तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सामाजिक सञ्जालः 'घृणा फैलाएको' मा प्रतिबन्धमा परेकाहरू ट्विटरमा फर्कँदै
- Author, डिस्इन्फरमेसन टिम
- Role, बीबीसी मोनिटरिङ
सामाजिक सञ्जालको एउटा सेवा ट्विटरमा हालसालै प्रतिबन्ध फुकुवा गरिएका सयौँ खाताहरूका प्रयोगकर्ताले दूर्व्यवहार वा गलत सूचना फैलाइरहेको बीबीसीले गरेको अनुसन्धानले देखाएको छ।
नयाँ लगानीकर्ता इलोन मस्कको नेतृत्वमा पुनः स्थापित गरिएका १,१०० भन्दा बढी खाताहरूलाई बीबीसी मोनिटरिङ्गले विश्लेषण गरेको थियो।
त्यसमा एक तिहाइ भन्दा बढीले उक्त प्ल्याटफर्ममा समस्याकारी सामग्रीहरू पोस्ट गरिरहेका छन्। अधिकांशले ट्विटरमा फर्किए लगत्तै त्यस्तो गरिरहेको पाइएको छ।
मस्कले भने आफू ''स्वतन्त्र अभिव्यक्तिको कट्टर पक्षधर'' रहेको बताउने गरेका छन्।
गत नोभेम्बरमा प्रतिबन्धमा परेका ''कानुन नतोडेका वा गम्भीर स्प्याममा सङ्लग्न नभएका'' खाताहरूलाई उनले ''आम रूपमा माफी'' दिने घोषणा गरेका थिए।
ट्विटरको नियमले जाति, लिङ्ग वा यौनिकता लगायतका विषयहरूलाई लिएर हिंसा, प्रत्यक्ष रूपमा आक्रमण र अरूलाई धम्की दिन निषेध गर्छ।
उक्त सामाजिक सञ्जालले बाल यौन शोषण प्रवर्द्धन गर्ने कुनै पनि सामग्रीप्रति "शून्य सहनशीलताको" दृष्टिकोण अपनाएको दाबी गर्दछ।
तर पुनः सञ्चालनमा आउन दिइएका कैयौँ खाताहरूले यी नियमहरू तोडिरहेको हाम्रो अध्ययनले सङ्केत गरेको छ।
- हाम्रो डेटासेटमा झन्डै १९० खाताहरूले घृणा र हिंसालाई फैलाउन प्रोत्साहन दिइरहेका थिए जसमा बलात्कारको चित्रणका साथै महिला र एलजिबिटि समुदाय प्रति लक्षित दुर्व्यवहारका गतिविधि पाइएका थिए
- हामीले केही खातामा बाल यौन दुर्व्यवहार देखिने केही चित्रहरू समावेश गरिएको फेला पार्यौँ
- हामीले मूलतः निर्वाचन र कोभिड विरुद्धको खोप बारे मिथ्या सूचना फैलाउने २७० भन्दा बढी खाताहरू पनि फेला पारेका थियौँ। तर ती मध्ये सबै सामग्रीले ट्विटरको विद्यमान नियमहरू भने तोडेका थिएनन्
हामीले हाम्रो अध्ययन (डेटासेट) इलोन मस्कले ट्विटर आफ्नो स्वामित्वमा लिएको पहिलो दिन सन् २०२२को अक्टोबर २७ तारिख देखि ज्यानुअरी १० तारिखकाबीच अनि १०,००० भन्दा बढी 'फलोअर्स' भएका खाताहरूमा सीमित गर्यौँ।
यी खाताहरू पछिल्लो केही महिनामा पुनः सञ्चालनमा आएका हजारौँ त्यस्ता खाताहरूको एउटा अंश मात्रै हो।
समस्याग्रस्त सामाग्रीको पहिचान गर्न हामीले 'किवर्ड' खोजी देखि दर्जनौँ खाताहरूको एक एक गरेर विश्लेषण गर्यौँ। कतिपय अवस्थामा हाम्रो डेटासेटमा रहेका प्रत्येक खाताका सयौँ पोस्टहरूको पनि हामीले विश्लेषण गर्यौँ।
सम्भव भएसम्म हामीले विगतमा के कारणले त्यो खाता प्रतिबन्धमा परेको थियो भन्ने विषयबारे ज्ञात कारण पनि टिप्यौँ। त्यसो भए ट्विटरमा कस्ता किसिमका खाताहरू पुनः सञ्चालनमा आएका छन् त?
