इमेल गरेको थिएँ र जब उनले अर्को दिन "हुन्छ" भनेर प्रतिक्रिया पठाए म अचम्ममा परेँ।
सन् १९७१ मा दक्षिण अफ्रिकी राज्य प्रेटोरियामा जन्मिएका इलोनलाई उनका इन्जिनियर बुवा र मोडल आमाले हुर्काएका थिए।
उनका आमाबुवाको सम्बन्धविच्छेद भएपछि इलोन सन् १९८९ मा क्यानडा जानुअघि धेरैजसो बुवासँग नै बसे।
एरोलका अनुसार इलोन "एकदमै राम्रो र समस्या नभएका बालक" थिए जसले जे चाह्यो त्यही पाउँथे। उनले आफ्नो छोरा "एक नम्बर" नहुँदासम्म रोकिने छैनन् भन्ने आफूलाई पहिल्यै थाहा भएको बताए।
अहिले इलोन टेस्ला, स्पेस एक्स, र एक्स सञ्चालन गर्छन्। वालस्ट्रीट जर्नलले फेब्रुअरीमा उनको सम्पत्ति ४१९.४ अर्ब डलर रहेको अनुमान गरेको छ।
अमेरिकी राष्ट्रपतिका सबैभन्दा देखिएका सल्लाहकार बनेका उनी सरकारको खर्च नियन्त्रणसम्बन्धी मन्त्रालय डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसिअन्सी (डिओजीई) का प्रमुख हुन्।
बढ्दो पीडा
इलोनको आफ्ना बुबासँगको सम्बन्ध लामो समयदेखि जटिल रहेको छ र उनले आफ्नो बाल्यकाललाई अशान्त र दुखद रहेको उनको जीवनी लेखक एश्ली भ्यान्सलाई बताएका छन्।
"विद्यालयमा गुन्डाहरूको समूहले पछ्याउँछन् अनि घर फर्कियो त्यहाँ पनि अवस्था उस्तै हुन्छ," उनले सम्झिए।
अर्को जीवनीमा इलोनका भाइ किम्बलले वाल्टर आइज्याक्सनसँग बुवाले आफूहरूलाई बच्चा हुँदा मौखिक रूपमा दुर्व्यवहार गर्ने गरेको बताएका छन्।
"उहाँ चिच्याउँदै घण्टौँसम्म उपदेश दिनुहुन्थ्यो। तिमीहरू बेकार र काम नलाग्ने भन्दै अपमानजनक र घातक टिप्पणीहरू गर्नु हुन्थ्यो।"
सन् २०१७ को एउटा अन्तर्वार्तामा इलोनले आफ्ना बुवालाई "एक जना खराब मानिस" भनेका थिए।
एरोलले भने इलोनले त्यसो किन भने होलान् भनेर आफूलाई थाहा नभएको बताए। "म अहिले ऊसँग प्रायः कुरा गर्छु। मलाई लाग्छ समयसँगै उसले माफी माग्न सक्छ।"
"छोराहरू पनि केही हदसम्म आफ्ना बुबासँग प्रतिस्पर्धा गर्छन् भन्ने सम्झिनुस्," उनले थपे।
"तँ अल्छी र सुस्त होस् र आफ्ना लागि काम गर् भन्नुपर्छ । परिणामस्वरुप बलियो पुरुष बन्ने अवसर मिल्छ," उनले त्यसमा जोड दिँदै भने।
एरोल र इलोनबीच धेरै कुरा मिल्दा छन्। दुवैजना व्यापारी हुन्, दुवै विवादास्पद मानिन्छन् र दुवैका धेरै सन्तान छन्। एरोलका सात जना छन् भने इलोनको १४ जना भएको ठानिन्छ।
एरोलले सुरुमा आफ्ना तीन छोरीहरू रहेको बताउँदा म अचम्मित भएको थिएँ।
लगत्तै उनले आफूलाई सच्याए। उनले त्यसपछि आफ्नी चौथो छोरी पनि रहेको भन्दै असहज हाँसेर "आफूले बिर्सिने गरेको" बताए।
एरोलले कामका कारण कतिपय सन्तानलाई वास्ता नगरेको भन्दै उनीहरूले आलोचना गरेका छन्। तर उनले आफ्ना सबै सन्तानलाई समान ध्यान दिने प्रयास गरेको बताए।।
जाना र एरोलको पहिलो सन्तान तब जन्मिएको थियो जब जानाको उमेर लगभग ३० र एरोलको ७० वर्षको आसपास थियो। उनीहरूले दोस्रो सन्तान पनि जन्माए तर अब उनीहरू सँगै छैनन्।
उनीहरूको अफेअरले एरोल र इलोनबीचको सम्बन्धमा दूरी ल्याएको भनिए पनि एरोलले भनेका छन् अब उनीहरू बीचको संवाद फेरि सामान्य भएको छ।
राजनीति र अपमान
मैले एरोललाई इलोनले पोल्याण्डका विदेशमन्त्रीलाई सार्वजनिक रूपमा "सानो मान्छे" भनेर अपमान गरेको कुरा सम्झाएँ।
के जब आफ्नो छोराले सार्वजनिक रूपमा अरूलाई दुर्व्यवहार गरेको देख्छन् उनलाई त्यसबाट चिन्ता लाग्छ?
