तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी डलर तीन वर्षयताकै तल्लो विन्दुमा, तर त्यो ट्रम्पका लागि राम्रो हुनसक्छ
- Author, सेशिलिआ बारिया
- Role, बीबीसी न्यूज मुन्डो, मायामी
अमेरिकी डलरको मूल्य घट्ने क्रम जारी छ।
गत ज्यानुअरीमा ह्वाइटहाउस फर्किएयता डोनल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्धका कारण बढ्दो तनावका बेला अमेरिकी मुद्रा कमजोर हुँदै गइरहेको छ।
यो साता त्यो बेन्चमार्च मुद्राका रूपमा रहेका युरो, जापानी येन र ब्रिटिश पाउन्डका तुलनामा त्यो तीन वर्षयताकै तल्लो विन्दुमा पुग्यो।
मे महिनामा अमेरिकी औद्योगिक गतिविधि लगातार तेस्रो महिना खस्किइरहँदा त्यस्तो अवस्था देखा परेको हो।
र यसको अर्थ अमेरिका वा अमेरिकी डलरसँग आफ्नो अर्थतन्त्र जोडेका देशहरूलाई मात्र असर नपरेर व्यापक रूपमा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा नै प्रभाव पर्नेछ।
मोर्गन स्ट्यान्ली, जेपी मोर्गन र गोल्डम्यान स्याक्सजस्ता केही इन्भेस्टमेन्ट ब्याङ्कहरूले डलर थप कमजोर बन्दै जाने प्रक्षेपण गरिरहेका छन्।
ट्रम्पको व्यापार युद्ध चर्कँदै जाँदा र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र खस्कँदै जाने सम्भावनाका माझ ती ब्याङ्कहरूले उक्त प्रक्षेपण गरेका हुन्।
"ट्रम्पको संरक्षणवादी र अनियमित नीतिका कारण डलरको मूल्य घटेको छ जसले अमेरिकाको प्रतिष्ठा कमजोर बनाइरहेको छ," मेक्सिकोस्थित बेस नामक वित्तीय समूहमा आर्थिक विश्लेषण सम्बन्धी निर्देशक गाब्रिएला सिलरले बीबीसीसँग भनिन्।
सिलरका अनुसार राष्ट्रपतिका निर्णयले अमेरिकी आर्थिक वृद्धिको सम्भावनालाई असर पार्छ र यसको मुद्रालाई लगानीका लागि सुरक्षित मानेर प्रयोग गर्ने देशहरूमा सन्देह उत्पन्न गराउन सक्छ।
डलर कमजोर बन्नुको एउटा प्रत्यक्ष असर भनेको अमेरिकी निर्यात अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बन्नु हुनेछ। किनकि त्यसबेला विदेशी क्रेताका लागि ती सस्ता हुनेछन्।
अर्कोतर्फ अमेरिका भित्रने आयातित सामान महँगा पर्नेछन्।
ब्याजदर
सामान्यतः अमेरिकामा ब्याजदर न्यून हुँदा डलर लगानीकर्ता र बचतकर्ताहरूका लागि कम आकर्षक बन्न पुग्छ र त्यसबाट डलरको मूल्य कमजोर बन्न जाने हुन्छ।
त्यसैले डलर कमजोर हुँदा यूएस फेडरल रिजर्भ (अन्य देशहरूका केन्द्रीय ब्याङ्क जस्तै ) लाई ब्याजदर घटाउन अझ अनिच्छुक बनाउन सक्छ।
प्रायः केन्द्रीय ब्याङ्कहरूका लागि बढ्दो ब्याजदर मुद्रास्फीतिसँग जुझ्ने एउटा तरिका हो। यसले मानिसहरूलाई पसल र अन्यत्र थोरै मात्र किनमेल गर्न प्रेरित गर्छ।
ट्रम्पले फेडरल रिजर्भलाई ब्याजदर घटाउन आह्वान गरेका छन्।
तर यदि उक्त ब्याङ्कले ब्याजदर स्थिर राखेर डलरलाई समर्थन गर्ने निर्णय गर्छ भने उसको निर्णयले खासमा अमेरिकामा मुद्रास्फीति सीमित गर्न मद्दत गर्न सक्छ र अमेरिकी मुद्राको मूल्य थप घट्नबाट रोक्न सक्छ।
विश्वासमा कमी
केही फराकिलो दृष्टिबाट हेर्दा धेरै अर्थशास्त्रीहरू डलरको हालैको गिरावट अमेरिकाप्रति मानिसहरूको विश्वास गुम्न लागेको भन्ने कुरा प्रतिबिम्बित हुने र त्यो थप चिन्ताजनक विषय रहेको बताउँछन्।
"डलरप्रति रहेको विश्वव्यापी विश्वास र निर्भरता आधा शताब्दी वा अझ बढी समयदेखि विकास भएको हो," यूनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका अर्थशास्त्री ब्यारी इचेनग्रिनले एप्रिल अन्त्यतिर भने। "तर ती आँखा झिमिक्क गर्दा नै हराउन सक्छन्।"
ट्रम्पले किन कमजोर डलर चाहेका हुनसक्छन्?