घृणाका कैयौँ प्रकार
हाम्रो डेटासेटमा रहेका ट्विटरमा फर्किएका खातहरूमध्ये स्त्रीद्वेशी टिप्पणी गर्ने गरेको इतिहास भएका खाताहरू थिए।
धेरैले चिन्ने एन्ड्रु टेट नाम गरेका एक जना 'अनलाइन इन्फ्लुएन्सर' ले बलात्कृत हुनुको केही जिम्मेवारी पिडित महिलाहरूले लिनुपर्ने धारणा विगतमा व्यक्त गरेका थिए।
मानव तस्करी र बलात्कारबारे अनुसन्धानको विषयलाई लिएर उनलाई हाल रुमेनियामा नियन्त्रणमा लिइएको छ।
प्रतिबन्ध फुकुवा गरिएसँगै ट्विटरमा उनको ख्याति व्यापक रूपमा बढेको छ। सन् २०२२को नोभेम्बर महिनामा उनलाई पच्छ्याउनेको सङ्ख्या १५०,००० थियो जुन हाल बढेर ५० लाख पुगेको छ।
अर्को एक समूहले बारम्बार समलिङ्गी समुदायमाथि निशाना साँध्ने गरेको छ।
हामीले उनीहरूलाई "बिरामी मानिस", "ग्रूमर" अनि " बाल यौन दुराचारी" भनेर अपमानजनक रूपमा उल्लेख गर्ने ट्विटहरू देख्यौ।
सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच) का इमरान अहमदका अनुसार उनको संस्थाले मस्कले ट्विटरको स्वामित्व लिएपछि महिला र समलिङ्गी समूहहरू प्रति घृणित शब्दावलीका साथै जातिवादी गालीहरूमा वृद्धि भएको देखेको छ।
सबै निलम्बित खाताहरूलाई ट्विटरमा पुनः सक्रिय गराउने अनुमति दिनुअघि पर्याप्त रूपमा समीक्षा नगरेर, "मस्कले के गरे भन्दा घृणा र मिथ्या सूचनालाई उक्त प्ल्याटफर्ममा फैलिन दिएर आगो झैँ फैलिन सक्ने अवस्था सृजना गरिदिए।''
यो अनुसन्धानको सबैभन्दा विचलित पार्ने कुराहरूमा बाल यौन दुर्व्यवहार चित्रण गर्ने तस्बिरहरू समावेश दुई वटा ट्विटर खाता थिए।
ती साँच्चैका तस्बिर नभएर चित्रहरू थिए।
हामीले ट्विटरमा उपलब्ध यी सामाग्रीबारे रिपोर्ट गर्यौँ। हाल ती मध्ये एउटा खाता हटाइएको छ भने समस्याग्रस्त अर्को तस्बिर सम्बन्धित खाताबाट हटाइएको छ।
यद्यपि ट्विटरमै पछिल्ला केही दिनहरूमा हामीले त्यस्तै खाले तस्बिर सेअर गरेको अर्को खाता फेला पार्यौँ र त्यसलाई रिपोर्ट गर्यौँ।
यो समाचार तयार पार्दा उक्त खाता सक्रिय नै थियो।
निर्वाचन विरोधीहरूको पुनरागमन
हाम्रो डेटासेटमा रहेका एक सय भन्दा बढी खाताहरूले निर्वाचन र तिनका परिणामबारे गलत अनि भ्रामक दाबीहरू फैलाउने काम गर्ने गरेको देखिन्छ।