"म इलोनको बारेमा वा कुनै पनि मेरा बच्चाहरूको बारेमा हरेक शब्दको बारेमा चिन्ता गर्छु किनकि म कतै तिनीहरूले आफूलाई समस्यामा पार्ने शब्द उच्चारण गर्लान् भनेर डराउँछु," एरोलले भने।
"उहिल्यै ऊ सानै हुँदा नै मैले भन्ने गर्थेँ- तैँले ठूलो मानिसलाई मूर्ख भन्न हुँदैन,'" एरोल सम्झन्छन्।
"र, ऊ भन्थ्यो, 'किन तिनीहरू मूर्ख छन्' र म भन्थेँ, हो, तिनीहरू मूर्ख छन्, तर तैँले तिनीहरूलाई त्यसो भन्न हुँदैन।"
तर एरोललाई राजनीतिको दुनियाँमा यो छुट छ भन्ने लाग्छ, "मानिसहरू एक दिन एक अर्काको नाम काट्ने गर्छन् अनि अर्को दिन तिनीहरू गठजोड गर्छन्।"
शक्तिमा इलोनको प्रभाव रहेको स्पष्ट देखिए पनि एरोललाई आफ्नो छोरा राजनीतिमा उपयुक्त होइन भन्ने लाग्छ।
"ऊ एक प्राविधिक व्यक्ति हो। प्राविधिक मानिस काम अर्थपूर्ण होस् भन्ने चाहन्छ," उनले इलोनलाई सबै किसिमका मानिसहरूसँग काम गर्न सहज नभएको बताउँदै भने।
"त्यस्ता मानिसहरूसँग पनि काम गर्नुपर्छ जो केवल लोकप्रिय हुन्छन् तर पूर्ण रूपमा मूर्ख हुन सक्छन्।"
तर सबै राजनीतिज्ञबारे एरोल उस्तै धारणा राख्दैनन्। केही छन् जसलाई उनी र उनको परिवारले राम्रो ठान्छ – उदाहरणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन।
"यदि पुटिनलाई अन्तर्राष्ट्रिय राजनीतिको सन्दर्भमा नभई व्यक्तिका रूपमा हेर्ने हो भने उनीप्रति सम्मान व्यक्त नगर्न सकिँदैन," एरोल भन्छन्। "उनी अद्भूत कुरा गर्छन्। उनीबाट प्रभावित नहुन कठिन छ।"
इलोनको पनि यही धारणा हो भनेर मैले सोध्दा एरोलले त्यस्तै हो भनेर पुष्टि गरे।
मैले जब युक्रेनमाथिको आक्रमणबारे सोधेँ एरोलले भने, "यो पहिला कसले सुरु गरेको हो भन्ने समयले मात्रै बताउने ।" तर त्यसको सुरुवात रुसी आक्रमणबाट भएको स्पष्ट प्रमाण छन्।
अन्तर्वार्ताको क्रममा जब मैले उनको राजनीतिक दृष्टिकोणबारे चुनौती दिँदै सोधेँ उनी त्यस्तो बेला कहिले हाँसे त कहिले आँखाका नानी घुमाए।
युद्धको सुरुमा युक्रेनलाई स्टारलिङ्क उपलब्ध गराउनु सही निर्णय थियो भन्ने एरोललाई लाग्छ। तर द्वन्द्व लम्बिँदै जाँदा इलोनका धारणाहरू परिवर्तन भए।
वित्तीय चासोका कारण इलोनको दृष्टिकोण परिवर्तन भएको दाबीलाई अस्वीकार गर्दै उनले भने, "हाम्रो परिवारसँग सबै कुरा छ। हामीलाई थप पैसाको आवश्यकता छैन।"
पछाडि बिलियार्ड टेबल देखिने एउटा ठूलो कोठाबाट मसँग कुरा गर्दा उनी बेलाबेला थप उत्साहित पनि हुन्थे र बारम्बार इशारा गर्दै भन्थे, "हामीसँग सबै कुरा छ।"
अन्तर्वार्ताको अन्त्यतिर एरोललाई मैले इलोनबारे मानिसहरूलाई के कुरा थाहा छैन भनेर सोधेँ।
एरोलले आफ्ना छोरा इलोन सार्वजनिक रूपमा बोल्दा उनमा आत्मविश्वासको कमी रहेको बताउँछन्।
"ऊ लजाउँछ। भीडको अगाडि मञ्चमा उभिन उसले अझै सिक्दै छ," एरोल भन्छन्।
"जे भन्नुपर्नेछ उसले जतिसक्दो चाँडो भनिसक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।