दशकौँसम्म अमेरिकी प्रशासनले बलियो डलरमा जोड दिइरहेको छ।
यसले देशको ऋण लागत कम राख्न सघाउँछ र भूराजनीतिक दृष्टिकोणबाट विदेशमा अमेरिकालाई आफ्नो शक्तिको छाप छाड्ने अवसर दिन्छ।
यसले आफ्नो गठबन्धनमा नरहेका इरान, रुस र भेनेजुएलाजस्ता देशलाई अमेरिकी मुद्रामा पहुँच सीमित राख्दै दबाबमा राख्न सकिने तुल्याउँछ।
डलरको माग बलियो रहँदै आएको छ। त्यो अमेरिकामा आर्थिक सङ्कटका बेला समेत कायम थियो।
तर केही विश्लेषकहरूले ट्रम्प प्रशासनले यस विषयलाई भिन्न रूपमा हेर्ने गरेको बताउँछन्।
उनीहरूका अनुसार राष्ट्रपतिले 'ग्नीनब्याक'को शक्तिलाई उनले प्रवर्द्धन गर्न चाहेको अमेरिकी उत्पादन क्रान्तिको लागि बाधाको रूपमा हेर्छन्।
ट्रम्पका विचारमा कमजोर डलरले उत्पादन क्षेत्रको गौरव पुनर्स्थापित गर्न मद्दत गर्नेछ जसलाई उनका समर्थकहरूले अमेरिकाको "स्वर्ण युग" फर्कने रूपमा हेर्छन्।
"ट्रम्प बलियो डलर चाहँदैनन् किनभने यसले आयात बढाउँछ," सिलर भन्छिन्।
यस बुझाईअनुसार देशलाई घरेलु उत्पादन बढाउन, कारखाना रोजगारी पुनर्स्थापित गर्न, निर्यात बढाउन र देशको ठूलो र बढ्दो व्यापार घाटा कम गर्न कमजोर डलर चाहिन्छ।
अमेरिकी सञ्चारमाध्यम र केही अर्थशास्त्रीहरूका अनुसार डलरलाई कमजोर बनाउन ट्रम्पका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष स्टीफन मिरनले प्रस्ताव गरेको "मार-ए-लागो सम्झौता" भनेर चिनिने योजना छ।
रिजर्भ मुद्राको सन्देह
रिजर्भ मुद्रा भनेको केन्द्रीय ब्याङ्क वा अधिकारीहरूले देशको विदेशी मुद्रा भण्डारको भागको रूपमा राखेको मुद्रा हो जसलाई अन्तर्राष्ट्रिय लेनदेन, लगानी र ऋण तिर्न प्रयोग गरिन्छ।
"मार-ए-लागो सम्झौता" भनिने यस विचारले भनेको भनिए अनुसार विश्वको मुख्य 'रिजर्भ' मुद्राको रूपमा डलरको स्थिति विशेषाधिकार होइन।
बरु यो एक महँगो बोझ हो जसले अमेरिकामा गैर औद्योगीकरण निम्त्याउन मद्दत गरेको छ।
यस विचारका अनुसार डलरको विश्वव्यापी मागले त्यसको मूल्य बढाउँछ र त्यसले गर्दा अमेरिकामा निर्मित उत्पादनहरू महँगा हुन्छन्।
फलस्वरूप यसले व्यापार घाटा निम्त्याउँछ र अमेरिकी उत्पादनकर्ताहरूलाई ज्याला र सामग्रीको लागत घटाउन उत्पादनको काम विदेश सार्न बाध्य हुनु परेको भन्न कारण उपलब्ध गराउँछ।
"मिरनको योजना, जतिसुकै चलाखीपूर्ण देखिए तापनि त्रुटिपूर्ण निदानमा आधारित छ," हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्र र सार्वजनिक नीतिका प्राध्यापक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पूर्वप्रमुख अर्थशास्त्री केनेथ रोगोफले प्रोजेक्ट सिन्डिकेटमा लेखेका छन्।
