तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्विटर खरिद गर्नु निकै कष्टकर रह्यो: इलोन मस्क
- Author, जेम्स क्लेटन
- Role, बीबीसी नर्थ अमेरिका, प्रविधि संवाददाता
ट्विटरको स्वामित्व लिने कार्य पीडादायी एवं एकदमै उतारचढावपूर्ण रहेको इलोन मस्कले बीबीसीसँगको निकै छोटो समयको तयारीमा लिइएको अन्तर्वार्तामा बताएका छन्। यी अर्बौँपति उद्यमीले सही क्रेता भेटिए आफू ट्विटर बेच्न इच्छुक रहेको समेत बताएका छन्।
कार उत्पादक टेस्ला र रकेटसम्बन्धी काम गर्ने कम्पनी स्पेस एक्सका मालिक मस्कले गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका थिए।
स्यान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयबाट प्रत्यक्ष प्रसारण गरिएको अन्तर्वार्तामा व्यापक कर्मचारी कटौती, मिथ्या सूचना र उनको काम गर्ने शैलीको बारेमा चर्चा गरिएको थियो।
अन्तर्वार्तामा उनले ट्विटरका ८ हजारमध्ये धेरै कर्मचारीलाई हटाइएको विषयको बचाउ गर्दै त्यति नगरेको भए कम्पनी टाट पल्टने थियो भनेका छन्।
यद्यपि, उनले एक न्यायाधीशले आफूलाई उक्त खरिदका लागि बाध्य पार्न सक्ने सम्भावनाका कारण आफूले ट्विटर खरिद गरेको स्वीकारे।
साथै उनले बीबीसीको ट्विटर खातामा ट्विटरले राखिदिएको ‘सरकाद्वारा प्रायोजित सञ्चार संस्था’को विशेषण हटाएर ‘जनताद्वारा प्रायोजित सञ्चार संस्था’ राख्ने विषयमा सहमति जनाए। यसअघि ट्विटरले राखिदिएको विशेषणप्रति बीबीसीले आपत्ति जनाएको थियो।
ट्विटर किनेपछिको अनुभव
अन्तर्वार्ताका दौरान उनले प्रतिप्रश्न गर्दै ट्विटर सञ्चालन गर्ने आफ्नो शैलीको बचाउसमेत गरे।
ट्विटर खरिद गरेकोमा पछुतो छ? भन्ने प्रश्नमा, विश्वका दोस्रो धनी व्यक्ति मस्कले भने: “मैले अत्यधिक पीडा महसुस गरेको छु। यो कुनै उत्सवजस्तो पक्कै छैन।“
ट्विटरमा हालसम्मको आफ्नो समयबारे मस्कले भने: “यो त्यति पट्यार लाग्दो छैन तर उतारचढावपूर्ण भने छ।”
“पछिल्ला केही महिनाहरू तनावपूर्ण रह्यो,” उनले थप भने। यद्यपि, ट्विटर किन्ने आफ्नो निर्णय अझै पनि आफूलाई सही लाग्ने उनले बताए।
सन् २०२२ को सुरुवातमा उनले ट्विटरमा आफ्नो केही अंश कायम गरे र त्यसपछि उक्त एप किन्ने प्रस्ताव अघि सारे। तर पछि सम्झौताबाट पन्छन खोजेको भन्दै ट्विटरले उनीविरुद्ध मुद्दा दायर गर्यो।
“अहिलेसम्म कामहरू राम्रै भइरहेको छ र ट्विटर प्रयोगकर्ता पनि बढेको देखिन्छ,” उनले भने।
कार्यभारका कारण कहिलेकाहीँ आफू कार्यालयमै निदाउने गरेको मस्कले सुनाए। कार्यालयको पुस्तकालयमा कोही नजाने आफूले थाहा पाएको र त्यहीँ रहेको एक सोफामा आफू सुत्ने गरेको उनले बताए।
उनले आफूले बेलाबखत गर्ने विवादास्पद ट्विटहरूबारे पनि बोले- “हो मैले धेरै पटक ट्विट गरेर आफ्नै खुट्टामा बन्चरो हानेको छु।”
“मलाई लाग्छ मैले बिहानको तीन बजेपछि ट्विट गर्नु हुँदैन।”
बीबीसीलाई दिएको विशेषणबारे...