उदाहरणका लागि केही प्रयोगकर्ताले ब्रजिलका पूर्व राष्ट्रपति जइर बोल्सोनारुले राष्ट्रपतीय निर्वाचनको दुवै चरणमा विजयी भएको गलत सूचना सम्प्रेषण गरेका थिए।।
अन्य केहीले सन् २०२०मा अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्प ''ठूलो मतान्तर सहित विजयी भएको'' गलत दाबी गरेका थिए।
ट्रम्पका केही समर्थकहरूले त खुसीयाली साटासाट समेत गर्न भ्याए।
खोपबारे गरिएका गलत दाबीहरू
नोभेम्बरमा ट्विटरले कोभिडबारे मिथ्या सूचनासँग सम्बन्धित आफ्नो नीति लागु गर्न बन्द गर्यो जसले गर्दा कोरोनाभाइरसबारे गलत सूचना अनि कोभिड विरुद्धको खोपबारे मिथ्या सूचनाको प्रचार गर्ने प्रयोगकर्ताहरू उक्त सामाजिक सञ्जाल प्ल्याटफर्ममा फर्किए।
ती मध्य एक डा रोबर्ट मलोन हुन् जसले कोभिड विरुद्ध खोपको प्रभावकारिता र सुरक्षाप्रति संशय व्यक्त गर्दै भ्रामक दाबी गरेका थिए।
त्यस्तै हृदय रोगका विशेषज्ञ पिटर म्याककलगले उक्त खोपले ठूलो सङ्ख्यामा मानिसहरूको ज्यान गएको गलत दाबीलाई फैलाएका थिए।
विश्वभरिका स्वतन्त्र वैज्ञानिकहरू अनि पाँच अर्ब भन्दा बढी सर्वसाधारणको अनुभवले भने कोभिड विरुद्धका खोप सुरक्षित अनि प्रभावकारी रहेको र त्यसको गम्भीर 'साइड इफेक्ट' पनि निकै दुर्लभ रहेको प्रमाणित गरेको छ।
हामीले कैयौँ यस्ता पोस्टहरू फेला पार्यौँ जसमा मानिसहरूको ''अकस्मात् मृत्यु''लाई बिना कुनै आधार खोपसँग जोडिएको थियो।
हाम्रो डेटासेटमा रहेका पुनः सक्रिय भएका अधिकांश ट्विटर खाताहरूले पूर्ण रूपमा गलत सूचना वा घृणित सामाग्रीलाई फैलाएको भने देखिँदैन।
कतिपय अवस्थामा त ती खाताहरू किन निलम्बनमा परेका थिए भन्ने कुरा समेत स्पष्ट थिएन।
तर अन्य केहीका लागि भने आम रूपमा ट्विटरमा फर्कन सक्ने गरी दिइएको माफी विगतमा निलम्बनमा पर्ने गरी गरेका गतिविधि दोहोर्याउनका लागि अवसर बनेको जस्तो देखिन्छ।
यो समाचार तयार पार्दासम्म हाम्रो डेटासेटमा भएका १,१०० भन्दा बढी खाता मध्ये एक दर्जन भन्दा केही बढी खाताहरू स्वतन्त्र रूपमा पुनः निलम्बनमा परेका थिए।
हामीले ट्विटरसँग यस विषयमा प्रतिक्रिया लिनका लागि सम्पर्क गरेका थियौँ। तर उनीहरूले त्यसको कुनै उत्तर दिएका छैनन्।
लिड रिपोर्टिङ: केएलिन डेभलिन
अनुसन्धान अनि विश्लेषण: केएलिन डेभलिन, एडम रबिनसन, ओल्गा रबिनसन, अलिस्टेर कोलम्यान, पल ब्राउन अनि शायान सार्दारीजादे
चित्रहरू: जेनी ल