ती अर्थशास्त्रीका अनुसार विश्वको प्राथमिक 'रिजर्भ' मुद्राको रूपमा डलरको भूमिका खेलेको बताउँदै भन्छन्: "यो अमेरिकाको निरन्तर व्यापार घाटामा योगदान पुर्याउने धेरै कारकहरू मध्ये एक मात्र हो।"
यदि व्यापार घाटामा धेरै कारणहरू रहेमा भन्सार शुल्क सबै कुराको उपचार हुन सक्छ भन्ने विचार उच्च रूपमा शङ्कास्पद हुने उनी थप्छन्।
सैद्धान्तिक रूपमा कुनै पनि अमेरिकी राष्ट्रपतिले अन्य मुद्राको तुलनामा डलरको मूल्य नियन्त्रण गर्दैनन् भन्ने कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ। किनकि विनिमय दर स्वतन्त्र रूपमा चल्छ।
वासिङ्टनका विधायकहरू आफ्नो मुद्राको मूल्य बढाउन वा घटाउन प्रत्यक्ष रूपमा हस्तक्षेप गर्न सक्दैनन्।
त्यसको कारण विशाल विश्वव्यापी मुद्रा बजारले निर्धारण गर्नु र ठूला लगानीकर्ताहरूले आफ्नो अपेक्षा अनुसार डलर किनबेच हुनु रहेको छ।
यद्यपि अमेरिकी सरकारको आर्थिक नीतिले बजारमा सङ्केत पठाउँछ र यसले डलरको मूल्यको विकास र ब्याजदरजस्ता अन्य प्रमुख कारकहरूलाई प्रभाव पार्छ।
नाजुक गिअरजस्तो
यी सबैले मोटरगाडीको नाजुक गिअरले जस्तै काम गर्छ जसमा गिअरको चक्रको एक दाँतको चालले अर्कोलाई असर गर्छ।
एप्रिलमा देखिएको घटना त्यस्तै हो जतिखेर ट्रम्पले आयातमा शुल्क लगाउने भनेर गरेका लगातारको घोषणाले लगानीकर्ताको विश्वास कमजोर बनायो। र सरकारले आफैँलाई वित्त उपलब्ध गराउन जारी गरेको उपकरण 'अमेरिकी बन्ड 'को मूल्यलाई कमजोर बनायो।
त्यस विश्वासको कमी डलरप्रतिको विश्वासको लागि पनि राम्रो भएन। यद्यपि केही विश्लेषकहरू यो संरचनात्मक भन्दा बढी अस्थायी रहेको विश्वास गर्छन्।
"[चिनियाँ] युआन, बिटकोइन [क्रिप्टोकरेन्सी], वा सुनजस्ता अन्य कुनै पनि मुद्रा वा सम्पत्ति सबै माग पूरा गर्न पर्याप्त छैन," मिजुहो फाइनान्सिअलका अर्थशास्त्री स्टीव रिच्युटोले एपी समाचार एजेन्सीलाई भने। "अहिले, यसको कुनै विकल्प छैन।"
अमेरिकी उपभोक्ताहरू मुद्रास्फीतिमा हुनसक्ने सम्भावित वृद्धिलाई लिएर सतर्क छन्। किनकि उनीहरूले आयातित सामानहरूको लागि थप अतिरिक्त शुल्क र डलरको गिरावट दुवैका कारण उच्च मूल्य तिर्नुपर्नेछ।
उनीहरूले दैनिक जीविका चलाउन लाग्ने खर्च घटाउने ट्रम्पको चुनावी बाचा पनि सम्झनेछन्।
यसमा धेरै पक्षहरू जोडिन्छन्। ट्रम्पको व्यापार युद्ध, उनको प्रस्तावित बजेट र कर कटौती (हाल क्यापिटल हिलमा छलफल भइरहेको छ), मुद्रास्फीति, ब्याजदर र कसरी यी सबैले डलरको मूल्यमा प्रभाव पार्नेछ भन्ने कुराहरू छन्।
हालका लागि जबाफभन्दा धेरै प्रश्नहरू देखिन्छन्। यद्यपि वाल स्ट्रीट प्रक्षेपणहरूले डलर आफ्नो मोड बदल्ने र बलियो हुने बाटोबाट टाढा रहेको देखिने बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।