बीबीसीको मुख्य ट्विटर खातामा सरकाद्वारा प्रायोजित सञ्चार संस्था लेख्ने निर्णयबारे मस्कले भने- “मलाई थाहा छ बीबीसीलाई सरकारी सञ्चारमाध्यमको विशेषण दिँदा बीबीसीलाई मन पर्दैन।”
यसै साताको सुरुवातमा बीबीसीले ट्विटरलाई आफ्नो खातामा राखिएको विशेषण “अविलम्ब” सच्च्याउन पत्राचार गरेको थियो।
“बीबीसी सधैँ स्वतन्त्र थियो र छ। हामी ब्रिटिश जनताले लाइसेन्स शुल्कको लागि तिरेको रकमबाट सञ्चालित छौँ,” पत्रमा भनिएको छ।
मस्कले अहिले उक्त विशेषण फेर्ने प्रसङ्गमा भने- “हामी आफूलाई सच्च्याउन प्रयासरत छौँ।”
“वास्तवमा बीबीसीप्रति मेरो उच्च सम्मान छ।“
यस अन्तर्वार्ता आफ्ना लागि “केही जिज्ञासा मेट्ने” र “के फरक गर्दा ठीक हुन्छ भन्नेबारे सुझाव लिने” अवसर बनेको उनले बताए।
बीबीसी यूकेको राष्ट्रिय प्रसारक हो र सरकारसँग सम्झौता भएको रोयल चार्टरमार्फत् यो सञ्चालन हुन्छ। यो यूकेका मानिसहरूले तिर्ने लाइसेन्स शूल्कमार्फत् प्रायोजित छ जुन सन् २०२२ मा ३.८ अर्ब पाउन्ड थियो। यो बीबीसीको कुल आम्दानीको ७१ प्रतिशत रकम हो।
बीबीसी सञ्चालनका लागि बाँकी रकम व्यावसायिक गतिविधि र अनुदान, रोयल्टी र भाडामार्फत् हुने आम्दानीबाट आउँछ।
बीबीसीले प्रतिवर्ष ९ करोड पाउन्डभन्दा बढी रकम सरकारबाट बीबीसी विश्व सेवाको लागि पाउँछ। उक्त सेवाले यूकेबाहिरका पाठकहरूलाई समाचार सम्प्रेषण गर्छ।
ट्विटरको स्थिरतामाथि प्रश्न
ट्विटर बिस्तारै सञ्चालन घाटा नहुने अवस्थामा पुगिरहेको उनले बताए। यसका अधिकांश विज्ञापनदाताहरू फर्किएको उनले बताए। कुनै समय आठ हजार कर्मचारी रहेको कम्पनीबाट व्यापक कटौती गरेर कर्मचारी सङ्ख्या १५,०० मा झारिनु सहज नभएको उनले बताए।
मस्कले ट्विटर किनेपश्चात् त्यहाँका अधिकांश इन्जिनियरहरूको बहिर्गमनले उक्त सञ्जालको स्थिरतामाथि प्रश्न उठाएको थियो।
उनले सञ्जालमा सेवा अवरुद्धलगायत केही समस्याहरू भएको र त्यसलाई समाधान गरी सामान्य अवस्थामा फर्किएको बताए।
मस्कलाई ट्विटरमा व्याप्त मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिबारे पनि प्रश्न सोधिएको थियो। उनले आफ्नो स्वामित्वमा आएपछि ट्विटरमा त्यस्ता सामग्री निकै घटेको दाबी गरे। साथै स्वचालित खाताहरू बन्द गर्ने आफ्नो प्रयासले मिथ्या सूचना घटाउने उनको विश्वास छ।
तर, अन्य विज्ञहरूले भने उनको दाबीको खण्डन गरेका छन्। एक अध्ययनले मस्कले ट्विटर लिएपछि मिथ्या सूचना प्रवाह गर्ने खाताहरू बढेको देखाएको थियो। अन्य अध्ययनहरूले पनि उस्तै नतिजा देखाएको छ।
ट्विटरको प्रमाणित खाताहरूको निरन्तरताबारे मस्कले “तिनीहरूमा भएको नीलो टिको अर्को साताको अन्त्यसम्ममा हटाइने” बताए।